‘के तिमीलाई थाहा छ, पहिलो कम्प्युटर प्रोग्रामर एक महिला थिइन्?’
शब्द आफैमा नकारात्मक छैन। सूचनामूलक शब्दलाई हाइलाइट गर्दै प्रतिक्रिया आउँछ- ‘त्यसैले कम्प्युटर भाषा बुझ्न गाह्रो छ।’
यो प्रतिक्रिया पनि आफैमा नराम्रो छैन। तर लेखिएको शब्द, एडा लबलेसको (जसलाई हामी मदर अफ कम्प्युटर भनेर पनि चिन्छौँ) तस्वीर एउटै फोटोमा राखी केही महिनाअघि मात्रै ‘जेभियर’ नामको अफिसियल पेज जहाँ २.२ मिलियन फलोअर्सले हेरेका छन्, उक्त पेजमा हँस्यौली शैलीमा प्रस्तुत गरिएको छ।
त्यस पोस्टमा यस लेख तयार पार्दासम्म ६४ हजार रियाक्ट आएको छ। जसमध्ये ९८ प्रतिशत रियाक्टमा हाँसेको इमोजी प्रयोग गरिएको छ। १० हजारभन्दा बढीले उक्त पोस्टलाई शेयर गरेका छन्। ९९८ जनाले आ-आफ्नो सामाजिक संजालबाट विभिन्न तरिकाले प्रतिक्रिया जनाएका छन्।
ती प्रतिक्रियाहरू पढ्दै जाँदा तपाईं आफै महसुस गर्नुहुन्छ कि पितृसत्तात्मक समाजको सोच र महिलाप्रतिको अविश्वास, असभ्य व्यवहार कसरी झल्किरहेको छ।
जब कम्प्युटर नै आविष्कार भएको थिएन, त्योभन्दा अगाडि नै जटिलभन्दा जटिल गणितीय हिसाब र विभिन्न कामहरू गर्न सक्ने कम्प्युटर प्रोग्राम आविष्कार गरेकी एडालबलेस महिला भएकै कारण प्रतिक्रियामा उनलाई हाँसोको पात्र बनाइयो। उनको क्षमतालाई हवस ओच्छ्यान, घरायसी काम, झगडा र महिलालाई नै बुझ्न नसकिने कुराहरूबाट हाँसोको पात्र बनाइएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘डिजिटलः गरिमा, अखण्डता, लैङ्गिक समानता, सबै जीवनका लागि अन्तरदृष्टि पहुँच लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ रहेको छ। हेर्नुस् त, अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त महिलाको अवस्था यस्तो रहेको छ भने अब लागौँ हाम्रो नेपालको अवस्थातिर।
हामी हरेक वर्ष फरक-फरक नारा लिएर अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौँ। हरेक वर्ष नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाहरूले यही दिवसलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू पनि गर्दछन्। हरेक वर्ष मनाइने कार्यक्रमको नारा परिवर्तन हुन्छ। नारा सँगसँगै कार्यक्रमको नाम परिवर्तन हुन्छ।
तर, त्यो कार्यक्रममा सहभागी हुने सहभागीहरू वर्षौंवर्ष उनै हुन्छन्। अझ भनौँ, कार्यक्रम आयोजक र सहभागीको सोच र व्यवहारमा खासै परिवर्तन भएको देखिँदैन। अनि प्रश्न यहाँनिर आउँछ, हरेक वर्ष परिवर्तन हुने नारा, खर्च गरिने बजेट, समयको लगानी, यी सबैका रंगले व्यवहारिक परिवर्तन कहाँनिर छ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सन् २०२० मा प्रकाशन गरेको निर्देशिका ‘हु इज हु’ अनुसार नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा १६.४ प्रतिशत महिला संलग्न छन्। पुरुषको संख्या ८३.६ प्रतिशत छ। लैंगिक समानताको नारा बोकेको नेपाल सरकारले ३३ प्रतिशत महिलालाई पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा संलग्न गराउन सकेको देखिँदैन्।
नेपाल सरकार आफैसँग एकीकृत समता रणनीति २०७१, लैंगिक समानता तथा सामाजिक समावेशीकरण निर्देशिका २०७०, राष्ट्रिय लैंगिक समानता नीति २०७७ रहेको छ। नीति, निर्देशिका र रणनीति हुँदाहुँदै पनि महिलाको अर्थपूर्ण सहभागीतालाई सुनिश्चित गर्न किन यति सकस भइरहेको छ?
महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबै जिल्ला, स्थानीय तह एवं वडाहरूमा लैंगिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँच विस्तार भन्ने राष्ट्रिय नारामा रचनात्मक र सृजनात्मक कार्यक्रमहरू आयोजना गर्न आह्वान गरेको छ। उक्त आह्वानलाई आधार मान्दै कार्यक्रमहरू पनि हुँदैछन्। तर जिज्ञासा, हाम्रो नेपालको वर्तमान परिस्थितीलाई केलाउँदा केही प्रतिशत महिलाहरू मात्रै प्रविधिको पहुँचमा छन्।
तराई क्षेत्रका अधिकांश महिलाहरूलाई सारीको घुंघटले ढाँकेको छ। पहाड र हिमालका अधिकांश महिलालाई ती नै ठूल्ठूला पहाड र हिमालहरूले छेकिरहेको छ। हम्मेहम्मे गर्दै बामे सर्दै थोरै मात्रै प्रविधिमा पहुँच भएका महिलाहरूलाई पितृसत्तात्मक सोचरुपी हथौडाबाट पटक-पटक बजारिएको छ।
त्यही प्रविधिको दुरुपयोग गर्दै महिलाहरूमाथि दुर्व्यवहार, घृणा, तिरस्कार र अविश्वासको पात्र बनाइएको छ। स्वतन्त्र रुपले सामाजिक संजालको प्रयोग गर्न पाउने सबैलाई अधिकार हुन्छ। तर महिला भएकै कारण स्वतन्त्रपूर्वक सामाजिक संजाल मात्रै होइन, प्रविधिलाई उपयोग गर्नमा कठिन छ।
जुन महिलाहरू प्रविधिकै पहुँचमा छैनन्, सामान्यतया साइनबोर्डमा लेखिएको अक्षरहरू पनि पढ्न मुस्किल छ। घरभित्र मात्रै सीमित छन्। जुन महिला आफू बसेको वडा, नगरपालिका/गाउँपालिकाबाट बाहिर निस्केकै छैनन्। श्रीमानको कमाइमा आश्रीत छन्। आफूले गरिरहेको पेसा व्यवसायमा पनि पहुँच आफ्नो हातमा छैन। बिना पारिश्रमिक एकनासले काम गर्ने मेसिनसरह जीवन बिताइरहेका छन् र हरेक रात हिंस्रक व्यवहारबाट पीडित भएका छन्। ती महिलाको अवस्था कति दर्दनाक होला?
नेपाल प्रहरीकै तथ्यांकलाई आधार मान्दा साइबर अपराधबाट पीडित बन्ने महिलाको संख्या धेरै छ। प्रहरीमा दर्ता उजुरीका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी भएका अपराधमा महिला र युवतीको चरित्रहत्या बढी हुने गरेको छ। प्रहरीका अनुसार सामाजिक संजालमा अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै महिलामाथि यौन शोषणसमेत हुने गरेको छ। अब सोचौँ त के हाम्रा दाजुभाइहरू असाध्यै प्रविधिमैत्री हुनुभएको हो त?
