भाग्य निधारमा हैन, जीवनमा लेखिन्छ। जीवनमा कर्मको कलमले भाग्य लेख्न म धेरैतिर भौतारिएँ। काठमाडौँको विशाल कोलाहलको बीचमा भविष्यका बाटाहरू खोज्दै गर्दा म शिक्षक बन्न पुगेँ।
‘शिक्षक’ अर्थात् ‘शि’ ले शिखरमा पुर्याउने मान्छे, ‘क्ष’ ले क्षमा गर्ने व्यक्ति र ‘क’ ले कमजोरी दूर गर्ने व्यक्ति।
देशमा इमान्दार, चरित्रवान्, कुशल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने योग्य नागरिक तयार गरी समयानुकूल शिक्षा प्रदान गर्ने चेतनाको बाहक शिक्षकहरू हुन्। मुलुकमा हुने हरेक सामाजिक, शैक्षिक, राजनीतिक तथा सर्वपक्षीय परिवर्तनका उत्प्रेरक शिक्षकहरू नै हुन्।
अन्धकार, अन्याय र अन्धविश्वासको कहालीलाग्दो दलदलमा फसेको नेपाली समाजको कुनाकन्दरामा चेतनाको बीउ रोपेर न्याय, स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका लागि लडेका शिक्षकहरू जस्तै समाजलाई शिक्षा क्षेत्रका माध्यमबाट रुपान्तरण गर्न शिक्षण पेसा नै मेरो जीवन हो भनी लाग्ने तमाम शिक्षक मध्येको एक शिक्षक हुँ म पनि।
तर, समाजले मेरो परिभाषा परिवर्तन गरिदिएको छ। मेरो परिचय फेरिदिएको छ। म आजकाल सबैले बुझ्ने भाषामा भन्दा ‘मास्टर’ भएको छु। मास्टरको कुरामा मास्टरको चासो हुनु स्वभाविक नै हो।
मास्टरका कुराहरू खोजीखोजी साथीभाइ तथा आफन्तले सामाजिक सञ्जालमा मलाई ट्याग गर्नुहुन्छ। मेसेन्जरमा पठाउनुहुन्छ। जसको सार ‘तिमी मास्टर हो क्यार, तिमीले नजाने कसले जान्दछ’ भन्ने नै हुन्छ।
कसैकसैले मोबाइलको सिस्टम बिग्रेर सोध्नुहुन्छ, कसैले क्यामेरा चलाउने तरिका सोध्नुहुन्छ, कसैले बाइक स्टार्ट नभएपछि किन भएन लगायतका यस्तै अनेकौं प्रश्नहरू सोध्नुहुन्छ। अनेकौं प्रश्नहरूको समाधान जानिएन भने मेरै कुराको उछितो काटिन्छ।
भनिन्छ, ‘जाबो एउटा मोबाइलको सिस्टम बनाउन नजान्ने मास्टर रे!’
प्रश्नहरू यसरी वर्षिन्छन् कि मानौं म हाजिरी जवाफ प्रतियोगिताको र्यापिड फायर राउन्ड खेल्दैछु। प्रश्न पनि कस्ता–कस्ता हुन्! के पढाउँछस्, यति पनि बनाउन नजान्नेले? हैन, कसरी मास्टर भइस् तँ? तँलाई मास्टर कसले बनायो?
दुई–चार दिन अघिको कुरा हो, म साथीहरूसँग बिदाको दिन बौद्ध जाँदै थिएँ। एउटा कक्षा ७ मा पढ्ने विद्यार्थी भेटियो। सधैँजसो दिउँसोको समयमा भेट्ने त्यो विद्यार्थीले मलाई भेट्दा झुक्किएर ‘गुड आफ्टरनून सर’ मात्र के भनेको थियो, साथीहरूले हेपिहाले र भने, ‘तैँले त पढाएको, तेरो विद्यार्थीले के जान्दथ्यो?’
