बिहे नगरेका केटाकेटी वा उमेर पुगेका भनौं न, उनीहरूलाई बिहेको सिजन लागेपछि बसेर साध्य हुँदैन। कसैको बिहेमा गएर यसो कोट पाइन्ट लगाएको फोटो राख्यो, 'आफ्नो चाहिँ कहिले हो नि, किन ढिलो?' भनेर कमेन्ट गर्न भ्याउँछन् शुभचिन्तकहरू।
त्यति मात्र कहाँ हो र? बाटो, अफिस, जमघट जता भेट्दा पनि मेरै बिहेको लागि तम्तयार भइ बसेजस्तो देखिन्छन् भद्र भलाद्मीहरू।
हिरोसिमा र नागासाकीजस्तै शान्त मेरो मनमा एटम बमजस्तै प्रश्न खसाएर जान्छन्। अस्ति एउटा पार्टीमा 'जन्तै जाम्ला भतेरै खाम्ला, साथी' बोलको गीतमा नाचियो। अनि त प्रश्नको ओइरोले थिच्न थाले सबैले।
'कहिले कि कहिले?' भनेर।
केटीहरू पनि यो अवस्थाबाट अपवाद भने छैनन्। प्रेमिकाले घरमा चिया पकाउँदै छु भनेर म्यासेज गर्दा कतै कोही केटा घरमा उसको हात माग्न त आएन भनेजस्तो शंका लाग्छ।
आफू पनि जोगिनु छ, प्रेमिकालाई पनि जोगाउनु छ यो सिजनको जालबाट।
अलि बिहे गर्ने उमेर काटेका तर बिहे गरिहाल्न मन नभएकाहरूले नाक-मुख छोपेरै हिँड्नुपर्ने हुन्छ, यो महिना। बिहेको झिलिमिली ऐना देखाएर गाला मुसार्ने आफन्त र बिहेको भोज खान उकास्ने साथीभाइहरू टन्नै हुन्छन्।
केटातिर बिहे होस् भन्नका लागि धेरै शास्त्रहरू मिसिएका हुन्छन्। हजुरबा-आमालाई नाति-नातिना हेर्ने रहर, आमालाई बुहारीले घरधन्दामा सघाउँली भन्ने रहर, साथीभाइलाई बिहेभोज खाएर नाच्ने रहर।
केटीका आमाबालाई शास्त्रमा छोरीलाई अन्माएपछि ठूलो काम सिद्दाएको ठहर हुने र छोरीको घर बसेको देख्न खोज्ने आमाबुबाहरू। तर भूलभुलैयाको अन्धकारमा धकेलिनु पर्ने बिहे गर्ने जोडीहरू। बिहेका लागि तयार हुनु चानचुने विरता होइन। जीवनलाई सजिलो वा असजिलो छायातर्फ अग्रसर जो गराउनु छ। हरेक कम्पन र स्पन्दनहरूमा कृतज्ञता जो देखाउनु छ। सङ्ग्लो जीवनको प्रेम, श्रीमान-श्रीमती र छोराछोरीका लागि खण्डहर हुँदै जो जाँदै छ।
बिहे त्यस्तो होस् जसलाई बुझ्न खोज्दा खोज्दै उसैले आफूलाई नखाओस्। बिहे त्यस्तो होस् जसकाविरूद्ध त्रास र संशय उत्पन्न नहोस्। घरका शासनहरूमा न्यायका अदालतहरूमा दुवै श्रीमान श्रीमतीको भूमिका होस्। बिहेपछि स्वर्ग र नर्कको सिर्जना नहोस्। कसैको पनि भावना, विश्वास, कल्पना, आत्मसम्मानहरू चिच्याहटमा नपरून्। जहाँ मिथ्या नबोलोस् र उल्झनहरू फुकाउन दुवै श्रीमान-श्रीमतीको सहकार्य होस्।
त्यसैले पनि बिहे हतारोमा गरेर फुर्सतमा पछुताउने चिज होइन। सिजन लागेसी कोट पाइन्ट सिलाएर फलानो फलानोको बिहेमा जान्छु भनेर माइन्ड मेकअप गरेकाहरूले यो बुझ्नु जरूरी छ, कसैको उमेर पुग्दैमा ऊ बिहेका लागि योग्य हुन्छ भन्ने हुँदैन। भित्री सहानुभूति नदेखेकाहरू, जीवनको जरा छाम्न नसकेकाहरू कसैको बहकाउमा परेर बिहेमा होमिँदा कुहिरोमा हराएको जहाजजस्तो हुन पुग्छन्।
किन कुनै पनि सम्बन्धहरू नबुझेसम्म मोती हिरा लाग्छ। बनेको केही समय गुज्रिएपछि आफैंलाई खोस्री खोस्री खाइरहेको कीराजस्तै लाग्छ।
किन बिहेअघि गरिएका बाचाहरू पछि निभाउन सकिँदैन वा वास्ता नै गरिँदैन? किन बिहेपछि विवाहित श्रीमतीलाई घरमै पिँजडाभित्र बसिरहने सुँगाजस्तो मानिन्छ? किन सम्बन्ध नबनुन्झेल खुलेको आकाशजस्तो फराकिलो हुने? मोह-सम्बन्ध बनिसकेपछि खुम्चिएर तिलको गेडा जत्रो हुने?
