चिसो बढ्दै जाँदा म बिहान-बेलुका हिँड्न छोडेको छु। चिसोको एलर्जी छ, त्यसैले करिब ८ बजेतिर घरबाट एकाध घण्टा हिँड्नको लागि निस्कन्छु। केही दिन अगाडि हिँड्दै गर्दा बानेश्वरमा एकजना चिरपरिचित भाइ भेटिए।
सामान्य सञ्चो विसञ्चोलगायत चिसो बढेको आदि छोटो कुराकानी भयो। उनी महाङ्काल मन्दिर दर्शन गरेर फर्केका रहेछन्। कुराकानीकै क्रममा भाइले सुनाए कि- फलानो त मन्दिरमा मागेर बस्न थालेछ नि दाइ। पूरा पहेँलो कपडा लगाएको थियो, मुख आधा छोपेको थियो आदि।
नेपालीको संस्कार पनि हो कि के हो, अरुको कुरा गर्न पाएपछि आफूलाई नबित्ने। हतारमा रहेका हामी दुवै जना उक्त भाइको प्रसङ्ग निक्लेपछि बढी नै समय गफमा भुल्यौं।
मैले ३/४ महिनादेखि त्यो भाइको बारेमा केही थाहा पाएको थिइनँ। ऊ त सफल व्यापारी थियो। काठमाडौँमा सानदार घर थियो। लाखका होइन, करोडका कुरा गर्दथ्यो। यस्तो कसरी हुनसक्छ भनेर मैले प्रश्न गरेँ।
मलाई त्यो सुनाउने भाइले भन्यो, नपत्याए तपाईं नै गएर हेर्नुस् न!
यति भलाकुसारीपछि हामी छुट्टियौँ।
मलाइ हिँड्नु नै थियो, हेरौं न त के रहेछ भनेर महाङ्काल मन्दिरसम्म हिँडेर जाने निर्णय गरेँ। बानेश्वरबाट फटाफट हिँड्दा करिब २० मिनेट जतिमा म महाङ्काल पुगेँ होला। मन्दिरमा दर्शन गर्नेहरूको ठूलै भिड थियो। मैले त्यो भाइलाई खोज्न थालेँ।
तर मन्दिरको पूरा परिसर घुम्नुभन्दा अगाडि नै मन्दिरको अलि पर बसेर आफ्नो पाखुरा टोकिरहेको जस्तो लाग्ने एक ११/१२ वर्षको केटाले मेरो ध्यानाकर्षण गर्यो। म माग्न बसेको त्यो व्यापारी भाइलाई खोज्न छोडेर बालकतिर गएँ।
ऊ के गर्दै रहेछ भनेर उसको नजिकै नपुगी अलि परैबाट ध्यानपूर्वक नियालेँ। ऊ त जबरजस्ती पाखुरा टोकिरहेको थियो। मैले हेर्दाहेर्दै उसको पाखुराबाट रगत बग्न थाल्यो। मलाई त्यो नमिठो दृश्य देखेर असाध्यै पीडा भयो। र, ऊसँग केही बुझ्न बालकको नजिकै गएर बाबु भनेर बोलाएँ।
मलाई लागेको थियो त्यो बालकको मानसिक सन्तुलन गुमेको हुनसक्छ तर त्यस्तो होइन रहेछ।
मेरो बोली सुनेर ऊ झसँग झस्कियो र मतिर हेर्यो। मलाई नजिकै देखेर ऊ अलिअलि डराएजस्तो र अलिअलि रिसाएजस्तो देखियो। सायद मबाट टाढा हुन होला, ऊ उठ्न खोज्यो।
मैले उसलाई मायालु भावमा भनेँ, ‘बाबु, म तिमीलाई केही पनि गर्दिनँ कतै लग्दिनँ पनि। मात्र म तिमीसँग एकछिन कुरा गर्छु, नडराऊ ल।’
