शनिबारको दिन, बिहानको खाना बनाउँदै थिएँ। बिदा भएकाले अलि ढिलै गरी उठेकी थिएँ। यसै पनि माघ महिनाको अन्तिम दिनहरू, बाहिर पारिलो घाम लागेको भएकाले पनि होला न्यानो थियो। त्यत्तिकैमा मेरो मोबाइलको घन्टी बज्यो।
यसो मोबाइल हेरेको साथीले फोन गरेकी रहेछिन्। फोन गर्ने प्लस-टु पढ्दाको मिल्ने साथी हुन्। करिब एक दशक पहिला हाम्रो भेट कलेजमा भएको थियो। त्यतिबेला हामी दुवै जना एसएलसी सकी प्लस-टु पढ्न गाउँबाट भर्खर सहर आएका थियौँ।
सहर बसाइको सुरुआती दिनहरूमा गाउँ, घर र परिवारको यादले खुबै सताउँथ्यो। हामी एकअर्कासँग मनका बह पोख्दै परिवारको न्यास्रो मेटाउथ्यौँ। पढ्ने कुरामा पनि एकअर्कालाई सहयोग गर्थ्यौं। त्यही क्रममा हामी कतिबेला मन मिल्ने र दुःखसुख बाँड्ने साथी बन्न पुगेछौ, पत्तै भएन।
हाम्रो विचार र भावना त मिल्थ्यो नै, साथै हाम्रो पारिवारिक पृष्ठभूमि पनि लगभग एकै खालको रहेछ भन्ने कुरा संगत गर्दै जादाँ थाहा पायौँ। त्यो समयमा हामी दुवैको कथा, व्यथा, बाध्यता र संघर्ष एउटै भएर नै होला हामी राम्रो साथी बन्न सफल भयौँ।
मैले फोन उठाएँ। एकअर्कालाई के-कस्तो छ सोध्यौँ। हाम्रो कुराकानी नभएको पनि धेरै दिन भएको थियो। कुराकानीकै क्रममा मैले भनेँ, ‘अरु के छ सुनाउँ?’
उताबाट उनको जवाफ आयो, ‘के भनुँ? के सुनाउँ यार! सुनाउन लायक केही छैन, सधैँ उही पूरानै कुरा त हो। कहिले त लाग्छ म जति अभागी र दुखी मान्छे कोही छैन होला। उनले त्यसो भनिरहँदा उनको बोलीमा केही निराशा र असन्तुष्टी मिसिएको जस्तो महसुस भयो।
‘किन त्यस्तो कुरा गरेको? के भयो भनन मलाई,’ भनेँ।
‘के हुनु र यार, जीवनमा केही गर्न सकिएको छैन, आफूले चाहेको जस्तो केही भएको पनि हैन। लोक सेवामा नाम निकाल्ने सपना अधुरै छ।’
केही समयदेखि उनी लोक सेवाको तयारी गरिरहेकी थिइन्।
यही बेला घरबाट बिहे गर्नका लागि दबाब आएको आएकै छ, आफन्त र परिवारले विवाहका लागि केटाको कुरा ल्याएर हैरान बनाएका छन्। उनलाई हेर्न र विवाहको कुरा गर्न भन्दै केही केटा त उनीहरू बस्ने घरमा पनि आए/आइरहेका छन्।
केही दिनअघि मात्र उमेरले उनीभन्दा धेरै नै जेठो, उनीसँग जोडी पनि नमिल्ने मान्छे आएको थियो रे। उनले सिधैँ त्यो केटासँग विवाह गर्दिनँ भन्दिछिन्।
केटो खानदानी, जात मिल्ने, पढेको, सम्पत्ति भएको, धेरै तलब पनि खान्थ्यो रे। अझ उनलाई सुखसँग पनि राख्थ्यो रे। त्यस्तो सबै कुराले सम्पन्न केटाको कुरा आउँदा पनि विवाह गर्न नमानेको भन्दै घरकाले उनलाई नानाभाती सुनाएछन्।
‘उमेर पुगिसक्यो, डिग्री पास गरेकी छेस्, अब पनि विवाह नगरे कहिले गर्छेस्? जागिर भन्या विवाहपछि खाए पनि हुन्छ नि। विवाह गर्दैमा पढ्न र जागिर खान नपाइने त हैन! उमेर बढ्दै गएपछि भोलि विवाह गर्ने मान्छे पाइँदैन। पाइहाले पनि भनेको, सोचेको जस्तो मान्छे कहाँ पाइन्छ! छोरी मान्छेको उमेर धेरै भएपछि जस्तो भेट्यो त्यस्तै मान्छेसँग चित्त बुझाउनु पर्छ। बेलैमा विचार गर है। मान्छेले कुरा काट्न थालिसके छोरीको बिहे गर्न सकेनन् भन्दै, कतिको मुख बुझो लाउँदै हिँड्नु? हैन आफूले आफूलाई के ठानेकी छेस्? कस्तो मान्छेसँग विवाह गर्छु भन्ने सोचेकी छेस् र हामीले ल्याएका कुनै पनि केटासँग विवाह गर्न नमानेकी?’ जस्ता मनै भारी बनाउने सवालहरू उनीमाथि वर्षिरहेका छन्।
‘परिवार र आफन्तको यी र यस्ता कुराहरूले परिवार ‘परिवार' जस्तो लाग्न छोडेको छ। रातमा राम्ररी निदाउन सकेकी छैन। कहिले त लाग्छ परिवारको लागि कतै बोझ पो बनिरहेको छु कि?’
