कुरो ०४६ साल असोज महिना तिरको हुनुपर्छ। वर्षायाम सकिएसँगै खेतबारीहरू ओभाउन थालेका थिए। घर छेउमा थोरै खाली रहेको बारीमा केही सागसब्जी लगाउन पाए तरकारी खान उति खाँचो हुँदैन भन्ने लागेर आमाले मलाई गोरु नारेर त्यो बारी जोत्न अह्राउनु भयो।
आमाले बारी जोत्न अह्राउनु भएसँगै मैले त्यसका लागि आवश्यक व्यवस्था मिलाएर गोरु नारेँ। बर्खाको खेती सकिएसँगै गोरुहरूले जोत्ने काम नगरेको एक/डेढ महिना नै भैसकेको थियो। लामै अन्तरालपछि नारिएर फेरि जोतिनु पर्दा गोरु उति खुसी थिएनन्। तर पनि जसोतसो हप्काउँदै फकाउँदै विस्तारै गरेर पहिलो चास जोतेँ।
आमाले फेरि अर्को चास पनि जोतेर पटाहा लगाएर छोडिदे भन्नुभयो। म अर्को चास जोत्दै थिएँ, लगभग सकिनै लागेको थियो हलोबाट फाली फुक्लियो। यसो हेरेँ, करुवा खियाले खाएर भाँचिएको रहेछ। अब करुवा नै भाँचिएर बाहिर निस्किएको फालीलाई फेरि हलोमा जोड्ने काम मेरा लागि लगभग असम्भव नै थियो।
खैर, त्यसरी फाली खुस्किएपछि मैले आमालाई सुनाएँ- ‘आमा, करुवा खियाले खाएको रहेछ भाँचिएर फाली नै फुक्लियो, के गरौँ?’
मेरो कुरा सुनेर आमाले ‘फाली फुस्कियो! अनि त्यत्रो स्कुल पढ्ने मान्छे, त्यति जाबो फुक्लिएको फाली बनाउन जान्दैनस्?’ भनेर अनौठो आश्चर्य प्रकट गर्नुभयो।
आमाको कुराले म एकछिन हाँसेँ। मेरो हाँसोले सायद मेरी निरक्षर आमाको त्यो जिज्ञासाको अज्ञानतावश उपहास गर्न खोजेको थियो होला। धन्न, स्कुल पढाइ लेखाइको अनुभव नभएकी मेरी आमालाई स्कुलमा मलाई हलोमा फाली कस्न सिकाउँदैनन् आमा भनेर बुझाउन तिर भने म लागिनछु।
बरु आमाको त्यो भनाइले सायद मभित्र थोरै हौसला पलाएछ क्यार, मैले त्यो खुस्किएको फालीलाई जसरी पनि ठिक पार्न सक्नुपर्छ भन्ने ठानेँ। अनि सम्झिएँ त्यो पुरानो बाल्टी जुन इनारबाट पानी झिक्नका लागि प्रयोग हुने गर्थ्यो। चुहिने भएपछि आमाले त्यसमा पुराना काँटी कब्जालगायत सामाग्रीहरू हालेर राख्ने गर्नु भएको थियो।
त्यसमा फाली कस्न प्रयोग हुने पुराना करुवाहरू पनि हुनसक्ने भएकोले गएर हेरेँ। नभन्दै त्यसमा एउटा पुरानो करुवा पनि भेट्टियो। त्यसलाई ठोकेर जसोतसो हलोमा फाली सेट गरेँ। र, दोश्रो चास लगाउन बाँकी रहेको बारी जोतिसकेँ। अनि आमाले भन्नु भएअनुसार बारीमा पटाहा पनि लगाएर छोडिदिएँ।
हलो जोत्न जान्नु सँगसँगै बिग्रिएको हलोको सामान्य मर्मत पनि गर्न जान्नु त्यो समयमा जीवन निर्वाह गर्नका लागि सबैले जान्नु पर्ने एउटा आधारभूत सिप रहेछ। त्यसमा पनि मजस्तो एउटा किसानको छोराका लागि त त्यस्तो ज्ञान हुनु अझ धेरै आवश्यक रहेछ।
अहिले सम्झँदैछु, यदि व्यवसायिक शिक्षाअन्तर्गत हामीलाई ८-९ कक्षातिरै त्यतिबेला आमरुपमा खेत जोत्न प्रयोग हुने हलोका बारेमा पढाएको सिकाएको भए सायद मलाई त्यो हलोबाट फुक्लिएको फाली कस्न उति धेरै माथापच्ची गर्नुपर्ने थिएन होला।
खैर, यो त एउटा उदाहरण मात्र हो। हिजोआज त गाउँघर तिर पनि हलोको बदलामा खेत जोत्नका लागि ट्र्याक्टर नै प्रयोग हुनेगरेको छ। ट्र्याक्टरको प्रयोगका कारण परम्परागत तरिकाले हलो जोत्ने कार्य लगभग लोप नै हुँदै गरेको अवस्थामा यो घटना उति सान्दर्भिक पनि नहोला। तर यतिका वर्ष स्कुल पढेर जाबो फुक्लिएको फाली बनाउन जन्दैनस् भन्ने मेरी आमाको त्यो आश्चर्य मिश्रित प्रतिकृयाले भने आज तीन दशकपछि पनि हाम्रो शिक्षा प्रणालीलाई गिज्याइराखेको जस्तो लाग्छ।
