पछिल्लो समय नेपाली समाज निकै अस्थिर देखिन्छ।
सामाजिक संजालका भित्तामा देखिएका अधिकांश पोष्ट र सडकका नाराबाजीले समाज कतातर्फ जाँदैछ? भन्ने प्रश्नसमेत उठ्छ।
मानिसहरू कुनै कुराको गहिराइमा पुग्न चाहिरहेका छैनन्, सतही टिप्पणीमै रमाइरहेका छन्। स्वस्थ आलोचना हुनै छाडेको छ। प्रश्नलाई लत्याएर मानिसहरू कुण्ठा पोख्न हतार गरिरहेका देखिन्छन्।
हामीलाई किन यस्तो हतार छ? समाज कथित नायक र बौद्धिकतामा किन आकर्षित छ? यी सबै समस्याको जरोमा पुग्दा प्रष्ट हुन्छ– हाम्रो शिक्षा प्रणाली नै ध्वस्त छ। हामीले समयसापेक्ष ज्ञान विद्यार्थीलाई दिन सकिरहेका छैनौँ। विद्यालयदेखि विश्वविद्यालयका शिक्षा प्रणाली ठिक ठाउँमा छैन।
हाम्रो शिक्षा प्रणाली किन ठिक ठाउँमा छैन त? यसको जवाफ दिन सजिलो भने छैन। हाम्रो राजनीति नै ठिक छैन। हाम्रो ‘सिस्टम’ नै ठिक छैन।
उसो भए सुधार्ने कसले?
सुधार्ने हामीले नै हो। जो जहाँ छौँ, त्यहीँ ठिक काम गरेर वा सुधारको पहल गरेर नै यो अवस्थालाई ठिक गर्ने हो। जस्तो, शिक्षाको वर्तमान अवस्थाबाट माथि उकास्न पनि विद्यार्थीले नै महत्वपूर्ण भूमिका खेल्ने हो। विद्यार्थीको आवाज बोल्ने विद्यार्थीले नै हो। गुणस्तरीय शिक्षाको खाँचो हामीलाई छ, त्यसैले संगठित भएर सम्बन्धित निकायलाई झक्झक्याउने हामीले नै हो। जसको लागि क्याम्पसहरुमा शसक्त विद्यार्थी प्रतिनिधि चाहिन्छ। अहिलेको अवस्थामा विद्यार्थीको प्रतिनिधि भनेकै ‘स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)’ हो।
करिब १४ वर्षदेखि अधिकांश क्याम्पसमा निस्कृय स्ववियु पुनः ब्युँतिने तर्खरमा छ। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु चुनाव गराउने भएकोले विद्यार्थीहरुमा उर्जा आएको छ। विद्यार्थी र विश्वविद्यालयको पुलको रुपमा स्थापित स्ववियु ‘रिभाइभ’ हुने आशले क्याम्पसहरुको माहोल तात्तिएको छ।
तर यही बीचमा यसबारे नयाँ कोणबाट बहस छेडिएको छ। ‘स्ववियु किन चाहियो? अब यसको औचित्य के छ?’ भन्ने खालका प्रश्न आइरहेका छन्। प्रश्न जायज छन्। समाजशास्त्री चैतन्य मिश्रजस्ता प्राध्यापक, चिन्तकलाई ‘विश्वविद्यालयमा दलहरुले सेना खडा गरे’ भनेर बोल्नुपर्ने अवस्थामा हामीले नै पुर्याएका हौं!