फागुन १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले साइबर सुरक्षा कानुन र नीति निर्माणको लागि प्रतिवेदन तयार गर्न उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको छ। साइबर सुरक्षाको सवालमा गरिने कानुन र नीति लैंगिकमैत्री बनाउन सरकारको ध्यान जानुपर्छ।
यसैगरी जति पनि घरायसी खाना पकाउने परिकार जस्तै खाने तेल, चामल, पकाउने भाँडाहरूको प्रचार आउँछ, त्यसमा महिला पात्रलाई मात्र देखाइन्छ। पौरखी शक्तिवान निर्णय लिन सक्ने सिमेन्ट, सरिया, घर निर्माणजस्ता प्रचारमा पुरुष पात्रलाई देखाइन्छ। ल अब सोचौँ त, प्रविधिमा महिलाको पहुँच विस्तार गर्न हामी कति सृजनशील भएछौँ? पुरुषको सकारात्मक पुरुषत्व देखाउन कति तत्पर रहेछौँ?
कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/०७६ मा डिजिटल प्रदेश बनाउने भन्दै नीति तथा कार्यक्रम अघि सार्यो। उक्त नीति तथा कार्यक्रमको लाभ महिलाले कसरी लिन पाउँछन् भनी लैंगिकमैत्री तरिकाले सोचियो कि सोचिएन? महिलाको अर्थपूर्ण सहभागीता र प्रतिनिधित्व भयो कि भएन? यसको विश्लेषण कसले गरिदिने?
यहाँ मनाउँदै गरिएको अन्तर्राष्ट्रिय महिला दिवस महिलाका विख्यान भोगिरहेका ताजा र जटिल समस्यालाई केलाइरहँदा ट्रान्स महिला जुन यौनिक तथा लैंगिक अल्पसंख्यकबाट रहेका छन्, उनीहरूको कथा, वेदना विरक्त लाग्दो छ। आफ्नै लैंगिक पहिचानका लागि कसरत गर्नुपरको छ। लड्नु परेको छ।
अब सोचौँ हामीले बनाएका नीति रणनीति, कार्यक्रमहरूले यस्ता समस्याहरूलाई सम्बोधन गर्ने कि नगर्ने? सम्बोधन गरिएको छ या छैन भनेर कसले केलाउने? यहाँ केलाउने फुर्सद पनि कसैलाई छैन।
यो भनिरहँदा केही राम्रा अभ्यासहरू पनि हामी माझ छ। विद्या चापागाई जसले भर्खरै मात्र हेर्ने कथाबाट १०१ औँ यात्रा पूरा गरेकी छन्। सृजना सिज्जु जसले कर्णालीसहित नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै हिँडेकी छन्। उनीहरूलाई गर्ने सम्मान र प्रोत्साहन सकारात्मक देखिन्छ।
लैंगिकताको बाँधलाई तोडेर बनाइएका केही प्रचारप्रसार सामग्रीहरू पनि सकारात्मक देखिन्छन् जसलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्छ। जबसम्म एउटा महिलाले म आफ्नो लागि आफै सक्षम छु भनेर आभास गर्न सक्दिनन् तबसम्म जति नै राष्ट्रिय र अन्तर्राष्ट्रिय नारा लिएर महिला दिवस मनाउँदा पनि अर्थहीन हुनजान्छ।
वर्षको एक दिन महिला दिवसमा मात्र महिलाको सहभागीता, महिलाको आवाजलाई सुनिश्चित गराएको कागजी र तस्वीरका लागि गरिने कार्यक्रमहरू मात्र नभई हरेक दिन महिलाहरूले मार्च ८ तारिखजस्तै महिलाहरूले सम्मान, अवसर, प्रेरणा, हौसला, सृजनात्मक र रचनात्मक सहयोग पाउनुपर्छ।
आर्थिक र सामाजिक रुपमा अर्थपूर्ण सहभागीता सुनिश्चित गरिनुपर्छ। तब मात्र यो वर्ष लिइएको नाराजस्तै लैंगिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँच विस्तारजस्ता नाराहरूले केही हदसम्म वास्तविकतामा परिणत हुनेछ।