‘यति विधि चिढिएर किन बस्नु परेको? हामीलाई चाहिँ नभएजस्तो। कहीँ नभा जात्रा हाडीगाउँमा भन्या यही हो। आजभोलिका केटाकेटीहरूलाई नै हुन्छ अनेकथरी। सबै त्यही दिमागकै उपज हो, अरू केही हैन।’
‘असाध्यै जिद्दी गर्छे। केही बोल्नु हुँदैन, झर्किहाल्छे। कस्ती रिसाहा भएकी हो।’
अधिकांश घरहरूमा हरेक महिना हुने संवादका केही अंश मात्र हुन् यी। यस्तो बेलामा न जवाफ फर्काउनलाई केही जवाफ हुन्छ, न जाँगर।
कतिपय अवस्थामा त हुँदा छँदाको सम्बन्ध बिग्रेला भन्ने डर समेत हावी हुन जान्छ। शरीरमात्र हैन, मन र मस्तिष्क पनि कमजोर भएको बेला हलुका कुरा पनि भारी लाग्छ्न्। सजिला कुरा पनि अप्ठ्यारा लाग्छ्न। स्वतन्त्र भए पनि कुनै प्रबल साङ्लोमा बाँधिएको बन्धीजस्तो महसुस हुन्छ। यति धेरै परिवर्तन भैरहँदा वरपर बस्नेहरूले झिझोँ मानिदिँदाको पीडा पनि थपिन्छ।
सबैलाई नहोला तर अधिकांश महिला तथा किशोरीहरूलाई महिनावारी हुने समय आउन लाग्दा र महिनावारीको अवधिभरि यिनै विविध समस्याले सताउने गर्छ।
आफूभित्र हुने शारीरिक र मानसिक परिवर्तनले बाहिरी रूपमा देखिने व्यवहारमा कुनै असर नपुर्याओस् भन्दाभन्दै पनि यस्तै हुन जान्छ। यसलाई हामी ‘प्रि मेन्स्ट्रुअल सिन्ड्रोम’ अर्थात् पिएमएस भन्छौं।
पिएमएसकै कारण सम्बन्धविच्छेद, अपराध तथा आत्महत्याको प्रयाससम्म हुन पुगेका महिलाका कथा पनि छन् विश्वमा। यद्यपि धेरैलाई यो विषयमा कुनै पनि जानकारी नै छैन।
पिएमएसमा देखिने अनेकौं समस्यासँग आफैं जुधिरहेता पनि धेरै महिला तथा किशोरीहरू यो सिन्ड्रोमसँग अनविज्ञ छन्।
केही जाने बुझेकाहरूले पनि यसलाई सामान्य रूपमा लिने गरेको पाइन्छ। बाँकीले त पिएमएसजस्तो कुनै समस्या हुन सक्छ भन्ने कुरा पत्याउन पनि मान्दैनन्। पाका उमेरका महिलाहरूलाई नै समेत यस्तो कुरामा विश्वास लाग्दैन।
लामो समयदेखि नै महसुस गर्दै आएको भए पनि हामीले यसको पहिचानमा ढिलाइ गरेका हौं। पश्चिम जगतमा जस्तो संकोचबिनै महिनावारीबारे हामी अझै पनि बोल्न सकेका छैनौं।
ओभ्युलेसनपछि शरीरभित्र हर्मोनको उत्पादन बढेर जान्छ। यही समयमा गर्भावस्थाका लागि तयारी पनि सुरू हुन्छ। अन्डाको प्रत्यारोपण नभएको खण्डमा हर्मोन स्तर घट्दै जान्छ र महिनावारीको सुरूआत हुन्छ। यही हर्मोनको गतिले मस्तिष्कमा हुने न्युरो ट्रान्समिटरहरूमा असर पर्ने गर्छ।
सेरोटेनिन तथा डोपामाइनमा हुने उथलपुथलकै कारण मुड स्विङ्ग्स हुने गर्छन्। यस्तो वैज्ञानिक आधार हुँदाहुँदै पनि महिनाको दुई तीन दिन अरू बेलाभन्दा फरक व्यवहार गरेकै कारण दिदी बहिनी, श्रीमती र छोरीलाई नानाथरी गाली र गलौज दिन्छौं। हुन त यो कुनै रोग हैन। तर यसले निम्त्याउन सक्ने समस्या भने जटिल हुन सक्छन्।
महिनावारी हुनुभन्दा केही दिन अघिबाट नै यो सिन्ड्रोमले आफ्ना लक्ष्यण देखाउन सुरू गर्छ। यो म आफैंले भोगेको कुरा पनि हो। यस्तो बेलामा मुड स्विङ्ग्स हुनुलाई सामान्य मानिन्छ। शरीरमा बिनाकारण थकान महसुस हुनु, अमिल्दो समयमा भोक लाग्नु, कोहीसँग कुरा गर्न मन नलाग्नु, र नैरास्यताको भावना उत्पन्न भइरहनु यसका लक्ष्यण हुन्।