त्यसैले स्ववियु चुनावको मुखमा पुग्दै गर्दा हामीले आफूलाई पनि एकपटक समीक्षा गर्न आवश्यक छ। विगतका कमजोरीलाई सच्याएर सार्थक प्रयत्न गर्न आवश्यक छ। मुर्च्छाएको विद्यार्थी आन्दोलनलाई पुनर्जागरण गराउने इमान्दार प्रयास थाल्न जरुरी छ। बुझेकालाई नैतिक ताकत जुटाइ विश्वासमा लिएर र नबुझेकालाई स्ववियुको महत्व बुझाएर अघि बढ्नु नै आजको हाम्रो दायित्व हो।
हामीले उठाउनुपर्ने मुद्दाहरु धेरै छन्। सबैभन्दा प्रमुख मुद्दा शिक्षा क्षेत्रमा हाबी भएको निजीकरण र कमजोर सरकारी विद्यालयको अवस्था सुधारमा केन्द्रित हुन आवश्यक छ। वर्गको आधारमा शिक्षाको गुणस्तर छुट्टिने अवस्था तत्काल अन्त्य नहुने हो भने समाज अर्को विभेदको खाडलमा फस्ने निश्चित देखिन्छ। त्यसैले पैसा हुनेले निजीमा राम्रो शिक्षा लिँदा गरिब सरकारीमा 'कमसल' शिक्षा लिन बाध्य हुनुपर्ने अवस्था अन्त्यको लागि सार्वजनिक शिक्षा सुधारका मुद्दा हामी विद्यार्थी संगठनले बोक्न आवश्यक छ।
चिलीको एउटा उदाहरण हेरौँ।
सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण भइरहेको थियो। सन् २०१०/०११ ताका त्यहाँ ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा पढ्न गर्न बाध्य भए। यसरी शिक्षामा तीव्र निजीकरण हुन थालेपछि चिली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोले आन्दोलनको नेतृत्व गरिन्। चिलीमा शिक्षा महँगो हुँदै गएको विषय जोडतोडले उठ्यो। ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो’ भन्ने नारासाथ सुरु भएको त्यो विद्यार्थी आन्दोलनले विश्वचर्चा बटुल्दै सफलता प्राप्त गर्यो। चिलीको त्यो आन्दोलन हाम्रो लागि प्रेरणा बन्नसक्छ!
बदलिँदो विद्यार्थी आन्दोलनबीच नजिकिएको स्ववियु चुनावमा हामीले ‘चलिआएको हाम्रो प्रवृत्ति’लाई तोडेर नयाँ तरिकाले सोच्न जरुरी छ। विद्यार्थीका समसामयिक मुद्दा बोक्न आवश्यक छ। किनकी अब विद्यार्थीको आन्दोलनको स्वरुप बदलिँदो छ। पहिले व्यवस्था परिवर्तनमा केन्द्रित विद्यार्थी संगठनहरू अब अवस्था परिवर्तनमा जुट्नुपर्छ। त्यो पनि शैक्षिक अवस्था परिवर्तनका आवाज बुलन्द पार्नुपर्छ।
त्रिविको हकमा त स्ववियुको आवश्यकता झन् धेरै छ। नजिकैको काठमाडौं विश्वविद्यालयको 'स्कुल अफ एजुकेसन'ले आफ्नो पाठ्यक्रम परिमार्जन गरेर नयाँ 'भर्सनमा अपडेट' गराइरहनसक्छ। त्यही काठमाडौं विश्वविद्यालय सरकारभन्दा एक कदम अघि बढेर हाइड्रोजनमाथि अनुसन्धान गर्न ‘ग्रीन हाइड्रोजन ल्याब’ सञ्चालनमा ल्याएर राम्रो सुरुवात गर्नसक्छ। स्मरण रहोस्, नवीकरणीय ऊर्जाको स्रोतको रूपमा हाइड्रोजन ऊर्जा सशक्त रूपमा अगाडि देखापरेको छ र विश्वका विकसित देशहरुले यसको अनुसन्धान र उत्पादनमा अर्बौ बजेट खर्चिरहेका छन्।
