यो वर्ष हाम्रो लागि अत्यन्तै पीडादायी रह्यो। गत चैत्रमा रुकुममा ससुरा खस्नुभयो। असारमा आमा बित्नुभयो। त्यही साउनमा चितवनमा बालाराम फुपाजु रहनुभएन। लगत्तै भदौमा नेपालगन्जमा सानो फुपाजु गुम्नुभयो र त्यही मंसिरमा हेटौँडामा कलिलो भान्जा गुमायौँ। एउटाको पीडामा झरेका आँसु नओभाउँदै अर्को बज्रप्रहार खेप्नुपर्दा हामीहरू विचलित भइरहेका थियौँ।
हिउँदमा पानी नपर्दा जताततै तुवाँलो लागेर काठमाडौंको वातावरण औधी उराठिलो भएको थियो। गृष्मऋतु आगमनपूर्व नै गर्मी चढ्दै थियो। मुलुकको आर्थिक तथा राजनीतिक तुवाँलोले सबै क्षेत्र छोप्दै थियो। विनियोजित बजेट रोक्का हुँदा अफिसमा झिँगा मारेर बस्नुपर्ने भएको थियो। तर, सेवाप्रदायक र ठेकेदारहरूले सम्पन्न कामको भुक्तानी मागेर पसिना छुटाइरहेका थिए। घर फर्कँदा र अफिसतिर हानिँदा मेरो ओठमुख सुकेको देखी देवकुमारीले दिक्क हुँदै प्रस्ताव राखेकी थिइन्-
‘काठमाडौंमा बस्दा अनेकथरी पीरहरू थपिरहन्छन्। जाउँ बरू गाउँतिर। बुवाको वार्षिकी पनि छ। उता गए केही समयलाई भुलिन्छ।’
मलाई उनको सुझाव समयोचित लागेकोले 'जाऊँ न त' भन्दै अफिसमा बिदा माग्न हतारिएँ। आफू मात्र हतारिएर के गर्नु? बिदा दिने हतारिएनन्। 'किन जानुपर्यो? यस्तो त सबैलाई सधैँभरि पर्छ! आफू नगई अरूलाई पठाए हुँदैन?' भन्ने प्रश्नहरूको स्पष्टीकरण पेश गर्दा गर्दा बल्ल बिदा मिल्यो। बिदा मिल्नेबित्तिकै हेटौँडा हुँदै रुकुमतिर लाग्ने कुरा छिनियो।
हेटौँडा जाने बाटोहरू धेरै छन्, तर ती सबै बाटो मर्मतको क्रममा छन्। कहाँ पुगेर अड्किनु पर्ने हो, केही ठेगान हुँदैन। यो दूरी असी/नब्बे किलोमिटर मात्र भए पनि गन्तव्यमा कतिन्जेल पुगिने हो यसै भन्न सकिँदैन। हामी थानकोट, चित्लाङपट्टिको उखडखाबड सडकको यात्रा गर्दै कुलेखानी निस्कन्छौँ।
कुलेखानीबाट अलिकति पक्की बाटोमा चिप्लिने मौका मिल्छ। भिमफेदीबाट भैँसेसम्म पनि उस्तै मर्मतको क्रममा छ बाटो। घरी बाटो खोलामा हालिएको छ, घरी पाखामा उकालिएको। हाम्रो देशमा मर्मत कार्य यति लम्बिदिन्छ कि सास्ती भोग्नेले मर्मतपछि सुध्रिएको सडक देख्नै मुस्किल पर्छ।
