यस महिना (फागुन) मा परेका सार्वजनिक बिदाहरूको विषयमा देशव्यापी रुपमा चर्चा चलिरहेको छ। यसै क्रममा एउटा चिया पसलमा कार्यालय समयपछि चिया पिउँदै गरेका पुरुषहरूबीच पनि यही बिदाका विषयमा गफ चलिरहेको थियो।
‘ओहो! यो २४ गते त नारी दिवस नि, अब फेरि हाम्रा घरका आइमाईहरूसँग त्यस दिन केही बोल्न सकिन्न,’ एकजना पुरुषले होच्याउने पारामा बोल्दै थिए।
त्यही कुरामा होमा हो थप्दै र आआफ्ना अनुभव र विचारहरू एकअर्कामा आदानप्रदान भइरहेका थिए। नजिकैको टेबलमा खाजा खाँदै गरेकी मलाई भने उहाँहरूको त्यो कुराले धेरै पछिसम्म पनि छोड्न सकेन।
पेसाले शिक्षक रहेका ती पुरुषले नारीहरूले आफ्नो अधिकारका विषयमा आवाज उठाएको या भनौं उनीहरू अधिकार सम्पन्न भएको देख्न नसक्नु, हातेमालो गर्दै अघि बढ्न नखोज्नु कहाँसम्मको विडम्बनाको कुरा हो? यही प्रश्न मेरो मनमा उब्जिरह्यो।
उनले आफूले पढाउने स्कुल र कलेजमा कसरी महिला र पुरुषमा लिङ्गको मात्र फरक हो, उनीहरू शारीरिक, मानसिक र बौद्धिक हिसाबले समान हुन्छन्, महिला पुरुषको समानताका विषयमा महिला-पुरुष दुवैको योगदानको बराबर महत्त्व हुन्छ भन्ने कुरा कसरी सिकाउन सक्छन्?
संयुक्त राष्ट्र संघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो। सन् १९०९ देखि अन्तर्राष्ट्रिय दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन तर सन् १९१४ देखि मात्र हरेक वर्षको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो।
नेपालमा भने विसं २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि नियमित रुपमा नारी दिवस मनाउन थालिएको हो। यो दिवस कुनै उत्सव नभएर उत्पीडित महिलाको लैंगिक हिंसा विरूद्धको आवाज हो।
नेपालमा नारी दिवस मनाउन थालेको करिब ६३ वर्ष पूरा भइसकेको छ। तर पनि आशातीत रुपमा महिला र पुरुषका बीचमा रहेको मानवनिर्मित असमानताको खाडल नपुरिनुमा पढेलेखेका, समाज तथा राष्ट्रको नेतृत्व गर्ने जिम्मा पाएकाहरूले ऐनाभन्दा पनि आफ्नो अनुहार राम्रोसँग पुछेर हेर्नुपर्ने बेला आएको छ।
वर्षमा एक पटक दिवसका दिन घरको सबै काम सकेर र्याली अथवा गोष्ठीहरूमा सहभागी हुन जाँदा त्यही घरको पढेलेखेको, समाज बुझेको पुरुष सदस्यलाई असह्य हुन्छ भने महिलाहरू अहिले पनि कुन अवस्थामा छन् भनेर हामीले सहजै अनुमान गर्न सकिहाल्छौँ। कार्यक्रम, गोष्ठीहरूमा चर्काचर्का स्वरमा भाषण गर्नेहरूले आफैले बोलेका कुराहरूलाई आफ्नो व्यवहारमा मात्र पनि ल्याउन सक्यो भने पनि समाजले समानताको पाटोमा धेरै अगाडि बढेको हाम्रै पालामा देख्न र महसुस गर्न सकिन्छ।
मानिस भएर बाच्न पाउने अधिकार सबैलाई हुन्छ। स्वतन्त्रपूर्वक खान पाउने, बोल्न पाउने, हिँड्न पाउने अधिकार सबैलाई छ। पक्कै पनि यही नै मानवअधिकार होला। व्यक्तिको जीवनको अधिकार नै मनावअधिकार हो। यो कसैले दिएर दिइने विषय नभई मानिस भएर जन्मिएको कारण स्वतः प्राप्त हुन्छ।
महिला भएको कारणबाट खण्डित वा बन्चित गरिएका आधारको खोजि अनि प्रतिस्थापनाको लागि गरिने व्यवस्था र मानवको रुपमा पाउनुपर्ने महिलाको अधिकार निश्चितरुपमा अलग विषय नभई मानवअधिकारकै विषयवस्तु हुन्।
समग्रमा महिलाका लागि विशेष व्यवस्था समावेश गरी अस्तित्वमा आएको नेपालको संविधान २०७२ ले परिवर्तनका मुद्दाहरू संस्थागत गराउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ। संविधान राम्रो बन्नु मात्र सबैथोक होइन, कार्यान्वयनमा नै संविधानको सफलता निर्भर रहन्छ। तसर्थ संविधानलाई व्यवहारमा उतार्नु अपरिहार्य छ। जसले गर्दा महिलाको अधिकार सुनिश्चित हुन सकोस्।
नेपालको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू खासमा अधिकार सम्पन्न नहुँदासम्म देशको समानुपातिक र वैज्ञानिक विकास असम्भव नै हुन्छ। परिवारदेखि समाज विकासमा महिलाको अति महत्वपुर्ण भूमिका हुदाँहुँदै पनि राज्यको हरेक क्षेत्रमा महिलाको न्यून सहभागिता रहेको अवस्था छ।
हाम्रो समाज परम्पराकालदेखि नै पुरुष प्रधान रहँदै आएको छ। महिलाहरूको उपस्थितिलाई कानुनी रुपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखि नै सीमांकित छन्।
वर्षौंदेखि करिब-करिब उस्तै-उस्तै मुद्दाहरू नै भाषणका विषयवस्तु बनिरहेका छन्। आधारभूत कुराहरूमा समानता प्राप्त गरी विश्वका विकसित मुलुकका अधिकार सम्पन्न महिलाहरूको तुलनामा हामी धेरै नै पछाडि छौँ। हामी अघि कहिले बढ्ने?