एकछिनसम्म त ऊ तयार भएन।
यसरी कुरा गर्ने क्रममा उसलाई सडकबाट उठाएर लग्दा रहेछन्। अनि आज पनि यसले मलाई लाने भयो भनेर ऊ मबाट तर्किन खोजेको रहेछ।
मैले उसलाई फेरि भनेँ, ‘बाबु, तिमीले यो पाखुरा यसरी रक्ताम्य हुने गरी किन टोकेको? म तिमीलाई कहीँ लान्नँ। यहीँ छोडेर जान्छु, यति मलाई भनिदेऊ न।’
त्यसपछि सायद ऊ आस्वस्त भयो क्यार, मलाई भन्यो- ‘अङ्कल, यो दुखाइले मैले भोक बिर्सिएँ। मलाई जब भोक लाग्छ तर खानेकुरा नपाउँदा भोक बढ्दै जान्छ अनि यसरी घाउ बनाउँछु। यसको दुखाइले होला भोक बिर्सिन्छु।’
यो सुनेपछि मलाई असाध्यै पीडा भयो। यस्तो अवस्थाका मानिस पनि छन् है हाम्रो देशमा र समाजमा भनेर।
त्यसपछि मैले त्यो बालकलाई वीर अस्पताल नजिकैको होटलमा चिया पिउन जाउँ भनेँ। उसले पहिले त मानेको थिएन। मलाई माया गर्ने भए पैसा दिनुस्, तपाईंसँग त जान्नँ भन्दै थियो।
मैले उसलाई होटलमा गएर सँगै चिया पिएर म घर जान्छु, तिमी जहाँ मन लाग्छ त्यहीँ जाउला, अहिले मैले भनेको मान न भनेर साँच्चै भन्दा बिन्ती नै गरेँ। म पैसा पनि दिउँला, अहिले हिँड न होटलमा भनेँ।
त्यसपछि त्यो बालक तयार भयो। तर एउटा सर्त राख्यो उसले कि उसलाई मैले डोर्याउन नपाउने। उसले भन्यो- तपाईं अघिअघि हिँड्नुहोस्, म पछि-पछि आउँछु।
मैले हस् भनेँ र हामी दुवै जना होटलमा गयौँ। मैले होटल साहुलाई २ वटा सेल र तरकारी २ ठाउँमा ल्याउन भनेँ।
मैले नजिकैको मेडिकलबाट चोट लागेको ठाउँमा लगाउने झोल किनेर लगेँ र उसलाई त्यो घाउमा लगाउन भनेँ। उसले त्यो झोल घाउमा लगायो। ऊ धेरै खुसी देखियो र भन्यो- ‘अङ्कल, यसले त झन् दुखाउने रहेछ। मलाई यो काम लाग्छ, यो सिसी पूरै मलाई दिनुस् ल।’
सायद घाउमा झोल राख्दा चरायो होला। त्यसैले उसलाई बढी दुखाएको भान भयो।
हेर्नुहोस् त विडम्बना, हामी शरीरमा घाउ नलागोस् भनेर सजग हुन्छौँ। घाउ लागिहाले पनि नदुख्ने र घाउ निको हुने औषधि प्रयोग गर्छौं। तर यो बालक भने भोकको पीडा सहन नसकेर त्योभन्दा बढी पीडा खोज्दै आफै घाउ बनाउँछ र घाउको दर्द कम हुने होइन कि झन् दुखाइ बढाउने औषधि खोज्दै हिँड्छ। कस्तो छ सांसारिक अवस्था।
तरकारी र सेल खाँदै गर्दा मैले उसलाई अलि बढी नै प्रश्नहरू सोधेँ। एउटा प्रश्न थियो- भोक लागेको बेलामा घाउ बनायो वा घाउ दुख्यो भने भोक बिर्सन सकिन्छ भनेर कसरी थाहा पायौ बाबु?
