कुनै पनि नीति-नियम बनाउँदा त्यसको सफल कार्यान्वयन हुनु जरूरी छ। नेपालमा सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी नीति-नियमहरू कार्यान्वयनका लागि नेपाल प्रहरीका ट्राफिक प्रहरीलाई प्रवर्तन कार्यको जिम्मा दिइएको छ।
सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी नीति-नियमहरू प्रवर्तन गर्नुको मुख्य उद्देश्य आक्रमक भई सवारी चालकहरूबाट बढीभन्दा बढी राजश्व संकलन गर्नु नभई सहज यातायात व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरू अनुशासित/सतर्क होस् भन्नु हो।
नीति-नियमहरू प्रवर्तन गर्ने क्रममा कठोर नीति अपनाउँदा प्रत्युत्पादक हुन गई राम्रो नीति-नियम पनि लागु गर्न कठिनाइँ हुनसक्छ। अर्थात् कुनै पनि नीति-नियम बनाउनु अति संवेदनशील विषय हो भनि बुझ्नुपर्छ।
सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनुपर्ने शीर्षकमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० को उपदफा (१) मा तोकिए बमोजिमको सवारी चलाउँदा चालक तथा सवारीको अघिल्लो सिटमा बस्ने व्यक्तिले सुरक्षा पेटी बाध्नुपर्छ र उपदफा (२) मा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोपी (हेल्मेट) लगाउनुपर्छ भन्ने प्रष्ट कानुनी व्यवस्था छ।
उपदफा (१) मा उल्लेखित चार पाङ्ग्रे सवारी चालकले सुरक्षा पेटी लगाउनु पर्ने नियम र उपदफा (२) मा उल्लेखित मोटरसाइकल तथा स्कुटर चालकले अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम सहज कार्यान्वयन भएको छ भने उपदफा (१) मै उल्लेखित सवारीको अघिल्लो सिटमा बस्ने व्यक्तिले सुरक्षा पेटी बाध्नु पर्ने नियम कार्यान्वयन नभएको अवस्था छ।
त्यस्तै, उपदफा (२) मा उल्लेखित मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोपी (हेल्मेट) लगाउनु पर्ने नियम कार्यान्वयन गर्न खोज्दा समेत असफल भएको विगतको अवस्था छ।
मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) सम्बन्धी नियम छोटो समयमै सफलतापूर्वक कार्यान्वयन भएको छ। यी अवस्थाहरूलाई गहिरो विश्लेषण गर्ने हो भने कुनै पनि नियम बनाउनु र कार्यान्वयन गर्नुअघि के-कस्ता पक्षहरूलाई ध्यान दिनुपर्छ भन्ने कुरा प्रष्ट हुन्छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० को उपदफा (१) मा उल्लेखित चार पाङ्ग्रे सवारी चालकले सुरक्षा पेटी लगाउनु पर्ने नियम र उपदफा (२) मा उल्लेखित मोटरसाइकल तथा स्कुटर चालकले अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम तथा मापसे/लापसे सम्बन्धी नियमलाई सफल कार्यान्वयन गर्न सक्नुको प्रमुख कारण-
यी नियमहरू व्यवहारिक एवं समयसापेक्ष हुनु, सम्बन्धित निकायहरूले यी नियमहरूको बारेमा जनस्तरमा प्रभावकारी सूचना प्रवाह एवं सचेतना कार्यक्रमपश्चात प्रमाणिक आधारमा कार्यान्वयन गरिएको, प्रमाणिक चेकजाँच गर्ने प्रविधि उपलब्ध हुनु, सर्वसाधारणले यी नियमहरूको महत्व मनैबाट बुझेर अंगिकार गर्नु, सवारी चालकहरूले मापसे/लापसे गरी सवारी चलाउन पाउनु पर्छ भनि नैतिक रुपले बहस गर्ने ठाउँ नहुनु आदि हुन्। यसका अलावा ठूलो संख्यामा रहेको महिलाहरू पनि यी नियमहरूको पक्षमा छन्।