हाम्रा ३ वर्षे नाति (छोरी अस्मिताको छोरा) घरका हजुरबा/हजुरआमासँग हेटौँडामै बस्छन्। नातिका जन्मदाता भने पढाइको सिलसिलामा काठमाडौंमै छन्। दुवैजनाले मेडिकल लाइन अध्ययन गर्दै अस्पतालमा आउने बिरामीहरूको लागि अहोरात्र खट्नुपर्ने भएकोले धेरै अघिदेखि काठमाडौंबाट दूधे छोरा भेट्न हेटौँडा जान पाएका छैनन्।
नाति बिरामी परेको खबर पाएकोले उनलाई छिटो भेट्न हामी आत्तिएका छौँ। तर बाटो छिटो कट्नुको सट्टा झन्-झन् अलमलिन्छ। ५ घण्टाको गल्ड्याङगुल्डुङ यात्रा सकेर हामी हेटौँडा पुग्छौँ। नातिलाई बिसेक भएको देखेर खुसी हुन्छौँ। नाति हाम्रो आगमनले पुलकित भएका छन्।
नातिसँग एकछिन खेलेर सम्धीज्यूको बहिनीलाई भेट्न हामी चौघडाको दक्षिणतर्फ रहेको हटिया बजार पुग्छौँ। सधैँ हसिलो फरासिलो देखिने त्यो परिवार अँध्यारिएको देख्दा मन खिन्न हुन्छ।
सम्धीका १८ वर्षीय कान्छा भान्जालाई गत वर्ष छातीमा क्यान्सरको लक्षण देखिएकोले उनलाई उपचारको लागि तत्कालै काठमाडौं पुर्याइएको थियो। सुरूमा उपचारले सन्चो भएजस्तो भए पनि बिरामीको अवस्था फेरि बिग्रिहाल्थ्यो। अनेकौँ अस्पतालमा डुलाउँदा पनि नेपालमा उपचार सम्भव नभएपछि बिरामीलाई नयाँदिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा पुर्याइयो र अर्को महिना छातीको सल्यक्रिया गरियो।
सल्यक्रिया सफल हुँदा सम्धिनीको परिवारमा फर्किएको खुसी अवर्णनीय थियो। तथापि केही समयपछि बिरामीमा फेरि सोही समस्या बल्झिन पुग्यो। सम्भव भएजति अस्पताल र अनेक उपचार पद्धतिको पछि लाग्दा पैसाको खोलै बग्यो तर परिणाम राम्रो निस्किएन।
नयाँदिल्लीमा उपचार सम्भव नभएपछि बिरामीलाई नेपालमै फर्काइयो। एक दिन ह्वाइट ब्लड र अर्को दिन रेड ब्लड चढाउँदै बिरामीको सास धान्ने कोसिस महिनौँसम्म जारी रह्यो। ज्वाइँको व्यवसाय चौपट भयो। बहिनीको शिक्षक जागिरी धरमरायो। तथापि उहाँहरूको केही लागेन, हेर्दाहेर्दै काखमै किशोर सन्तान गुमाउन पुग्नुभयो।
लाउँलाउँ खाउँखाउँ वयको सन्तान गुमाउनुपरेको पीडाले उहाँहरूका आँखा अद्यापि ओभाएका छैनन्। उहाँहरूलाई सम्झाउने पर्याप्त शब्द हामीसँग छैनन्। केहीछिन निःशब्द बसेर उठ्न थाल्दा भन्छौँ, 'संसारको रीति हेरी चित्त बुझाउनुहोला। आफूलाई आफै सम्हाल्नुहोला। हामी फेरि भेट्न आउँछौ है!'
