दिनभरिको काठमाडौंको धुवाँधुलो छिचोल्दै अफिसको काम सकेर बासस्थानतिर हतार-हतार फर्कँदै थिएँ। जाँदाजाँदै घरको लागि सागसब्जी पनि किन्नुपर्यो भनेर तरकारी बजार तिर लागेँ।
म सधैँ तरकारी लिने ठाउँमा पसले दाइ एकजना अधबैँसे महिलासँग ठूलो स्वरमा भन्दै थिए- ‘ए दिदी, अझै दुई रुपैयाँ पुगेन दिनुहोस् न!’
उता ती महिला हातमा तरकारीको झोला बोक्दै हतार-हतार अघि बढ्दै भन्दै थिइन्- ‘भयो के दाइ, यत्ति नै भयो मसँग अरु छुट्टा छैन।’
उनीहरूको जुहारी धेरैबेर हेरेपछि मैले पसले दाइलाई भनेँ, ‘हे दाइ छोड्दिनू, के दुई रुपैयाँमा पनि कचकच गरिरहेको, छैन होला नि दिदीसँग।’
मेरो आवाज सुनेर पसले दाइ मतिर फर्कँदै भने, ‘कहाँ त्यस्तो हुनु भाइ, काठमाडौंको घरबेटी हो। तीन-तीन वटा घर छ उहाँको तर जहिले पनि दुई/चार रुपैयाँ कम नै दिएर भाग्नु हुन्छ।’
यो सुनेर मलाई अचम्म त लाग्यो तर पसले दाइलाई भनेँ, ‘छोडदिनुस् दाइ, कसै-कसैको बानी यस्तै हुन्छ।’
पसले दाइले के छोड्थे, उनले विगतका घटनाहरू कोट्याउन थाले, ‘कहिलेकाहीँ त त्यो दिदीले पसलमा राखेको केरा यहीँ फोकेर खानुहुन्छ अनि चाखेको मात्र हो भन्दै पैसा नै नदिई जानुहुन्छ। मेरोमा नआए पनि हुन्थ्यो भनेको आइहाल्छिन्।’
अरु पनि के-के भन्दै फतफताउदैँ थिए। मलाई हतार थियो अरु कुरा नसुनी छिटोछिटो तरकारी किनेर त्यहाँबाट हिँडेँ।
यसैबीच फर्कँदै गर्दा बाटोमा एकजना सुटबुट लगाएका हेर्दा ठूलै व्यापारीजस्ता देखिने व्यक्तिले आफूसँगै हिँडेको करिब पाँच/छ वर्षको बालकलाई लतार्दै, ‘तँलाई थाहा छ दुई रुपैयाँ कमाउन कति गाह्रो छ’ भन्दै हिँडिरहेको देखेँ।
बालक नमानी-नमानी त्यो मानिसको पछाडि-पछाडि गुब्बरा-गुब्बरा भन्दै रुँदै हिँडेको देखिन्थ्यो। पछि थाहा भो उक्त बालकले एउटा गुब्बरा किन्दिनु भन्दै जिद्दी गरेका रहेछन् अनि बाबाले दुई रुपैयाँको महत्व सम्झाउँदै रहेछन्।
बालकको रुन्चे मुख हेर्दै म अघि बढेँ। मेरो मनले भन्दैथ्यो- किन्देको भए हुन्थ्यो नि आखिर गुब्बरा खेल्ने उमेर यही त हो नि, ठूलो भएपछि त्यसको के महत्व हुन्छ र!
साँझपख कोठामा पुगेर आराम गर्दै यसो फेसबुक खोल्न के आँटेको थिएँ, एक्कासी म्यासेन्जरमा घन्टी बज्यो। मनमनै कसले म्यासेन्जरमा कल गरेको होला भन्दै हेरेको, गाउँका जिम्वाल काकाको पो कल रहेछ। हाम्रो गाउँका धनीमानीहरूको नाम लिनुपर्दा उहाँको नाम अग्रपंक्तिमा आउँछ।
एउटा छोरा अमेरिका, अर्को छोरा अष्ट्रेलिया, अथाह पुर्ख्यौली सम्पत्ति भए पनि फोन गर्दा कि म्यासेन्जर, कि भाइबरबाट मात्र गर्ने जिम्वाल काकाको बानी थियो। गाउँघरतिरको हालखबर र आफ्ना छोराछोरीहरूको बखान मात्र गर्ने काका आजभने एउटा दुःखद् घटना भन्नको लागि कल गरेका रहेछन्।
पल्लाघरे ठूलीआमा आज बिहान काठमाडौंको एउटा हस्पिटलमा उपचारका क्रममा परलोक प्रस्थान गर्नु भएछ। जिम्वाल काकाले मलाई बिहानैदेखि कल त गरेका रहेछन् तर म्यासेन्जर र भाइबरमा।
यस्तो घटना भन्न पनि म्यासेन्जर र भाइबर कुरेको देखेर म अलि रिसाउँदै भनेँ, ‘बिहानै फोन गर्नु पर्थ्यो नि काका, म पनि त्यहाँ सहभागी हुन्थेँ। जाबो दुई रुपैयाँ त लाग्थ्यो होला नि।’
काका भन्दै थिए, ‘मेरो मोबाइलमा ब्यालेन्स थिएन।’
कता-कता मनमा कुरा आयो- हैन! त्यत्रो सम्पत्ति भएका जिम्वाल काकाले मरेपछि के लाने भनेका होलान्?
