फलामे ढोकाको रुपमा रहेको एसएलसी पार गर्नु कुनै समय गाउँ-समाजमा ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो। एसएलसीको नतिजा ढिलोमा असारको दोश्रो हप्तासम्ममा हुने भएकोले जेठको अन्तिम सातादेखि नै बिहान ७ बजेको रेडियो नेपालको समाचार सुन्नु मेरो दैनिकीजस्तै थियो।
असार १५ नजिकिँदै आएकोले रोपाइँको तारताम्य हुँदैथियो। कामको चटारोले बिहान ५ बजेदेखि नै जोतिनु पर्दा नतिजा निस्कने दिनको दैनिकी नै छुटेछ। एसएलसीको नतिजा ननिस्किउन्जेलसम्म मुटुमा धड्कनका ग्राफहरू वर्षाको भेलजस्तै तल-माथि उर्लिरहेका आभास हुन्थ्यो।
एकजना छिमेकी मेरो अगाडि उभिएर त्यसै दिन प्रकाशित एसएलसीको नतिजा सम्बन्धी रेडियो नेपालको समाचार सुनाउँदै भने- ‘अग्रिम बधाई।’
राष्ट्रिय पत्रिकाको नाममा गोरखापत्र थियो। त्यो पनि साइकल चढेर आधा घण्टा लाग्ने रत्ननगर टाँडीमा मात्र उपलब्ध हुन्थ्यो। मन मस्तिष्कमा उर्लिरहेको भेलसँगै साइकलमा हावासरी रत्न नगर टाँडी पुग्दा नारायणगढमै पत्रिकाको हारालुछले त्यहाँको बाटो छेकिसकेको रहेछ।
बिहानदेखि उर्लिरहेको भेल ३ बजेतिर साम्य भएर गयो। फलामे ढोका पार गर्न सकेकोमा सामाजिक प्रतिष्ठाको पहिलो अध्याय सुरु हुँदा एक किसिमले गर्वानुभूति जगायो। मेरा शुभचिन्तक र विद्यालय परिवार सबैलाई धन्यवाद दिएँ।
एसएलसी पार गर्दाको खुसीको अवस्था भने धेरै दिन टिक्न सकेन। मेरो त्यो खुसी ऐँसेलुको फल जस्तै थियो। मौसम पछिको काँडा जस्तै। सारथीको रुपमा रहेका दाजु पनि छुटिनु भएपछि मेरो शिक्षादिक्षा र लालनपालनको अभिभारा एक्ली आमाको काँधमा अजंगको पहाडजस्तै तेर्सिएको थियो। ३/३ वटा मुद्दा समेत खेप्नपर्दा त झन् त्यही पहाड ज्वालामुखी बनेर अगाडि उभिएझैँ लाग्थ्यो।
तिनै दुःखलाई नै अवसरको रुपमा लिएँ। तगारोलाई पन्छाउँदै लक्ष्य प्राप्तीको लागि अघि बढ्ने जमर्को गरिरहेँ। सास रहेसम्म आश रहन्छ भनेझैँ सम्भावनाका सबै द्वारका अगाडि आशाका कमण्डलु लिएर उभिन पुगेँ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं कता-कताबाट निजी स्कुलमा पढाउने अवसर जुर्यो। मेरा लागि त्यो सञ्जीवनी बुटी नै बन्यो। बाटो पहिल्याउन गाह्रो रहेछ। त्यसपछि त बाटोले नै आफूलाई खोज्दै आउँदो रहेछ। स्नातक तह पास नगरुन्जेलसम्म त्यसपछिका दिन सहज रुपमा बिते।
शिक्षा आयोग दिएर साथीहरूले जागिरको स्थायित्व गरेपछि बल्ल मेरा आँखा खुले। लगत्तै अर्को वर्ष शिक्षा आयोग खुलेपछि निमावि शिक्षकमा जाँच दिएँ। लिखित परीक्षा उत्तिर्ण पनि गरेँ। तर अन्तर्वार्तामा सफल हुन नसक्दा सरकारी जागिरे हुने मेरो सपना आकाशको फल जस्तै भयो।