सम्बन्ध नबनुन्झेल गुलाब, फोन, म्यासेज र कफीको ओइरो लाउनेहरू सम्बन्धमा बसिसकेपछि व्यस्त भएको नाटक गर्छन्?
कुन फ्याक्टरले काम गर्छ यो क्रमभंग हुनुमा? बिहेअघि र पछि सम्बन्ध नियमित हुन नसक्नुमा? यो चञ्चल मनको मात्र दोष छ कि हाम्रो आचरणको पनि?
सम्बन्ध भावना हो, जो हर कसैसँग गाँसिन्छ। तर गाँसिसकेपछि एउटा नीति त्यसले अँगाल्छ- त्यो भनेको यो सम्बन्ध रहुञ्जेल, यसकै निम्ति मलजल गर्ने, यसैलाई हुर्काउने? तर प्रेम भनूँ वा प्रेमिल सम्बन्धको नीतिका विपरीत रहेर एकै समयमा हामी अनेकौं सम्बन्ध गाँसिदिन्छौं। बिहे एउटासँग गरेर मन अर्कैलाई सुम्पिदिन्छौं। एउटा सम्बन्धबारे अर्को पात्रसँग गुपचुप राख्न सकिएला र कतिन्जेल?
अझ सम्बन्ध बढी गाँसिदा हुने समय अभाव, छलकपट व्यवहार र निर्जीवताले कुन सम्बन्ध कति खेर विच्छेद हुन्छ थाहा हुँदैन। अनेकौंसँग आत्मसमर्थन जुटाउन पनि मुश्किल हुन्छ नै। अनि बिहेपछिका सम्बन्धहरू अस्थिर नृत्य हुन्छन्। सम्बन्धका पात्रहरू समाजमा तल्लो दर्जाका मानिन्छन्।
छुट्टिनै नसक्ने कसम खाएर बिहे गरेकाहरू किन अर्को कुनै मोडमा जाँदा अब सँगै बस्नै नसक्ने जस्ता हुन्छन्?
रंगीविरंगी फूलहरू फुल्नुपर्ने सम्बन्धमा किन उजाड हाँगामात्र रहन्छन्? कुन सम्बन्धको पाठशालाबाट ग्र्याजुएट हुन्छन् यी जोडीहरू जो एउटामा नपाएको खुसी अरूमा खोज्दै हिँड्छन्?
