कुनै संक्रामक रोग एकै समयमा धेरै देशहरूमा फैलिएको छ भने त्यसलाई महामारी भनिन्छ। भाइरस वा ब्याक्टेरियाजस्ता सूक्ष्म जीवाणुहरूबाट लाग्ने रोगलाई संक्रामक रोग भनिन्छ।
भाइरस, ब्याक्टेरिया, फंगसलगायतका सूक्ष्म जीवाणुहरूका १४ सयभन्दा बढी प्रजातिहरूले मानिसमा संक्रमण गर्न सक्ने थाहा भएको छ। नयाँ–नयाँ संक्रामक रोग देखिने दर बढिरहेको छ। महामारी यही समयमा र यही ठाउँबाट उत्पत्ति हुन्छ भनेर भन्न सकिँदैन। महामारी जहिले र जहाँबाट पनि सुरु हुनसक्छ।
विगतमा भएका संक्रामक रोगको उत्पत्तिका घटनाहरूको विश्लेषणले उत्पत्तिको कारणहरू बुझ्न सकिन्छ।
गएको २० वर्षमा आएका खतरनाक रोगहरू जस्तैः सार्स, स्वाइन-फ्लु, मर्स, एभिअन फ्लु, इबोला र कोभिड- १९ जनावरबाट मानिसमा सरेर फैलिएका हुन्। तिनीहरू सबै भाइरसले लाग्ने रोग हुन्। सन् १९४० देखि पहिचान गरिएका लगभग चार सय संक्रामक रोगहरूमध्ये ६० प्रतिशतभन्दा बढीको उत्पत्ति जनावरबाट भएका छन्।
त्यसमा पनि अधिकांश वन्यजन्तुबाट मानिसमा सरेको देखिन्छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मानिसहरूमा देखापर्ने हरेक नयाँ चार संक्रमणमध्ये तीन वटा जनावरबाट सरेका छन्।
प्रत्येक वर्ष दुई वटा नयाँ भाइरस तिनीहरूको प्राकृतिक बासस्थानबाट मानिसमा सरेको देखिएको छ। ‘नेचर’ जर्नलमा प्रकाशित लेखअनुसार मानिसलाई संक्रमण गर्न सक्ने क्षमता भाइरसका कम्तीमा दश हजार प्रजातिहरूसँग छ। अधिकांश त्यस्ता भाइरसहरू जंगली स्तनधारी जीवका शरीरमा हानीरहित तरिकाले बसिरहेका छन्।
वातावरणीय परिवर्तन र मानवीय व्यवहारका कारणले गर्दा जनावरबाट भाइरस मानिसमा सरेका हुन्। वनजंगल विनाश, वैध अथवा अवैध तरिकाले गरिने वन्यजन्तुको व्यापार, वन्यजन्तुको शिकार, जलवायु परिवर्तन आदिले संक्रामक रोग पुनरागमन हुने, नयाँ–नयाँ संक्रामक रोगहरू उत्पन्न हुने र फैलिने वातावरण सिर्जना गरेका छन्।
पूर्वाधार निर्माण, खानी सञ्चालन, बढ्दो जनसंख्या, कृषि क्षेत्र र सहरहरूको विस्तारले वन विनाश भएको छ। वन विनाशले वन्यजन्तुको बासस्थान खल्बलिनुको साथै खानेकुराको पनि कमी हुन जान्छ।
बासस्थान अतिक्रमण र खानेकुराको अभावले वन्यजन्तुको सम्पर्क मानव बस्तीसँग बढ्छ जसले वन्यजन्तुका भाइरस सजिलै घरपालुवा जनावर र मानिससम्म आइपुग्छन्।
यसको एउटा उदाहरण सन् १९९४ मा अस्ट्रेलियामा देखिएको हेन्ड्रा भाइरस संक्रमण हो। हेन्ड्रा भाइरस प्राकृतिक रुपमा फ्रुट-ब्याट भनिने फलफूलहरू खाने चमेरामा पाइन्छ। वनविनाश र खाद्यान्न अभावले हेन्ड्रा भाइरस बोकेका चमेराहरू कृषि फार्ममा र सहरका फलफूल बगानमा आइपुगे र बासस्थान बनाए।
नयाँ ठाउँमा चमेरा र घोडा नजिकै भए। हेन्ड्रा भाइरस चमेराको र्याल र दिसापिसाबको माध्यमबाट बाहिर निस्कन्छ। नयाँ स्थानमा पनि पर्याप्त र गुणस्तरीय खानेकुरा नहुँदा चमेराहरू तनावमा हुने र बढी भाइरस छोड्ने गरेको अध्ययनले पत्ता लगाएको थियो। यही नयाँ परिस्थितिमा हेन्ड्रा भाइरस चमेराबाट घोडामा आयो र घोडाबाट मानिसमा।