हामी सम्धीको घरमा फर्कन्छौँ। नाति हाम्रै काखमा लुरुफुरु गरिरहेका छन्। उनले 'म पनि बुवाआमासँग मामाघर जाने' भन्दै जिद्दी गरिरहेका छन्। उनले तोतेबोलीमा धम्की दिन पनि जानिसकेछन्, 'तपाईँहरूले यसपालि पनि मलाई छोड्नुभयो भने म उहुँ-उहुँ गरी रोइ बस्नेछु' भन्दै ओठ पिलपिल पारिरहेका छन्।
हामी बिलखबन्दमा पर्दछौँ। हाम्रो यात्रा रुकुमतिरको हो तसर्थ उनलाई साथमा लिन सक्दैनौँ। 'तिमीलाई लिन फेरि आउनेछौँ है बाबु भन्दै उनलाई थामथुम पार्न कोसिस गर्छौँ तर उनी राति अबेरसम्म जाग्राम बसिदिन्छन्। बिहानपख उनी सुतेको मौका छोपी हामी हेटौँडाबाट भाग्दछौँ। अबोध बच्चालाई झुक्याएर भाग्नुपर्दा देवकुमारी पछुतोले भक्कानिइरहेकी छिन्।
चितवनको पर्सामा आएपछि हामी वन्डेराकी फुपूलाई भेट्न खोज्दछौँ। फुपू अल्जाइमरको बिरामी हुनुहुन्छ। अरूलाई सितिमिती चिन्नुहुन्न। बाथको रोगले चलमल गर्न सक्नुहुन्न। दिशापिसाब अर्कैले गराइदिनुपर्छ र खाना अर्कैले खुवाइदिनुपर्छ।
सबथोक बिर्सँदा पनि फुपूले चिन्ने भनेकै फुपाजु मात्र हुनुहुन्थ्यो। तर फुपाजु बितेको ३ महिना बितिसक्यो। फुपूलाई यसको सुइँकोसम्म दिइएको छैन। फुपू कराइरहनुहुन्छ- ‘ए बुढौ, तिमी कता गयौ, छिटो आऊ।’
फुपूकी एक्ली छोरी देवी दिदीको बिहे चितवनमा भएकोले पछिल्लो समयमा फुपूफुपाजु पनि छोरीसँग चितवनमै बस्दै आउनुभएको थियो। मुसीकोटतिरका यहाँ कोही छैनन्। घरव्यवहारका सबै काम छोडेर फुपूलाई हेर्ने मात्र दिदीको दिनचर्या बनेको छ।
फुपाजुको १३ दिने काजक्रियामा आउँदा दिदीलाई भनेका थियौँ- ‘फुपूको साथसाथै आफूलाई पनि सम्हाल्नुहोला दिदी, हामी फेरि आउनेछौँ।’ तथापि त्यस बेलादेखि यहाँ आउन पाएका छैनौँ।
हामी चितवनबाट बुटवलतिर लाग्छौँ। यो दूरी ११४ किलोमिटरजति छ। साविकमा साढे दुई घण्टामै कट्ने बाटोमा अहिले कतै जाममा परिएन भने ५/६ घण्टा लाग्छ। धुलो उत्तिकै छ। जति पानी हाले पनि तुरुन्तै सुकिहाल्छ। धुलोले लुगाको रङ र मान्छेको अनुहार चिन्नै नसकिने भएको छ।
स्वास फेर्दा यही धुलो फोक्सोमा ओहोरदोहोर गर्छ। सडक आसपासका बासिन्दालाई झन् कति सकस भएको होला? मर्मत थालेको ४/५ वर्ष नाघिसक्यो र मर्मत सकिन अझै ४/५ वर्ष लाग्न सक्छ। बाटोको स्तरोन्नति भैरहे पनि परिणाम सन्तोषप्रद देखिँदैन। नजिकिँदै गरेको बर्खाले बाटो अझै बिगार्ने पक्का छ।
देवकुमारी आफै बिरामी छिन् तर यात्रामा साथ दिन घरबाट मसँगै निस्किहाल्छिन्। बिग्रिएको बाटोमा गाडी हल्लिरहँदा देवकुमारीले बान्ता रोक्न सक्दिनन्। आन्द्राभुँडी ओकलिएजस्तो गरी तारन्तार बान्ता भैरहेको छ। बिहानैदेखि चिया, नास्ता र खाना मुखमा हालेकी छैनन्। एक त सधैँकी बिरामी झन् निरन्तर बान्ताले उनको अवस्था झन्-झन् नाजुक हुँदै गइरहेको छ।