उल्लेखित ऐनको दफा १३० कै उपदफा (१) मा उल्लेख भएको सवारीको अघिल्लो सिटमा बस्ने व्यक्तिले सुरक्षा पेटी बाध्नु पर्ने नियम सहज र सुरक्षित हुँदाहुँदै पनि चालकले सुरक्षा पेटी बाँध्न नभन्नु र सवारीको अघिल्लो सिटमा बस्ने व्यक्तिले नबाँध्नु चालक र सवारीको अघिल्लो सिटमा बस्ने व्यक्ति दुवैको लापरबाही हो।
हरेक चार पाङ्ग्रे सवारी साधनमा अघिल्लो सिटमा बस्ने व्यक्तिका लागि सुरक्षा पेटीको छुट्टै व्यवस्था हुन्छ, कसैलाई कुनै थप झन्झट छैन, सुरक्षा पेटीको महत्वलाई बुझ्न खासै गाह्रो पनि होइन। सोही ऐनको दफा १३० कै उपदफा (२) मा उल्लेखित मोटरसाइकल तथा स्कुटरहरूको पछाडि बस्नेहरूका लागि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम कार्यान्वयन भने असफल भएको छ।
विगतमा यी कार्यमा असफल हुनुमा मोटरसाइकल र स्कुटर चालकले थप हेल्मेट बोकेर हिँड्न झन्झटिलो हुनु, विगतमा हेल्मेट चोरी भएका घटनाको अनुभव, आफन्त साथीभाइले लिफ्ट माग्ने क्रममा हेल्मेटकै कारण सहयोग गर्न नसक्ने अप्ठ्यारो परिस्थिति आउनु, थप हेल्मेट सुरक्षित तरिकाले राखेर हिँड्ने व्यवस्था मोटरसाइकल र स्कुटरमा नहुनु, थप व्यय भार, व्यापारीहरूको स्वार्थ वा कमिसनका लागि भन्ने बुझाइ आदि कारणहरू पर्दछन्।
चार पाङ्ग्रे सवारी साधनमा अघिल्लो सिटमा बस्ने व्यक्तिका लागि सुरक्षा पेटीको छुट्टै व्यवस्था हुँदाहुँदै, सुरक्षा पेटी लगाउनु पर्ने नियम लागु गर्न सहज हुँदाहुँदै पनि खासै बहस नहुनु तर मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरूका लागि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम लागु गर्न बढी बहस हुनुले पनि जनमानसमा हेल्मेट व्यापारीहरूको स्वार्थ वा कमिशनका लागि भन्ने कुरालाई थप बल पुर्याएको देखिन्छ।
आजभोलि सहर बजारमा देखिने कतिपय मोटरसाइकलहरूको डिजाइन पछाडि बस्नेहरूका लागि असुरक्षित देखिन्छ भने कतिपय मोटरसाइकलहरूको क्षमता र डिजाइन नै सहर केन्द्रितभन्दा तीव्र गतीका लागि केन्द्रित गरी बनाएको देखिन्छ। यस्ता मोटरसाइकलहरूको आयात/प्रयोग निरूत्साहित गर्नु पनि आवश्यक देखिन्छ।
मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरूका लागि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम लागु गर्न बढी जोड दिनुपूर्व मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरूले हेल्मेट लगाउँदा हुने फाइदाहरू (दुर्घटनामा पर्दा मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरू बढी जोखिममा हुने, टाउकोमा चोट लागि बढी मृत्यु हुने, धुवाँधुलोबाट बच्ने, चश्मा नभएका बखत समेत आँखालाई बचाउने आदि) का बारेमा प्रभावकारी ढंगले जनचेतना जगाउन सकेमा सर्वसाधारण आफै सचेत भई हेल्मेटको प्रयोग गर्ने प्रवृत्ति स्वतस्फूर्त रुपमा निश्चय नै विकसित हुने कुरामा विश्वास गर्न सकिन्छ।