अरु के भनौं, यी र यस्तै शब्दले यसरी प्रहार गरे कि ती शब्दहरू सम्झँदा अझै पनि सोला रोपे जस्तो हुन्छ।
पुसको मध्य जाडोमा त्रैमासिक परीक्षा सकिएपछि दुई दिनको छुट्टी मनाउन घर पुगेँ। बाइक रोकिन नपाइ पल्ला घरका दाइले परैबाट सुरु गरिहाल्नु भयो-
‘मास्टर भाइ आएछ। मास्टरलाई मज्जा छ। अब जाडो महिना पूरै बिदा होला होइन? घरमै बसीबसी तलब आउँछ। हामीलाई भने जहिले पनि दुःखको दुःख। त्यत्तिकै बसीबसी आएको तलब त एक्लै खानुहुँदैन है। पार्टी गर्नुपर्छ। हामीलाई त यो दुःखले कहिल्यै नछोड्ने भयो। बेलैमा मास्टर हुनुपर्ने रहेछ। मास्टर हुन पनि सकिएन।’
अरु के–के फलाक्दै हुनुहुन्थ्यो। म सुनिरहेँ। मनभरि जवाफ थियो तर अरुलाई त जवाफ फर्काइनँ, छिमेकी दाइलाई के जवाफ फर्काउनु भनेर चुपचाप रहेँ।
विदेशिएका मेरा साथीहरू भन्छन्- ‘तँलाई त मोज छ। स्कुल पढाएर टन्न कमाएको छस्। बा–आमासँग नेपालमा नै खुसीका साथ बसेको छस्। बाहिरबाट हेरेरै कति मज्जाले खुसी छ।’
म भित्रका कहानी अरुलाई के थाहा? आमालाई फरिया फेर्दिन नसकेको, मुटु काप्ने जाडो हुँदा बुबालाइ न्यानो कपडा किनेर दिन नसकेको पीडाले म पिल्सेको कुरा किन देख्दैनन्?
उमेरले २८ पुग्नै लागिसकेँ। आफूसँगैका साथीका छोराछोरीहरू मसँगै जिस्किन थालिसके। आफू भने स्वयम्बरमा दिनुपर्ने सिक्री र औँठी किन्न नसकेको भनेर भोलि यही समाजले मलाई धिक्कार्ला भन्दै विवाहलाई ४–५ वर्ष थाती राखेर परदेशिन खोज्दै छु।
आफूले जे देख्यो त्यही ठिक, आफूले जे सोच्यो त्यही जायज, आफ्नो चस्माले जे हेर्यो त्यही सत्य देख्ने समाजलाई म कसरी भनौँ कि म मनमनै विरक्तिएर जिन्दगीलाई जबरजस्ती घिसारी मात्र रहेको छु भनेर।
सास रहुन्जेल मान्छेले जीविका चलाउनै पर्नेरहेछ। जीविका चलाउने बहानामा श्वास मात्र फेर्ने गरेको छु। महिना नबित्दै तलब बिना कुनै घटना आफ्नो स्वाभाविक चालले बेपत्ता भइदिन्छ। त्यसैले म आजकाल किन्नुभन्दा पनि बढी मोलमाल गरेर आनन्द लिन्छु किनकी किन्ने त मेरो कल्पनामा मात्र हुन्छ। हैसियतले किन्न सक्दिनँ।
म आँसु मात्र झार्न बाँकी राखेर महङ्गीको चित्कार गर्न बाहेक केही गर्न सक्दिनँ, तर दुनियाँले मलाई मस्तीमा देख्छ। बसीबसी तलब आएको देख्छ।
देश र समाजका लागि शिक्षाको क्षेत्रबाट सुधार गर्न पाएको सम्झिँदा खुसी र त्यसप्रति गर्व महसुस हुन्छ। सयौँ विद्यार्थीमा थोरै भए पनि ज्ञानको बिज रोप्न पाएकोमा खुसी लाग्छ। खुसी र उत्साहले यो पेसामा आठ वर्ष बिताएँ तर मेरो यो आठ वर्षमा बाँच्न बाहेक अरु केही प्रगति छैन।
सेवा प्रवेश गर्दा मेरो मानसपटलमा जुन आशा र उत्साह थियो, अहिलेको दिनमा मसँग खास धेरै छैन। बरु त्यसको बदलामा निराशा र उपेक्षाबोध अनि ग्लानीका शिखरहरू चढ्दै छन्।
