हरेक फेब्रुअरी १२ मा हाम्रो विश्वविद्यालयले (नर्थ डाकोटा स्टेट युनिभर्सिटी, अमेरिका) चार्ल्स डार्विनको जन्मदिन मनाउँछ। त्यो दिन हाम्रो विश्वविद्यालय प्रांगणमा जीव विज्ञानका विविध विधा बुझाउन छुट्टाछुट्टै स्टल खडा गरिएको हुन्छ। त्यहाँ मानिसहरू आएर आफ्ना जिज्ञासा राख्छन्।
यसपालिको 'डार्विन डे' मा पनि म एउटा स्टल राखेर बसेको थिएँ।
स्टलको नाम थियो, 'इभोलुसन अफ फ्लाइट'। अर्थात् उडानको विकासक्रम।
चराचुरूंगीका पखेटा, ट्याक्सिडर्मी गरिएका (जीवजन्तुको खाल/छाला भित्र भरेर उसको शरीरको आकार दिनु) चरा, केही चमेरा र कीराको फोटो भएका पर्चा मेरो स्टलमा थिए। मेरो टेबलमा एउटा प्रश्न पनि थियो- जीवहरूमा उडान कति चोटि विकास भएको छ?
टेबलमा आउने मान्छेहरू अनुमान गर्थे। मिल्यो कि मिलेन, म भनिदिन्थेँ। त्यसपछि उनीहरूसँग अन्तर्क्रिया हुन्थ्यो।
त्यही क्रम चल्दै गर्दा एक विद्यार्थी स्टलमा आए। चमेराको ट्याक्सिडर्मी हेरेर उनको अनुहार उज्यालो भयो।
'आइ लभ ब्याट्स, दे आर सो क्युट,' उनले मुस्कुराउँदै भने।
'हो नि,' मैले भनेँ, 'मलाई पनि मन पर्छ।'
त्यसपछि उनले भने, 'मलाई चमेराबारे केही रोचक कुरा सुनाउनु न!'
मेरो अध्ययनका विषय चमेरा होइनन्। त्यसैले उनलाई सुरूमै म यसको विशेषज्ञ होइन है भनेर सम्झाएँ।
'तर तपाईंलाई चमेराको रोचक कथा सुनाउँछु,' मैले भनिहालेँ।
'ल सुनिहालम्,' उनले भने।
यो कथा सुरू हुन्छ आजभन्दा २३० वर्ष अगाडि। सन् १७९३ को कुरा हो। एकदिन लजारो स्प्यालन्जानी आफ्नो कोठामा सोच मग्न भएर बसेका थिए। स्प्यालन्जानी इटालियन जीव वैज्ञानिक हुन्।
उनको दिमागमा एउटा मात्रै प्रश्न खेलिरहेको थियो- अँध्यारोमा चमेरा यति कुशलतापूर्वक कसरी उड्छ?
यो जिज्ञासा उनको दिमागमा त्यति खेरदेखि घुम्न थालेको थियो जब उनले पालेको उल्लू बत्ती निभेका बेला भित्तामा ठोक्किएर भुइँमा पछारियो। उल्लूलाई उड्न र देख्न आँखा र प्रकाश चाहिने रहेछ भन्ने थाहा पाए। अनि थ चमेरा रात परेपछि आकाशमा निर्धक्क उडेको देखेर उनी छक्क पर्न थाले।
आफ्नो जिज्ञासा मेटाउन उनले धेरै किसिमका अध्ययन गरे।
उनले केही चमेरा समातेर तिनको आँखामा पट्टी लगाइदिए। पट्टी नै लगाउँदा पनि चमेरा मज्जाले आकाशमा उड्थे। कीरा-फट्यांग्रा समात्थे।
उनलाई लाग्यो, सायद पट्टीभित्रैबाट पनि चमेराले देखिरहेको छ।
त्यसपछि उनी अझ कठोर भए। केही चमेरा समातेर आँखा नै फुटाइदिए। त्यति गर्दा पनि चमेरा उड्न छोडेन। त्यसले मज्जाले कीरा समात्यो।। त्यसपछि बल्ल उनलाई लाग्यो, चमेरालाई 'न्याभिगेट' गर्न आँखाको जरूरत रहेनछ।
संयोग कस्तो भने, त्यही समयतिर स्विट्जरल्यान्डको जेनेभामा लुइस जुरिन नामका एक प्रकृतिवादी व्यक्तिले पनि यस्तै खाले अध्ययन गर्दै थिए। उनले अलि फरक हिसाबको अध्ययन गरेको देखिन्छ।
जुरिनलाई लागेको थियो, कतै चमेराले कानले सुनेर त न्याभिगेट गर्दैन? त्यो कुरा परीक्षण गर्न उनले चमेरा समातेर तिनको कान मैनबत्तीले टालिदिए। नभन्दै जुरिनले कान टालेर छाडेका चमेरा स्प्यालन्जानीको उल्लू झैं भित्तामा ठोक्किन थाले।
स्प्यालन्जानीले पनि चमेरोको कान थुनेर परीक्षण गरेका थिए। उनको गल्ती कान राम्ररी नटाल्नु थियो। जब जुरिनको परीक्षण थाहा पाए, उनले दोहोर्याए। नभन्दै चमेरा भित्तामा ठोक्किन थाले।
स्प्यालन्जानी र जुरिन दुवैले गरेको अध्ययनले वैज्ञानिक जगतमा राम्रो ठाउँ भने पाएन। किनभने धेरैले उनीहरूको निष्कर्ष स्वीकार गरेनन्। हुन पनि त्यो बेला कानले गर्दा अँध्यारोमा उड्न सक्छ भन्यो भने कसले पो पत्याउँथ्यो र?
