जब म ती लडाकु दिदीको सम्झना गर्छु, मेरो विगतमा पुगेर टक्क अडिन्छु। सम्झनाले मलाई ती दिनहरूमा लगेर रोक्छ।
ती दिनहरूमा म डर र त्रास बीचको आफ्नो बाल्यकालदेखि किशोरावस्थासम्मका सम्भावनामा पुग्छु। त्यो समयको त्रासदीका शिकार अरु कति जना थिए होलान्? तीमध्ये म पनि एक थिएँ। देशमा चलेको राज्य पक्ष र विद्रोही पक्षको युद्धको कारण थियो, त्यो त्रासदीको अवस्था।
देशमा सशस्त्र संघर्ष यति धेरै बढेको थियो कि चारैतिरबाट दोहोरो भिडन्तका खबरहरू बराबर आइरहन्थे। जतिबेला पनि मृत्यु र भिडन्त भएको खबर मात्र मुख्य हुन्थे। बाटोघाटो जताततै डरैडर थियो। कोही राज्य पक्ष त कोही विद्रोही पक्ष। जोसँग पनि ठोकिनु पर्ने हुन्थ्यो। अलिकति के भनौँ कहीँलेकाहीँ त गल्ती नै नगरी गल्तीको भागीदार बन्न पनि सकिन्थ्यो/बनिन्थ्यो।
हो, त्यही समयमा मेरो भेट एकजना लडाकु दिदीसँग भएको थियो। त्यतिबेला दिदी सशस्त्र सघंर्षको सशक्त लडाकु रहेछिन्। मेरो उमेर र दिदीको ज्ञानले कता-कता मलाई पनि लडाकु बन्न प्रेरित गरिरहेको थियो। नगरोस् पनि कसरी र? जो अति नै निरीह थिए, गरिबीको आहालमा डुबेका थिए, विभेदीत संरचनाबाट प्रताडीत भइरहेका थिए तिनीहरूलाई त यसले सजिलै समाउन सक्थ्यो।
हाम्रोजस्तो चरम गरिबीमा चुर्लुम्म डुबेको परिवारका सदस्यले यसलाई झन् सजिलै आत्मसाथ गर्न सक्थ्यो। त्यो आहालबाट बाहिर निस्कने चाहना सबैलाई थियो। ती आवाजहरूको ठूलो गर्जन समेटिएका मुद्दालाई जसले पनि सजिलै ग्रहण गर्ने क्षमता राख्थ्यो।
सशस्त्र संघर्षका मुद्दाहरूमा गरिबीको मार, लैंगिक र जातीय विभेदविरुद्धका आवाजहरूलाई समाहित गरिएका थिए। यति मात्र कहाँ हो र? त्यहाँभित्र थुप्रै त्यस्ता मुद्दाहरूलाई समावेश गरिएको थियो जो जेबाट पीडित छ। हो त्यसलाई समाउन सक्ने तागत त्यसभित्र समेटिएका शब्दहरूको शक्ति थियो।
यो सत्य हो कि युद्धको बल, ती मुद्दामा केन्द्रित थिए। मलाई लैंगिक विभेदले छोएको थियो। छोरी भएको कारण रोकिएका मेरा पाइलाहरूले मलाई धेरै दुखाउँथ्यो। त्यसैले म हरदम लैंगिक मुद्दालाई नै केन्द्रमा राख्ने गर्थें। बारम्बार छोरी भएर यो र त्यो गर्नुपर्छ भन्ने आवाजहरूको विरोध गरिहाल्ने भएर होला, छोरी मान्छेप्रति तेर्साइएका नियमहरू मलाई धेरै मन पर्दैनथ्यो र पर्दैन पनि।
यसै पनि समाजमा परापूर्व कालदेखि नै छोरीलाई वंशज मानिँदैन। उनीहरूले जन्माइदिएका छोरालाई मात्र वशंज मान्ने चलन थियो/छ। यो प्रमुख कारण थियो मेरो लडाकु दिदीसँग बारम्बारका बहसमा समावेश हुने। त्यही भएर होला दिदी मलाई खोज्दै आउने गर्थिन्। म पनि उनी आउँदा काम सकेर बस्ने गर्थें।