मलाई खिन्न लाग्यो काठमाडौंमै भएर पनि गाउँलेको दुःखमा सहभागी हुन पाइएन।
दिनभर भएका घटनाहरूले विरक्त भएर खाना पनि नबनाई बसिरहेको थिएँ। यत्तिकैमा कसैले ढोका ढक-ढक गरेको आवाज सुनेँ। ढोका खोल्ने वित्तिकै मलाई यो महिना पूरा भएको रहेछ भनेर थाहा भयो। ढोका ढकढक्याउने अरु कोही नभएर हाम्रै घरबेटी बुवा हुनुहुन्थ्यो।
महिना मर्ने बित्तिकै उहाँलाई कोठाभाडा चाहिन्थ्यो। एक महिनाको भाडाको लामो लिस्ट थमाउँदै उहाँले धम्कीको भाषामा भन्नुभयो, ‘भोलि साँझसम्म हुनुपर्छ है, हामी पनि चल्नुपर्छ।’
मैले लामो लिस्ट हेरेँ। त्यहाँ सधैँ झैँ विभिन्न शीर्षकमा रकम छुट्याइएको थियो। कोठाभाडा, बत्तीको, पानीको, फोहोरको, मोटर चलाको, गल्ली पुछेको आदि र अन्तमा अघिल्लो महिनाको रु दुई बाँकी पनि लेखिएको रहेछ।
यो देखेपछि भने मलाई अलि चित्त बुझेन अनि सानो स्वरमा ‘यो अन्तिमको चाहिँ’ मात्र के भनेको थिएँ घरबेटी बा झोक्किँदै ‘म त हिसाबमा कडा छु, चाहे त्यो एक रुपैयाँ होस् वा दुई रुपैयाँ होस्’ भन्दै बाहिर निस्किए।
यस्तो सुनेपछि म चुपचाप भएँ। तीन वटा घरका चौबिस कोठा भाडामा लगाएका घरबेटी बा हिसाबमा कडै हुनु पनि पर्यो। केही दिनअघि वडा कार्यालयबाट घरभाडा कर उठाउन आउँदा हामीलाई ‘म घरबेटीको भान्जा हुँ, भाडा तिर्नु पर्दैन’ भन है भन्दै सिकाउने घरबेटी बा आज दुई रुपैयाँमा यति मरिहत्ते गरेको देखेर अचम्ममा परेँ।
हामीले स्कुल पढ्दा पुस्तकहरूमा लेखिएको हुन्थ्यो- जीवन अनमोल हुन्छ। यसको कुनै मूल्य हुँदैन। यस्तो भन्नुको अर्थ यसको मूल्य हजार होइन, लाख होइन, करोड होइन, अर्ब, खर्बभन्दा पनि बढी हो भन्न खोजिएको होला।
तर, वास्तविकतामा भने अधिकांश मानिसहरू मात्र दुई रुपैयाँ पाउँदा खुसी हुने, दुई रुपैयाँ गुमाउँदा दुखी हुने गरेको देख्दा त उनीहरूको जीवन दुई रुपैयाँकै वरिपरि घुमेको पाएँ। यसरी दुई रुपैयाँको जिन्दगी बिताउने मानिसहरूका लागि जीवनको मोल पनि दुई रुपैयाँभन्दा बढी भएको पाइएन।
मानिसको आफ्नो दैनिक जीवनयापनका लागि रुपैयाँ पैसाको आवश्यकता पर्छ, यसमा कुनै दुई मत छैन। यसका लागि धेरैले रातदिन मेहनत पनि गरेका हुन्छन्। भविष्यको सुरक्षित जीवनका लागि समेत पैसाको बचत गर्नु अनिवार्य छ तर बचतको नाममा वर्तमानका निम्नतम आवश्यकतालाई समेत तिलाञ्जली दिनुलाई भने बुद्धिमता मान्न सकिँदैन।
मानव जीवन अनन्तकालसम्म रहन सक्दैन। निश्चित समयकालपछि जीवनको अन्त्य हुन्छ। मानिस सधैँ एकै प्रकारको रहन सक्दैन। उमेरअनुसार फरक-फरक आवश्यकताहरू हुन्छन्। हरेक परिस्थितिका आवश्यकताहरूलाई सम्बोधन गर्न सक्नु नै सार्थक जीवन हो। रुपैयाँ पैसा आर्जन गर्नुको प्रमुख उद्देश्य जीवनलाई सहज र सुखी बनाउनु हो।
आफ्नो साथमा अथाह धन-सम्पत्ति छ तर जीवन सहज बनाउन सकिएन भने त्यो सम्पत्तिको कुनै अर्थ रहँदैन। धन सम्पत्तिको उचित परिचालनबाट जीवन सहज र सरल बनाउन सकेको खण्डमा मात्र आर्जित धनको औचित्य रहन्छ।
जीवनलाई सहज र सुखी बनाउन रुपैयाँ पैसाको मात्र भूमिका रहँदैन। यो एउटा स्रोत मात्र हो। तसर्थ, जीवनका अन्य पक्षहरूलाई समेत ख्याल गरेर अगाडि बढेको खण्डमा जीउनुको मज्जा बेग्लै हुनसक्छ।