'तैँले पनि केही गर्न सकिनस् है? अझै पनि प्राइभेट स्कुलमा पढाउँदैछस्' भनेर अपमानित हुनुपर्दा मलाई खपिनसक्नु हुन्छ। मेरो आँसु थामिँदैन। यी शब्दहरू सुन्दा शिक्षण पेसा गरेर सुखपूर्वक जीवन बिताउने आफ्नो आशा तथा अपेक्षा दुवै अन्धकारका गहिराइभित्र डुब्दै गरेको आभास हुन्छ।
जीवनलाई रमाइलो बनाउने वा सार्थक तुल्याउने कुरा भनेको कर्म हो। सकारात्मक र सार्थक कर्म। यस्ता कर्मले खुसी दिलाउँछ र खुसीले जीवनलाई उज्यालो बनाउँछ भन्ने बुझेको थिएँ तर समाजले यसरी केही गर्न नसकेर मास्टर भएको होस् भनी ट्याग भिराइरहँदा र मेरो सफलता केवल मैले कमाएको पैसालाई मात्र मापन गराइरहँदा शिक्षण पेसा सम्मानित, मर्यादित र विवेकी हो भन्ने स्वीकारोक्ति मैले गर्न सकिनँ।
करिब आठ वर्ष शिक्षण पेसामा लागेर राष्ट्रसेवा गर्नु मेरो गल्ती थियो र? किन लागेछु यो पेसामा? किन विदेश गइनँ जतिबेला आफ्ना दौँतरीहरू एकपछि अर्को गर्दै विदेश उडिरहेको थिए? यी र यस्तै तमाम प्रश्नले मलाई पीडाबोध गराइरहेको छ आजकल।
जब आकाश चिर्दै देश छोड्न उडिरहेका जहाजहरू देख्छु अनि सोच्छु यो मध्ये कुनै एउटा जहाजमा मात्र उड्न सके पनि त ‘तँ अझै पनि त्यही भुरा पढाएर बसेको छस्? तैँले पनि केही गर्न सकिनस् है’ भनेर उडाउनेहरूसँग तुरुन्त भेट हुँदैन थियो र आफूलाई केही गर्न नसकेकोमा लज्जाबोध हुँदैनथ्यो भनेर।
हिमालको सेतो फेटा, पहाडको हरिया भोटा र तराईको पहेँला कछाड फेरेर बसेको मेरो देश मेरो जन्मभूमिप्रति गर्व लाग्छ। अगाध श्रद्धा र गर्व लाग्दा कताकता दुख्छ पनि। यसरी कतिन्जेल हेपिएर मनमनै विरक्तिएर बसिरहुँ भनेर।
हामी यस पृथ्वीका मान्छे आखिर जहाँ भए पनि यही पृथ्वीलाई बनाउन सके त भैहाल्यो नि। त्यसैले मैले पनि केही समय प्रवासमा गएर पृथ्वी बनाउने निर्णय गर्दैछु। सरकार, शिक्षकहरू प्रफुल्ल मुद्रामा हँसिलो अनुहारले ढुक्कसँग पेसालाई अँगाल्ने वातावरण किन बनाइँदैन? शिक्षकलाई आत्मसम्मानका लागि राज्यले नीति नियम परिवर्तन गर्नुपर्ने होइन र?
कसलाई सोधुँ यी प्रश्न? देशमा सरकार आफै बिरामी छ। आफ्नै आन्तरिक कलहले अझै निकास पाउन सकिरहेको छैन। भौतिक शरीर कक्षाकोठामा अनि मन समाजले गराउने लज्जाबोध व्यवहारप्रति गइरहँदा अबका दिनमा को बन्ला शिक्षक? अब त सोच्नु पर्ने होइन र?
तर म शिक्षक हुँ। शिक्षणको पेसागत शानमा समर्पित शिक्षक मान र अपमान स्वाभिमानका साथ सहन्छु। आशाका किरण देखाउँदै भविष्य मार्गदर्शन गर्दछु। एउटा बालकको भविष्य फेर्नुले विश्व फेरेको संकेत गर्छ। समाजका अनेकौं व्याख्यालाई ध्यान नदिई ज्ञान प्रवर्द्धन गर्ने मेरो सुकर्म आत्मसन्तुष्टिको सर्वोत्तम मार्ग हो।
अभावको गहिरो प्रभाव भए पनि नमिठो खाएर मिठो सपना देखाउने शिक्षक हुँ म। शिक्षण पेसाका हरेक गर्वहरू मेरा पर्व हुन्। शिक्षक हारे, संसार हार्छ। शिक्षक हारे समयको गति हार्छ। समाजको प्रगति हार्छ। मेरो पेसालाई सम्मान गर्दै म शिक्षकलाई सदैव सम्मान गर्दछु।