उसले करिव डेढ वर्ष अगाडि पशुपति मन्दिर नजिक भएको दुर्घटना सम्झियो। त्यो दिन ऊ भोकले लखतरान भएको थियो। भक्तजनहरू भगवानलाई चढाउन चामल, सेल, पुरी, भेटी बोकेर लाम बसेका थिए। तर उसले कसैबाट न खानेकुरा पायो न केही किन्ने पैसा नै। भोकको पीडा सहन नसकेर ऊ लड्ने अवस्थामा पुगिसकेको थियो रे।
ऊ मन्दिर परिसरबाट गौसालातिर जाँदै थियो रे। त्यसैबेला उसलाई एउटा बाइकले हानेर भागेछ। एकछिन त उसलाई उठाउने मानिस समेत भएनछन् त्यहाँ। सबै भगवानको सेवा आराधनाको लागि लाइनमा थिए। जाबो एउटा सडक बालकमा कसको ध्यान जाने? ऊ उठ्न खोज्दै थियो रे। त्यसैबेला एक अधबैंसे महिलाले उसलाई उठाएर मेडिकलसम्म पुर्याएर मलमपट्टी बाँधिदिएछन्।
उसको घुँडा, कुहिनो र निधारमा चोट लागेको रहेछ। निधारको खत देखाउँदै उसले भन्यो, ‘यो घाउ निको हुन त २/३ महिना नै लाग्यो।’
उसले अचम्म मान्दै भन्यो- ‘अङ्कल, म लडेर उठ्दा त मेरो भोक सबै हराएछ। मलाई त घुँडा, कुइना र निधारमा दुखेको मात्र याद आयो। भोक त कता भाग्यो कता, दुखाइ मात्र सम्झिएँ। त्यसपछि भने भोक ज्यादा लागेको बेलामा जब म खाना खान पाउन्न अनि शरीरमा घाउ बनाउँछु। थाहा छैन किन हो, त्यसपछि भोक लागेको थाहा नै पाउँदिनँ।’
उसले हातका ३/४ वटा खत देखाउँदै भन्यो- ‘अङ्कल, हेर्नुस् त यी सबै खतहरू यस्तै घाउहरूको हो।’
आज पनि भोकले अतासिएँ। हिजो बेलुकादेखि केही खान पाएको थिइनँ। राति त सायद कतै निदाएँ होला। अहिले बिहान त खप्नै सकिनँ। अनि यो भोक भुल्नलाई पाखुरामा घाउ बनाएको।
सेल तरकारी खाइसकेपछि ऊ उठ्न खोज्दै थियो। मैले ऊसँग अझ केहीबेर भलाकुसारी गर्न चिया पिएर छुटौँला बाबु भनेर उसलाई रोकेँ। मैले उसलाई एकै पटक २/३ वटा प्रश्न सोधेँ घर, नाम थर र बाबुआमा।
उसले सहज रुपमा उत्तर दियो- ‘अङ्कल, मैले जानेदेखि म सडकमा नै छु। बेलाबेलामा मलाई सडकबाट उठाएर धेरै केटाकेटी भएको घरमा लैजान्छन्। तर त्यहाँ मलाई सबैले हेप्छन्। अनि म भागेर फेरि सडकमा आउँछु। त्यसैले मेरो घर यही सडक हो। घरमा पानी छेक्ने छाना आकाश हो अङ्कल मेरो त। थाहा छैन मेरा बाबुआमा को हुन्। लाग्छ मलाई जन्म त यही सडकले दियो।’
ऊ खिस्स हाँस्यो। हाम्रो चिया पनि आइपुग्यो। चिया पिउँदै नाम नि बाबु भनेर सोधेँ मैले।
उसको जवाफ सुनेर मेरो मुटु भक्कानियो। उसले भन्यो- ‘अङ्कल कसैले ट्यापे भन्छन्, कसैले सडकछाप, कसैले माग्ने भन्छन् त खसैले खाते आदि इत्यादि। अङ्कल न मेरा बाउ छन् न आमा, न दाइ न दिदी, न मामा न काका, मेरो आफ्नो भन्ने कोही छैन यो संसारमा। अनि कसले राखिदिन्छ मेरो नाम? म त नाम नभएको सडकको छोरो हुँ अङ्कलु भनेर खितित्त हाँस्यो ऊ।
उसले थप्यो ‘तपाईंजस्ता २/४ जनाले बाबु, केटा भन्छन् नत्र सबै उस्तै।’
यत्तिकैमा हाम्रो चिया पनि सकियो। ऊ जान अलि हतारियो।