त्यसैगरी लैंगिक समानताको ध्वजा फहराउन व्यहारिक चुनौती पनि प्रशस्तै छन्। प्राचिन कालबाटै महिला भेदभाव गरिँदै आएकोले साक्षरता, उच्च शिक्षा र सार्वजनिक ओहोदामा पुरुष सरह महिलाको समान रुपमा सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न गयो। फलस्वरुप नीतिगत, कानुनी र व्यावहारिक प्रयासका बाबजुद पनि आशातीत उपलब्धि हासिल हुन सकेको छैन।
विश्व अहिले २१ औं शताब्दीको दोश्रो दशक पार गरिसक्दा समेत हामी महिलाहरूको अवस्था आशातीत रुपमा फड्को मार्न सकेको छैन। जबसम्म महिलाहरूलाई आर्थिक आयआर्जनमा सहभागी हुँदैनौँ, परिवार सञ्चालनमा हाम्रो सहभागीता हुन सक्दैन तबसम्म हामी महिलाहरू सामाजिक, आर्थिक, मानसिक, शारीरिक आदि रुपमा हिंसामा परिरहने छौँ।
२/४ जना महिला मात्र माथि पुगे भनेर हामी चुप लागेर बस्नुहुँदैन, हामीले कसरी ती माथि पुगेका महिलाहरूबाट लाभ लिन सक्छौँ भनेर लागिपर्नु पर्ने हुन्छ। साथै ती महिलाहरूले पनि आफूहरू अधिकार सम्पन्न छौँ भनेर मक्ख परेर नबसी अन्य महिलाहरूका लागि आफूले के गर्न सकिन्छ भनेर लाग्नुपर्दछ।
अहिलेको अवस्थामा आइपुग्दा पनि महिला र पुरुषहरूले एकअर्काको अस्तित्वलाई स्वीकार गर्न एकदमै गाह्रो भइरहेको छ। कतिपय महिलाहरूले पनि आफ्नो अधिकारका विषयमा आवाज उठाउँदा पुरुषहरूलाई दोषी ठहराइरहेका हुन्छन्। कतिपय पुरुषहरूले पनि आफ्नै घरका महिलाहरूलाई या भनौं आफ्नै श्रीमती, छोरी, बुहारीहरूलाई घर बाहिर निस्कन दिँदा बर्बादै हुन्छ कि भन्ने सोचाइ राख्छन्।
यस्तै-यस्तै उदाहरणहरूले गर्दा हाम्रो समाजले प्राचिन कालदेखि नै महिला र पुरुषलाई एक रथका दुई पाङ्ग्राको रुपमा लिने गरे पनि व्यवहारमा भने सो दर्जा दिन सकेको छैन भन्ने कुरालाई पुष्टि गरिरहेको छ।
गाडीको एउटा पाङ्ग्रामा थोरै मात्र पनि खराबी आउँदा सो रथ (गाडी) गन्तव्यमा सुरक्षित रुपमा पुग्न सक्दैन। त्यसैगरी सबैभन्दा चेतनशील प्राणीको रुपमा रहेको एकअर्काका परिपुरक महिला र पुरुषको अवस्था समान भयो भने महिला र पुरुष नामको रथलाई पनि सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सकिन्छ या भनौँ समृद्ध समाज र राष्ट्रको परिकल्पना पूरा गर्न सकिन्छ।