विश्वमा अनेकौं राम्रा राम्री छन्, तर आफूले विश्वास गर्ने पात्रलाई नै राम्रो राम्री देख्न सक्नु सम्बन्धका लागि दीर्घायु हुन्छ। नयाँ हुँदा जुनसुकै चिजले क्षणिक खुसी र सन्तुष्टि दिन्छ, नव सौन्दर्य र नव उमंगमा पल्किनेहरू कहिल्यै स्मृतिमा रहन सक्दैनन्। आज नयाँ भएका सम्बन्ध भोलि पुरानो हुनै पर्छ नत्र यसले सत्यतालाई उछिन्छ। दुई-चार दिन रंग नउडुन्जेल लगाएको टिसर्ट जस्तो होइन बिहेको सम्बन्ध। एकचोटि किनेर ल्याएपछि वर्षौंका हिउँद र बर्खाहरू इस्त्री लगाए जसरी जतन गरी राख्न जान्नुपर्छ।
केटा होस् वा केटी, श्रीमान श्रीमती छान्दा, छनोटमा गरिने चाहनाले पनि मध्यनजर गर्छ। यदि तपाईं बढी मेकअप गर्ने, सपिङ गर्ने केटी खोज्नुहुन्छ भने ऊ अरूका नजरमा राम्री देखिन सक्छे तर खर्चालु हुन सक्छे। अफिस जाने रोज्नुहुन्छ भने घरमा टाइम नदिन सक्छे। हाँस्ने ठट्टा गर्ने खोज्नुहुन्छ भने अलि व्यावहारिक नहुन सक्छे। पढ्न सिपालु खोज्नुहुन्छ भने अरू कुरामा पछाडि भएकी हुन सक्छे।
केटा छनोटमा पनि यही मापदण्ड लागू हुन्छ। सबैमा एउटै गुण रहन्न तर कुनै एउटा गुणको अभावमा अर्को गुण परिपूर्ण भएको अवस्थालाई हामीले नजरअन्दाज गर्न मिल्दैन। सबै सम्बन्धमा सम्भावना हुन्छ, नव जादू लिएरै प्रवेश गरेका हुन्छन्। त्यो जादूको नवीनतालाई कायम गर्न नसक्नु त पात्रको गल्ती हो।
कल्पना गर्नुस् न।
बिहे गरेपछि पनि अर्कैकी श्रीमती मन पराउँदा जति खुसी हुनुहुन्छ वा इच्छा बढेर आएको छ? तपाईंले हिजो आफ्नो श्रीमती मन पराउँदा समेत यही इच्छा थियो?
तर सम्बन्ध उदाएर प्रदर्शन भएर अस्ताउँदा समेत तपाईंले चाल पाउनुभएको छैन। अब त सम्बन्धको मुक्तिको लागि तपाईंसँग चिच्याहट मात्र बाँकी छ त्यसैले त अरू केटीलाई श्रीमतीका रूपमा खोज्ने तृष्णा जागेको छ। यो आनीबानीबाट मुक्त पाउन केटाकेटी दुवैले बिहेपछिको सम्बन्धको कर्तव्य पालना गरेर आकर्षणको सीमा उल्लंघन गर्नुहुँदैन।
त्यसैले पछि हुन सक्ने दुर्घटनाबाट बच्न, दुनियाँको परवाह नगरी बिहे गर्दा टाइम एण्ड स्पेसको जानकारी र महत्व बुझेर गरौं। कसैलाई जन्ती जान त कसैलाई कसार बटार्न हतार भएकाले गरिएको बिहे भोलि आफैंलाई घाँडो नहोस्।
आज रत्यौलीमा गाउने नाच्नेहरू भोलि सम्बन्ध संकटमा पर्दा पालनपोषण वा संरक्षण गर्न आउँदैनन्।
आज बिहेका लागि बहकाउनेहरू भोलि खिसिट्युरी गर्दै हिँड्न पनि सक्छन्। यो सिजन जाँदैमा आत्तिनु पर्दैन।
'लौ बुढो भएँ' भनेर पुरपुरोमा हात पनि राख्नुपर्दैन। आउने अरू मंसिर, माघहरू तपाईंका लागि झन् बलियो सम्बन्धको आविष्कार गर्न तम्तयार बसेका पनि हुन सक्छ। बिहेको सूत्रमा बाँधिएपछि मात्र धेरै कुरा सिक्नुभन्दा अगाडि नै पोख्त भएर अघि बढ्दा राम्रो होला। ठूलो तालमा पौडी खेल्नुअघि सानो रहमा तैरिन त सक्नुपर्यो नि। अहिले बिहे गर्न हतार, पछि बच्चा पाउन हतार!
जिन्दगीमा हतार मात्र गर्ने?