‘खण्ड-खण्ड गरी भत्काउँदै र भत्काएको भाग उतिखेरै बनाउँदै गरेको भए यात्रीलाई यति विधि सास्ती त हुँदैनथ्यो। जताततै एकैचोटि किन भत्काउनुपरेको होला?’ देवकुमारीले दिक्दारी ओकल्छिन्।
‘एकैचोटि सबैतिर नभत्काए काम गरेको कसरी देखिन्छ त? अर्कोचोटि सरकारमा पुगिन्छ पुगिँदैन, अहिल्यै आफ्ना कित्ताका ठेकेदारहरू र कार्यकर्तालाई पाल्नुपोष्नु परिहाल्यो। सडक बनाउनेहरूलाई अकुत कमाइको अवसर पनि दिनुपर्यो नि,’ चालकले सरकारतिर चोटिलो शब्द-झटारो तेर्स्याउँछन्।
हामी बल्लतल्ल दाङको लमही पुग्दछौँ। बाटो सद्दे हुँदा लमहीबाट कोहलपुर उति टाढा होइन। गाडीबाट अढाइ घण्टामै पुग्न सकिन्थ्यो। तर अहिले यसै भन्न सकिँदैन। कोहलपुरमा मेरी सानीफुपू बस्नुहुन्छ।
उहिले सर्वसाधारणलाई काठमाडौं जाने काम उति पर्दैनथ्यो। बरू हाम्रोतिर इन्डिया जाने चलन थियो। लाहुरेको लर्कोले मुसीकोटको समाचार कोहलपुर र कोहलपुरको समाचार मुसीकोट सहजै पुर्याउँथे र फुपू नजिकै रहेको महसुस हुन्थ्यो। अहिले कोहलपुर र नेपालगन्ज मुसीकोटेको बस्तीले भरिएको छ। कोहलपुर निवासी फुपूको समाचार अहिले सितिमिती मुसीकोटमा आइपुग्दैन। न त माइतीको खबर फुपूले पाउनुहुन्छ।
फुपू आफै एक लामो कथाकी पात्र हुनुहुन्छ। उहाँले जीवन जिउने क्रममा गरेको संघर्ष सम्झँदा पनि मुटु काम्छ। जन्मँदै आमाबाबु गुमाउनुभएकोले आफ्ना दाजुभाउजूको संरक्षणमा हुर्किनुभयो। सानैमा बिहे भयो तर लोग्नेले उहाँलाई छोडेर विदेशिए। विदेशिएका लोग्नेले केही वर्षतक फुपूलाई धम्कीयुक्त खबर पठाइरहे। तसर्थ बिहे भैसकेकी बहिनीलाई दाजुभाउजूले आफ्नो घरमा आश्रय दिन डराए।
फुपूले दूधे बच्चा लिएर एकपछि अर्को पराई घरमा डेरा सर्दै बच्चा हुर्काउनुभयो। एकदिन लोग्ने विदेशतिरै हराएपछि उहाँको भविष्य पनि अन्यौलग्रस्त भयो। त्यसपछि काखे बच्चालाई त्यागेर दुई वटी सौतामा जानुपर्यो। केही वर्षपछि फुपूफुपाजुले कोहलपुरतिर बसाइँ सर्नुभयो। पहिल्यै सम्पर्कमा नरहेका माइतीहरू झनै टाढिए। फुपूकहाँ पुगेको बखत उहाँ धाइराको काठ सुकेझैँ सुक्दै गएको देख्दा छाती चारचीरा हुन्थ्यो।
कोहलपुरमा फुपूका दुई छोरा र एक छोरी जन्मिए। छोराहरू हुर्किएर आआफ्नो पेसा समातेपछि फुपूफुपाजुको खुसीका दिन फर्किएका थिए। ६ महिनाअघि फुपाजु बितेपछिको फुपूको पीडा भनीसाध्य छैन।
