कुरा यही शुक्रबारको हो, म मेरो गाउँ गोरखा जाँदै थिएँ। बालाजु पुगेर बसमा चढेँ। गाउँको बस भएर होला भिडभाड नै थियो। मेरो टिकट ड्राइभरभन्दा पछाडिको सिटको थियो। म आफ्नो सिटमा गएर बसेँ। बस गुड्न थाल्यो।
सहचालक बसको ढोकाबाट गोर्खा, गोर्खा भन्दै थिए। म बसेको सँगै अर्को सिट भने खाली नै थियो। बस कलंकी पुगेर रोकियो। मेरो छेउको सिटमा मेरै गाउँकी हजुरआमा बस्नुभयो। आमा सिटमा आइसकेपछि उहाँलाई नमस्ते गरी आशीर्वाद लिन भ्याएँ र उहाँलाई झ्याल भएतिर बस्नू भनेँ।
हजुरआमा चौरासी वर्ष कटिसक्नु भएको थियो। पोहोर साल मात्रै हजुरआमाको चौरासीको पूजा गरिएको थियो। हजुरआमा देख्नलाई एकदम हट्टाकट्टा हुनुहुन्छ। शरीर पनि स्वस्थ तन्दुरुस्त देखिनुहुन्छ।
नागढुङ्गाको ओरालो लागेपछि हजुरआमाले भन्नुभयो- ‘ला-ला नानी, मेरो फेसबुकमा ट्राभलिङ टु गोर्खा लेख् त। म आँखा देख्दिनँ चस्मा नलगाई।’
म तीनछक्क परेँ आमाको कुराले। कहिल्यै स्कुल नगएकी हाम्रो हजुरआमा बुढेसकालमा अंग्रेजी शब्द फुराउँदै हुनुहुन्छ। मुसुक्क हाँस्दै उनको मोबाइल समाएर सोधेँ- ‘आमा, यो ट्राभलिङ टु गोर्खा भन्या चाहिँ के हो?’
उनले मेरो कुरा भुइँमा पुग्न नपाउँदै जवाफ फर्काउन भ्याइहालिन्, ‘गोर्खा जाँदैछु भनेर जनाको नि, यत्ति पनि थाहा छैन कि क्या हो मलाई।’
मैले खित्का छोडेर नै हाँसेँ अब चाहिँ।
‘होइन होइन, जिस्केको मात्रै’ मैले भनेँ।
आमा धेरैजसो काठमाडौं नै बस्नुहुन्छ। उहाँहरूले दुई वर्ष जति भयो गोर्खा छोड्नुभएको। गोर्खा हुँदासम्म आमा फरिया-चोलोमा हातभरि रातै चुरा, कपालमा धागो, सिउँदोभरि सिन्दुर, निधारमा ठूलो टीका, नाकमा बुलाकी लगाउनुहुन्थ्यो। यसरी सोसल मिडियाबारे थाहा पाउनु त टाढाको कुरा।
गाउँमा हामी केटीहरूले पाइन्ट, स्कर्ट लगाएको त देखिसहनु हुन्न थियो। छोरी भएर के लगाएको भन्नुहुन्थ्यो। काठमाडौं आएपछि साँच्चै हजुरआमामा परिवर्तन आएछ। अहिले हजुरआमा कुर्ता र लेगेन्समा हुनुहुन्छ। रातोभन्दा अरु रङ नै न लगाउने हजुरआमाको फेबरेट कलर पहेँलो हो रे।
जे होस् यो एकदम खुसीको कुरा हो हाम्रो लागि, ठाउँ परिवेशअनुसार आफूमा परिवर्तन ल्याउनु भएछ हजुरआमाले।
काठमाडौंदेखि गोर्खा पुग्न मिनीबसमा चारदेखि पाँच घण्टा लाग्छ। कहिले त ६ घण्टै लगाइदिन्छ। तर आज जति लगाए पनि मलाई अल्छी भने केही लाग्ने थिएन। लागोस् कसरी, साइडमा हजुरआमा जो हुनुहुन्थ्यो।
हजुरआमाले अर्को प्रसङ्ग जोड्न लाग्नुभयो। ‘अ नानी, साँच्ची त्यो जनता जान्न चाहन्छ भन्ने पत्रकार क्या ऋषि धमला त्यसको बारेमा के-के भन्दै थिए त थाहा पाइस्?’
