'दाइ, यी चराहरू कति थरी रङका हुने है? पखेटा पनि भिन्न देखिन्छन्। पखेटा मात्रै फरक हुने हो कि रङ मात्र फरक हुने?'
मेरो यसअघिको लेख पढेपछि एक जना भाइले सोधे।
अरूले प्रश्न सोधे भने मलाई लेखमै उत्तर दिऊँ जस्तो लागिहाल्छ। तपाईंको प्रश्न मेरो उत्तर जस्तो नि!
उनलाई जस्तै तपाईंहरूलाई पनि जान्ने मन छ भने आउनुहोस् म भन्छु चराको प्वाँख र पखेटाको बारेमा।
चराको विशेषता नै प्वाँख र पखेटा हुनु हो। यसको अद्वितीय विशेषता उडान भर्न सक्नु हो। चराहरू जस्तै उड्न सक्ने अरू धेरै प्रकारका जनावर प्रकृतिमा छन्। तर प्वाँखको सहायताले उड्ने चरा मात्रै हो।
क्रमिक विकासको सिलसिलामा उडान चार पटक विकास भएको देखिन्छ। चराहरूले इतिहासमा कसरी उडान भरे भन्नेबारे मैले यसअघि नै लेखेको छु- जिउँदा जाग्दा डायनासोर हुन् चरा!
साना प्रकारका डायनासोर हुँदै चराहरूमा पखेटा विकास भएको देखिन्छ। तर ती साना डायनासोर जसमा प्वाँखहरू देखिएको थियो, ती कुनै पनि उड्न सक्दैन थिए। त्यसैले हामी ढुक्कले भन्न सक्छौं, उडानभन्दा धेरैअगाडि नै पखेटा र प्वाँखहरूको विकास भएको हो।
डायनासोरकै पालादेखि अस्तित्वमा रहेका पखेटा र प्वाँखहरू एकै किसिमका पक्कै छैनन्। ती धेरै प्रकारका छन्। पखेटा र प्वाँखका आ-आफ्नै काम छन्। तिनै काम अनुसार यिनीहरूलाई छुट्याइन्छ। कुनै उड्नमा मदत गर्ने, कुनै तातो रहनमा र कुनैकुनै संवेदना थाहा पाउने हुन्छन्।
सबैजसो चराका पखेटामा हुने प्वाँखका प्रकारबारे एकै छिनपछि कुरा गरौंला। प्वाँखका प्रकार जान्नुअघि यो कसरी बन्छ भन्ने कुरा गरौं।
सामान्यतया एउटा प्वाँखलाई रेकिस, भेन र बार्बमा विभाजन गर्न सकिन्छ। रेकिस प्वाँखको बीचको भाग हो। यो सेतो पाइपजस्तो देखिन्छ। त्यो भित्रबाट खोक्रो हुन्छ। रेकिसको तल्लो भागलाई क्यालामस वा क्विल पनि भनिन्छ। क्विल त्यही भाग हो जसले प्राचीनकालमा लेख्ने गरिन्थ्यो। बीचको पाइपबाट हाँगा बनेर बार्ब बनेको हुन्छ।
बार्ब फेरि बार्ब्युल्समा विभाजित हुन्छ। यी बार्ब्युल्स एउटा अर्कोसँग अड्किएर बसेका हुन्छन्। तलको फोटोमा यी सबै भागहरू देखाइएको छ। बार्ब जोडिएर बनेको चिल्लो देखिने भागलाई भेन भनिन्छ।
ती बार्ब्युल्स कसरी मिलेर बसेका छन्, त्यसका आधारमा प्वाँखलाई दुई प्रकारमा विभाजन गरिएको छ। पेन्यासियस र प्लमेसियस।
पेन्यासियस प्वाँख बलिया हुन्छन्। तिनको बार्ब्युल्स एकअर्कासँग जोडिएर बसेका हुन्छन्। प्लमेसियस प्वाँखमा बार्बहरू खुला हुन्छन्।
अब जाऊँ प्वाँखको प्रकारतिर।
उडान भर्ने प्वाँख (फ्लाइट फेदर्स)
