तपाईंले आफ्नो वरिपरि कति थरि चरा देख्नु भएको छ? भँगेराको कत्तिको ख्याल गर्नु भएको छ? तपाईंलाई थाहा छ, भँगेरा कति किसिमका हुन्छन्? नेपालमा पहिला चार थरिका भँगेरा पाइन्थ्यो। तर, आज तीन थरिलाई मात्र भँगेरा भनिन्छ, अर्को एउटालाई भिन्न प्रजातिमा वर्गीकरण गरिएको छ।
हाम्रोमा पाइनेमा घर भँगेरा, रूख भँगेरा र कैलो भँगेरा हुन्। पहिलापहिला ‘पित कण्ठे’लाई पनि भँगेरा वर्गमा राखिएको थियो, अचेल यसलाई ‘चेसनट सोल्डर पेट्रोनिया’ भनिन्छ।
झलक्क हेर्दै घर भँगेराका भाले र पोथीलाई छुट्टयाउन सकिन्छ। रूख भँगेराको जोडी भने उस्तैउस्तै हुने भएकाले छुट्टयाउन मुस्किलै हुन्छ। कैलो भँगेराको पनि भाले र पोथीलाई एकै नजरमा पहिल्याउन सकिन्छ।
घर भँगेरा र रूख भँगेरा सँगसँगै खेलिरहेका हुन्छन्। उनीहरू एउटै बथानमा पनि देखिन्छन्। हामीले ख्याल गरेर हेर्यौं भने सजिलै चिन्न सक्छौं।
आज भँगेराकै कुरा गरौं, किनकि भँगेरा पनि हाम्रो पर्यावरणका अभिन्न अंग हुन्। यिनले खाने त खासमा बियाँहरू नै हो। बच्चा हुर्काउनका लागि भने कीरा खुवाउँछन्। उनीहरूले प्रायः सागजन्य तरकारीमा लाग्ने लाही कीरा खुवाउँछन्।
आज हाम्रो वरपर भँगेरा कम छन्। त्यसैले लाही कीरा पनि खेतबारीमा प्रशस्तै देखिन्छन्। मान्छेहरूले लाही मार्न रासायानिक विषादी प्रयोग गर्छन्। यसले पर्यावरणलाई बिथोलिरहेको छ र विष हालेको तरकारी खाँदा स्वास्थ्यलाई पनि असर परिरहेको छ।
आखिर भँगेरा किन घटे त?
आधुनिकीकरणसँग जैविक खेतीको ठाउँमा रासायनिक खेती हुन थाल्यो। विषादी प्रयोग हुन थाल्यो। त्यसले गर्दा चरालाई खानेकुराको समस्या भयो। अर्को कुरा बासस्थान मासिँदै गयो। हाम्रा पुराना घरमा चरा बस्न प्वाल बनाइन्थ्यो। आधुनिक घरमा त्यस्ता प्वाल, छाना, खोपा आदि बनाइन्न। यसरी चराको बासस्थान पनि मासिँदै गयो।
अर्को समस्या माइक्रोवेभको विकिरण (मोबाइल फोन, इन्टरनेट आदि) ले गर्दा चराको अण्डाको बोक्रा पातलो हुन थाल्यो र, ओथारा बस्दा बच्चा कोरल्न समस्या हुन थाल्यो।
यसरी विभिन्न कारणले गर्दा भँगेरा कम हुँदै गएका छन्। यही क्रम बढ्दै जाने हो भने एक दिन भँगेरा लोप हुनेछन्।
त्यसैले भँगेरालगायत सबै पंक्षी संरक्षणको सन्देश बाँड्न हामीले मार्च २० मा 'विश्व भंगेरा दिवस' मनाउने गरेका छौं।
यसरी दिवस मनाउने कामको शुभारम्भ छिमेकी मुलुक भारतबाट भएको हो। नेपालमा पनि पंक्षी संरक्षण संघ (बि.सि.एन.)ले जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरेको छ।
चरा हाम्रा साथी हुन्। यिनको संरक्षण गर्नु हाम्रो दायित्व। पर्यावरण सन्तुलनमा रहे हामीले मात्र होइन, भावि पिँढीले पनि सन्तोषको सास फेर्न पाउनेछन्।
त्यसो भए अब के गर्ने त ?
हामी सबैले करेसाबारीमा जैविक खेती गर्नु पर्यो। घर निर्माण गर्दा चराका लागि बस्न मिल्ने प्वालयुक्त गारो, छाना आदि बनाउनु पर्यो। हामीले घर बनाउँदा हाम्रा बाउबाजेले चराका लागि गरेको व्यवस्थापन पनि सम्झिने गरौं।
पर्यावरण सन्तुलनमा राख्ने मात्र होइन, चराबाट धेरै कुराको फाइदा हुन्छ। तिनलाई हेर्दैमा मनको पिर भाग्छ। राम्रोसँग अध्ययन गरेमा चराबाटै मौसमको जानकारी पनि लिन सकिन्छ। चराको आनीबानीबाट धेरै कुराको ज्ञान पाइन्छ। एकैछिन एक टकले चरालाई हेर्नुस् त, तिनले भुत्भुती खेलेको, पानीमा डुबुल्की मारेको, चिरविर गरेको दृश्य कति मिठो देखिन्छ!
त्यसैले आउनुहोस्, गर्मीयाम सुरू हुँदैछ, आफ्नो घरआँगन, बगैंचा, बार्दली वा छतमा चराका लागि पानी राखिदिऊँ। चराको स्वागत गरौं। तिनलाई हेरेर मनलाई शान्त बनाऔं।
(कार्की बगैंचे चराका अध्येता हुन्।)