व्यस्त सहरहरूमा मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरूले हेल्मेटलाई झन्झटको रूपमा लिए तापनि लामो यात्रामा निस्किँदा सचेत व्यक्तिहरूले हेल्मेटको आवश्यकता महसुस गरेका हुन्छन्, हेल्मेटकै कारण यात्रामा असुरक्षित भएको महसुस गरेका हुन्छन्।
सवारी दुर्घटना जोखिम बढ्नुको प्रमुख कारणहरूमा लापरबाही र तीव्र गती हो। मोटरसाइकल तथा स्कुटरको गती नियन्त्रित भएमा दुर्घटनामा उल्लेख्य कमी आउने भएकाले हेल्मेट लगाउँदा सुरक्षित भइन्छका साथै गति सीमाअनुरूप नियन्त्रित रूपमा मोटरसाइकल तथा स्कुटर चलाउन बढी जोड दिई जनचेतना जगाउनु अझ लाभदायक हुन्छ।
मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेहरूका लागि हेल्मेट सुरक्षित साधन हो भन्नेमा कुनै शंका गर्नु र्ने रत्तीभर ठाउँ छैन तर अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम लाद्नुभन्दा गती सीमाअनुरूप नियन्त्रित सवारी साधन चलाउने र हेल्मेट लगाउनुको महत्वका बारेमा प्रभावकारी जनचेतना जगाउने हो भने हेल्मेट लगाउने तर्फ आकर्षण बढ्ने सम्भावना बढी देखिन्छ।
तसर्थ, सवारी तथा यातायात व्यवस्था ऐन नियमहरू सरल, सहज एवं व्यवहारिक हुनुका साथै सम्बन्धित निकायहरूले चालकहरूलाई अग्रिम सु-सूचित हुने गरी प्रभावकारी जनचेतना जगाउने कार्यमा जोड दिएमा नीति-नियमहरूको सहज कार्यान्वयन हुनेमा ढुक्क हुन सकिन्छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सडकको लेन मिच्ने सवारी चालकहरूलाई कारबाही गर्नुपर्ने व्यवस्था पनि रहेको तर प्राय: पक्की सडकहरूमा लेन मार्किङ नै नभएको अवस्था विद्यमान छ। सडकमा उचित लेन मार्किङ भएमा चालकहरूको लेन मिच्ने मनोविज्ञानमा आफै सुधार आउने र जाम तथा ओभरटेकिङमा दुर्घटना हुने सम्भावना घट्छ।
उचित स्थानहरूमा हजार्ड मार्किङ् राख्नाले सवारी दुर्घटना हुने सम्भावना घट्छ। सडक खण्ड र चोकहरूमा डेलिनियटरको प्रयोग गर्नाले चालकहरू दिग्भ्रमित भई हुने दुर्घटनाहरूमा न्यूनीकरण हुन्छ।
त्यस्तै, ट्राफिक चिन्हहरू आवश्यक र उचित स्थानहरूमा नभएकाले पनि दुर्घटनाहरू भएका छन्। ट्राफिक चिन्ह नभएकाले एकतर्फी बाटोमा सवारी साधन लाने क्रममा दुर्घटना/जाम भएको अवस्था छ। जथाभावी पार्किङ गर्ने मानसिकता भएका चालकहरूलाई कडा कारबाही गर्नैपर्छ तर नो-पार्किग बोर्ड भएको ठाउँमा पार्किङ गर्नहुन्न, बाँकी जहाँ पनि पार्किङ गर्न पाइन्छ भन्ने सामान्य जानकारी भएका चालकहरूलाई पार्किङ निषेधित क्षेत्रका बारेमा जानकारी नभई नो-पार्किङ बोर्ड नभएको स्थानमा कारबाहीमा परेको र ट्राफिक प्रहरीसँग वादविवाद गर्ने गरेको वा जनगुनासो पनि देखिन्छ।