दिदी काँधमा बन्दुक र काखमा दूधे बालकसहित मेरो घरमा आउने गर्थिन्। मैले जे दिए पनि मिठो मानेर खान्थिन्। मिठो, नमिठो आँटो, पिठो जे भए पनि हुन्थ्यो। बस् खान पाए पुग्थ्यो। म र उनी धेरै कुरामा भलाकुसारी गरिरहन्थ्यौँ।
मेरो जोड छोरा र छोरीलाई दुई भिन्न मानव प्राणी किन मानिँदैन भन्ने हुन्थ्यो। उनले यो सब समस्याको जड सामन्ती पितृसत्तात्मक व्यवस्था हो भन्थिन्। मैले यो व्यवस्थाको बारेमा दिदीबाट नै हो पहिलो पटक थाहा पाएको।
दिदी भन्थिन्- ‘यो व्यवस्थाले छोरीलाई अवला, निरीह र परजीवी मात्र बनाउँछ। छोरासरह छोरीलाई पैतृक सम्पत्तिमा समान हक हुनुपर्दछ। यसको लागि यो सामन्ती पितृसत्तात्मक व्यवस्था बाधक हो। यो व्यवस्थाको अन्त्य गरी नयाँ व्यवस्था निर्माण गर्नुपर्छ। यसका विरुद्ध हामी सबैले डटेर लड्नु पर्छ। त्यसैको लागि हो मेरो यो सहभागिता। यो युद्धलाई सफल बनाउन सके सबैले राम्रो लाउन पाउने। मिठो खान पाउने। कोही सानो र ठूलो नहुने। सबैको बराबरीको हक स्थापित गर्न सकिन्छ। कोही कसैले हेपिएको दबिएको महसुस गर्ने छैनन्।’
हो, दिदीका यस्ता कुरालाई त्यहाँ समावेश गरेको पाँउदा म उत्साहित थिएँ। तर मलाई भने यी मुद्दाहरू मन परे पनि आमाको आँखाको आँसुले बढी पोलिरहेको हुन्थ्यो।
त्यो आँसुको साँची बसिरहनभन्दा केही गरी आमालाई आर्थिक सहयोग गर्न म सहर झरेँ। सानोतिनो काम गरी भाइबहिनीहरूको पढाइमा सहयोग पुर्याउन थालेँ। पछि देशमा शान्ति सम्झौता भयो। हराएकाहरू कोही घर फर्किए। कोही अझैसम्म पनि बेपत्ता छन्। मेरी ती दिदीका कति साथीहरू युद्धमा परे। कति साथीहरू अपाङ्ग बने। दिदी आफ्नो छोरोलाई डोर्याउँदै गाउँ पसिन्।
समयसँग आन्दोलनले गति पायो। सबैका हक अधिकारलाई समेट्ने प्रयास भयो। कागजमा धेरै कुराहरूलाई व्यवस्थापन गरियो। त्यही कारण अहिले देशमा नयाँ अध्यायको निर्माण भएको छ। यसको लागि मेरी लडाकु दिदीको उल्लेखनीय भूमिका रहेको मैले पाउँछु। तर यो नयाँ अध्यायमा बाह्य रुप परिवर्तन भयो। व्यवस्था आन्तरिक रुपमा त्यही छ, जस्तो पहिले थियो। नारी पुरुषबीचको विभेदीत संरचना जहाँको त्यहीँ ठिंग उभिएको छ। यसले आफ्नो भूमिकालाई परिवर्तन गरेको छैन।
तर आज कतै पनि म मेरी प्रेरणा र हौसला ती लडाकु दिदीलाई ती आवाजहरूसहित कतै उभिएको नपाएर धेरै दुखी छु। कहाँ बसेर हेरेकी होलिन् दिदीले आज नयाँ व्यवस्थाको अवस्थालाई भनेर सम्झिरहेकी छु।
यति धेरै त्याग र तपस्या गरेकी मेरी दिदीको बेखबरले कहीँलेकाहीँ रुवाउँछ। आखिर किन भित्ता लागिन् दिदी? नयाँ व्यवस्था र नयाँ समयमा दिदीको उपस्थितिमा आएको शून्यताले मस्तिष्कलाई भारी बनाउँछ।
दिदी रोजगारीका लागि विदेश पलायन भइन् कि? जति नै लडेर ल्याएको व्यवस्था भए पनि आफू पूरानै व्यवस्थाभित्र किचिन पुगिन् कि? मजस्तै कति जनाकी थिइन् होला हौसलाकी पात्र, के भयो होला ति लडाकु दिदीलाई?
