८१ बसन्त पार गरेकी आमासँग भेट नभएको पनि तीन महिना भैसकेको थियो। माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा आमाको न्यानो माया र स्पर्शमा आह्लादित हुन मन लागेर रातै बस्ने सुरले कान्छी छोरी सुभांषालाई लिएर शुक्रबार २९ गते माइतीको आँगनमा पुगें।
माघ १ गते घरमा नन्द, ज्वाइँ र भान्जी आउने कुरा थियो। ७३ वर्ष पुग्नु भएको सासूआमालाई पनि बुहारी माइती गएर चाँडै फर्किए घर उज्यालो हुन्थ्यो भन्ने लागेको रहेछ र मलाई शुक्रबार नै जान सुझाव दिनुभयो।
माइती जान लागेकी चेलीले बाघले झैं काम गर्छन् भन्ने कुरा सत्य रहेछ।
‘शनिबार फर्किंदा अबेला होला' भन्ने सोच आइहाल्यो। जिम्मेवारीले खारिएको मस्तिष्क कहाँ चुपचाप बस्न सक्थ्यो र? दुईचार दिन अगाडि नै तिल पखालेर मज्जाले घाममा सुकाएको थिएँ। सख्खर, मुरही, अदुवा जम्मै सरदामहरू ल्याएर राखिसकेको थिएँ र पो मलाई सजिलो भयो। अनि हतारहतार तिलौरा, मुरहीको लड्डु, नरिवल, बदाम, अदुवा, मरिच, दालचिनीको धुलो हाल्दै चाख लिएर चपाइरहनु पर्ने चाकु बनाएँ।
करिब एक बजे दिउँसो गुर्जुधाराबाट कपनको लागि हिँड्यौं।
हाम्रो आगमनमा ८१ वर्षीया आमाका मुजापरेका गाला मात्र तन्किएका थिएनन्। भदाभदैहरू पनि द्वारमा आँखा ओछ्याएर बसेका थिए। कति रमाइलो लाग्छ है! माइती जाँदा स्वागतमा उभिएको आँखा अझ वात्सल्यले भरिएको मुटु लिएर आमा आँगनमा उभिएको देख्न पाउँदा।
प्रेममा पग्लिएको मनहरूले जब द्वार उघार्छन् तब चेलीको आत्मा सिमलको भुवा भएर विश्वब्रह्माण्डमा नै नाच्न थाल्छ।
भाउजू पनि नन्द र भान्जीको सत्कारमा स्वादिलो खाजा तयार पार्दै हुनुहुन्थ्यो। पिज्जा भनेपछि केटाकेटीहरूका दन्तलहर मज्जाले खुले।
भोक त थिएन तर पिज्जाको बास्नाले मेरो पेट पनि कराएजस्तो भयो। खाजाको रूपमा सबैले पिज्जा खायौं, तर पेट डम्म भएकाले रातिको भान्सा उठ्यो। पुसको ठिहीमा सबेरै ओछ्यानमा गुडुल्किन पाउँदा पनि कम्ता आनन्द आउँदैन भन्या। तातो ओछ्यानमा हामीहरू एकै पोको परेर अबेरसम्म मनका गाँठाहरू फुकाउन थाल्यौं।
३० गते पुस बिहानै दाजु भाउजूसँग उहाँहरूकै कोठामा बसेर गफ छाँट्दै ठूलो कपमा स्वादिलो कफी पिएर निकैबेर पुनः भलाकुसारी भयो। घडीमा बिहानको ९ बजेपछि बल्ल हतारिँदै भान्सामा पस्यौं। केहीबेरमा अचानक शालीनदी जानेकी भन्ने सल्लाह भयो।
तर खाना तयार भएर खाँदा १२ बज्यो।
‘खाना खाएर पनि कोही जान्छन् शालीनदी, बरू अरू नै दिन जानू खाली पेट लिएर।’
आमाको सल्लाह मान्नै पर्यो। मलाई पनि गुर्जुधारा फर्किन समय लाग्ने भएकाले आमाको सल्लाहलाई सहर्ष स्वीकारेँ।
घुम्न त कसलाई मन नलाग्ला र! अझ भाउजूले बुनेको योजनामा पञ्च महालक्ष्मीको भव्य मन्दिर पनि थियो। हिजोआज सामाजिक सञ्जालमा खुबै चर्चित दक्षिण भारतको मिनाक्षी मन्दिरसँग तुलना गर्दा भातै छोडेर जान मन लागेको थियो तर साइत जुरेन भन्दै चित्त बुझाएँ।
भोलि संक्रान्ति मानेर जानू भन्दै दाजुभाउजूले जिद्दी गरे पनि कसैगरी आजै फर्किनु पर्ने तर्क पेश गरें।
‘भान्जी मामा घर आएकी के खाने?’ सोध्न नपाउँदै तीनै जना भुराहरू चिच्याए।
‘म: म, आइसक्रिम।’ ओहो! म:म कति मीठो लागेको यिनीहरूलाई भन्दै मैले पनि घुटुक्क थुक निलें।
घरमै बनाएर खाए सबैलाई मज्जा पुग्छ।
म:म खान होटल नजाने निर्णय भयो। अनि भाटभटेनीबाट तयारी म:मको रोटी ल्याउने। नजिकैको पसलबाट ताजा चिकेन ल्याएर किमा बनाउने सल्लाह भयो।
‘ए बाबा! राति भयो भने मैंयालाई गुर्जुधारा पुर्याएर आउँला हुँदैन र?’
