पत्रकारितामा महिलाको संलग्नता सुरूकै दिनदेखि सशक्त भइदिएको भए र उनीहरू सञ्चारमाध्यमको निर्णायक तहमा पुग्न सकेको भए महिला आन्दोलनकर्ताका इतिहास पक्कै हराउने थिएनन्। उनीहरूका समस्या, हक र अधिकारका कुराहरू कम आँकिने थिएन।
यो हिजोका दिनका कुरा भए।
नेपालमा अझै पनि महिलाले गरेका राम्रा कामका बारेमा लेख्ने कलमको खडेरी नै छ।
महिलाहरू सकेसम्म 'टक-शो' या नीति निर्माणका कुरामा राय दिने ठाउँमा निम्त्याइँदैनन्। अपवादमा रहेका, हातका औंलामा गनिने महिलाको कुरा छाडौं। उनीहरू हिजो पनि, आज पनि र भोलि पनि सत्ता र शक्तिका साझेदारीमा आफूले चाहेको र रोजेको ठाउँमा सहजै पुगिरहेका छन्। पुगिरहन्छन्। कब्जा जमाइरहन्छन्।
यहाँ भुइँमान्छे (महिला) को कुरा गर्न खोजिएको हो।
पत्रकारितामा सुरूका दिनमा महिला कम भएको तथ्य नेपालमा मात्रै होइन, छिमेकी देशका साथै विश्वका अन्य देशमा पनि रहेछ।
ब्रिटेनबाट भारत स्वतन्त्र हुनुभन्दा अगाडि पाकिस्तान र बंगलादेशसमेतको भूमिमा 'महिला पत्रकार या पत्रकार महिला' को नाम खोज्दा चार जना भेटिने रहेछ। उनीहरूलाई भारतको पहिलो चार पत्रकार भनिने रहेछ।
उनीहरू हुन्- विभिन्न पत्रिका तथा म्यागेजिनका साथै 'रस्सी कारानजियाको ब्लिज' नामक साप्ताहिक ट्याबलोइड पत्रिकामा दस वर्ष कार्यरत विद्या मुन्सी, फोटोग्राफर होमाइ भाइरावाला, भारतको पहिलो टेलिभिजन च्यानल दूरदर्शनले सन् १९६५ मा पाँच मिनेटको समाचार बुलेटिन प्रसारण गर्न थालेपछि पहिलो समाचार वाचका रूपमा काम गर्ने प्रतिमा पुरी र भारतको फिल्मी म्यागजिन 'स्टार एन्ड स्टाइल' मा सन् १९६०/७० को दशकमा 'फ्र्यांक्ली स्पिकिङ' नामक पाक्षिक कोलम लेख्ने देव्यानी चौबल।
उक्त तथ्यहरू पढ्दा, नेपाली पत्रकारितामा महिलाको लेखन र प्रवेश समय उस्तै उस्तै देखिन्छ। तर भारत, पाकिस्तान र बंगलादेशमा महिलाहरू पेसागत रूपमा नेपालभन्दा अलि अगाडि देखिन्छन्। भारतमा ब्रिटिस साम्राज्यवादको कारण शिक्षा, यातायात जस्ता क्षेत्रमा अलि बढी विकास हुनु र त्यसैको संरचनात्मक लाभको कारणले थोरै भए पनि फाइदा पुर्याएको होला भन्ने मेरो अनुमान छ।
सन् १८५१ सेप्टेम्बर १८ देखि सुरू भएको अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले सन् २०१७ अक्टोबर १० मा महिलाको मुद्दालाई व्यापक रूपले कभरेज दिन भनेर 'जेन्डर एडिटर' को पद खडा गर्यो र जेसिका बेनेटलाई नियुक्त गर्यो। त्यसअगाडि महिला तथा अल्पसंख्यकका कुरालाई केही स्थान दिइए पनि यसरी केन्द्रित नै गरेर लेखिएको कमै देखिन्थ्यो। त्यसैगरी लन्डन हेडक्वार्टर रहेको समाचार एजेन्सी रोयटर्सको १७० वर्षको इतिहासमा पहिलोपटक सन् २०२१ अप्रिल १९ मा अलेसान्ड्रा गलोनीलाई नियुक्त गरियो।
यसले पनि देखाउँछ, महिलाहरूलाई पत्रकारिताको निर्णायक तहमा आउन कति गाह्रो हुन्छ। जब महिला निर्णायक पदमा आउन त गाह्रो हुन्छ भने महिलाका समस्या बुझिन्छन् र लेखिन्छन् भन्ने कति ग्यारेन्टी गर्नु?