यी प्वाँख हामीले पखेटा भनेर चिनिने भागमै हुन्छन्। यिनले चरालाई उडान भर्न मदत गर्छन्। पखेटामा हुने यी प्वाँखलाई रेजिम्स पनि भनिन्छ। यी प्वाँखको फेदको आकार असमान हुन्छन्। यी हावा छेक्ने गरी मिलेर बसेका, सुगठित हुन्छन्।
रेट्रिसेस प्वाँख पनि उडान भर्न मदत गर्ने प्वाँख हुन्। यी चराका पुच्छरतिर हुन्छन्। यिनको फेदको आकार भने मिलेर समान भएको हुन्छ।
कन्टुर प्वाँख
कन्टुर चराको शरीर ढाक्ने प्वाँख हो। त्यसैले यसको रङ नै चराको रङ हो अर्थात् चराको रङ भनेर देखिने यिनै प्वाँखको रङ हो। कन्टुर प्वाँखको बाहिरी भाग पानीले नभिज्ने (वाटरप्रुफ) हुन्छ। यिनको संरचना पनि फ्लाइट फेदर्सको जस्तै हुन्छ। तर अलि भुक्क परेको हुन्छ।
सेमिप्लुम
सेमिप्लुम प्वाँख चराको शरीरको भित्रपट्टी हुन्छ। यी प्वाँखले चरालाई तातो राख्न (इन्सुलेसन) सहयोग पुर्याउँछन्। यिनीहरूमा पनि विकसित रूपको रेकिस हुन्छ भने बर्ब्युल्समा हुक भने हुँदैन।
डाउन प्वाँख
सायद सबभन्दा चर्चित डाउन प्वाँख हो। हामीले जाडोमा लगाउने डाउन ज्याकेटले यही प्वाँखबाट नाम पाएको हो। ज्याकेटहरूमा डाउन प्वाँख प्रयोग भएको हुन्छ। र, हामीलाई झैं यी डाउन प्वाँखले चराहरूलाई पनि तातो राख्छन्।
यी प्वाँख चराको शरीरको छालानजिकै हुन्छन् र शरीरलाई ताप सञ्चय गर्न मद्दत गर्छन्। यदि तपाईंहरूले चिसो दिनमा चराहरू डल्लो परेर बसेको देख्नुभएको छ भने उनीहरूले त्यो डाउन अझै फुलाएर जति सकिन्छ, ताप सञ्चय गर्न खोजेका हुन्।
फिलोप्लुम
फिलोप्लुम एकदमै साधारण प्रकारका प्वाँख हुन्। यनिमा थोरै बार्बहरू हुन्छन्। यिनीहरू संवेदनशील प्रकारका प्वाँख हुन्। यिनले कन्टुर प्वाँखहरूको स्थिति थाहा पाउने काम गर्छन्।
ब्रिस्टल
ब्रिस्टलहरू एकदमै साधारण प्रकारका प्वाँख हुन्। यिनमा रेकिस (बीचको भाग) बाहेक अरू केही हुँदैन। ब्रिस्टल प्वाँख धेरैजस्तो टाउको वा आँखाको वरपर पाइन्छ। यिनले आँखा वा मुखलाई सुरक्षा दिन सक्ने अनुमान छ।
अझ हमिङबर्डले (फूलको रस खाने एउटा सानो प्रकारको चरा) त आफ्नो समागममै प्वाँखको प्रयोग गर्छ। यसले आफ्नै पुच्छरको प्वाँख रगडेर सानो आवाज निकाल्छ। यो आवाजले पोथीलाई आकर्षणमा मद्दत गर्छ। धेरै चरालाई त उनीहरूको कन्टुर प्वाँखले छलावरण (आफ्नो वरपरको वातावरणमा मिलेर नदेखिने हुने) समेत मदत गर्छ।
प्वाँख धेरै प्रकारका भए पनि तिनीहरू एउटै प्रोटिनले बनेका हुन्छन्। जसको नाम हो बेटा केराटिन।
केराटिन हामी मान्छेको शरीरमा पनि हुन्छ। हाम्रो कपाल, नङ यसैले बनेको हुन्छ। रमाइलो कुरा, गैंडाको खाग पनि त्यही केराटिनले नै बन्छ।