‘कसले भन्यो तपाईंलाई?’ मैले जिज्ञासु शैलीमा सोधेँ।
‘युट्यबमा हेरेको नि, तँलाई थाहा छैन त्यो कुन्नी के नाम भा केटी हो यस्तो उस्तो भन्दै थिई। अनि त्यो घण्टी चिन्न लेर गृहमन्त्री भाको त्यो ठूलो स्वर हालेर बोल्नी पत्रकारलाई पनि त देशकै नागरिक हैन भन्दै पद नै खारेज गरेछन्। ती पत्रकारले फेरि बाह्र भाइ मिलेर मलाई सके भन्दै थियो।’
म बडो अचम्ममा थिएँ आमाको यो अपडेट देखेर। थाहा नभएको त विषय नै छैन। उनी मोबाइल चलाउन लागिन्, मेरो ध्यान उनीमै थियो।
साँच्चै समयले कोल्टे फेरेकै रहेछ। यी हजुरआमा गाउँमा हुँदा कति दुःख गर्नुहुन्थ्यो। मेलापात, घाँस-दाउरा गरी जीवन धान्नु भएको थियो। अंकल अमेरिका गएपछि त हजुरआमाको मुहार नै फेरिएछ।
गाउँमा हुँदा चाउरी परेका ती छाला रसिला भएछन्, दाउराले कोतारेका दाग नै दाग हुने हातगोडा सुकिला भएछन्। काठमाडौंको घरभित्रको एउटै कोठामा बसेर प्रविधिसँगै रमाउँदै हुनुहुँदो रहेछ।
बेनिघाट पुगेर बस खाजा खान रोकियो, हजुराआमा र म ओर्लियौँ। फ्रेस भइयो, हामी दुई जना मिलेर माछा फ्राइ खायौँ। गफको सिलसिला बढ्दै थियो।
‘स्लो मो बनाइदे त नानी मेरो एउटा’ रे! म फरि अक्क न बक्क भएँ। हजुरआमाले मलाई झड्का दिइरहनु भएको छ बेलामौकामा। अब चाहिँ हैन यो बुढी आमालाई थाहा न भएको चाहिँ के छ भन्ने लाग्यो।
म ङिच्च दाँत देखाएर हस् भन्दै उनको हातबाट मोबाइल समाएको मात्रै थिएँ ‘ए पख्-पख्, प्रोटेडबाट खिच है राम्रो आउँछ’ भन्न भ्याउनु भयो।
म दंग पर्दै बनाइदिएँ अनि भन्नुभयो- ‘लौ नानी, त्यहाँ क्याप्सन लेख्-लेख् मेरो आँखाले ठम्याएन।’
ठम्याओस् पनि कसरी? पावरवाला चस्मा लगाउनुपर्ने ठाउँमा आमाले सनग्लास लगाएर गएपछि।
मैले उत्सुक हुँदै सोधेँ- ‘के लेखौँ हजुरआमा?’