‘अब गुहेश्वरी जाने हो अङ्कल। म एकै ठाउँमा बस्दिनँ। फेरि उठाएर लान मलाई खोज्दै आउँछन्। दिनैपिच्छे फरक-फरक ठाउँमा बस्ने हो,’ उसले भन्यो।
मैले पहिले नै पैसा पनि दिउँला भनेको थिएँ। १०० रुपैया झिकेर दिएँ पनि।
उसले लगाएको २०/२२ वर्षको ठिटोले लगाउने नयाँ तर मैलो ज्याकेटमा पैसा राख्दै भन्यो। यो ज्याकेट मेरो जाडो देखेर होला पाटनको कृष्ण मन्दिरमा एकजना दाइले आफूले लगाएको फुकालेर करिब १ महिना अगाडि दिएको।
ऊ त्यो १०० को नोट राखेको खल्तीको चेन लगाउँदै त्यहाँबाट फटाफट रत्नपार्क तिर हिँड्यो। पर पुगेर एक पटक फर्केर मलाई हेर्यो र हात हल्लाएर दौडियो, मैले पनि हात उठाएँ।
म भने होटलको पैसा तिरेर मैले जुन भाइलाई भेट्न भनेर मन्दिर गएको थिएँ, उसलाई नखोजी टेम्पु चढ्न तिर लागेँ।
यो सब पढिरहँदा कतिलाई लाग्दो हो, यो काल्पनिक पात्र हो र यसको बारेमा लेखकले परिकल्पना गरेर लेखे। तर यो कुनै परिकल्पना र कथा होइन। मैले प्रत्यक्ष देखेको, भेटेको र कुराकानीका आधारमा तयार पारेको हो।
यो बालकसँग कुराकानी गरिरहँदा नेपाल सरकारको सहसचिवबाट सेवा निवृत्त बलराम केसीले आजभन्दा करिब २० वर्षअगाडि एक सडक बालकको बारेमा सुनाएको कुरा याद आयो।
उहाँले डेनमार्कमा एमफिल अध्ययन गर्दा ‘सडक बालबालिकाहरू जीवन जिउने सीप कसरी सिक्छन्’ भन्ने विषयमा थेसिस लेख्दा विविध किसिमका सडक बालबालिकाको अवस्था अवलोकन र अध्ययन गरेको र सोही क्रममा भूगोल पार्कमा आफ्नो भोक मेटाउनका लागि आफैले हात पत्तिले काटेर घाउ बनाएको एक बालकसँग समेत भेट भएको थियो भनेर मलाई सुनाउनु भएको थियो।
मलाई त्यसबेला उक्त कुरा पत्याउन गाह्रो भएको थियो। मेरो मुखाकृति देखेर होला उहाँले भन्नुभएको थियो कि, ‘तपाईं नपत्याउन पनि सक्नुहुन्छ तर यो सत्य हो।’
‘होइन, होइन सर पत्याएँ’ भनेको थिएँ मैले त्यसबेला। मनमा भने यस्तो पनि हुन्छ र भन्ने लागेको थियो।
तर आज आफै त्यस्तै किसिमको अर्को बालकसँग साक्षात्कार भएपछि मैले त्यसबेला बलराम केसीको त्यो भनाइलाई किन शङ्का गरेँ होला भनेर आफैलाई नमज्जा लाग्यो।
टेम्पोमा घर फर्किरहँदा मेरो मानसपटलमा भने त्यही बालक घुमिरह्यो। समाज, सरकार, बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका कार्य, हाम्रो परिवेश आदिको बारेमा मेरो मनमा अनेक तर्कनाहरू, प्रश्नहरू उठिनै रहे।
टोलका चिया पसलमा गफिँदै कतिपय भद्र भलाद्मीले सुनाएको बिस्कुट, मासु, दूध भातका कथा मेरो मानसपटलमा फनफन्ती घुम्न थाल्यो।
नेपालमा बाबुआमा र घरको ठेगाना नभएका यस्ता बालबच्चाको उद्धार र संरक्षणको लागि भनेर अनगिन्ती सङ्घ-संस्था कार्यरत छन्। यस्ता बालबालिकालाई देखाएर हरियो रुपैयाँको खेती गर्नेहरू समाजमा प्रशस्तै छन्।
कतिपयले अत्यन्त प्रशंसनीय काम पनि गरेका छन् तर यस्ता राम्रा संस्था अपवादमा मात्र हुन् कि जस्तो भएको छ, नेपालमा।