तर त्रिविलाई भने यस्ता कुरामा कुनै चासो छैन। नियमित बस्नुपर्ने विषय समितिका बैठकसमेत गएको ५ वर्षसम्म नबसेका खबर आइरहन्छन्। त्रिविका थिंकट्यांक मृतप्राय छन्। यो अवस्थामा स्ववियुको आवश्यकता त्रिविमै धेरै देखिन्छ। यी तमाम मुद्दालाई उठाउन पनि स्ववियुको औचित्य छ। तर त्यसको लागि पहिला हामी विद्यार्थी राजनीति गरिरहेकाहरु पनि सुध्रन जरुरी छ।
विद्यार्थी राजनीति सफा भए जस्तोसुकै परिवर्तन पनि यसले गर्नसक्छ भन्ने उदाहरण हाम्रै विगतबाट लिन सक्छौँ। कुनै बेला स्ववियु भन्नासाथ परिवर्तनको संवाहकका रुपमा चिनिन्थ्यो। त्रिभुवन विश्वविद्यालयका विद्यार्थीद्वय डम्मरबीर थापा र भक्तगोविन्द श्रेष्ठलाई तत्कालीन विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गरेपछि आन्दोलित बनेका विद्यार्थीका कारण स्थापित भएको स्ववियुले तानाशाही व्यवस्थालाई समेत परिवर्तन गर्न सशक्त योगदान पुर्याएको इतिहास हामीले पढ्न पाउछौँ।
यही स्ववियुकै स्थापनाको लागि पनि विद्यार्थीले सानो संघर्ष गर्नु परेन! तत्कालीन समयमा विश्वविद्यालयको मनपरीतन्त्र रोक्न विद्यार्थीको युनियन चाहिने माग उठेको थियो। यद्यपि शासकहरु विद्यार्थीको सो मागप्रति सकारात्मक थिएनन्। विद्यार्थीहरुको आन्दोलन भने निरन्तर चर्कियो। विद्यार्थी आन्दोलनको केन्द्र बन्यो त्रिवि। फलस्वरुप औपचारिक रुपमा २०२० सालमा स्ववियुको स्थापना भयो।
स्थापित स्ववियुको पहिलो चुनाव २०२० भदौ २० गते भएको थियो। सो निर्वाचनमा प्रगतिशील पक्षले जित हात पार्यो। यद्यपि, १९९१ सालमा नै राणा शासनविरुद्ध संघर्ष गर्न बनारसमा ‘नेपाली विद्यार्थी संगठन’को स्थापना भयो। २००४ सालमा विज्ञान, गणित, अर्थशास्त्रजस्ता विषयको पठनपाठनको शैक्षिक माग राख्दै राणाविरुद्ध ‘जयतु संस्कृतम्’ को विद्यार्थी आन्दोलन स्मरणीय छ। यसले २०१९ सालअगाडि पनि उपत्यकाका हाइस्कुलमा विद्यार्थी युनियनको अभ्यास हुँदै आएको देखाउँछ।
तर ०२० सालमा स्ववियुको पहिलो चुनावपछि भने विद्यार्थी नेताहरु थप सक्रिय हुनथाले। ०२० साल फागुनमा पहिलोपटक बसेको निर्वाचित स्ववियुको कार्यकारिणीको बैठकले ०२० चैत्र ४ गते सम्पूर्ण कलेजको प्रतिनिधिसहितको बैठक बोलाइहाल्यो। विद्यार्थीले उपत्यका अन्तर कलेज सम्मेलन आयोजक समिति गठन गरेर आफ्नो सक्रियता थप बढाए। पञ्चायती शासक झन उग्र बन्यो।