दाजुसँग अनुमति माग्नुभयो।
म पनि ढुक्क भएँ, ‘मज्जाले म:म खाएपछि आरामले झिलिमिली सडक र सहर हेर्दै सुइयँ आफ्नै गाडीमा गुड्न पाए को कोच्चियोस् साँझको सार्वजनिक बसमा।’
‘हामी महाराजगन्जको भाटभटेनी पुगेर आउँछौं हजुर केही नगर्नू आरामले आमासँग गफिएर बस्नू। दाजुले राती पुर्याइदिनु हुन्छ चिन्ता गर्नुपर्दैन।’
दाजु भाउजू भाटभटेनी जानुभयो। एकछिन घाममा बसेर सिन्धुलीको जुनार सुन्तला खाँदैथिएँ।
दाजुभाउजू टुप्लुक्क आइपुग्नु भयो म:म को कच्चा पदार्थ लिएर।
केटाकेटीहरूको सहयोग लिएर म:म निर्माणको कार्यमा जुट्यौं।
दाजुले मिक्सरमा किमा बनाउँदा बनाउँदै अचानक मिक्सर बिग्रेपछि भएन त फसाद! धन्न थोरै बाँकी थियो र चपिङ बोर्डमा भए पनि थालेको काम पूरा गर्नुभयो दाजुले।
भाटभटेनीबाट ल्याएको म:म मसला देखाउँदै भाउजूले भन्नुभयो, ‘मैंया यो म:म मसला बिएमसीभन्दा मीठो हुन्छ, आज म:मको स्वाद चाखेपछि हजुर छक्क परिसिन्छ, त्यसैले अबदेखि यही प्रयोग गर्नू है हजुरले पनि भाटभटेनीमा पाइन्छ।’ मुख मिठ्याउँदै हतारहतार म:म मसलाको फोटो खिचें।
म:म को किमा तयार भएपछि आरोही, सुभांषा र मानसले तयारी रोटीमा किमा हाल्दै विभिन्न आकारमा म:म पोको पार्न थाले।
खोकी लागेको पनि धेरै दिन भएको थियो। बेलाबेलामा खोक्दै पनि थिएँ।
‘हेर कान्छी! आज दाजुले बनाएको काइदाको चिकेन सुप खाइस् भने तेरो खोकीसोकी छुमन्तर हुन्छ, ल यो लसुन, अदुवा ताछ् त।’
दाजु कुकरमा मस्तले प्याज भुट्दै हुनुहुन्थ्यो।
‘खोई म:म मसला पनि हाल्नु पर्यो सुपमा कता छ मसला?’
भाउजूले मसला दिँदै भन्नुभयो- ‘ए साँच्चै! हो त! लु लु हालिस्यो म:मसँग सुप खाँदा ख्याल मीठो हुन्छ र? अझ यो मसलाले त सुपको स्वाद नै छुट्टै पार्छ। अस्ति बुनीको घरमा यही मसला हारेर पकाको बाफ्रेबाफ कस्तो मीठो भाको!’