हिजो यो बुर्जुवा शिक्षाको कुनै अर्थ छैन भनेर शैक्षिक संस्थानहरू बन्द गर्दै हिँड्ने, बहिष्कार गर्न लगाउने क्रान्तिकारीहरूले पनि विभिन्न चरणमा आलोपालो गर्दै राज्य संचालनको बागडोर सम्हालन थालेको थुप्रै भैसक्यो। तर देशको शैक्षिक गुणस्तर भने आज पनि उस्ताको उस्तै नै छ।
हाम्रा लाखौं भाइ बहिनीहरू कलेजको डिग्री बोकेर जीवन निर्वाहा कै निम्त खाडी देशहरूमा कडा परिश्रम गर्न बाध्य छन्। यसको अर्थ पढेलेखेका मानिसले कडा परिश्रम गर्नु हुँदैनै भन्ने होइन, तर त्यो जीवन निर्वाहाका लागि कसैको बाध्यता भने पक्का पनि बन्नु हुँदैन।
आजको यो अवस्थामा अझै पनि अहिलेकै शिक्षा नीतिलाई निरन्तरता दिँदै जाने हो भने हामीले देखेको समृद्ध नेपालको सपना, केवल सपनामै सीमित रहने पक्का छ।
त्यसैले अबको शिक्षा नीति उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने खालको बन्नुपर्छ। डाक्टर, इन्जिनियर धेरै बनाउन नसके पनि कमसेकम ड्राफ्ट्सम्यान, सब–ओभरसीर, वेल्डर, फेब्रिकेटर, फिटर, प्लम्बर, इलेक्ट्रिशियन, स्टिलफिक्सर, कार्पेन्टर, मेसनदेखि नर्स, हेयरड्रेसर, ब्युटिसियन आदि त अवश्य पनि बनाउन सक्छौँ।
यदि शिक्षालाई सिप र सिपलाई श्रमसँग जोड्न सकेको खण्डमा आउँदो पुस्ताले पक्कै पनि जीविकोपार्जनका लागि हामीले जस्तो वर्षों वर्ष प्रवासमा भौतारिनु पर्ने छैन।
कलेजको डिग्री गोजीमा राखेर विदेशका कमर्शियल कम्प्लेक्सहरू सफा गर्नेदेखि ४०–५० डिग्रीको तातो घाममा बेल्चा ज्याकहैमर चलाउनुको बदलामा आफ्नै मातृभूमिमा बँदेल, बंगुर, गाई, बाख्रा, माछा, कुखुरा, खरायो, मौरी आदि पालेर बस्ने थिए। आधुनिक कृषि प्रविधि तथा मेसिनरीहरूको प्रयोग गरेर प्रशस्त मात्रामा अन्नपात उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने थिए।
समग्रमामा देशको शैक्षिक पाठ्यक्रम यसरी विकास हुन सकोस् ताकी एउटा माध्यामिक तहसम्मको शिक्षा पूरा गरेको विद्यार्थीले भोलि के गरी खाने होला भनेर चिन्ता गर्नु नपरोस्। अबका विद्यार्थीले हलो बनाउन जान्नु परेन तर आज प्रयोग हुने विभिन्न कृषि औजार, उपज तथा मल, बीउ, औषधि जस्ता कुराहरूको आधारभूत ज्ञान उनीहरूमा हुन सकोस्।
एउटा ८–१० कक्षामा पढ्ने विद्यार्थीले आफ्नो घरको बिग्रेको धारादेखि बिजुलीको फ्युज फेर्न सकोस्। पशु आहार र उपचारका बारेमा आधारभूत ज्ञान राखोस्। जल, जमिन र जङ्गलको महत्व बुझोस्।
जलविद्युत् र जंगल हाम्रो देशका सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत हुन्। पानी, बिजुली र जडीबुटी बेचेर नै हाम्रो देश समृद्ध बन्नसक्छ। यसका लागि पहिला त हामीले यी क्षेत्रहरूमा काम गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्यो। जसका लागि हाम्रो अहिलेको शैक्षिक पद्धति र पाठ्यक्रममा आमूल परिवर्तनको खाँचो छ।
यसका लागि हामी आम नागरिकहरूले पनि राजनीतिक आस्थाभन्दा माथि उठेर देशको समृद्धि तथा आम नागरिकहरूका जनजीविकासँग प्रत्यक्ष रुपमा जोडिएका यस्ता विषयहरूका बारेमा लगातार लेख्ने, बोल्ने गर्ने हो भने सरकार तथा सम्बन्धित निकाय आफ्नो ध्यान केन्द्रित गर्न पक्का पनि बाध्य बन्ने थियो होला।