त्यसपछि त्रिचन्द्र कलेजमा ०२१ साल वैसाख २५ गते देखि २९ गतेसम्म विद्यार्थीहरुले सम्मेलन आयोजना गरे। पञ्चायती शासकले सम्मेलनमा पुगेकालाई गिरफ्तार गर्न थाल्यो, दमनको श्रृखंला बढायो। तर लुकी लुकी भएपनि गिरफ्तार गर्न बाँकी विद्यार्थीले सम्मेलन सफल बनाए। उक्त सम्मेलनले निष्कृय बनाइएको स्ववियु पुनः स्थापनासँगै गाडी भाडा लगायतको छुट दिनुपर्ने मागसहित ५ प्रस्ताव पारित गरे। तर तत्कालीन शासकले विद्यार्थीको कोठाकोठा छापा मार्न छोडेन। अन्ततः सो प्रस्ताव नै जफत गरेर राज्य पक्षले मुडभेडको स्थिति निम्त्याएको त्यसबेलाका नेताबाट सुन्न सकिन्छ।
विद्यार्थीहरुले आन्दोलन थप चर्काए। हामीले वर्षेनी स्मरण गर्ने जेठ १ गते उनीहरुले विशाल मौन जुलुस निकाले। त्यसबेला पनि राज्यपक्षले निर्मम दमन गरेको यथार्थ अझै पढ्न पाइन्छ। त्यसपछि विद्यार्थीले १५ दिनसम्म विश्वविद्यालय नै ठप्प बनाए। र आफ्ना साथीहरुलाई रिहाइ गराएर सरकारलाई घुडा टेकाए।
तर ०२८/०२९ सालमा आएर विद्यार्थी आन्दोलन फेरि समस्यामा पर्यो। ०२८ सालमा पञ्चायत सरकारले शिक्षा नीति जारी गर्दैगर्दा ‘स्ववियु र जनासंगठनहरुमाथि प्रतिवन्ध ऐन २०२९’ पनि जारी गर्यो। राज्यले प्रतिबन्ध लगाएपछि विद्यार्थीहरु आन्दोलित बने। २०३६ सालमा आएर मात्र सो प्रतिबन्ध फुकुवा भयो। यसरी पटक पटक राज्यको तारो बन्दै, लड्दै अघि बढेको विद्यार्थी संगठनहरुले ०४६ सालको आन्दोलनदेखि ०६२/०६३ सालको जनआन्दोलन सफल बनाए। फलस्वरुप अहिले हामीले कम्तिमा स्वतन्त्रताको 'स्वाद' चाख्न पाएका छौँ।
अब यही स्वतन्त्रताको जगमा टेकेर हामीले विद्यार्थीका समसामयिक मुद्दालाई उठाउन जरुरी छ। यस लेखको माथि नै चर्चा गरिएको सार्वजनिक शिक्षाको विषयदेखि अन्य शैक्षिक गुणस्तरको सवालमा घनिभूत छलफल आवश्यक छ। संविधान जारी भएको यत्रो समयसम्म पनि एउटा संघीय शिक्षा ऐन जारी गर्न नसक्ने निरीह सरकारसँग आँखा जुधाएर यसको कारण माग गर्न आवश्यक छ। संविधानमा उल्लेखित निःशुल्क विद्यालय शिक्षा कार्यान्वयनमा किन छैन भनेर सोध्न जरुरी छ।
प्राध्यापकहरू राजनीतिक पार्टीको आडमा छिद्रबाट किन नियुक्त गरिन्छन्? परीक्षामा अघिल्लो वर्षका प्रश्नपत्र हुबहु किन दोहोरिन्छन्? निजी कलेजका प्रश्नपत्रको फोटोकपी विश्वविद्यालयको परीक्षामा किन सोधिन्छन्? यस्ता प्रश्न अब जोडतोडले उठाउन ढिला भइसकेको छ।
खासमा भन्दा विश्वविद्यालयको शिक्षामा जीवन खोज्ने समय आएको छ। र त्यसको लागि विश्वविद्यालय–क्याम्पसको नीति निर्माणसँगै कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न परिकल्पना गरिएको संरचना स्वतन्त्र विद्यार्थी युनियनलाई ‘रिभाइभ’ गर्नुपर्छ। केबल दलका स्वार्थ बोकेर क्याम्पसभित्र पौँठेजोरी खेल्ने र स्ववियुका मञ्चहरू निष्प्रभावी बनाउने तत्वहरुलाई परास्त गर्नुपर्छ। जसको लागि आउँदो स्ववियु निर्वाचन हरेक विद्यार्थीको लागि महत्वपूर्ण मौका हो।
(लेखक नेविसंघ पद्मकन्या क्याम्पसकी इकाइ अध्यक्ष हुन्।)