त्यसमाथि त्यो बेलाका प्रख्यात फ्रान्सेली वैज्ञानिक तथा प्राणीशास्त्री जर्ज कुभिएरले उनीहरूको अध्ययनलाई ठाडै अस्वीकार गरिदिए। कुभिएरले चमेरा कानले गर्दा न्याभिगेट गर्ने र अवरोधबाट जोगिन सक्ने भन्ने कुरा वाहियात हो भनेर आफ्नो विचार राखिदिएपछि त स्प्यालन्जानी र जुरिन दुवै ओझेलमा परे।
दुई जना मात्र होइन, यो विषय नै लगभग एक सय २० वर्ष जति वैज्ञानिक समाजमा हुने बहसबाट गायब भयो।
सन् १९०८ को वरपर डब्लु एल हानले स्प्यालन्जानी र जुरिनको परीक्षण दोहोर्याएर हेरे र पहिले भनिए झैं कान बन्द हुँदा चमेराले राम्रोसँग न्याभिगेट गर्न सकेनन्।
हानले अनुमान गरे- चमेराको कानमा अवरोध थाहा पाउने कुनै अंग हुनु पर्छ।
त्यसभन्दा एक कदम अघि बढेर अमेरिकन-ब्रिटिस वैज्ञानिक हिराम म्याक्सिमले सन् १९१२ मा अनुमान लगाए- चमेराले कम आवृत्तिको (फ्रिक्वेन्सी) ध्वनि उत्सर्जन गर्छ। ती ध्वनिमा ठोक्किएर फिर्ता आउने आवृत्तिको सहायताले अवरोध पत्ता लगाउँछ।
त्यसको आठ वर्षपछि सन् १९२० ताका ब्रिटिस वैज्ञानिक ह्यामिल्टन हार्टरिज नामका वैज्ञानिकले ठूलो आवृत्तिको ध्वनि चमेराले प्रयोग गर्न सक्ने कुरा अगाडि लिएर आए।
यी सबै वैज्ञानिकले गरेका अनुमानको निचोड भने जिडब्लु पियर्सले निकाले। उनले ठूलो आवृत्तिको ध्वनि मापन गर्न सक्ने यन्त्रको आविष्कार गरेका थिए जसले राति उड्ने चमेराको राज पत्ता लगायो। अन्त्यमा चमेराले अल्ट्रासोनिक ध्वनि निकाल्छ र त्यो ध्वनिसँग ठोक्किएर फिर्ता आएको प्रतिध्वनिको सहायताले अवरोध वा कीरा-फट्यांग्रा समात्छ भन्ने कुरा अमेरिकी वैज्ञानिक डोनाल्ड ग्रिफिन र रोबर्ट ग्यालामबोसले प्रमाणित गरेर देखाए।
हामी मानिसले १८ किलोहर्जसम्मको ध्वनिको आवृत्ति रेन्ज सुन्न सक्छौं। २० किलोहर्जभन्दा माथिको आवृत्तिलाई अल्ट्रासोनिक आवृत्ति/ध्वनि भनिन्छ। हामी अल्ट्रासोनिक रेन्जको ध्वनि सुन्न सक्दैनौं। चमेराले १८ किलोहर्जदेखि २०० किलोहर्जसम्मको ध्वनि उत्पादन गर्छन्। जुन हामीले सुन्न सक्नेभन्दा धेरै माथिको आवृत्ति हो।
ध्वनिको आफ्नै तरंग हुन्छ। यी तरंग ठूला र साना आवृत्तिका हुन्छन्। चमेरालाई ठूला आवृत्तिका ध्वनि निकाल्न जरूरी हुन्छ। किनभने यिनले आकाशमा उडिरहेका धेरै स-साना कीरा-फट्यांग्रा खानुपर्ने हुन्छ। चमेराले निकालेको ध्वनि ती किरामा ठोक्किएर फर्किन्छ। त्यसपछि आएको प्रतिध्वनिले उनीहरूलाई आफ्नो आहारा वा अवरोध कहाँ छ भनेर पत्तो दिन्छ
