बिछोडको करौतीले काट्नु मनै काट्यो
जाँदाजाँदै मूल बाटोको दुइटा बाटो फाट्यो
एउटा बाटो परदेश, अर्को घरदेश
परदेशी र घरदेशीको कहिले होला भेट?
कहिलेकाहीँ लाग्छ गीत पनि गायकले मलाई नै देखेर गाएजस्तो, मेरै पीडा समेटिदिएको जस्तो। हुन पनि सक्छ कुनै दु:ख अनि पीडा धेरै मानिसले समान किसिमले भोगिरहेका हुन्छन्। त्यो एउटै भोगाइ परदेशीको कथा। जुन आफूले भोगिन्छ, सामना गरिन्छ, महसुस गरिन्छ अनि थाहा हुने रहेछ।
नेपाल हुँदा लाग्थ्यो ओहो! विदेश जानेलाई मोज छ। टन्न पैसा कमाएको छ, राम्रो ठाउँ घुमेको छ, मिठो खाएको छ, राम्रो लगाएको छ। आहा! सबै भनेको जस्तै जिन्दगी बिताएको छ। यस्तो भए पो हुन्थ्यो भनेर सोच्ने म पनि एक पात्र हुँ।
यही सोचाइले मन परिवर्तन भएर परदेशिने सोच धेरै वर्ष अगाडि बनाएकै हो। तर समयको अन्तरालपछि आफ्नो परिपक्वता, आफ्नो जिम्मेवारी पूरा गर्ने एउटा कर्तव्य आयो र परदेशिने विकल्प नभएर प्राथमिकतामा पर्यो। अनि विदेश जाने आँट गरियो।
स्नातकोत्तर उत्तीर्ण गर्दा जति खुसी थिएँ, त्योभन्दा बढी खुसी पासपोर्टमा भिसा लाग्दा थिएँ। किन भनेर भन्नेतर्फ मोडिन चाहिनँ।
अब सुरु हुन्छन् वास्तविक जिन्दगी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेहरू खुसी हुने, जानेहरू रुँदै जाने ठाउँ। मन बलियो बनाएर अघि बढ्नु पर्ने ठाउँ। नाडीमा बल भएका युवावर्ग रोजगारीको लागि पराई भूमिमा प्रस्थान गर्ने ठाउँ।
जब जहाज उड्छ तब सबैको माया मनमा राखेर आफ्नो जन्मभूमिलाई चाँडै आउँछु भन्दै वाचा राखेर जहाजसँगै उडिन्छ बिरानो देशमा।
जहाजबाट ओर्लिएपछिको म अब 'म' नभएर एउटा बेचिनको लागि राखिएको सामान हुँ। अब मलाई कसैले किनेर लग्दैछ। त्यहाँ मजस्ता हजारौंको हुल छ जो हट्टाकट्टा ज्यान भएको पहाडै फोर्न सक्ने हिम्मत छ, स्वस्थ छ।
यी नै विशेषता भएका दक्ष मानिसको क्रमबद्ध रुपमा लाइन राखिएको छ। मलिन अनुहारमा सबैको वेदना उस्तै छ। कता जाने, के खाने, के बोल्ने सबै अलमल्ल देखिन्छन्। जो जतिसुकै स्मार्ट भए पनि नौलो ठाउँमा नौलो नै भइन्छ।
नेपालको दैनिकी र विदेशको दैनिकीमा आकाश पतालको फरक हुन्छ। घरमा हुँदा बुवाआमा वा परिवारको कुनै सदस्यको बोलीले झसङ्ग हुने गरी कराउँदै उठाउनु हुन्थ्यो। जे छ खाना खाजा आमाले तयार गर्दिनु हुन्थ्यो।
काम भनेको गरे नि भयो नगरे पनि। आमा सक्दिनँ भने नि भयो, पछि गरौंला भने नि भयो। म थाकेँ भने नि भयो, मलाई भोक लाग्यो भने नि भयो। जे कुरामा पनि छुट पाइन्थ्यो। तर अब विदेशमा सबै आफैले जानेर गर्नुपर्छ। कति बजे उठ्ने, खाना के पकाएर लाने, कति बेला काममा जाने अब सबका सब आफै गर्नुपर्छ।
अब समयको खुब पालना गर्नुपर्छ, सके पनि नसके पनि अह्राएको काम गर्नैपर्छ। न गर्मी भन्न पाइयो न जाडो भन्न पाइयो। न थाकेँ भन्न पाइयो, न भोक लाग्यो भन्न पाइयो। यी सबै अप्ठ्यारोलाई सामाना गर्नैपर्छ। यहाँ केही कुराको छुट नै नहुने।
कोठामा आइपुगेपछि दिनभरिको थकानले आफ्नो शरीर आफ्नो जस्तै लाग्दैन। खाना पकायो, खायो, एकछिन मोबाइल हेर्यो, सुत्यो। भोलि त फेरि काममा जानु नै छ। यसैगरी दिन बित्दै गए। अझै कति बिताउनु पर्ने हो?
