हरेक मानिस कुनै न कुनै रुपमा हरेक दिन केही न केही सिक्छ। राम्रो कामबाट हामीलाई प्रेरणा मिल्छ र सिक्छौँ। असफल वा बिग्रेको कामबाट फेरि त्यस्तो नहुने पाठ सिक्छौँ। यो निरन्तर चल्ने प्रक्रिया हो। सिक्नु र सिकाउनु जिन्दगीको सुन्दर पाटो हो।
हामीलाई औपचारिक रुपमा ज्ञान, सीप, दक्षता वा काम सिकाउन हाम्रो गुरु वा शिक्षक हुन्छन्। औपचारिक शिक्षा वा ज्ञान जो कोहीबाट पनि सिक्न सकिन्छ। जीवनमा औपचारिक शिक्षाको जति महत्व छ, त्यत्ति नै महत्व अनौपचारिक शिक्षाको पनि छ।
मेरो जीवनमा पहिलो पेसा शिक्षण थियो। यो मेरो रोजाइ थिएन, उति बेलाको जरुरत थियो। एसएलसी दिएको पन्ध्र दिनपछि मेरो गृह जिल्ला तनहुँमा मैले जुन स्कुलमा पढेँ, त्यही स्कुलमा पढाउन थालेँ। एसएलसी पास भएपछि आर्थिक अभावमा कलेज वा विश्वविद्यालय पढ्ने मौका पाइनँ। स्कुलमा पढाउँदै मैले आइए प्राइभेट दिएँ र उत्तीर्ण गरेँ।
त्यसपछि बीकम पढ्न म काठमाडौं आएँ। फेरि उही नियती दोहोरियो। आर्थिक अभावमा मैले पूरा समय विद्यार्थी भएर पढ्ने मौका पाइनँ। मैले दिउँसो स्कुल पढाउन थालेँ र बेलुका स्नातक पढ्न।
बीकम पास गरेपछि तत्कालै म स्वास्थ्य व्यवस्थापन पेसामा लागेँ। यही पेसामा निरन्तर बत्तीस वर्ष काम गरेँ। हालै मात्रै मैले यो पेसाबाट अवकाश लिएँ। अवकाशपछि के गर्ने? मेरो लागि धेरै विकल्पहरू थिए। तर मैले आंशिक समय काम गर्ने गरी शिक्षण पेसा नै रोजेको छु। यो अर्थमा म अब फेरि शिक्षक भएको छु।
शिक्षण पेसालाई नेपाली समाजमा राम्रो दृष्टिकोणले हेरिँदैन। उति बेला पैँतालिस साल तिरको कुरा हो। स्नातक पढ्दै गर्दा एकदिन साथीभाइको जमघट हुँदा एकजना नयाँ साथीसँग भेट भयो। मैले आफ्नो परिचय दिँदा गर्वसाथ मैले भनेँ, 'म पढाउने काम गर्छु।'
ती साथीले मलाई केही हेपेजस्तो लवजमा भने, 'ए, तपाईं पढाउने पो हो?'
मैले केही प्रतिवाद गरिनँ तर, शिक्षण पेसाप्रति पढेलेखेका मानिसको धारणा देखेर मनमनै चित्त दुखाएर बसेँ।
यति मात्रै कहाँ हो र? केही वर्ष पहिले म अस्पतालको प्रमुख कार्यकारी अधिकृत भएर पूर्ण समय काम गर्दा आंशिक समय कलेजमा पढाएको थिएँ। त्यो समयमा मेरा केही साथीभाइ र आफन्तले समेत मप्रति विभिन्न नकारात्मक टीकाटिप्पणी गर्थे। कसैले अस्पतालको सिइओ भएर आफूलाई सस्तो रुपमा प्रस्तुत गर्दै पढाउन जाने भन्थे भने कसैले पैसा नपुगेर झोला बोकेर कलेजको झोले शिक्षक भएको समेत भन्थे मलाई।
यस्ता सबै टीकाटिप्पणीलाई बेवास्ता गर्दै मैले आफ्नो पेसासँग सम्बन्धित विषय पढाउँदै आफ्नो अनुभव, ज्ञान र पेसामा वर्षौं लगाएर सिकेको कुरा आफ्ना विद्यार्थीलाई बाँड्न पाउँदा मलाई निकै सन्तोष, खुसी र गर्व लागेको थियो। अब म पनि फेरि शिक्षक बन्दा त्यस्तै गर्व र खुसीको अनुभूति गर्नेछु।
मैले जीवनमा धेरै पेसा वा काम गरेँ। अध्ययन र अध्यापनका अलावा व्यापार, राजनीति र स्वास्थ्य व्यवस्थापकको काम गरेँ। योमध्ये मलाई सबैभन्दा मन परेको र सन्तोष मिलेको पेसा शिक्षण हो। त्यसै कारणले स्वास्थ्य व्यवस्थापक भएर काम गर्दागर्दै मैले करिब दश वर्ष आंशिक समय अध्यापन र करिब चार वर्ष लण्डनमा विद्यावारिधि पढ्दै गर्दा कुल चौध वर्ष प्राज्ञिक क्षेत्रमा बिताएको छु।
प्रश्न उठ्न सक्छ, शिक्षण पेसा नै मन पर्ने भए मैले किन अर्को पेसा रोजेँ? यसको सरल उत्तर छ, पहिलो कारण पैसा अर्थात् राम्रो कमाइ र दोश्रो कारण मैले अंगालेको पेसामा प्रगति गर्ने राम्रो अवसर।
यी दुई कारणहरूले मैले स्वास्थ्य व्यवस्थापन पेसा अंगालेको थिएँ। यो पनि स्थायी प्रकृतिको जागिर खोज्दै जाँदा पहिलो चरणमा हात परेको सफलता थियो। अनि मैले कालान्तरसम्म यही स्वास्थ्य व्यवस्थापनको पेसा अंगालेँ।