दाजु पनि मक्ख पर्दै एक चम्चा म:म मसला सुपमा पनि हाल्नुभयो।
म:म पाक्यो। म:मको वास्नामय वातावरणमा बिरालो भएका हामी चाख्न हतारियौं। तर पालो चाहिँ केटाकेटीहरूको अगाडि आयो।
दाजुले तीनै जनालाई रिकापीमा म:म सजाएर ठिक्क पारिदिनु भयो। एउटा मैले पनि मुखमा क्वाप्ल्याक्क हालें। तीतो तीतो लाग्यो। मेथी परेछ अचारको भन्दै ओठ बन्द गरें।
सुभांषाले पनि एउटा म:म क्वाप्प मुखमा हाली अनुहारमा अचम्मको भाव तैरियो। मानसको मुहारमा पनि म:म बनाउनुभन्दा अगाडिको खुसी र उल्लास हरायो।
फेरि अर्को खाएँ कलबिख तीतो छ। ए बाबा ठाकुरे! के भयो त यो? आजसम्म म:म तीतो भएको थाहा थिएन। म:म भनेपछि आरोही हुरूक्कै हुने, त्यसैले नौवटा खाएपछि बल्ल थाहा पाइछ। चिच्याउँदै आई र वाकवाक गर्न थाली।
‘शालीनदी रिसाएर त यस्तो भएको होइन? बिहान जाने भनेर नगएको पाप लाग्यो कि क्या हो? मिक्सर पनि बिग्रियो, म:म पनि हलाहल बीख बन्यो। पक्कै शक्तिशाली शालीनदी रूष्ट भइन्।’
संस्कारले भरिएको मन आँखा बन्द गरेर माफी माग्दै अर्को हप्ता आउने वाचाका साथ प्रार्थना गर्न थाल्यो।
‘हे ईश्वरी! हामी तुच्छ प्राणीलाई माफ गर, बच्चाहरूको उद्धार गर, कसैलाई केही नहोस्, हे परमेश्वरी क्षमा गर।’
तीन वटा म:म चाख्दा त हाम्रो जिब्रो चौबिस घन्टा निममा चोपलेर निकालेको जस्तै थियो। कस्तो तीतो म:म! चाकु चपाउँदा पनि तीतो जाँदैन त!
छिनको छिन वातावरणमा शून्यता छायो। पापपुन्यको लेखाजोखा गरेपछि बल्ल कारण खोज्नतिर लाग्यौं।
नौलो म:म मसला हामीलाई हेरेर हाँसिरहेको थियो।
‘ए मैंया! यो मसला चाखिस्यो त तीतो छ त! सबै सत्यानास पार्यो यो मसलाले।’
मैले पनि चाखें। हजुरआमाले भन्नुहुन्थ्यो, ‘गलगाँडको औषधी असाध्यै तीतो हुन्छ। आबुई! कतै मसला कारखानाले गलगाँडको औषधी त प्याक गरेर झुक्याएनन्।'
दाजुलाई पनि चाख्न दियौं दाजुको अनुहार कचाक्ककुचुक्क भयो। अनि हाम्रो तीन दलीय छानबिन समितिले मसलामा खराबी भएको पुष्टि गर्यो। म:म खान तिखारिएको मुख चुपचाप लागेर कर्नफ्लेक्स लुपुलुपु खान थाल्यो।
तितो मसला खाएको हुँदा कतै डरलाग्दो अवस्था आउन पनि सक्छ। सबै जनालाई छादछेर भएर राति नै अस्पताल दौडिनु पर्यो भने? आखिर भाटभटेनी जस्तो जिम्मेवार संस्थाले हाम्रो पीडा र समस्या पक्कै बुझ्ला भन्दै फालिएका म:म का डल्ला र म:म मसला हालेको किमाको फोटो खिच्यौं र आधा मसलाको डब्बा बोक्दै हामी महाराजगञ्ज भाटभटेनी सुपरमार्केट गयौं।
मनमा डर थियो कस्तो व्यवहार गर्लान् त्यहाँका कर्मचारीहरूले। सोझै मीनबहादुर गुरूङलाई यो खबर भन्न पाइँदैन नत्र त पक्कै केही हुन्थ्यो भनेर सोच्दै सम्बन्धित काउन्टरमा गयौं।
समस्या जस्ताको तस्तै राख्यौं।
अहो! कति शिष्ट, सभ्य र सहयोगी कर्मचारी रहेछन् महाराजगन्जको भाटभटेनीका।
सबैतिरका कर्मचारी यस्तै भए। मनको लड्डु घिउसँग खायौं। ती कर्मचारीहरूले ध्यानपूर्वक हाम्रो कुरा सुने। हामीले लगेको मसला २०२१ को रहेछ तर तीन महिना अझ डेट थियो। अचम्म त्यहाँ २०२१ को मसला त्यो मात्र रहेछ अरू जम्मै २०२२ का थिए।
२०२२ को मसलाको डब्बा च्यातेर चाख्यौं कतै तीतो थिएन। तीन चार जना कर्मचारी आएर चाखे तीतो प्रमाणित भयो। एकछिन आफ्नो सिनियरहरूसँग फोनमा विषयवस्तुको गाम्भीर्यताबारे छलफल गरेपछि, ती कर्मचारीले हामीलाई अनुरोध गरे- भाटभटेनीबाट हजुरहरू के चाहनु हुन्छ, हामी कस्तो क्षतिपूर्ति दिन सक्छौं?