सबै चिज आफ्नै आँखा अगाडि हुँदा खासै महत्त्व नहुने रहेछ। जब त्यो चिजबाट टाढा भइन्छ अनि खुब अभाव खड्किने रहेछ। घरपरिवार, मायालुको माया, आफन्तजन, साथीसँग बिताएका पल, चाडपर्व, गाउँघर, उकाली ओराली। ओहो! मन उतै पुग्छ। लाग्छ शरीर मात्र यहाँ छ। यस्तै यादले पनि परदेशीलाई खुबै सताउँछ।
जतिसुकै विकसित र आफूले आफैलाई सम्पन्न ठान्ने देशमा दिन कटाए पनि मुटुभरिको माया अनि चिन्ता आफ्नै जन्मभूमिको लाग्छ। मेरो देशको कहिले आर्थिक उन्नति होला? कहिले सक्षम नेतृत्वकर्ता पाउला? दक्ष जनशक्तिले कहिले आफ्नै देशमा रोजगारी पाउला? गरिब दुखीले कहिले सुख पाउँछ्न होला? अन्यायमा परेकाले कहिले न्याय पाउलान्? मेरो देश तिमीले कहिले शान्तिको सास फेर्न पाउछौ होला?
तिमीले मलाई दिएका छौ, सबैका सामु म नेपाली हुँ भन्न पाएकी छु। बरु निर्दयी म पो छु, केही गर्न सक्ने आँट भएको म अरुको भूमिलाई उर्वर बनाएर बसेकी छु। तर मेरो यो रहर भने कदापि हैन। मेरो देश म आउँछु तिम्रै सेवा गर्न केही वर्षपछि। मेरो देश तिमीलाई मुरीका मुरी माया। मजस्तै लाखौ परदेशीको तर्फबाट।
परदेशीलाई सबैभन्दा बढी पीडा आफ्नाले नै दिन्छन्। फलानो त ठूलो भयो, पैसा कमाउन थाल्यो अब के हामीलाई सम्झिन्थ्यो? कमाइ कति छ? जग्गा कता किनियो? घर कहिले बनाउने? मलाई फोन कहिले पठाइदिने? अलिअलि ऋण हाल्दिने हैन? लाग्छ उहाँहरूसँग प्रश्नको खानी छ तर मेरो उत्तर सुन्ने चाहना र समय छैन। यस्ता कुरा पनि सबै परदेशीसँग मेल खान जान्छ।
सबैको मायाले उत्साह र हौसलाले बिरानो भूमिमा समय बिताएको मान्छेलाई तपाईंले पनि एक कल फोन गरेर सम्झिनूस्। कहिलेकसो उनीहरूको दुःख, पीडा पनि सुनिदिने गर्नूस्। कमाएर बचत गर्नुपर्छ, सही ठाउँमा लगानी गर्नुपर्छ भनेर उत्साह दिनूस्। सकारात्मक कार्यप्रति प्रेरित गराइदिनूस्। प्रिय परिवार, आफन्त, साथीभाइसँग यो कुराको अपेक्षा राखेका हुन्छौँ मजस्ता लाखौं परदेशीले।