मानिसले धेरै कारणले विद्यावारिधि अर्थात् पिएचडी गर्छन्। धेरैले नामको अघि प्रतिष्ठाको रुपमा डा लेख्न पिएचडी गर्ने गरेको समेत मैले देखेको, सुनेको र बुझेको छु। पिएचडी पूरा गरेपछि आफ्नो पेसासँग सम्बन्धित प्राज्ञिक वा अनुसन्धानको काम नगर्ने हो भने यो केवल डा उपाधि लिएर एक प्रतिष्ठाको लागि गर्ने डिग्री भन्ने बुझे हुन्छ।
यसै सम्बन्धमा मेरो कुरा गर्दा मैले पिएचडी अध्ययन गर्नुको मुख्य उद्देश्य प्राज्ञिक क्षेत्रमा निरन्तर लाग्नु थियो। यसै कारणले पनि मैले अस्पताल व्यवस्थापनमा पिएचडी अध्ययन पूरा गरेपछि अस्पताल व्यवस्थापनको काम पूरा समय गर्दै यसै क्षेत्रसँग सम्बन्धित विषयहरू आंशिक शिक्षकको रुपमा करिब पाँच वर्ष लगातार पढाएँ।
साथै, यसै विषयको पुस्तक प्रकाशन गरेको छु र हरेक वर्ष जस्तो मेरो विषयसँग सम्बन्धित लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्दै आएको छु। यसर्थ पनि प्राज्ञिक क्षेत्रको पेसाप्रति मेरो झुकाव छ।
नेपालमा शिक्षण पेसाप्रतिको नकारात्मक धारणा अहिलेसम्म पनि परिवर्तन भएको छैन। यो झन् गिर्दो अवस्थामा छ। जहिलेसम्म शिक्षकले आफूलाई गर्व साथ 'म शिक्षक हुँ' र नयाँ पुस्ताले 'मेरो रोजाइ शिक्षक हुनु हो' भन्ने अवस्था आउँदैन त्यति बेलासम्म शिक्षण पेसाप्रतिको सम्मान र आकर्षण बढ्न सक्दैन।
नेपालको हालको अवस्थामा सहरी र ग्रामीण क्षेत्रको शिक्षाको गुणस्तरमा निकै भिन्नता छ। यस्तै निजी र सार्वजनिक वा सामुदायिक क्षेत्रका विद्यालयहरूको गुणस्तरमा पनि धेरै फरक छ। गुणस्तर मात्रै हैन, शिक्षाको पहुँचमा पनि देशको विभिन्न क्षेत्रमा निकै अन्तर छ। यो भिन्नताले देशको हालको अवस्था चित्रण गर्छ।
म र मजस्तै लाखौँ दक्ष जनशक्ति, राजनीतिज्ञ, प्रशासक, व्यापारी र धेरै सम्मानित पेसाकर्मीहरू देशको सार्वजनिक वा सामुदायिक विद्यालय र विश्वविद्यालयको उत्पादन भए पनि यो क्षेत्रको साख, मान र गुणस्तर उकास्न गर्नु पर्ने धेरै कामहरू भएका छैनन्। यसको विपरीत हरेक वर्ष सार्वजनिक वा सामुदायिक शिक्षण संस्थाहरूको स्तर खस्केको छ। यो निकै चिन्ताको विषय हो।
अहिलेको गुणस्तरहीन शिक्षाको प्रतिफल आजको आजै देखिने हैन। यसको नकारात्मक असर अबको झन्डै एक दशकपछि देखिने हो। नयाँ सम्मुन्नत र समृद्ध नेपाल निर्माण गर्नको लागि अहिले शिक्षामा हुने लगानी र भविष्यमा यसको प्रतिफल कस्तो हुन्छ यो कुरा धेरै अर्थपूर्ण हुन्छ।
गुणस्तरीय शिक्षाको पहिलो सर्त पर्याप्त गुणस्तरीय शिक्षक उपलब्ध हुनु हो। गुणस्तरीय शिक्षक उत्पादन गर्न देशमा गुणस्तरीय शिक्षा उपलब्ध हुनु जरुरी छ। देशमा सबैको लागि गुणस्तरीय शिक्षाको लागि अहिले हाम्रा स्वदेशी विश्वविद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा सुधार गर्नुको अर्को विकल्प छैन। यसका लागि आवश्यक रणनीति बनाउँदै सबै प्रकारका श्रोत र साधनको उचित परिचालन गर्नुपर्ने देखिन्छ।
नयाँ पुस्ताका होनाहार युवालाई शिक्षण पेसामा आकर्षित गर्न नसके सबैलाई गुणस्तरीय शिक्षाको योजना केवल कागजमा सीमित हुने देखिन्छ। गुणस्तरीय शिक्षाबिना कुनै पनि देशको भविष्य उज्यालो हुन सक्दैन। यसैका लागि पनि शिक्षण पेसालाई मर्यादित बनाउन र यो पेसाप्रति निजी र सरकारी सबै प्रकारमा शिक्षण निकायमा आकर्षण बढाउन राज्य र सबै निकाय गम्भीर हुनुपर्ने देखिन्छ।
समग्रमा फेरि उही कुरा, जुन बेलासम्म गर्वका साथ सबै शिक्षकले 'म पनि शिक्षक हुँ' भन्ने अवस्थाको सिर्जना गर्न सकिँदैन त्यो बेलासम्म शिक्षाको गुणस्तर उकास्न गाह्रो पर्छ।