माघ महिनाको अन्तिम शनिबार। काठमाडौं सहरमा निकै जाडो थियो। चिसो मौसम भएको कारणले ओछ्यानबाट उठ्नै मन लागेन।
केही समय निदाउन खोजेँ तर सकिनँ। एकैछिन फेसबुक र टिकटकमा बरालिएँ।
तर सामाजिक सञ्जालभरी कुण्ठा र निरासामात्रै थिए। नकारात्मक कुराले सकारात्मक कुराहरू ओझेल पारिसकेछ। खासै सूचनामूलक कुरा नै भेटिनँ।
फ्रेस भएर खाना बनाएँ।
त्यस दिन मन एकतमासको भयो। कतै जान पनि मन लागेन। काठमाडौंमा सबैलाई दौडधुप छ। जता पनि भीड जता पनि उराठलाग्दो।
म काठमाडौंमा बसाइमा वाक्क भइसकेको थिएँ। कहिलेकाहीँ त विदेश भासिने रहर नजागेको पनि होइन।
त्यतिकैमा मन मिल्ने साथी समिरको फोन आयो। ऊ ५ वर्ष दुबई बसेर नेपाल फर्किएको थियो। उसले भेटम् भनेको प्रस्तावलाई मैले एकै पटक स्वीकार गरेँ।
त्यस दिन उसले कलंकी बोलाएको थियो। म बालकोट बस्थेँ। बालकोटबाट कलंकी पुग्न गाडीमा एक घन्टा लाग्थ्यो तर पनि टाढा लागेन।
कलंकीको गाडी चढेँ। शनिबार भएकाले होला गाडीमा खासै यात्रु थिएनन्।
म अगाडिको सिटमा गएर बसेँ। जडिबुटीबाट जाँदै गर्दा कोटेश्वरमा केही समय जाम पर्यो।
मेरो नजर बाहिर चोकमा डुलिरहेकी एउटी बच्चीमा पुगेर अडियो। सात आठ वर्षकी थिइन् सायद। उसको हातमा मास्क र पानीका बोतल थिए। ओहोरदोहोर गर्ने धेरैलाई उसले आफ्नो सामान किनिदिन अनुरोध गरी तर कसैले पनि सुनेनन्। मलाई उसको नियतिप्रति निकै दुःख लाग्यो।
मन चसक्क भयो। मैले पनि आफ्नो दुःखको समय याद गरेँ।
केही समय अगाडि मेरो धेरै जना साथी थिए। हामी बिदाको दिनमा कहिले नगरकोट, कहिले चोभार त कहिले फिल्म हेर्न पुग्थ्यौं। मेरा सााथीहरू प्रायः जसो सम्पन्न परिवारका थिए। म भने सामान्य परिवारको। हरेक पटक हुने भेटमा उनीहरू कहिले मःम कहिले चाउमिन त कहिले आइसक्रिम खाने योजना बनाउथे। म गोजी छामेर मन अमिलो बनाउँथे।
एक साँझ आइक्रिम खाएर पेप्सीकोलाबाट हामी कोटेश्वरतिर आउँदै थियौं। गाडी र मान्छेको भीडले हिँड्ने बाटो समेत थिएन। त्यो बाटोमा मैले अनेकौँ दृश्य देखेँ। कोही व्यापार गर्न व्यस्त देखिन्थे भने कोही चिया पसलमा तातो चिया पिउँदै राजनीतिक गफ गर्नमा व्यस्त देखिन्थे। उनीहरूको भूगोल त फरक होला तर एकै किसिमको थियो।
कति अजिब छ है मानिसको जिन्दगी पनि। प्रायः सबै मानिसहरूलाई हतारमै देख्छु। कति अनौठो छ यो दुनियाँ पनि। कसैलाई एकछाक टार्न पनि गाह्रो छ भने कसैलाई पैसा कता लगेर थन्क्याउँ भन्ने चिन्ता।