हुन त त्यो बालकलाई पटक-पटक सडकबाट उद्धार गरेर यस्ता संस्थाहरूले लगेका थिए रे। तर उसले न त्यहाँ माया पायो, न सम्मान, न भनेको समयमा खान पायो, न स्वतन्त्र रुपमा हिँड्न, खेल्न र दौडिन। त्यसैले ऊ त्यस्ता संस्थामा पुगेको केही दिनमा नै भागेर सडकमा नै आउने गर्दो रहेछ।
त्यसैले मेरो अनुरोध यो क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूलाई सडकका बालबालिकाहरूलाई उठाएर लगेपछि खान र सुत्न दिए मात्र पुग्छ भन्ने नसोच्नुहोस्।
उनीहरू पनि माया, प्रेम, सद्भाव, सहयोग र स्वतन्त्रता चाहन्छन्। उनीहरूमा पनि संवेगात्मक, भावनात्मक र मनोरन्जनात्मक भावहरू पैदा हुन्छन्। यी सबैलाई सन्तुलित रुपले विकास गराउँदै उनीहरूको भावनामा ठेस नलाग्ने गरी संरक्षण गर्ने हो भने पक्कै पनि भाग्दैन थिए होलान यस्ता बालबालिकाहरू।
मलाई सबभन्दा नमिठो लाग्ने कुरा त सरकारी अकर्मन्यताको बारेमा हो। २०४६ सालदेखि यता दुई किसिमका सरकारहरू बने। एक किसिमको सरकार हामी सर्वहारा वर्गको हक, हित र अधिकारको संरक्षणको लागि काम गर्छौं भनेर नथाक्ने र अर्को किसिमको सरकार गरिबलाई सधैँ सर्वहारा राख्ने होइन कि यो वर्गलाई समुन्नत, धनी र पुँजीपति बनाउने गरी काम गर्छौं भनेर भनिरहने।
मलाई लाग्छ, यो बालकभन्दा सर्वहारा र गरिब यो देशमा को छ? कसैले भन्ला एउटा व्यक्तिको पनि कुरा गर्ने हो? कुरा व्यक्तिको होइन, कुरा विधि, पद्धति र प्रणालीको हो। व्यक्तिकै कुरा गर्दा पनि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सहरहरूमा हेर्ने हो भने यस किसिमका सडक बालबालिका हजारौं भेटिन सक्छन्।
भलै यसरी हातै टोक्ने बालक भने अपवादमा होलान्।
यहीँ काठमाडौँमा म बसेकै टोलमा समेत एकदिनमा २/३ समूह बालबालिकाहरू ‘आमा भोक लाग्यो, दिदी भोक लाग्यो’ भन्दै माग्न आउँछन्। यसरी भोक लागेको समयमा खान नपाउने बर्ग ठूलै छ जस्तो लाग्छ नेपालमा।
यस्ता बालबालिकाहरू न सर्वहाराका प्रतिनिधि भनिने साम्यवादी कम्युनिस्टहरूको प्राथमिकतामा पर्न सके न सर्वहारा र गरिबको स्तरोन्नती गरी पुँजीपति बनाउछौँ भन्ने प्रजातान्त्रिक समाजवादीको प्राथमितामा परे।
जुनसुकै सरकारको नीति, कार्यक्रम र बजेटमा १/२ वाक्य यस्ता बालबालिकाका बारेमा लेखिन्छन्। अनि व्यवस्था भएको बजेट आफ्नो वा आफ्नो दलको नजिकको व्यक्तिले सञ्चालन गरेको गैह्रसरकारी संस्थालाई दिइन्छ र सकिन्छ। न त्यो संस्थाले साँचो रुपमा बालबालिकाको उद्धार र संरक्षण गर्छ न सरकारी बजेटको सही सदुपयोग नै।
अन्तमा व्यक्ति, समाज र गैह्रसरकारी सङ्घ-संस्थाको जिम्मेवारी यस क्षेत्रमा छ भन्दाभन्दै पनि प्रमुख दायित्व सरकारको हो। यस्ता सडक बालबालिका, घरवारविहीन व्यक्ति र परिवारलाई मानवीय जीवन जिउन न्यूनतम आवश्यकताको पूरा सरकारले गरिदिनु पर्दछ।