आमाको जवाफ- ‘गोर्खा जाँदै गर्दा बेनिघाटमा लिएको।’
बस चल्न सुरु भयो। हजुरआमाले म्यासेन्जरमा भिडिओ कल गर्न भ्याइन्। भिडिओ कलमा मसँगै पढेकी मेरी स्कुलको मिल्ने साथी, हजुरआमाको नातिनी थिइन्। उनी अहिले उसको बाबासँगै अमेरिका नै छिन्।
केही क्षणको गफपछि फोन टुंगियो। हजुरआमालाई मोबाइल डाटाको ज्ञान, वाइफाई, पासवर्ड, फेसबुक, टिकटक, युट्युब सबै थाहा छ। अरुको पोस्टमा रियाक्ट गर्दै, रेडिमेट कमेन्ट गर्दै कुसका छोराछोरी कहाँ छन्, के पढ्छन्, कसको जन्मदिन, कसको एनिभर्सरी, को कहाँ घुम्न गयो प्रविधिमय जीवनको रामायण नै सुनाउन भ्याउनुभयो हजुरआमाले।
६ घण्टाको बाटो काटेको पत्तै नभई घर पुगियो हजुरआमाको गफले।
जे होस् आमालाई दिन काट्ने बाटो भने राम्रै भएको रहेछ। प्रविधिमय विकासले हजुरआमाले धेरै कुरा सिक्न पाउनु भएछ। तर कतै यो सामाजिक संजाल भन्ने चिजले हामीलाई असामाजिक त बनाइरहेको छैन? सोचौँ त एकचोटि। अक्सिजन बिनाको केही पल कल्पना होला तर मोबाइल, नेट बिनाको जीवन कल्पना बाहिरको संसार जस्तो भइसकेको छ। प्रत्येक व्यक्तिलाई मोबाइल फोबिया भएको जस्तो।
प्रायः सबैको प्रत्येक बिहानीको सुरुआत हातमा मोबाइल लिएरै हुन्छ। राशिफल, समाचार, सुनको मूल्य, डलरभाउ, मौसम, अरु केही नभए पनि फेसबुक, टिकटक, स्क्रोल। यत्ति नगरी उज्यालो भएर उठेजस्तो लाग्दैन।
उठिहाले पनि मोबाइल बोकेर नै बाथरुम भित्र पस्नुपर्छ। अझ मेरो घरमा त एउटा कोठाबाट अर्को कोठामा बोलाउन परे पनि म्यासेज नै गर्नुपर्छ। सबै नमुना छन्। भाइ मोबाइल बोक्दै बाथरुम पस्छ। आमा मोबाइल हेर्दै भान्सामा। बहिनी मोबाइल चलाउँदै पढ्न बस्छे। म ल्यापटप कहिल्यै छोड्दै छोड्दिनँ। आमा भजन सुन्नुहुन्छ, लोक दोहोरी कार्यक्रम हेर्नुहुन्छ।
बहिनी अहिले बाह्र वर्षकी भई। उमेरको हिसाबले मभन्दा दश वर्ष सानी छ तर पनि उसलाई गुगलमा भेटिने चिजहरू मलाई भन्दा धेरै थाहा छ। बिहान जुरुक्क उठेर एउटा टिकटक पोस्ट गर्छे र दिनको सुरुवात गर्छे।
भान्सामा नयाँ केही पाक्यो भने स्टोरी हाल्न भ्याइहाल्ने। नयाँ त केही देख्नै हुन्न, भिडियो बनाउने हो कि फोटो बनाएर टिकटक, इन्टाग्राम, फेसबुक सबै तिर स्टोरी हाल्न भ्याउँछे।
‘किन हाल्छौ यसरी?’ मैले प्रश्न गर्दा उसले भन्छे- ‘एक्टिभ छु भन्ने जनाएको।’
पहिले घरमा कोही पाहुना आउँदा हालखबर सोधिन्थ्यो भने आजभोलि वाइफाईको पासवर्ड सोध्छन्। बहिनी र आमा एकसाथ हुनै हुँदैन, आमाले नजानेको छोरीसँग अनि छोरीले नजानेको आमासँग पालैपालो सिकाउने सिक्ने गर्छन्।
खानाखाने बेलामा त झन् खानाको प्लेटसँगै मोबाइल अगाडि सार्नुपर्छ। यसको फाइदा र बेफाइदा दुवै भएको हुँदा प्रचलनमा आएका साधनलाई राम्रो आधार बनाउने हो भने यसबाट भरपूर फाइदा लिन सकिन्छ।
प्रत्येक पटक सामाजिक संजालको प्रयोग गर्नुभन्दा पहिला केको लागि र किन, कति समय भन्ने सोचविचार गर्नुपर्दछ ताकी यसको दुरूपयोग नहोस्। सामाजिक संजाल वर्तमान समयमा क्षमता अभिवृद्धिका प्रमुख साधन भएको छ। त्यसैले यसलाई एउटा अवसरको रूपमा प्रयोग गर्ने गरौँ।