अध्ययनहरूले वन क्षेत्रलाई कृषि क्षेत्र र सहरमा परिवर्तन गर्दा जीवका केही प्रजातिहरू घट्दै वा लोप हुँदै जाने र मानिसमा रोग सार्न सक्ने मुसा, चमेराजस्ता स्तनधारी जीवको संख्या बढ्ने देखाएका छन्।
जनघनत्व बढ्दै गएको छ। हाम्रो वरिपरी चमेरा, मुसा र घरपालुवा पशुपंक्षी छन्। यस्तो वातावरणले एक प्रजातिबाट अर्को प्रजातिमा संक्रमण सर्ने अवसर दिन्छ।
निपाह भाइरस चमेराबाट सुँगुर हुँदै, मर्स कोरोनाभाइरस चमेराबाट उँट हुँदै र सार्स कोरोनाभाइरस चमेराबाट सिभेट हुँदै मानिसमा सरेका हुन्। मार्गबर्ग भाइरस पनि चमेराबाटै मानिसमा सरेको हो।
चमेराहरूले अन्य प्रजातिले भन्दा बढी खतरनाक भाइरसहरू बोक्ने अध्ययनहरूले देखाएको छ। हामीले चमेराको बासस्थान अतिक्रमण गर्ने, शिकार गर्ने र खाने गर्यौं भने तिनीहरूका भाइरस मानिसमा सर्न सक्छन्।
बर्डफ्लुको भाइरस जंगली चराबाट पोल्ट्री हुँदै र स्वाइन फ्लुको भाइरस चराबाट सुँगुर हुँदै मानिसमा सरेका हुन्।
अमेजन क्षेत्रमा १३ वर्षको तथ्याङ्क विश्लेषण गरेर पिएनएएस जर्नलमा प्रकाशित अध्ययनले वन विनाशसँगै मलेरियाका बिरामीहरू पनि बढेको देखाएको छ। वन विनाशले लामखुट्टे वृद्धिको लागि उपयुक्त बासस्थान सिर्जना गरेको र लामखुट्टेले मानिसलाई टोक्ने दर बढेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
यसैगरी वन्यजन्तुको शिकार गर्ने, ओसारपसार गर्ने, काँचै वा राम्ररी नपकाइकन खाने गर्नाले वन्यजन्तुमा रहेका हानिकारक भाइरसहरू मानिसमा सर्ने गर्छन्। सन् १९९६ को जनवरीमा मध्य अफ्रिकी मुलुक ग्याबोनको एउटा गाउँमा इबोला भाइरस देखापर्यो।
इबोला भाइरसबाट संक्रमित ३७ जना मध्ये २१ जनाको ज्यान गयो। गाउँका केटाकेटीहरूले जंगलबाट मरेको चिम्पाञ्जी घरमा ल्याएर पकाएर खाएपछि गाउँमा इबोला भाइरस फैलिएको थियो।
इबोला भाइरस संक्रमित भएका चिम्पाञ्जी, चमेरो र बाँदरजस्ता जनावरसँगको निकट सम्पर्कबाट मानिसमा सर्नेगर्छ। पछिल्ला केही वर्षहरूको तथ्याङ्क हेर्ने हो भने इबोला देखिने दर बढ्दो देखिएको छ।
इबोला छिटो–छिटो देखापर्न थाल्नुमा वन–विनाश र मानिसहरूले पहिलेको तुलनामा चमेरा र बाँदरको मासु बढी खानुलाई कारण मानिएको छ। अफ्रिकाको मासुबजारमा चमेरा, बाँदर, चरा, मुसालगायत अन्य स्तनधारी जनावरको किनबेच हुन्छ जसले जनावरवाट मानिसमा भाइरस सर्ने जोखिम बढाएको छ।
अहिलेको सार्स कोभ–२ भाइरस चीनको वुहान सहरस्थित जीवित वन्यजन्तु बिक्री हुने बजारमा राखिएका वन्यजन्तुबाट मानिसमा सल्केको हो। एक अध्ययनले सार्स कोभ–२ भाइरस र्याकुन कुकुरबाट मानिसमा सरेको हुनसक्ने देखाएको छ। वुहानमा गोही, र्याकुन कुकुर, फ्याउरो, सर्प, सुँगुरे भालु, ब्वाँसो आदिको बिक्री हुन्छ।
एड्स लाग्ने एचआइभी चिम्पान्जीको शिकार गर्दा मानिसमा सरेको हो।