महिलाका बारेमा विदेशमा सबै राम्रैराम्रो आउँछन् भन्ने पनि होइन।
सन् २०१५ जनवरी ७ मा फ्रान्सको पेरिसबाट निस्कने 'चार्ली हेब्दो' नामक व्यंग्यात्मक साप्ताहिक पत्रिकाको अफिसमा दुई जना फ्रेन्च मुश्लिम दाजुभाइले हतियारका साथ गएर आक्रमण गरे। १२ जनाको मृत्यु भयो र ११ जना घाइते भए। उक्त आक्रमणको कारण सन् २०१२ मा पत्रिकाले छापेको मुस्लिम धर्मगुरु मुहमदसँग सम्बन्धित व्यंग्यात्मक कार्टुन थियो।
घटनापछि विश्वका ८० देशका प्रमुखहरू र करिब ३७ लाख मानिसले प्रेस स्वतन्त्रताका पक्षमा पेरिसका सडकमा र्याली निकाले। र्यालीको समाचार तथा फोटा विश्वभरिका समाचारमाध्यममा प्रमुखताका साथ छापिएको थियो। र्यालीमा भाग लिने विश्वका राष्ट्र प्रमुखमध्ये जर्मनीका तत्कालीन चान्सलर एन्जेला मर्केल पनि थिइन्। विश्वका प्रमुख नेताको लहरमा उभिएको उनको फोटो विश्वका प्रमुख समाचारमाध्यमहरूले प्रकाशन गरे। फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओल्यान्ड र प्यालेस्टाइनका राष्ट्रपति महमद अब्बासका बीचमा देखिन्थिन् उनी।
तर इजरायलबाट प्रकाशन हुने जुइश अल्ट्रा अर्थोडक्स पत्रिका 'हेम्भेसर' ले उक्त फोटोबाट दुई महिला नेताहरू एन्जेला मर्केल र युरोपियन युनियनकी तत्कालीन प्रमुख फ्रेडरिका मोगरिनी तथा पेरिसकी तत्कालीन मेयर एन हिडाल्गोलाई पनि काटेर फोटो छापेपछि त्यसबारे व्यापक चर्चा भएको थियो। त्यसो गर्नुको कारण, महिलाहरू फोटो खिचेर प्रचार गरिने वा पुरुषहरूको बीचमा परेड गरिने वस्तु होइन भनिएको थियो।
आजको युगमा एउटा देश हाँकेर बसेकी महिलालाई महिला भएकै कारणले भेदभाव गर्ने समुदाय छ भन्दा आश्चर्य लाग्नुपर्ने हो। तर त्यस्तै भइरहेको छ।
महिलाका बारेमा समाचारको अर्को उदाहरण।
अफगानिस्तानमा महिलाले पढ्न नपाउने तथा पुरुष डाक्टरले महिला जाँच्न नपाउने जस्ता अतिवादका नमूना पनि हालैका दिनमा पढ्न र सुन्न पाइन्छ। यो कुरालाई मनन गर्ने हो भने महिला डाक्टर हुने नै भएनन्। महिला डाक्टर नभएपछि बिरामी महिलाको स्वास्थ्य परीक्षण हुने भएन। अनि मर्नु सिवाय उपाय भयो त?