फुपाजुको निधनको तेह्रौँ दिनको काजक्रियामा उपस्थित हुन म कोहलपुर पुगेको थिएँ। समवेदना पोख्दै फुपूलाई छिट्टै भेट्न वचन दिएको थिएँ। तर अहिलेसम्म त्यहाँ पनि जान सकेको छैन। उहाँले पीडा माइतीसमक्ष पोखेर हल्का हुनको लागि हाम्रै पर्खाइमा हुनुहोला। तर उहाँलाई भेटेर रुकुम पुगी फर्कन एकहप्ते बिदाले पुग्दैन।
हामी बाटो मोडेर तुल्सीपुरस्थित साढुभाइ अशोकको घरमा बास बस्न पुग्दछौँ। साढुभाइ सर्भेको कामको सिलसिलामा जाजरकोटमा हुनुहुन्छ। साली निरा र भतिजो अनिश ज्वरोले ओछ्यान परेका छन्। निरा दाङकै एक विद्यालयमा पढाउँछिन्। यो वर्ष धेरै बिदा खर्च भइसकेकोले फेरि बिदा माग्न डराएकी छिन् तथापि बाबुको वार्षिकीको लागि रुकुम जानैपर्ने छ। बिरामी छोरालाई एक्लै घरमा छोड्नुभन्दा घरमा ताल्चा मारेर आफूसँगै हिडाउँछिन्।
हामी मुसीकोटतिरको बाटो समात्छौँ। यो सडक पनि वर्षौँदेखि मर्मतकै क्रममा छ र अहिले भर्खरै ट्र्याक खोल्दै गरेकोजस्तो देखिन्छ। मर्मतको क्रममा सडकका दायाँबायाँका किनारहरू भताभुङ्ग पारिएको छ। सडकको बीच-बीचमा ढुङ्गा र माटो थुप्र्याइएको छ। सडकभरि गाडी ठोक्किने ठूलासाना खाल्डाखुल्डीहरू छन्।
सुरूमा ट्र्याक खोलिँदा सहरमा चलाउन नमिल्ने ब्रेकफेल भएका थोत्रा गाडीहरू यस्तै निर्माणाधीन सडकमा पठाइन्थे। ती थोत्रा गाडीले निम्त्याएका दिनहुँका दुर्घटनाहरू कहालीलाग्दा थिए। बाटोको उस्तै अवस्था देख्दा फेरि आउन नपरे हुन्थ्यो भन्ने लाग्थ्यो, तर बारम्बार यही बाटो हिँडिरहनुपरेको छ।
हामी मुसीकोटस्थित आफ्नो घरमा पुग्छौँ। उहिले १५/१६ जनाको ठूलो परिवारले गुन्जायमान हुने घर अहिले सुनोसुनो छ। घरका भित्ताका पाप्रा उप्किएका छन्। भुइँमा कसेर थुप्रिएको छ र घरको दलिनसम्मै झारले ढाकेको छ।
घरलाई सफासुग्घर तुल्याएर गुल्जार तुल्याइराख्ने मेरी आमा गत वर्ष बित्नुभएपछि यो घर पीडाको गहिरो आहालमा डुबेको छ। बा त्यही पीडाको आहालमा तैरिरहनु भएको छ। कहिले आमाको करमा त कहिले आफ्नै रहरमा देशविदेश घुमिरहने मेरो बाको कर र रहर आमासँगै समाप्त भएका छन्।
हामी चाहन्छौँ अशक्त अवस्थामा पुग्नुभएको वृद्ध बाबुलाई काठमाडौंमा लैजाने। काठमाडौंमा छोरा नातिहरू थुप्रै छन् तथापि उहाँ उता जानै मान्नुहुन्न।
उहाँ भन्नुहुन्छ, 'म यहीँ मृत्यु कुरेर बस्छु। गाउँमै प्राण त्याग्ने मेरो चाहना छ। मेरो निधनमा यी गाउँलेहरू नै मलामी बनून्। मेरो शवयात्रा सानीभेरीको त्रिवेणीसम्म पुगेको वरपरको गाउँले देखोस्। मेरो पार्थिव शरीर गाउँकै काठपातले जलोस्। मेरो निधनमा मेरै गाउँ शोकले डुबोस्। यी कुराहरू तिम्रो सहरमा सम्भव छैनन्। सहरमा त म दुई दिनमै निस्सास्सिएर मरिहाल्छु। बिन्ती छ मलाई सहर नलैजाओ!'