तसर्थ, सम्बन्धित निकायहरूबाट पनि सहज यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि सडक मापदण्ड अनुरूपको लेन मार्किङ गर्ने, उचित स्थानहरूमा जेब्राक्रसिङको व्यवस्था गर्ने, पैदलयात्रुहरूका लागि स्तरीय फुटपाथ र सहज एवं सुरक्षित बाटो काट्ने वातावरण बनाउने, व्यस्त चोकहरूमा पैदलयात्रुहरूका लागि सुरक्षित बाटो काट्ने ओभरब्रिज निर्माण गर्ने, चोकहरूको व्यवस्थापन गर्ने, आवश्यक स्थानहरूमा पर्याप्त/उचित ट्राफिक चिन्हहरूको व्यवस्था गर्ने, डेलिनियटरहरूको व्यवस्था गर्ने, सडक बत्ती तथा ट्राफिक लाइटहरूको व्यवस्था गर्ने जस्ता न्यूनतम कार्यहरू तत्कालै गर्नुपर्ने देखिन्छ।
यी कार्यहरूका लागि ठूलो रकम र समयको आवश्यकता पर्ने पनि होइन। चालकहरूलाई मात्र नियम बनाई कडाइका साथ कार्यान्वयन गर्न खोज्ने तर सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारीअनुरूप कार्यहरू समय मै नगर्ने हो भने राम्रा नीति-नियमहरू पनि असान्दर्भिक देखिने तथा कार्यान्वयन तहमा असर पर्ने देखिन्छ।
खोजेको बेला देखाउनु पर्ने शीर्षकमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३१ को उपदफा (१) मा कुनै बेला चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायत निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनु पर्छ र उपदफा (२) मा प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा कुनै सवारीको दर्ताको प्रमाणपत्र वा सार्वजनिक सवारीको बाटो इजाजतपत्र हेर्न खोजेमा त्यस्तो सवारीको चालक, सवारी धनी वा व्यवस्थापकले दर्ताको प्रमाणपत्र वा बाटो इजाजतपत्र देखाउनु पर्नेछ भन्ने प्रष्ट कानुनी व्यवस्था छ।
सरकारी निकायकै यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइट र नागरिक एपबाट इन्टरनेट भएको अवस्थामा चालकको अनुमति पत्र तथा नागरिक एपबाट सवारी दर्ताको प्रमाणपत्र हेर्न वा देखाउन मिल्ने भएकाले प्रहरी वा यातायात निरीक्षकले चालकको अनुमति पत्र वा सवारी दर्ताको प्रमाणपत्र हेर्न खोजेमा सवारी चालकहरूले आफ्नो चालक अनुमति पत्रको कार्ड वा सवारी दर्ता प्रमाणपत्र बुकको सट्टामा वेबसाइट वा एपबाट देखाउँदा मान्य हुनुपर्छ भन्ने कुरा उठिरहेको सन्दर्भमा प्रहरी वा यातायात निरीक्षकहरूले अश्विकार गर्नु झट्ट हेर्दा असान्दर्भिक लाग्छ।
तर ट्राफिक प्रहरी वा यातायात निरीक्षकहरूले चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र सामान्य चेक जाँच गर्ने सन्दर्भमा मात्र सान्दर्भिक देखिए पनि सवारी नियम उलंघन गर्ने चालकहरूलाई तत्कालै कारबाही गर्ने कार्य सधैँ सम्भव हुन्न र कारबाहीका क्रममा चिट काटेपछि चालक अनुमति पत्र वा सवारी दर्ता प्रमाण पत्र ट्राफिक प्रहरीले नलिई छोड्ने भएमा ती चालकहरूले चिटअनुसार जरिवाना बापतको राजश्व बुझाउने तथा रिफ्रेशमेन्टको क्लास लिने आदि विषयहरू कार्यान्वयनमा गम्भीर नकारात्मक असर पर्छ।