बेटा केराटिन भने चरा र सरीसृपहरूमा मात्र पाइन्छ। चराको प्वाँख यसैले बनाउँछ।
धेरैजसो प्वाँख पानीले नभिज्ने हुन्छ। प्रिन ग्ल्यान्ड नामको एउटा अंगबाट निस्किने तेल उनीहरूको शरीरमा हुन्छ। यो ग्ल्यान्ड (ग्रन्थी) पुच्छरमा रहेको प्वाँख (टेल-फेदर) जोडिने ठाउँको ठ्याक्कै माथि हुन्छ।
चराले यो तेल चुच्चोको माध्यमले पखेटामा दलेर त्यसलाई चिल्लो बनाइराख्छ। घर वरपर कतै चराले आफ्नो चुच्चोले पखेटा वा प्वाँख टोकिरहेको वा मान्छेले कपाल कोरेझैं कोरेको देख्नुभएको छ भने त्यो त्यही तेल दलेको हो। चराको यो कामलाई अंग्रेजीमा 'प्रिनिङ' भनिन्छ।
माथि भनिएझैं सबै प्रकारका प्वाँखले उड्नमा मात्र होइन, अरू धेरै कुरामा मदत गर्छन्। प्वाँखहरू चराको आकर्षण बढाउन पनि विकास भएको अनुमान गरिन्छ।
चीनमा भेटिएको प्राचीन डायनासोरहरूको जीवाश्म हेर्दा तिनमा प्वाँख देखिन्छ। अहिले चराको प्वाँखमा रङ हुन्छ। यी दुवै कुराले उनीहरूको आकर्षण बढाउने काम गरेको हो कि भन्ने अनुमान गरिएको हुन सक्छ।
चराहरू सबभन्दा रंगीन जनावरमा पर्छन्। संसारमा पाइने दस हजारभन्दा धेरै प्रजातिका चराहरूमा लाखौं थरी रङको भिन्नता देखिन्छ।
अब चरामा यति थरी रङ कसरी देखिन्छ भन्नेमा जाऊँ।
चराहरूमा रङ निर्धारण गर्ने तत्वलाई 'पिग्मेन्ट' भनिन्छ। यी दुई प्रकारका हुन्छन्।
पिग्मेन्ट छाला वा प्वाँखमा हुन्छ। यसले प्रकाशका केही वेब-लेन्थ (तरंग) सोस्छ/लिन्छ भने केही परावर्तन गर्छ। त्यसरी परावर्तन भएको प्रकाशको वेब-लेन्थ हाम्रो आँखामा ठोक्किँदा त्यही अनुसारको रङ देखिन्छ। यो प्रक्रियामा सबभन्दा छोटो वेब-लेन्थ भएको प्रकाशलाई हामीले बैजनी रङको देख्छौं भने सबभन्दा लामोलाई रातो। यदि कुनै पनि प्रकाश परावर्तन हुँदैन भने हामीले कालो देख्छौं। सबै परावर्तन हुँदा भने सेतो।
चरामा हुने पिग्मेन्टले नीलो वा इन्द्रेणी रङ (सामान्य अर्थमा सात रङ) बनाउन सक्दैन। यो संरचनात्मक रङमा पर्छ।
नीलो रङ प्वाँखमा भएका स-साना कणहरूको गुणले बनाउने हो। अझै मानिसहरूले रङको तीन वटा मात्र 'स्पेक्ट्रम' (रङहरूको समूह) मा देख्छन्। मानिसले देख्ने रङको समूह कम भएकाले चराहरू हामीले देखेभन्दा धेरै रंगीन हुन सक्छन्। चराहरूले भने मान्छेले नदेख्ने 'अल्ट्राभायलेट स्पेक्ट्रम' मा पनि देख्छन्।
यी विभिन्न प्रकारका प्वाँख र यिनका रङले चराहरूमा एकअर्कालाई आकर्षण गर्ने मात्र होइन, मान्छेलाई पनि आकर्षण गर्ने क्षमता हुन्छ।
त्यसैले त मलाई पनि चरा हेर्न/खोज्न भनेपछि अरू केही चाहिँदैन!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)