बाको यस प्रकारको जिद्दीउपर हामी हार्दै भन्छौँ, 'उसोभए आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। हामी छिट्टै भेट्न आउँला है बा।'
उहाँ केही जवाफ दिनुहुन्न। उहाँका आँखाबाट आँसुका मोटा धारा गाला हुँदै गलासम्मै पुग्छन्।
हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार ससुराली पुग्दछौँ। आजै दिवंगत ससुराबाको वार्षिक तिथिको कार्यक्रम छ। ससुरालीको पुर्ख्यौली घरमा सासुआमा मात्र आशौच बारेर बस्नुभएको छ। उहाँको गला थाइराइडले अवरूद्ध छ। बाथको रोगले खुट्टा अवरुद्ध छन्। अशक्तावस्थामा साथ दिने सातजना छोराछोरी र दर्जनौँ नातिपनातिहरू भए पनि उहाँ पुर्ख्यौली घर छोडेर छोराछोरीको घरमा आश्रय लिन जानै मान्नुहुन्न।
वार्षिक तिथिमा गाउँ नै यो घरमा उर्लिएको छ। महिलाहरू रोटी बेल्दै पकाउँदै छन्। पुरुषहरू हलुवा र खिर पकाउँदै छन्। आँगनमा जेठान र सालाहरू सेतो धरोमा बेरिएर रामप्रसाद पण्डितले सिकाएअनुसार बारम्बार आआफ्ना जनै सभ्य र असभ्य पार्दै पुजामा व्यस्त हुनुहुन्छ।
शंखघण्टको ध्वनि र धुप तथा अगरबत्तीको धुवाँ वरिपरि फैलिएको छ। यो वर्षभरिको पीडाको मर्मत हुनुपर्छ। दुःखलाई मर्मत गरेर सुख निकाल्नुछ। मान्छेको जीवनमा सुखको बाटो घरीघरी भत्किरहन्छ। पूजाआजा, चाडपर्व, चालचलन र व्यवहारको माध्यमले भत्किन थालेको सुखलाई मर्मत गरेर जोगाइरहनुपर्छ।
गाउँमा जाँदा मोहलाल दाइसँग प्रायशः भेट हुन्छ। उनले खाना खुवाउन आफ्नो घरमा बोलाउँछन्, तर हामीले उनको घरमा खानाखाने फुर्सद मिलाउन सकेका छैनौँ। मोहलाल दाइ मेरा बालसखा पनि हुन्। उनीसँग भेट्दा मेरो बाल्यकाल ब्युँतिन्छ। दाइँ हाल्न सँगै गएको, परालको ढिकुरो बनाउँदै पल्टङबाजी मारेको, भालेजुधाइमा एकअर्कालाई पच्छारेको, एउटै थाल चाटेको, काँक्रा चोर्न गएको, मोहलाल दाइसँगका सम्झना त कति कति!
यसपालि उनको घरमा जान नसके पनि उनीसँग ससुरालीमै भेट हुन्छ। खीर, हलुवा पकाउँदै पाहुनाहरूलाई आलोपालो खुवाउन उनी व्यस्त छन्। बेलुका कम्मर हल्लाई-हल्लाई नाच्छन्। उनको सक्रियता देख्दा पहिलेको भन्दा अलि स्वस्थ भएछन् भनी खुसी लाग्छ। उनी दोहोर्याउँछन्, ‘यसपालि त मेरो घरमा तैँले हात जुठ्याउनैपर्छ, अर्को पटक भनेर टार्न पाउँदैनस् नि!’