दिदी गुमनाम भइन्। तिम्रो गुमनामले के सन्देश दिएको छ? के तिम्रो त्याग र समर्पण पनि त्यसरी नै गुमनाम भएको हो र? म भने बारम्बार तिमीलाई सम्झिरहन्छु। तिम्रा ती आवाजहरू कति दह्रो गरी उभिए होलान् भनेर टोलाउँछु। कहीँकतै पनि दिदीका आवाजहरू व्यवस्थित भएको पाउदिनँ।
तिमीले भनेका कुराहरू पूरा नभएको देख्दा म डराउन थालेको छु। किनकी तिमीसँगै हिँडेकाहरू आज ठाउँमा पुग्दा पनि हामी उस्तै अवस्थामा रहेको महसुस गर्छु।
फरक यति छ कि म किशोरीबाट वयस्क बनेँ। तिमी वयस्कबाट पनि माथि पुगिसक्यौ होला। तिमीसँगका साथीहरू सदनमा छन्। कोही विदेशमा पसिना बगाइरहेका छन्। लिपिवद्ध शब्दहरू फाइल बनाएर थन्काइएका छन्। कानुनमा समाहित हुँदैमा समाजमा परिर्वतन हुँदो रहेनछ दिदी।
सामजिक व्यवस्थालाई कानुनले परास्त गर्न सकेन। यो कानुनभन्दा पनि बलियो रहेछ। पितृसत्तात्मक सामाजिक संरचनालाई परास्त गर्न भिरेका ती बन्दुकले के गर्यो त दिदी? न त तिम्रो छोराले राम्रो स्याहार पायो, न त तिम्रा बहिनीहरूले अहिले न्याय पाइरहेका छन्।
तिमी हरायौ। तिमीसँग हराए ती जागरुक आवाजहरू पनि। बराबरका कुरा गर्नेहरूले कानुनमा व्यवस्था त गरे तर सामाजिक व्यवस्था हिजो जे थियो त्यही रह्यो। हिजोका व्यवस्थामा परिवर्तन त थोरैले मात्र गरे। जो शासन सत्तासँग नजिक रहे।,जो निमुखा र परजीवीहरू थिए उनीहरूको पीडा पीडामा सीमित रह्यो।
कानुनी व्यवस्थाभन्दा बलियो हाम्रो सामाजिक व्यवस्थाले कानुनका धारा देख्दैन। जुन धारा निर्माण गर्न आन्दोलनको वर्षा भएको थियो, त्यो वर्षा नै सुक्खाजस्तै भएको छ। जुन जगमा आन्दोलनको उभार छुटेको थियो, ती जगहरू शान्ति प्रक्रियापछि क्रमशः धरासयी बन्दै गएका छन्। धरासयी बनेका बाटोमा कसरी हिँड्ने? पाइला राख्न सुरक्षा नपुगेर पनि हो कि लडाकु दिदी हराएकी जस्तो लाग्छ मलाई। नत्र भने कहीँ त मैले भेट्थेँ होला उनलाई।
समाज रुपान्तरणको अभ्यास समेत गरी दिदी वर्तमानमा नभेटिनु मलाई चानेचुने कुरा लाग्दैन। उनको अदम्य साहस र प्रतिभाको कदर कमजोर दिशातिर लागेको देखेर थाकिन् होला भन्न चाहिँ सक्छु।
उनी कतै डराइन् पनि कि जस्तो लाग्छ, दूधे बालक च्यापी लडेर स्थापित गरेको शासन व्यवस्थामा आफ्ना बहिनीहरूको असुरक्षा देखेर। नयाँ र व्यवस्थित शब्द संयोजनले मात्र हक अधिकार नपाएको देखेर। आफ्नै कार्य कुशलता र वीरतामा आँच आएको देखेर।
के होला मलाई थाहा पाउन मन छ है दिदी। एकै पटक मात्र भए पनि सम्झनालाई दोहोर्याउनु छ हामीले। पहिलेजस्तो लुकेर होइन, खुलेआम सबैका सामु आफ्ना अनुभवलाई साट्नुछ हामीले।