‘छोरी त ठूली भइछिन् है!’
‘अनि नानी कतिमा पढ्दै छिन् त?’
अचम्म नमान्नु होला, यो प्रश्न तपाईंको पढाइप्रति उनीहरूलाई रुचि भएर गरिएको प्रश्न होइन, स्वार्थ र सम्झौतामा गरिएको प्रश्न हो।
छोरी स्नातक गर्दैछिन् भनेर आउने उत्तरप्रति कति चासो हुन्छ- ‘ए आम्मामा! धेरै पढिछन्, अब विवाह गर्ने बेला भएछ।’
स्नातक पढ्न साथ विवाह गर्नुपर्ने नै हो र?
के सबै उत्तरको पूर्णबिराम विवाह नै हो र?
स्नातक पढ्दै गर्दा विवाह गर्ने उमेर पुगिहाल्ने हो र?
विवाह, विवाह, विवाह!
उमेर कति हुँदा चाहिँ विवाह गर्न उमेर पुग्ने हो र? समाज मलाई यो बताइदिन पर्यो, उमेर कतिलाई चाहिँ पुगेको भनिन्छ?
तपाईंले राखेको धारणा, बनाएको नीति-नियमलाई अस्वीकार गरी उमेर नपुगी नै विवाह गर्नेलाई चाहिँ सजाय हुन्छ कि नाई? अपरिपक्व उमेरमा गरिने विवाहप्रति यो समाजले चासो कत्तिको राख्छ? त्यस्ता जोडीप्रति पनि सहानुभूति प्रदान गर्छ होला त? बारम्बार छिटो विवाह किन भनेर प्रश्न तेर्स्याउँछ होला त?
विवाह नितान्त व्यक्तिगत निर्णय हो, विवाह तपाईंको लागि गरिने दायित्व होइन। विवाहको कुरालाई लिएर यति चासो राख्ने मेरो समाजले विवाहपछिका जीवनमा अप्ठ्यारा, सजिला, दु:ख, सुख, हर्ष, उल्लासका परिस्थितिप्रति पनि यत्तिकै चिन्ता र चासोले हेर्ने प्रयाससम्म पनि गर्छ होला र?
यो समाज हो हजुर, सबैको विचार एक हुनुपर्छ भन्ने मेरो धारणा बिल्कुलै होइन। विवाह नितान्त व्यक्तिगत निर्णय हो। यो कसैको कर कापमा आएर लिनै पर्ने निर्णय होइन। प्रतिकार गर्न सकिन्छ। मन परे सहजै स्वीकार गर्न पनि सकिन्छ।
कतिले १०/१२ पढ्दै गर्दा नै विवाह गरे, कति स्नातकोत्तर गरुन्जेल नि अविवाहित नै रहने निर्णय गर्छन्। सबैले स्वतन्त्र रुपमा आफ्नो जीवन बारे सोच्न पाउनुपर्छ। अनि त्यहीँ कुरालाई मनन गरेर निर्णय लिन पाउनु पर्छ। तपाईंले सोचेअनुरुप तेस्रो व्यक्तिले नसोच्दा ऊ चाहिँ ठेट नेपाली भाषामा ‘गएगुज्रेको’ भन्ने अधिकार तपाईंलाई छैन भन्ने मेरो तर्क हो।
तपाईंको हिसाबले सबै जिउनुपर्छ भन्ने हुँदैन। तपाईंको भनाइलाई प्रतिकार गर्दैमा कोही स्वार्थी, मतलबी, ठूलोको आधार गर्न नजानेकी, मात्तिएकी हुने होइन। विवाह सबै गलत नहोलान् तर सबै सही नि भएका छैनन्।
तपाईं आफूलाई कसैको दबाब या करकापमा आएर विवाहका लागि तयार गर्न खोज्दै हुनुहुन्छ भने तपाईं आफैसँग सम्झौता’ गर्दै हुनुहुन्छ। अनि तपाईंलाई यो कुराको ज्ञान नहोला, सम्झौताका साथ अघि बढेको सम्बन्धले फाइदा कसैलाई गर्दैन।
‘यत्तिको कुटुम्बलाई नाई भन्नुहुन्न, विवाह गर्, केटा खानदानी छ, तँलाई सुखले राख्छ, दु:ख केहीको हुनेछैन, जे भन्यो त्यहीँ पुर्याउछ, सम्पत्ति नि टन्न छ’ भनेर छोरीलाई अझै परनिर्भर बन्न धकेल्ने तपाईंको विचारलाई प्रतिकार नगरी हामीले स्विकार्नु पर्ने हो?
स्वतन्त्रता, आत्माविश्वास, निडरता, मानवता हरेक व्यक्तिमा हुनु जरुरी छ तर परनिर्भर चाहिँ कोही हुनुहुँदैन। त्यहीँ नि अहिलेको पुस्ता त अहँ! हुनुहुन्न। यो छुट यो पुस्तालाई छैन।
समाजले तपाईंको हिँडाइमा प्रश्न गर्छ, तपाईंको बोलाइमा प्रश्न गर्छ, तपाईंको हँसाइमा प्रश्न गर्छ, तपाईंको रुवाइमा प्रश्न गर्छ। तपाईंको खुवाइ, मौनता हरेक कुरामा तपाईंलाई नियाल्ने समाजले तपाईंलाई कुनै कुरामा सहजै सही गर्या हो भनेर स्वीकार गर्न कन्जुस्याइँ गर्छ।
अझ विवाह प्रतिकारलाई लिएर अब थप एउटा प्रश्न तयार गर्छ भने त्यो नि स्विकार्ने विशाल हृदयको विकास मैले गरिसकेँ। अब मजस्तै मेरो सोचसँग सहमत हुनेले नि त्यो हृदय तयार गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।
म आफैसँगको युद्ध लड्दैछु मौनतामा। जब विजयी हुनेछु तब मेरो प्राप्तिले हल्लाको आवाज गुन्जाओस्।