‘यसपालि त पक्का आउँछु, दाइ।’
तर पूजामै दिन बित्छ र नाचगानमै रात बित्छ। भोलिपल्ट बिहानै नफर्किए पूर्वनिर्धारित समयमा अफिस पुगिँदैन। दाइलाई माफी माग्दै भन्छु- ‘फेरि भेट्न आउँछु ल, दाइ। अर्कोचोटि त पक्का।’
मुसीकोटको छोटो बसाइँपछि हामी मुटु गाँठो पारेर गाउँबाट मिर्मिरेमै बिदा हुन्छौँ र लाग्छौँ कर्मथलो काठमाडौंतिर। विगतको आगमनमा पनि फेरि भेटौँला भनी धेरैलाई वचन दिएका थियौँ। तथापि धेरैजसोसँग भेट गर्न नसकेको पछुतो उत्तिकै छ। कतिले त भने होलान् 'फलानोले हामीलाई के टेर्थ्यो, यसपालि पनि भेटै नगरेर फर्किएछ।'
यसपालि पनि जतिलाई भेट्न सकियो उतिलाई फेरि भेट्न आउँछौँ भनेर लोकाचार पारेका छौँ। तर अफिसको कामको चटारो र बाटोको सकसले गर्दा उता पुगेपछि छिट्टै फर्कन सम्भव छैन। बाटोभरि गाउँ र सिधासादा गाउँलेहरू आँखामा पछि लागिरहन्छन्। अमूर्तरूपमा पछ्याउनेहरूलाई फेरि भेटौँला भनी टार्न मुस्किल छ।
मुग्लिन पुगेपछि कर्ण ठूल्दाइको फोन आउँछ- ‘थाहा पायौ? मोहलाल भाइ त आज बिते नि!’
हामी झसङ्ग हुन्छौँ। नपत्याएर फेरि सोध्छौँ- ‘के भन्नुभा'को? को खसे?’
‘ठूलाबाको छोरा मोहलाल भाइ खसे के! विचरा उपचारै नपाएर बिते। छिटो साधन नहुँदा नजिकैको अस्पताल पुर्याउन पनि सकिएन।’
हामी त्यो अकल्पनीय खबरले मुख बायको बायै हुन्छौँ।
हे भगवान, फेरि भेट हुने आश्वासन दिएको मोहलाल दाइसँग अब कहिल्यै भेट हुनेछैन। वियोगको वेदनाले छाती चिराचिरा पर्छ।
‘तिमीहरू जहाँ पुगेको भए पनि छिट्टै फर्किहाल,’ ठूल्दाइले उर्दी जारी गर्नुहुन्छ।
‘खै त दाइ, अफिस पुगिएकै छैन। अस्ति पनि अफिसमा बिदा दिन आनाकानी गरेका थिए। सोही बिदा नसकिँदै फेरि थप बिदा पाइँदैन होला। कसो गरी आउने होला?’ म आफ्नो लाचारी प्रस्तुत गर्छु।
‘यस्तो अवस्थामा पनि बिदा नदिने कस्तो अफिस हो तेरो? जागीर ठूलो कि नाताकुटुम्बको सम्बन्ध ठूलो?’
दाइको आशय थियो, 'बिदा नपाए जागीर छोडेरै भए पनि गाउँसमाजलाई मर्दापर्दा साथ दिनुपर्छ।'
दुई दिन लगाएर बल्लतल्ल कटेको उखडखाबड बाटो सम्झन्छु। बाटोले दुखाएको आफ्नो जीउ र बान्ताले आलसतालस भएकी देवकुमारीलाई सम्झन्छु। भाग्य नै उखडखाबड भएका हामीलाई घर फर्कन हतारो हुँदैमा बाटोको मर्मत रोकिनेछैन। मन जलिरहेको बेला बाटो झनै लम्बिन्छ।
उता भाउजू र भतिजाभतिजी अलापविलापले धौथाम्नु भएका होलान्। अहिल्यै फर्किहाले पनि दुई दिनपछि मात्र मुसीकोट पुगिन्छ। उफ्!
मोहलाल दाइसँग गरेको वाचा सम्झन्छु- फेरि भेट्न आउँछु ल!
आच्छुपाच्छु भएर सासै रोकिन खोज्छ।