सोच्न र ध्यान केन्द्रित गर्न पनि समस्या पर्न जान्छ। कोहीलाई राती निद्रा पर्दैन त कोहीलाई ओछ्यानबाट उठ्न मन लाग्दैन, साना-साना कुराहरूप्रति तनाव बढेर आउँछ।
यसका साथै शारीरिक लक्ष्यण जस्तै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने समस्याले त दैनिक जीवनमा नै असर गरिदिन्छ।
मेरी नजिककी एक जना साथी विगत लामो समयदेखि यस्तै विविध समस्यासँग लड्दै आइरहेकी छन्।
बेला-बेला चिकित्सकको परामर्श लिन पनि उनी पुगिरहन्छिन्। आफ्नै अनुहार ऐनामा हेर्न नसक्दा सिसासम्म फुटाएको र निद्राबाट अचानक ब्युँझिएर डाको छोडेर रोएको टिठ्लाग्दा अनुभव छन् उनीसँग।
‘कहिले मलाई आफूले आफैंलाई चिथोरेर रगत्याम्म पारिदिऊँ जस्तो लाग्छ। कहिले भने आफैंलाई असाध्यै माया गरौं जस्तो लाग्छ। चाहेर पनि म यो बेला गर्नुपर्ने काम गर्न सक्दिनँ। फेरि केही दिनपछि यी समस्या हराएर जान्छन्। मेरो दिनचर्या पनि सामान्य बन्दै जान्छ।’ सुन्दा अपत्यारिलो लाग्ला। तर यो सत्य हो।
मेरी साथीमा देखा परेका लक्षण गम्भीर प्रकारका छन्। यस्ता विकार देखिएमा यसलाई ‘प्रि मेन्स्ट्रुअल डिस्फोरिक डिसअर्डर’ भनेर संकेत गरिन्छ।
पिएमएसले निम्त्याउने समस्या जरैबाट उखेलेर भगाउन भने सकिन्न। हलुका शारीरिक व्यायाम गर्ने, क्याल्सियमयुक्त खानेकुराहरू खाने, प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने, हरियो सागपात, माछा मासु लगायत डेरीजन्य आहार मिलाएर सेवन गरेमा शरीरलाई निकै राहत महसुस हुने गर्छ।
सन २०२१ मा बिबिसी ले ४००० महिलालाई लिएर गरेको सर्वेक्षणका अनुसार हरेक २० महिलामध्ये १ मा पिएमएसको समस्या देखा परेको छ भने यसबाट पीडित केही महिलाले आत्महत्याको बाटो समेत रोजेको सो रिपोर्टले देखाएको छ।
तपाईंलाई सामान्य लागेको विषय संवेदनशील र जटिल छ। महिनावारीमा मात्र नभएर महिनावारी रोकिने समय अर्थात् मेनोपजको बेला पनि पिएमएसका कारण समस्या पर्न जान्छ। यसलाई हामी पोस्ट-मेनोपज पनि भन्ने गर्छौं।
यस्ता प्रतिकूल अवस्थासँग पौंठेजोरी खेल्दै पनि महिलाले आफ्नो काममा सक्रियता देखाएकै हुन्छन्। किनकि त्योभन्दा बाहेक अरू कुनै उपाय नै हुन्न। ‘आज तिमीलाई गाह्रो भएको होला, आराम गर अथवा आज अलि चाँडै छुट्टी लिऊ।’ हामीले काम गर्ने कार्यालयमा यस्तो सुझाव पाउन त सात जुनि तपस्या गरेरै आएको हुनुपर्छ। ‘औषधि खाएर कोसिस गर न, महिनैपिच्छे यसरी बिदा बस्दा त हामीलाई नि गाह्रो हुन्छ।’ सहन नसक्ने गरी पेट दुखेर एक दिन बिदा माग्दा म्यानेजर साहबले खुद मलाई दिएको अर्ति हो यो।
नब्बे प्रतिशतभन्दा बढी महिलालाई पिएमएस हुन्छ। कसैको सहने शक्ति अलि बढी होला, कसैको निक्कै कम। यस्तो गम्भीर कुरालाई लिएर पनि हामी तुलनै गरिरहेका हुन्छौं। घाउ र चोट नदेखिए पनि पीडा हुन्छ भन्ने कुरा कहिले बुझ्ने?