यस्ता कुराहरू कति पत्रकारले उठाउँछन्? उनीहरूलाई महिला स्वास्थ्यबारे कति ज्ञान र सरोकार रहन्छ?
अधिकांशको नजरमा त यो महिलाको समस्या मात्र न भयो।
इतिहास जहिले पनि जित्नेको लेखियो। या आफूले लेख्न नसक्ने वा नचाहनेका बारेमा लेखिएका इतिहास गलत लेखियो। वा महिलाको दुःखलाई दुःख र पीडाका रूपमा नबुझी लेखियो। यसको राम्रो उदाहरण, हामी भृकुटीको कथा र सती प्रथाको इतिहासलाई लिन सक्छौं।
राजा अंशुवर्माले नेपाल र तिब्बतको सम्बन्ध राम्रो बनाउन राजकुमारी भृकुटीलाई तिब्बतका राजा स्रङचङ गम्पोसँग सन् ६३९ मा बिहे गरिदिएको कुरा इतिहासमा सगौरव बयान गरिएको छ। यो उदाहरणलाई केलाउने हो भने राजा/रजौटाहरूले आफ्ना छोरी/चेलीलाई आफ्ना प्रतिद्वन्द्वी वा आफूभन्दा बलिया शासक रिझाउन पठाएको भन्न सकिँदैन र?
अर्को कुरा, भृकुटीको बिहे ११ वर्षको उमेरमा गरिदिएको पनि भनिन्छ। ती सानी केटीले आफ्नोभन्दा नितान्त फरक व्यक्ति, भाषा, वेशभूषा र खानपान भएको ठाउँमा गएर केके भोगिन् वा भोग्नुपर्यो होला? उनीमाथि कति अन्याय र अत्याचार भए होलान्?
त्यो कुराको कतै उल्लेख छैन। छ त केबल भृकुटीले धैर्य र शालीन भएर तिब्बतमा जीवन व्यतीत गरेको कुरा र त्यो प्रसंगलाई इतिहासमा गौरवशाली समय भनेर वर्णन गरिएको कुरा। केही गरी महिलाले इतिहास लेखेको भए भृकुटीको व्यक्तिगत भोगाइका कुरा आउने थिएनन् त? पक्कै आउँथ्यो र इतिहासको अर्को पाटो देखिन्थ्यो।
त्यस्तै अनुभव सती प्रथाको पनि हुन सक्छ। महिलाले इतिहास लेखेको भए जिउँदो शरीर पोलेर गर्व गरेको इतिहास भन्दा पोलिन जाँदाको मनस्थिति, आगोमा बस्दा सती हुनेको अनुहारमा देखिने पीडा, भय, आक्रोश, चिच्याहट सबै कुरा आउँथे होलान्!
त्यसैले पनि महिलाहरूको कुरा पुरूषले लेखिदिएको भन्दा फरक हुन्छ।
यस्तै उदाहरण, सीता र द्रौपदीको कथामा पनि लागू हुन्छ।
पुरूषले लेखिदिएको इतिहासमा सीताले अग्निपरीक्षा दिएको कुरालाई उनको पतिव्रता धर्म पालन गरेको भनेर जसरी वर्णन गरिएको छ, महिलाले त्यही कुरा लेखेको भए, सीता जल्दा पोलेको त्यो पीडा, अन्यायपूर्ण परिस्थिति खडा गरेर जल्नुपर्ने बाध्यताका बारेमा पो लेखिन्थ्यो कि?