स्थायित्वको खोजी गर्दा गर्दै स्नातक तह पनि पूरा गरेँ। रोजगारी र उच्च तहको अध्ययनलाई सँगसँगै लैजाने अवस्था रहेन त्यसपछिका दिन। काँडाले जति जेलिए पनि मेरो लक्ष्य ऐँसेलु टिप्नु नै थियो। गाउँ समाजमा थप अवसरको सम्भावना थिएन। त्यसैले स्नाकोत्तर तहको लागि गुजराको रोजीरोटी नै त्यागेर काठमाडौं ताक्नु पर्ने भयो।
घरपरिवार छाडेर बिरानो ठाउँमा एक्लै हिँड्नु पर्दाको अवस्था कहाली लाग्दो नै हुँदोरहेछ। लाखौं रकम खर्चिएर खाडी मुलुक जानेहरूको त झन् अवस्था कस्तो पो होला! यिनै कुरा मनमा खेलाउँदै काठमाडौं हानिएँ।
काठमाडौं पुगेको भोलिपल्टै दिदी, भिनाजु, भान्जाभान्जीलाई भेट्न ललितपुरस्थित बाँडे गाउँ पुगेँ। मेरो भिनाजु ललितपुरस्थित बाँडे गाउँमा रहेको शहीद स्मारक विद्यालयमा अंग्रेजी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो। दक्षिणकालीमा हुने सो स्कुलको वनभोज कार्यक्रम सोही दिन तय हुँदै रहेछ।
भिनाजुसँगै मलाई पनि सो स्कुलको वनभोज कार्यक्रममा सरिक हुने अवसर मिल्यो। अरु सरमिस जस्तै विद्यार्थीको एउटा सानो समूहको व्यवस्थापन गर्ने जिम्मेवारी मलाई पनि दिइएको थियो। त्यो जिम्मेवारीमा म आफूलाई कतै चुक्न दिइनँ। वनभोज कार्यक्रम सम्पन्न भएपछि प्रिन्सिपल सरले भोलिपल्ट विद्यालयमा सम्पर्क गर्न भन्नुभयो।
प्रिन्सिपलबाट अनुरोध भएअनुसार मैले शिक्षण पेसालाई सहर्ष स्वीकार गरी खाली रहेको मेरो समयलाई सदुपयोग गरेँ। अब भने काठमाडौंमा खुट्टा अड्याउने र टाउको ओत्ने निश्चितताको साथै स्नातकोत्तर तहको पढाइलाई समेत अगाडि बढाउने अवसर पाउने भएँ।
यस्तैमा २०५० जेठ महिनाको १ गते देखि १५ दिनको लागि विद्यालयको वर्षे छुट्टी हुँदै थियो। विद्यालयबाट हतपत्त छुट्टी नपाइने भएकोले यसै अवसरलाई उपयोग गर्दे घर जाने मनस्थिति बनाएँ।
बिहान सबेरै उठी साझा बसको काउण्टर तिर लागेँ। त्यतिखेर साझा बसको काउण्टर हालको सञ्चयकोष मल रहेको भवनकै आसपासमा थियो। ७ बजे खुल्ने जानाकारी पाएँ। घडी हेरेँ ५:३० बजेको रहेछ। त्यतिका समय व्यतित गर्न ठमेलस्थित कालधारामा आफन्तलाई सम्झन पुगेँ र बाटो सोझ्याएँ। अनिश्चयको भूमरीमा रुमलिरहेको गह्रुंगा मनलाई थोरै भए पनि बिसाएर ६:१५ बजे त्यहाँबाट निस्किएँ।
गन्तव्यतिर मोडिन सामाखुसी चोकमा टहलिन पुगेँ। दुवै टेम्पो फुत्कन पुगेकोमा अर्को टेम्पोको प्रतीक्षामा यताउती हेर्दे थिएँ। त्यत्तिकैमा तत्कालीन आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाका निर्देशक तीर्थ खनियाका भतिज शंकर खनियासँग जम्काभेट हुन पुग्यो।