त्यस्तै सवारी दुर्घटना गराउन जिम्मेवार चालकबाट पीडित पक्षलाई समयमै क्षतिपूर्ति दिलाउन वा उपचारको सुनिश्चितता गराउनका लागि पनि दुर्घटनामा जिम्मेवार चालकको चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र ट्राफिक प्रहरीले राख्दा प्रभावकारी/उपयुक्त हुने नै देखिन्छ। त्यसैले हाललाई चालकहरूले चालक अनुमति पत्र र सवारी दर्ता प्रमाणपत्र बोक्नै पर्ने व्यवस्था सान्दर्भिक नै देखिन्छ। यसको मतलब प्रविधिमैत्री हुनु हुँदैन भन्न खोजेको होइन, आजको समयमा हामी प्रविधिमैत्री हुनैपर्छ।
यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइटमार्फत इन्टरनेट भएको अवस्थामा जहाँ पनि जुनै पनि मोबाइल वा ल्यापटप वा कम्प्युटर डेस्कटपमा चालक अनुमतिपत्र हेर्न सकिन्छ भने नागरिक एपबाट इन्टरनेट भएको अवस्थामा सम्बन्धित व्यक्तिको मोबाइलबाट मात्र चालक अनुमतिपत्र हेर्न सकिन्छ। तसर्थ, यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइटमा सवारीको दर्ताको प्रमाणपत्र पनि हेर्न मिल्ने व्यवस्था गर्नु उपयुक्त देखिन्छ।
सवारी सम्बन्धी जरिवाना न्यून भएकाले सवारी चालकहरू लापरबाह भएको र सवारी सम्बन्धी जरिवाना अत्याधिक बढाएमा डरले पनि सवारी चालकहरूले सवारी नियम पालना गर्छ भन्नु पनि गैह्र-जिम्मेवारी हो। नियम भनेको तर्साउनका लागि बनाउने होइन, अनुशासित/सतर्क बनाउनका लागि हो। बढी जरिवानाले सवारी चालकहरूलाई मात्र असर हुने होइन समग्रमा चालकका परिवारलाई समेत असर गर्ने विषयलाई पनि ध्यान दिनुपर्छ।
सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी नीति-नियमहरू प्रवर्तन गर्ने क्रममा जरिवानामार्फत बढी राजश्व संकलन भएमा लापरबाह सवारी चालकहरू बढी छन् तथा सडक सुरक्षा अवस्था कमजोर छ र कम राजश्व संकलन भएमा सवारी चालकहरू संयमित/अनुशासित छन् तथा सडक सुरक्षा अवस्था बलियो छ भन्ने बुझिन्छ।
म राम्रो चालक हुँ र मैले गल्ती नगर्दा दुर्घटनामा परिन्न भनि ‘आफू’ लाई महत्व दिएर सवारी साधन चलाउनु भन्दा मेरो कारण मात्र नभै अरूको कारण पनि दुर्घटना हुनसक्छ भन्ने कुरालाई ध्यान दिई वरिपरिका चालकहरूलाई समेत मध्येनजर गरी आफ्नो सवारी साधन सुरक्षित रूपमा चलाउनु पर्छ। चालकले सडकमा शिष्ट हुनुपर्छ, अरू चालकहरूको सम्मान र कदर गर्नुपर्छ।
होडबाजी गर्ने, अरूलाई निचा देखाउने/शो-अफ गर्ने/निहुँ खोज्ने/मसल्स पावर देखाउने ठाउँ सडक होइन, आफूले गल्ती गर्न पुगेमा माफी माग्न लाज मान्नु हुन्न। अरूको सामान्य गल्तीका लागि मुस्कानसहित माफी दिन सिक्नुपर्छ। दुर्घटना भइहालेमा वादविवादलाई छोडेर ट्राफिक प्रहरीलाई सम्पर्क गर्ने, आपसी मेलमिलापको बाटो लिनु उत्तम हुन्छ।
दुर्घटनामा कोही घाइते भएमा आवश्यक उपचारतर्फ सहयोग गर्नुपर्छ। सवारी साधनलाई दुरूस्त हालतमा राख्नु अर्थात् आवधिक मर्मत सुधार गर्नुपर्छ। सवारी साधन चलाउनुअघि सवारी साधनमा जडित साइड मिररहरू आफू अनुकूल मिलाउने, चोकहरूमा दायाँ मोड्नु अघि बायाँतर्फ जायजा लिई दायाँको र बायाँ मोड्नुअघि दायाँतर्फ जायजा लिई बायाँको साइड मिरर हेरेर अनुकूल परिस्थिति भएमा मात्र उपयुक्त साइड लाइटको प्रयोग गरेर दायाँ/बायाँ मोड्ने वा लेन बदल्ने, समय समयमा पछाडिका सवारी साधनहरूको स्थितिलाई आकलन गर्न साइड मिररमा आँखा पुर्याइरहनु पर्छ।