कानको सहायताले उड्ने कुरा प्रमाणित भए पनि रातमा चमेराको उडानको राज यहीँ सकिएको छैन।
सन् १९४३ ताका डच वैज्ञानिक स्भेन डिग्राफले गरेको अनुसन्धानले नयाँ कुरा पत्ता लगायो। चमेरा पूर्ण रूपमा आवाज निकालेर मात्र उड्न सक्छ भन्ने यो अध्ययनले सावित गर्यो। जब उनले चमेराको मुख छोपिदिए, तब ती चमेरा फेरि अवरोधसँग ठोक्किन थाले। उनले चमेराले निकाल्ने गरेको सानो 'टिकटिक' आवाज याद गरे।
धेरै जसो चमेराले त हामीले सुन्नेभन्दा धेरै माथिको ध्वनि आवृत्ति निकाल्छन्। दक्षिण अमेरिकामा पाइने एउटा चमेरोले १६० डसिबेल (ध्वनिको मापन हुने एकाइ जुन एउटा रक कन्सर्टमा हुनेभन्दा धेरै हो। हाम्रो कानले सुन्न सक्ने रेन्ज भनेको ० डसिबेलदेखि १३० डसिबेलसम्म हो।) ध्वनि निकाल्ने रहेछ।
चमेराले पनि हाम्रोजस्तै भोकल कर्ड (रुद्रघन्टी) कै प्रयोगबाट ध्वनि निकाल्छ। तर हाम्रोभन्दा यसको रुद्रघन्टी धेरै परिष्कृत हुन्छ। ठूलो आवृत्तिको ध्वनि केही सेकेन्डमै निकाल्नुपर्ने चमेरामा एउटा अनौठो प्रकारको अनुकूलन (अडाप्टेसन) हुन्छ। यसको पखेटाको मांसपेसीको सम्बन्ध रुद्रघन्टीसँग हुन्छ र हरेकचोटि पखेटा चल्दा त्यसको ऊर्जाले रुद्रघन्टीबाट आवाज पनि निस्किन्छ।
तपाईंको मनमा अब प्रश्न उठ्न सक्छ- यति ठूलो आवृत्तिको ध्वनि निकाल्दा चमेराको आफ्नै कानलाई असर गर्दैन?
गर्दैन।
चमेराले आफ्नो कानमा रहेको एउटा हड्डीलाई मांसपेसीले तानेर बन्द गर्न सक्छ। र आफैंले आवाज निकाल्दा उसको कान बन्द हुन्छ जसले गर्दा उसलाई यो ध्वनिले असर गर्दैन। लामो समयको क्रमिक विकासको माध्यमबाट यस्तो भएको हो।
मैले चमेरामा भएको क्रमिक विकास र प्राकृतिक छनोट अर्को कुरा पनि भनेको थिएँ- त्यो कुराले त मेरो स्टलमा आएका ती विद्यार्थीलाई झन् बढी आश्चर्यचकित पारेको थियो।
माथि भने झैं धेरै जसो चमेराले राती आकाशमा उड्ने कीरा खान्छन्। लामखुट्टे, मथ (झुसे पुतली), खपटे कीरा (बिटल) जस्ता किरा चमेराका आहारा हुन्।
तपाईंलाई लागिरहेको होला, राति अँध्यारोमा आफ्नो इकोलोकेसनको सहाराले निर्धक्क आकाशमा उड्दै इको फिर्ता आएको माध्यमबाट कीरा-फट्यांग्रा समात्न चमेरालाई खुब सजिलो हुँदो हो!