शंकर खनियाकै सहयोगमा सोही दिन आधारभूत तथा प्राथमिक शिक्षा परियोजना झापाका लागि लेखापाल पदमा नियुक्ति लिएँ। दिनभरिको दौडादौडले पेटले समेत चारा भर्ने मौका पाएको थिएन। अब भने एक किसिमले विजय अनुभूतिले उन्मादको भोक पो जागेर आयो।
नियुक्ती पत्र बुझ्दा नै तुरुन्त हाजिर भैहाल्नू भन्ने निर्देशन पाएकोले विलम्ब नगरी झापा पुगेँ। झापामा ६ महिना बिताएपछि २०५० साल मंसिरमा सिरहा सरुवा भयो। केही सहकर्मी साथीहरू लोक सेवाको तयारीमा युद्धरत रुपमा लागि परेको पाएँ। लोक सेवाको कार्यक्षेत्र के हो भन्नेसम्म थाहा थिएन मलाई। संगत गुनाको फल भने झैँ मलाई पनि स्थायी जागिर प्राप्तीको तौर तरिकामा अभ्यस्त गरायो।
२०५१ को मध्यावधि चुनावपछि नयाँ सरकार बन्यो। पूर्ववर्ति सरकारले गरेका निर्णयअनुसारका सरुवा तथा नियुक्तिहरू अदलबदल हुने त परम्परा नै थियो। १२ वर्षसम्म अस्थायी रहेर सेवा गरेका सहकर्मी मित्रको पनि बदली भएकोले अरुलाई खाने बाघले मलाई पनि कुनै दिन झम्टन सक्छ भन्ने चिन्ताले सताउन थाल्यो।
शनिबारको दिन थियो। हिउँदका पारिला घाममा हरिया चौरका एउटा कुनातिर तास खेल्न जम्मा भएका खेलाडीहरूको तमासामा एकोहोरिरहेको थिएँ। पछाडिबाट कसैले मेरो हात ताने जस्तो लाग्यो, फर्केर हेरेँ। सोही कार्यालयका मुखिया उद्धव रिजाल रहेछन्।
उहाँले तानेर लानुभयो र अलि पर पुगेपछि भन्नुभयो- ‘तासको पत्तिजस्तै जिन्दगीभर यसैगरी फिटिरहने मन छ कि के हो?’
‘स्थायी हुने कोसिस त गरेकै हुँ सर। बटुवाले गन्तव्यसम्म पुग्ने ठिक बाटो पहिल्याउन नसकेरै हो कि जस्तो लाग्छ,’ मैले जवाफ बिसाएँ।
त्यसपछि मलाई उहाँकै कोठामा लानुभयो र लोक सेवाका पुराना प्रश्नपत्र अगाडि सार्दै परीक्षा पो लिन थाल्नुभयो। २५ वटा मध्ये १६ वटा सामान्य ज्ञान सम्बन्धी अब्जेक्टिभ उत्तर मिलाएँ। उहाँ दंग पर्दै सफल हुन सकिन्छ भन्ने मनोबल दिनुभयो। तर पनि म विश्वस्त हुन सकिनँ।
शिक्षा आयोगमा लिखित परीक्षमा नाम निकाले पनि अन्तर्वार्तामा असफल हुँदा त्यसप्रति मेरो निराशा बढेर गएको थियो। उहाँले आफ्नै उदाहारण दिनु भएपछि एक पटक अझै परीक्षा दिएर त हेरम भन्ने मुड बनाएँ।
मेरो शैक्षिक प्रमाण पत्र नै मेरो योग्यताको परिचय थियो। राजनीतिसँग मेरो कुनै सरोकार थिएन। साढेको जुधाइमा बाच्छाको मिचाइ भनेझैं सरकार अदलबदलको असरले मलाई पनि छोएछ। मेरो स्थानमा स्थायीतर्फका लेखापाल हाजिर हुन आएपछि मेरो जागिरको मानो सकिएछ भन्ने लाग्यो।