अँध्यारोमा सवारी साधन चलाउँदा अगाडि कुनै गाडी नआएको अवस्थामा टाढासम्म भिजिबिलिटी बढाउन र विपरीत दिशाको सवारी चालकहरूलाई आफ्नो सवारी साधन पूर्वसूचित गर्न हेडलाइट हाई गर्नु पर्छ भने विपरीत दिशाबाट सवारी साधन आएको देखेमा विपरीत दिशाको सवारी चालकहरूलाई असुविधा नहुने गरी हेडलाइट डिम गर्नुपर्छ।
गियरको सदुपयोग कसरी गर्ने, कम स्पिडमा बायाँतर्फको र बढी स्पिडमा दायाँतर्फको लेन अर्थात् स्पिडअनुसारको उचित लेनमा सवारी साधन चलाउनु सुरक्षित हुन्छ आदि जस्ता सामान्य ज्ञान समेत नराख्ने र लाइसेन्स लिएपछि केही दिन आफ्नो क्षमता अभिवृद्धिका लागि भित्री सडकहरूमा सवारी साधन चलाएपछि मात्रै मूल सडकमा चलाउनु सुरक्षित भइन्छ भनि बुझ्नुको साटो अब सिक्ने कुरा केही रहेन भन्ठान्ने वा लाज मान्ने चालकहरू प्रशस्तै भेटिन्छ।
मोटरसाइकल/स्कुटर चलाउने कतिपय चालकहरूले त साइड मिरर नै फोल्ड गरेको समेत देख्न पाइन्छ। सडकमा सबैभन्दा बढी जोखिममा हामी छौँ, सवारी दुर्घटनाबाट गम्भीर घाइते, अपाङ्ग वा अकाल मृत्यु हुन पटक-पटक दुर्घटनामा पर्नुपर्ने होइन, क्षतिपूर्तिले जीवन सहज हुन्न र अपसोच गरेर दुर्घटनापूर्वको अवस्थामा फर्किन्न, सडक पेटीबाट हिँड्न पर्छ, जेब्राक्रस वा ओभरब्रिजबाट सुरक्षित बाटो काट्नु पर्छ, झुण्डिएर वा सिट क्षमताभन्दा बढी हुने गरी यात्रा गर्नु आफै असुरक्षित भइन्छ जस्ता सामान्य ज्ञान नराख्ने पैदलयात्रुहरू पनि प्रशस्तै भेटिन्छ।
त्यसैले ड्राइभिङ इन्स्टिच्युटहरूलाई सचेत, दक्ष एवं जिम्मेवार सवारी चालक उत्पादन गर्न आवश्यक सैद्धान्तिक एवं प्रयोगात्मक मापदण्ड बनाई अझ सबल बनाउने र स्कुलका विभिन्न कक्षाहरूमा अनिवार्य विषयमा यातायात व्यवस्था तथा दुर्घटना न्यूनीकरण सम्बन्धी विषय समावेश गरी अध्यापन गराउने जस्तो परिणाममूखी तरिकाले जनचेतना जगाउनु पर्ने ठूलो खाँचो देखिन्छ।
स्कुलका विभिन्न कक्षाहरूमा अनिवार्य विषयमा यातायात व्यवस्था तथा दुर्घटना न्यूनीकरण सम्बन्धी विषय समावेश गरी अध्यापन गराउने सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालयमा पत्राचार गरीएकोमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा आवश्यक कार्यार्थ पठाइसकिएको हुँदा चाँडै कार्यान्वयनमा आउने कुरामा विश्वस्त हुन सकिन्छ।
स-साना बालबालिकाहरू राखी मोटरसाइकल, स्कुटर, साइकल चलाउनु जोखिमपूर्ण भैकन पनि यी सवारी साधनहरू अन्य कारणले बढी दुर्घटनामा पर्ने गर्छन्। किनकी बालबालिकाहरू राखी यी साधन चलाउँदा चालक आफै धेरै सतर्क हुने गर्छन् भने अन्य सवारी चालकहरूले पनि जबरजस्ती नगरी यस्ता सवारी साधनहरूलाई प्राथमिकता दिन कन्जुस्याइँ गर्दैनन्। यसले चालकहरू सचेत, जिम्मेवार र सतर्क भएको खण्डमा सवारी दुर्घटना न्यूनीकरण हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ अर्थात् जनचेतनाको महत्त्वलाई प्रष्ट पार्छ।