त्यति सजिलो पनि हुन्न थियो।
कुनै समयमा चमेराले कसरी आफ्नो सिकार गर्छ भन्ने कुराको भेउ सिकारले पनि पाइदियो। चमेराले खाने कीरामध्ये मथ त्यस्तै बाठो भएर निस्कियो। अनि सुरू भयो मथ र चमेराबीच प्राकृतिक छनोटको 'आर्म्स रेस' (जुधाइ)।
पाँच करोड वर्षअगाडि यो जुधाइ सुरू भएको थियो। त्यो बेलातिर चमेरामा इकोलोकेसनको विकास भएको थियो। इकोलोकेसन विकास भएसँगै चमेरालाई कीरा समात्न सहज हुँदै गयो। उडिरहेका झुसे पुतलीलाई त केही अन्दाज पनि हुँदैनथ्यो। चमेरो आउँथ्यो, टप्प टिप्थ्यो।
प्राकृतिक छनोटले पनि रमाइलो हिसाबमा काम गर्छ।
चमेराको मुख्य आहारामध्येको मथले पहिला त इकोलोकेसन पत्ता लगाउन सक्थेन। कतिपय मथका कान एकदमै राम्रा थिए र कुनै कुनैले ती ठूला आवृत्तिको ध्वनि सुन्न सक्थे। जसले सुन्न सक्थे तिनीहरू चमेराको आक्रमणबाट जोगिन सक्थे। यस्तो प्रक्रिया परिष्कृत हुँदै जाँदा एउटा यस्तो घटना भयो जसले क्रमिक विकास तथा मथहरूको प्राकृतिक इतिहास नै बदलिदियो।
एक समयमा ती मथहरूमा चमेराको इकोलोकेसन सुन्न सक्ने कानको विकास भयो। चमेरालाई त परेन अब फसाद? आफूले आहारा खोज्ने एउटै उपाय थियो। त्यो पनि आहाराले थाहा पाएर भाग्न सक्ने भयो।
तर ती मथ झैं चमेरामा पनि तिनीहरूले निकाल्न सक्ने ध्वनिमा फरक थियो। तीमध्ये यस्ता चमेरालाई फाइदा हुन थाल्यो जसले मथले सुन्ने नसक्ने 'साइलेन्ट इकोलोकेसन' प्रयोग गर्न सक्थे। र, यही प्रक्रिया फेरि परिष्कृत हुँदै जाँदा चमेराले मथले सुन्न नसक्ने इकोलोकेसन विकास गरे।
चमेराको इकोलोकेसन थाहा पाउने मथको कान परिष्कृत हुनु फेरि उनीहरूले नसुन्ने आवाज निकाल्न सक्ने चमेराको विकास हुनुलाई नै वैज्ञानिकहरूले 'आर्म्स रेस' भन्छन्। यस्तो प्रकारको आर्म्स रेस चमेरा र मथबीच मात्र नभएर प्रकृतिमा धेरै जनावरबीच भएको देखिन्छ।
मेरो कुरा सुनेर ती विद्यार्थीलाई रमाइलो भएछ।
'ब्याट्स आर मोर अमेजिङ द्यान आइ थट,' उनले भने।
हुन पनि चमेरा एकदमै अनौठा स्तनधारी जीव हो। हड्डी भएको जनावरमध्ये चरापछि राम्ररी उड्न सक्ने चमेरा मात्र हो। मानिसहरूले चमेरा प्रति खासै राम्रो धारणा राखेको पाइँदैन। तर यो हाम्रो पर्यावरण (इकोसिस्टम) का अभिन्न अंग हो।
चमेराको मुख्य आहारा कीरा-फट्यांग्रा, अझ धेरैजसो लामखुट्टे हुन्छन्। त्यसैले पनि यी हाम्रो नजिक हुँदा हामीलाई फाइदा बाहेक केही छैन। एउटा चमेरोले राती आकाशमा करिब एक घन्टामा हजार वटा लामखुट्टे खान सक्ने अध्ययनले बताएको छ। अझ आफ्नो बच्चाको स्याहार गरिरहेको आमा चमेराले त ४५ सय वटासम्म लामखुट्टे मार्न सकेको अध्ययनले देखाउँछ। त्यसैले चमेरालाई हाम्रो रात्रि आकाशको 'भ्याकुम क्लिनर' भन्दा फरक नपर्ला। यिनले हाम्रो घरबारी सफा राख्न मद्दत गर्छन्।
दु:खको कुरा यिनको वासस्थानको रेखदेख गर्नुपर्छ भनेर हामी मानिसहरूले सोच्दै सोच्दैनौं।
म सानो छँदा काठमाडौं नारायणहिटी राजदरबारको पश्चिम भागका रूखहरूमा लटरम्मै चमेरा झुन्डिएको देखिन्थ्यो। साँझ परेपछि हुल बनेर ती चमेरा हाम्रो गैरीधारा घर वरपरसम्म आउँथे। कीरा-फट्यांग्रा समात्दै डुल्थे। अहिले त त्यहाँको रूखमा चमेरा देख्न पनि गाह्रो भइसकेछ।
काठमाडौंको मुटुमै रहेको ठाउँबाट चमेरा हराए जसरी नै हराएको छ काठमाडौंको स्वच्छ पर्यावरण!
त्यसैले आफ्नो ठाउँमा चमेरा र तिनको घर संरक्षण गरौं, हामीलाई नै बाँच्न सजिलो हुनेछ!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)