वन्यजन्तुका भाइरस मानिसको लागि विल्कुलै नयाँ हुन्छन्। मानिसको शरीरमा नयाँ भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति विकास भएको हुँदैन। खोपको विकास पनि भएको हुँदैन। त्यसैले मानिसहरू बिरामी पर्छन्। सहरीकरण र मानिसहरूको आवतजावतले गर्दा त्यस्ता भाइरस तुरुन्तै विश्वभर फैलिएर महामारीको रुप लिन सक्छन्।
जलवायु परिवर्तनले संक्रामक रोगहरू थप फैलन सक्ने गरी अनुकूल अवस्था सिर्जना गरिदिएको छ। जलवायु परिवर्तनले हिउँ र पर्माफ्रस्ट पग्लिँदा त्यहाँभित्र रहेका हानिकारक भाइरस र ब्याक्टेरिया बाहिर निक्लिन थालेका छन।
कतिपय अनुसन्धानकर्ताले त अबको महामारी चमेरो वा चराबाट नभई हिमनदी र पर्माफ्रस्ट पग्लेर आउन सक्ने चेतावनी दिएका छन्। माटो, चट्टान र बरफको स्थायी रुपमा जमेको तहलाई पर्माफ्रस्ट भनिन्छ। सन् २०१६ मा रुसमा पर्माफ्रस्ट पग्लिएर निक्लेको एन्थ्राक्सको ब्याक्टेरियाले १२ वर्षीय एक बालकको ज्यान लिएको थियो भने अन्य केही अस्पताल भर्ना हुनु परेको थियो।
सन् २०२२ को अगस्टमा ‘नेचर क्लाइमेट चेन्ज’ नामको जर्नलमा प्रकाशित विस्तृत अनुसन्धान विश्लेषणअनुसार जलवायु परिवर्तनले आधाभन्दा बढी संक्रामक रोगहरूलाई झन् खराब बनाउँदै लगेको छ।
जलवायु परिवर्तनसँगै बढेका बाढी तथा आँधीका घटनाले हेपाटाइटिस, हैँजालगायत दुषित पानीबाट सर्ने रोगहरूको प्रकोप बढ्न थालेको छ। तापमान वृद्धिसँगै लामखुट्टेको बासस्थान पनि विस्तार हुँदै गएको छ।
पहिले लामखुट्टे नपाइने उच्च क्षेत्रमा लामखुट्टे देखिन थालेका छन्। लामखुट्टेसँगै त्यस्ता ठाउँहरूमा लामखुट्टेले सार्ने मलेरिया, डेङ्गीजस्ता रोगहरू पनि देखिन थालेका छन्।
नेपालमा सन् २००६ मा पहिलो पटक डेङ्गीको प्रकोप हुँदा ९ जिल्लामा ३२ जना मात्र संक्रमित भएको तथ्याङ्क छ भने २०२२ मा ७७ वटै जिल्लामा ५४ हजारभन्दा बढी संक्रमित भएको सरकारी तथ्याङ्क छ। डेङ्गीका संक्रमितहरू बढ्नुमा जलवायु परिवर्तनसँगै अव्यवस्थित सहरीकरण लगायतलाई कारण मानिएको छ।
जलवायुमा परिवर्तन आउँदा जनावरहरू बासस्थान परिवर्तन गरेर धेरै मानिस बसोबास गर्ने क्षेत्रहरूतिर लाग्छन् जसले जनावरका भाइरस मानिसमा सर्ने र फैलने अवसर दिन्छ।
महामारीलाई रोक्ने हो भने जनावरमा भएका संक्रामक रोगका सूक्ष्म जीवाणुलाई मानिसमा सर्न रोक्नुपर्छ। जनावरबाट मानिसमा रोग सर्ने जोखिम कम गर्नको लागि मानव र प्रकृतिबीच सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ।
वन–विनाश र वन्यजन्तुको बासस्थानको अतिक्रमण रोक्नुपर्छ। वन्यजन्तुको व्यापारलाई बन्द गर्नुपर्छ वा कडा निगरानीमा राख्नुपर्छ। वन क्षेत्र नजिकैका पशुपालन केन्द्रहरू र मानव–जनावरबीच दूरी कम हुने स्थानहरू निगरानी गर्नुपर्छ र पशुपालन केन्द्रको जैविक सुरक्षामा सुधार ल्याउनुपर्छ।
(लेखक नेप्लिज फार्मिङ इन्स्टिच्युट डिल्लिबजार, काठमाडौंका अनुसन्धान अधिकृत हुन्।)