पुरुषले लेखिदिएको इतिहास कहिलेकाहीँ 'यो होइन है' भन्दाभन्दै पनि अकाट्य बनेर इतिहास बन्छ। त्यसको एउटा उदाहरण यहाँ उल्लेख गर्दैछु।
सन् १९६८ सेप्टेम्बर ७ का दिन अमेरिकाको न्यूजर्सी राज्यको एट्लान्टिक सहरमा 'ब्रा बर्निङ' नामक प्रतिरोध कार्यक्रम भएको थियो। केही अमेरिकी महिलाहरूले त्यहाँ हुन लागेको 'मिस अमेरिका ब्युटी पिजेन्ट' को भर्त्सना गरे। आफ्नो अधिकारका लागि सांकेतिक विरोध गरे।
त्यो बेला त्यहाँ कुनै ब्रा बालिएको थिएन भनेर उक्त कार्यक्रमकी संयोजक रवीन मोर्ग्यानले पटकपटक भन्दै आएकी छिन्। उनका अनुसार त्यहाँ रवीनहरूले 'फ्रिडम ट्र्यास क्यान' भनेर एउटा डस्टबिन राखेर त्यसमा महिलाहरूले भुइँ पुछ्ने मप, लिपस्टिक, लगाएको ब्रा इत्यादि फालेका रहेछन्। त्यही कुरालाई कुनै रिपोर्टरले फ्याँकिएको ब्रामा आगो लागेको देखेको भनेर लेखिदिएछन्।
उक्त घटनाबारे रवीनले भनेकी छन्- हामी भर्खरै फेमिनिजमका बारेमा बुझ्न सुरू गरेका प्रगतिशील युवाहरू थियौं। हामीलाई कफी बनाउन मात्रै लगाइन्थ्यो, नीतिहरू बनाउन संलग्न गरिँदैन थियो।.....हामीले कहिले पनि ब्रा जलाएका होइनौं। एउटा मिथका रूपमा यो कुरा वर्षौंवर्षदेखि फैलाइएको छ।'
रवीन मोर्ग्यान अहिले पनि छन्। उनले होइन भन्दाभन्दै पनि फेमिनिष्टलाई होच्याउन पर्यो भने अझै पनि यो कुरा उठिरहन्छ।
रवीनले यो कुराको अमेरिकी लेखक डब्लु जोसेफ क्याम्बेलद्वारा लिखित 'गेटिङ इट ह्रङ- टेन अफ द ग्रेटेस्ट मिसरिपोर्टेड स्टोरिज इन अमेरिकन जर्नालिज्म' मा पनि खण्डन गरेकी छन्।
त्यहाँ उनको भनाइको आशय यसरी छापिएको छ- सन् १९६८ को प्रदर्शनमा कतै पनि कहिल्यै पनि ब्रा जलाइएको थिएन। त्यो खाली मिडिया मिथ थियो।'
तर जोसेफ क्याम्पबेलले किताब लेख्ने सिलसिलामा गरेको अनुसन्धानमा त्यति बेलाको स्थानीय पत्रिका 'एट्लान्टिक सिटी प्रेस' मा सन् १९६८ मा छापिएको लेखमा ब्रा जलाइएको कुरा लेखिएको पाएँ भनेका छन्।
यदि रवीनहरूको हातमा त्यति बेलै सञ्चारमाध्यमको सुविधा भएको भए वा उनीहरूले, त्यति बेलै आफ्ना कामहरू अभिलेखीकरण गरेका भए 'मिडिया मिथ' ले महिलाहरूको त्यस दिनको आन्दोलनलाई इतिहासमा गलत जानकारी स्थापित गर्दैन थियो कि?
त्यसैले पटकपटक भन्नुपरेको छ- पत्रकारिता र यसको नीति निर्माण तहमा महिलाहरूको सहभागिता सकेसम्म धेरै बढाउनु पर्छ। पत्रकारिता विधाले इतिहास लेखनमा पनि ठूलो भूमिका खेलेको हुन्छ। अब पनि महिलाहरू आफ्नो इतिहास आफैं लेख्न नजुर्मुराउने हो भने कि त 'ब्रा जलाएको स्टोरी' जस्तो हुन्छ, नभए भृकुटी र सीताका जस्ता गौरवान्वित कथाहरू मात्रै बन्छन्!