उनको कुरा सुनिरहँदा धेरै आश्चर्य नलागे पनि उनको लागि भने नराम्रो महसुस भयो। आश्चर्य यस मानेमा लागेन कि, नेपाली समाजमा कुनै एउटा यस्तो घर होस् जहाँ हुर्केकी छोरीको विवाहको कुरा नभएको होस्, त्यो त आफू स्वयम् पनि यही समाजको एक हिस्सा भएकाले भोग्दै, सुन्दै र टार्दै आएको विषय हो।
तर विवाहकै लागि घर, परिवार र समाजबाट निरन्तर दबाब आउनु र मनोवैज्ञानिक रुपमै कमजोर पार्ने गरी कुरा सुनाउनुले उनीमाथि के बितिरहेको होला, म कल्पना मात्र गर्न सक्छु। तर अपसोच! यो विषयमा उनको परिवारले सोचेको देखिँदैन।
उनले विवाह नै गर्दिनँ भनेको पनि हैन। उनको पनि विवाह गर्ने, घर बसाउने, परिवार बनाउने योजना छ। कसलाई चाहना हुँदैन र आफ्नो सुन्दर घर बसाउने? तर त्योभन्दा पहिला जीवनमा केही गर्नुछ, करियर बनाउनु छ, जागिर गर्नुछ। आफ्नो लागि आफैले कमाउन सक्ने हुनुछ।
सिधा भन्नुपर्दा आर्थिक रुपले आत्मनिर्भर हुनुछ ता कि भोलि गएर कसैको भर पर्नु नपरोस्। सोही बमोजिम उनले थुप्रै प्रयासहरू पनि गरिन्, गरिरहेकी छिन्। अहिले पनि उनी दिनरात नभनी लोक सेवाको तयारी गरिरहेकी छिन्।
लोक सेवामा नाम निकालेर सरकारी जागिर खाने सपना पूरा गर्न मरिमेटेर लागेकी छिन्। सपना साकार हुन समय लाग्ला तर हिम्मत हारेकी छैनन्। तर यही कुरा उनको परिवारलाई बुझाउन खोज्दा उनलाई साथ दिनु त कता हो कता, उल्टै अहिलेसम्म केही गर्न सकिनस्, अब जे गर्नुछ विवाहपछि गर्नू, विवाहपछि पनि कतिले पढाइ पूरा गरेका छन्, जागिर खाएका छन् भन्ने जस्ता टर्रो जवाफ आउँछ।
हो, विवाहपश्चात् पनि पढ्न्, जागिर खान सकिन्छ यदि घर, परिवार र श्रीमान् बुझ्ने भएको अवस्थामा। त्यस्ता उदाहरणहरू प्रशस्त पाइन्छन् पनि। तर सबैको हकमा त्यही हुन्छ भन्ने पनि त छैन।
मलाई यहाँ प्रसिद्ध नारीवादी लेखक सिमोन द बोउबारको एउटा भनाइ जोड्न मन लाग्यो। उनले आफ्नो पुस्तक महिला ‘द सेकेण्ड सेक्स’ मा लेखेकी छिन्- ’विवाह एक चिठ्ठा हो, जसमा कोही एक जनाले जित्दछ। टिकट त हजारौँ–लाखौँ बिक्दछन्।’
यसर्थ, सामाजिक परम्परालाई निरन्तरता दिने बहानामा आफू र आफ्नो खुसी नबुझी त्यस्ता निर्णय गर्नु हुँदैन जुन निर्णयले पछि पश्चाताप होस्।