वर्षातको मौसम लगत्तै नेपालीहरूको महान चाड दशैं सुरु हुने र जहाँ जता काममा व्यस्त भए तापनि दशैं मनाउन घर फर्किने तथा मान्यजनबाट टीका र आशीर्वाद थाप्ने नेपालीहरूको संस्कार छ। तर वर्षाबाट बिग्रिएका सडकहरूलाई दशैंका लागि समयमै सम्बन्धित निकायहरूले बाटो मर्मत नगरिदिएकाले, क्षमताभन्दा बढी यात्रु राखी सवारी साधन चलाएकाले, सवारी साधनको आवधिक मर्मत नगरी सवारी साधन चलाउनाले, मादक पदार्थ सेवन गरी चालकले सवारी साधन चलाउनाले वा यात्रुहरू सजग नहुनाले नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष कार्यक्रमहरू बनाई खटिँदा समेत वर्षेनी ठूलो जनधनको क्षति हुने गरी दुर्घटना भएको अवस्थालाई न्यूनीकरण गर्न पनि सम्बन्धित सबै पक्ष सजग हुनैपर्छ।
चालकले मादक पदार्थ सेवन गरे/नगरेको विषयमा सतर्क हुने, चालकले मादक पदार्थ सेवन गरेको भेटिएमा प्रहरीलाई खबर गर्ने, सिट क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन नचढ्ने, सवारी साधनको छतमा बसी यात्रा नगर्नेजस्ता सामान्य विषयमा यात्रुहरूले ध्यान पुर्याउने हो भने पनि चाडपर्व र विवाह जस्तो हर्सोउल्लासका बेला हुने ठूला/गम्भीर सवारी दुर्घटनाहरूमा उल्लेखनीय कमी आउँछ।
गल्ती गर्नेले नै पनि ठूलो स्वर गर्ने, झगडा गर्ने वा नियमको कुरा गरेको भेट्छौँ, नियमको पालना गर्नुपर्छ भन्ने धैर्य र संयममताको कमी छ। अरूको गल्ती देखाएर आफ्नो गल्ती ढाकछोप गर्नुभन्दा सुधारका लागि आ-आफ्नो तह र तर्फबाट जिम्मेवारीपूर्वक भूमिका खेल्नु उत्तम विकल्प हो र आफ्नो अधिकारको कुरा गर्दा अधिकार सँगसँगै आफूमा जिम्मेवारी पनि थपिएको छ वा आफ्नो जिम्मेवारी निर्वाह नगरी आफ्नो अधिकारको मात्र कुरा गर्न सुहाउँदैन भन्ने कुरालाई भने बिर्सिन्छौँ।
समग्रमा देशैभरको तथा प्रत्येक प्रदेशको सडक सुरक्षा योजना तथा रणनीतिक कार्ययोजना, आधारभूत मापदण्ड तथा प्रविधिसहितको सडक संरचना, लक्षित वर्गलाई प्रभावकारी जनचेतना, सबल तथा प्रभावकारी ड्राइभिङ इन्स्टिच्युटहरू,
समयसान्दर्भिक तथा व्यवहारीक सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी ऐन नियम, प्रविधिमैत्री दक्ष ट्राफिक प्रहरी, सम्बन्धित निकायहरूबीच बलियो समन्वय एवं सहकार्य र सवारी तथा यातायात व्यवस्था ऐन नियमहरूको प्रविधिमा आधारित प्रवर्तन कार्य आदि सडक सुरक्षाको अनिवार्य सर्त भएकाले सम्बन्धित पक्ष तथा निकायहरूले यसतर्फ समयमै गम्भीर भएर ध्यान दिनु जरूरी छ।
राज्यका अंगहरूले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निभाएमा नागरिक स्वत: जिम्मेवार हुने कुरामा विश्वस्त हुन सकिन्छ।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका ट्राफिक इन्जिनियर हुन्।)