दाजु र मैले हाँस्दै भन्यौं- सबभन्दा ठूलो स्वास्थ्य हो यदि यो मसलाको कारण कोही बेरामी भए, भाटभटेनी जिम्मेवार हुनुपर्छ।
उनीहरूले हामीलाई विश्वास दिलाए-केही हुँदैन।
यदि स्वास्थ्यमा केही समस्या आए सम्पूर्ण जिम्मा भाटभटेनीले लिनेछ। हामीलाई स्वास्थ्य र केटाकेटीको खुसी मात्र चाहिएको थियो।
केटाकेटीहरूको म:म खाने चाहना पूरा गर्न आजै फेरि आफैंले म:म बनाउने शक्ति सामर्थ्य थिएन। त्यसैले दिउँसो ९० वटा म:म को रोटी यहीँबाट लगेका थियौं। दुई किलो मासु, एक किलो प्याज चाहिँ अन्तैबाटै लगेका थियौं। म:म को कच्चापदार्थ मात्र हो र भन्या?
‘हाम्रो मेहनतको पनि त जम्मै खेर गयो। अर्कोतिर कलबिख सुप पनि फ्याँक्नु पर्यो। त्यसैले हामीलाई ९० वटा फ्रोजन म:म दिनुहोला केटाकेटी खुसी हुन्छन्,’ भन्यौं।
हाम्रो माग सुनेर हो कि उनीहरूको अनुहार उज्यालो भयो र हाम्रो पनि।
हामी हाँस्दै कर्मचारीले हस्तान्तरण गरेको फ्रोजन म:मको प्याकेट समाएर फोटो खिचायौं। उहाँहरूको सहयोगी व्यवहारलाई सम्झिँदै बिदा भयौं।
पचास वटा म:म कोसेली बोक्दै राति ८ बजे दाजुले गुर्जुधारा ल्याइदिनुभयो।
माघ १ गते दिउँसो त्यो म:म खाने योजना थियो। तर यती एयरलाइन्सको कहालीलाग्दो हवाई दुर्घटनाले मनमस्तिष्क उथलपुथल भयो।
मन विछिप्त मात्र थिएन आकुलव्याकुल भएर ऐंठन पारिएह्यो। आँसु मात्र पियौं म:म खाएनौँ ।
सानो दुर्घटना हुन खोज्दा त हामी कति आत्तिएका थियौं। हामीलाई आश्वास्त पार्न भाटभटेनीका कर्मचारीहरू कटिबद्ध भए। भाटभटेनीले त्यो मसलाको पोकोको छानबिन पक्कै गर्ला तर यति ठूलो मानवीय क्षति भएको विमान दुर्घटनाको जिम्मा कसले लिने? कसलाई दोष दिने? अनि कहिलेसम्म यस्ता दुर्घटनाबाट निर्दोष नागरिकहरूले अनाहकमा ज्यान गुमाइरहने?
केसम्बन्धी निकायले यस्ता हवाई दुर्घटनाहरू लापरबाहीका कारणले अबदेखि हुने छैन भन्दै हामीलाई आश्वास्त पार्न सक्छन्? गल्ती सानो होस् या ठूलो जिम्मेवार संस्था भए सर्वसाधारणलाई कति ढुक्क हुने थियो।
अन्त्यमा हवाई दुर्घटनाका चौतर्फी पक्षहरू केलाएर जिम्मेवार पक्षले गल्ती स्वीकार गरून्। अनि कहाँ कसरी त्रुटी भयो, छानबिन गरेर पत्ता लगाऊन्।
आइन्दा यस्तो दुर्घटनाको खबर कसैले देख्नु र भोग्नु नपरोस्।
दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।