उनको परिवारले भनेजस्तै, आज उनीसँग डिग्रीको सर्टिफिकेट छ जुन सहजै प्राप्त भएको हैन। त्यसको लागि धेरै मेहनत र दुःख परेको छ। तर यति भन्दै गर्दा आजको २१ औं शताब्दीमा मास्टर डिग्रीको सर्टिफिकेटले मात्र केही हुन्छ भन्नु र त्यसैलाई उपलब्धि मानेर बस्नुको त्यति अर्थ देखिँदैन।
सर्टिफिकेट साथमा हुनु एउटा कुरा, त्योबाहेक आफैले केही गर्नका लागि अग्रसर हुनु, करियरमा अगाडि बढ्नु, राम्रो गर्नु र नेतृत्वदायी भूमिकामा रहनुजस्ता कुराले जीवनमा अर्थ राख्छ।
अझै पनि कतिपय अभिभावक वा परिवारमा छोरीले पढेकी छे, पढेकी छोरीलाई त राम्रो केटा पाइहालिन्छ नि, किन छोरीले नै जागिर खानुपर्यो, कमाउनु पर्यो? छोरीको काम त घर, परिवारलाई रिझाउने हो। कमाउने, जागिर गर्ने त छोरा मान्छेको हो भन्ने पुरानै मानसिकता व्याप्त छ।
यो मानसिकतामा परिवर्तन नआउँदासम्म एक त छोरीमान्छे घरभित्रकै काममा सीमित भइरहन्छन् जुन कामबाट आम्दानी हुँदैन, अर्को आर्थिक हिसाबले कमजोर परिरहन्छन्। आर्थिक हिसाबले कमजोर हुनु भनेको यो समाजमा, परिवारमा स्वतः कमजोर हुनु हो, पछाडि पर्नु हो र कुनै पुरुषप्रति आश्रित हुनु हो।
आर्थिक रुपमा आत्मनिर्भर हुनुलाई स्वतन्त्रताको एक कडीको रुपमा बुझ्न सकिन्छ। जबसम्म आर्थिक रुपले आत्मनिर्भर हुन सकिँदैन तबसम्म आफ्नो स्वतन्त्रताको चाबी अरुको हातमा हुन्छ। र, यस्तो हुनुमा हामी, हाम्रै घर, परिवार र समाजको हात रहँदै आएको छ।
विवाह परिवार वा अरु कसैका लागि नभएर आफ्नो लागि गर्ने हो। विवाह कहिले र कस्तो मान्छेसँग गर्ने भन्ने कुराको निर्णय गर्ने अधिकार स्वयम व्यक्तिमा निहीत हुन्छ भन्ने कुरा हरेक अभिभावकले बुझ्न जरुरी छ।
‘केही गर्न सकिनस्, उमेर पुग्यो अब विवाह गर’ भनेर छोरीलाई एकोहोरो दबाब दिनुको बदलामा साँच्चै उनीहरू जीवनमा के चाहन्छन्, उनीहरूको इच्छालाई सम्मान गरेर केही गर्ने वातावरण परिवारले निर्माण गरिदिनु पर्छ।
जीवनमा केही गर्न परिवारको साथ, सहयोग, हौसला र माया जति अरु केही हुन सक्दैन। र, आजको समय भनेको कोही पनि छोरी मान्छेले कुनै दिन राजकुमार आउनेछ र आफूलाई जीवनका सारा सुख सुविधाहरू दिनेछ भनेर सपना देखेर बस्ने समय हैन।
यो समय भनेको त आफै जाग्ने, केही गर्ने र आत्मनिर्भर भएर बाँच्ने समय हो। आत्मनिर्भर हुनु भनेको आत्मसम्मानका साथ बाँच्नु पनि हो। त्यसैले विवाह गर्नुभन्दा पहिला आफ्नो खुट्टामा उभिन चाहने छोरीको चाहनालाई परिवार र समाजले सम्मान गर्न सक्नुपर्छ।