श्रमिकलाई ठगेको देखेर पनि चित दुख्छ। मसँगै काम गर्ने केटाले २४ हजार तलब खाँदा मेरो जम्मा ११ हजार। हामी दुवैको समय र काम उस्तै प्रकृतिको हो तर कति धेरै विभेद ऊ र म बीच। मलाई त्यति पैसाले आफ्नो जिन्दगी र दैनिकी चलाउनुपर्थ्यो।
यस्तै सोच्दासोच्दै कलंकी चोकमा पुगिसकेछु। कलंकी चोकमा मान्छेहरूको भीड उस्तै थियो। त्यहाँका अनेकौँ दृश्यहरू मेरा आँखामा ठोकिन्थे।
हामी कलंकी चोकमा भेटिएर आराधना क्याफेमा कफीसँग गफिने भयौं। समिरले दुई कप क्यापाचिनो मगायो।
त्यो भेटमा समिर निकै निरासा देखिन्थ्यो। भर्खरै विदेशबाट आएको मान्छेमा त्यो निरासा मैले देखेको थिइनँ।
देशको अवस्थाले म वाक्क भइसकेको थिएँ। मैले पनि उसलाई आफू विदेश जान लागेको कुरा साटेँ।
उसले निरास भएर आफ्नो कहानी सुनायो।
'सानै उमेरमा विवाह भयो। पारिवारिक अवस्था पनि निकै कमजोर थियो। थाहै नपाई छोराछोरी जन्मिए। सामान्य किसिमले उनीहरूको जीवन सहज बनाउन नसकेपछि म प्रवास भासिन बाध्य भएँ।
आफू कमजोर भएपछि यो संसारमा आफ्नो भन्नु कोही नहुँदो रहेछ। बुवाआमा पनि आफ्ना भएनन्। दिनदिनै श्रीमतीको गनगन सहन निकै गाहो भयो। त्यसकारण युएइतिर आफ्नो पाइला अगाडि बढाएँ।
सोचेको थिएँ विदेश गएपछि आफ्ना सारा समस्या समाधान होलान्, सुखको सास फेर्न पाइएला तर त्यस्तो भएन विदेशमा पाँच वर्ष बिताउन पनि पचास हजार जुनी कटाएजस्तो गाह्रो भयो। त्यो भन्दा त बरू आफ्नै देश ठीक रहेछ।
बनाए विदेश जान्छु विदेश गएपछि त सबै समस्या हुन्छ लागेको थियो तर सोचे जस्तो हुन्न। सानो तिनो ब्यापार नै किन नहोस बरू नेपालकै काम ठिक छ हेर। विदेश गएपछि थाहा भयो कल्पना र यथार्थ निकै फरक रहेछ। म बर्गर किङग क्यासियरको रूपमा काम गर्न थालेँ। काम गर्न निकै सकस थियो। न भाषा बुझ्थेँ न काम गर्न जान्दथेँ। सरकारी विद्यालयमा पढेको हुनाले भाषा बुझ्न पनि निकै सकस थियो। भनेको बेलामा छुट्टि दिदैनथ्यो बिरामी हुँदा पनि सकी नसकी काममा जानै पर्थ्यो।
आफैँसँग रून्थेँ आफैँसँग भक्कानिन्थेँ। प्रत्येक दिन साहुको तुच्छ बचन सहन निकै गाह्रो थियो।
भनौँ कसलाई भनुँ सुनाऊँ कसलाई सुनाउँ मनभरी उकुसमुकुस भएका आफ्ना भावनाहरू त्यहाँ आउने ग्राहकहरूले साहुलाई कम्प्लेन गरिदिन्थेँ त्यसपछि त के आगोमा घिउ थपेझैँ हुन्थ्यो।
बस्न त मलाई आफ्नै देशमा बस्न र यही पसिना बगाउने रहर थियो तर के गर्नु भनेजति पारिश्रमिक पाउन नसक्दा म बाध्य भएर प्रवास भासिएको थिएँ।
तिमीले पनि अरू केही नसोच बरू तिमी र म मिलेर आफ्नै देश सुन्दर बनाउने संकल्प गरौं।