मेरो करार अवधि समाप्त गरेको पत्र त आएको थिएन। तैपनि एउटै खोरमा दुई सिंह रहनु उचित ठानिनँ। सबै हिसाबकिताब बुझाएर दायित्व बिसाएँ। नियुक्ती पत्र लिँदा फूलको थुंगाजस्तै ओजस्वीले भरिएको शरीर फर्कँदा ओइलाएको बिरुवा जस्तै भएर फर्किएँ।
चाडपर्व सकिएपछि लगत्तै जाडो लिएर मंसिर महिना आउँदै थियो। खेती बालीको नाममा धान थन्क्याउने र गहुँ छर्ने चटारो पर्थ्यो त्यतिखेर। त्यसपछि त हात खाली जस्तै बसिन्थ्यो।
नारायणघाटदेखि टाँडीसम्म प्रायःजसो ओहोरदोहर गरिरहने मेरो दिनचर्या नै बनेको थियो। त्यसै क्रममा मिनी बसको सिटको कुनामा पट्यारलाग्दो समयसँग जुधिरहेको थिएँ। मेरो बगलको सिटमा कता-कता देखेजस्तो भद्र व्यक्ति थपक्क बस्नुभयो। बस गन्तव्यतिर दौडँदा उहाँले हेर्दै गर्नु भएको पत्रिकामा मेरो नजर उसैगरी दौडिरहेको थियो। पत्रिकाको बीच भागतिर पदपूर्ति सम्बन्धी माग भएको लोक सेवाको सूचना रहेछ।
अगुल्टोले हानेको प्राणी बिजुलीदेखि तर्सन्छ भने झैं यो सूचनाले उही अन्तर्वार्ताको असफलतालाई सम्झायो। उनै मित्रको सुझावलाई एक पटक मनन गरी तिनै निराशालाई शक्तिमा बदल्ने प्रण गरेँ।
काठमाडौंसम्म पुगेर भए पनि दरखास्त फारम भरी लिखित परीक्षा दिएँ। सन्तोषजनक लिखित परीक्षाले सन्तोषजनक नतिजा दियो पनि। लगत्तैपछि भएको अन्तर्वार्ताले पनि नतिजा सन्तोषजनक हुने कुरामा विश्वस्त भएँ।
२०५३ सालको वसन्त ऋतु सकिएर गृष्म ऋतु प्रारम्भ हुँदै थियो। रुखको पालुवाले किशोर अवस्था निखारिसकेको थियो। मेरा इच्छा आकांक्षामा पालुवा भरिदिने कुनै ऋतु थिएनन्। बढ्दो तापमानले एक प्रकारले चितवन जलिरहेको थियो।
हरेक बुधवार निस्कने लोक सेवाको पदपूर्ति सम्बन्धी संगालो बोकेको गोरखापत्रको अंक छुट्न पुग्दा त्योभन्दा बढी मेरो मन जलिरहेको हुन्थ्यो। रोजगारपछिको बेरोजगारी जिन्दगी अझ कष्टकर लाग्दो रहेछ। मेरो शैक्षिक योग्यताले मलाई नै गिज्याइरहेको भान हुन्थ्यो। यतिका पढेर पनि घरको मानो अझैं छोड्न नसक्दा मेरो मुटु पटक-पटक छियाछिया बनाउँथ्यो। त्यसैले आफूलाई लुकेर जिउन पनि काठमाडौं नै उपयुक्त ठानेँ।
काठमाडौं पुगेको भोलिपल्ट बिहान सखारै उठेँ। नित्यकर्मपछि बाटो त लागेँ तर गन्तव्य निश्चित थिएन। पूर्वको लालीलाई सूर्यको झुल्कोले मेटिसकेको थियो। कहिलेकाहीँ तिनै सूर्यलाई बादलले छोपिदिँदा आफनो छाया आफैदेखि विलीन भएको पाउँथेँ।
सडकमा गाडीका आवाजहरू क्रमशः बढ्दै थिए। मेरो मुड कर्कश आवाजसँगै भौतारिँदै थियो। टंगालबाट सोझिएका पाइलाहरू चाबहिल पुगेपछि एकसाथ टक्क अडिन पुगेँ। कुन मनले मेरा पाइलाहरू त्यता बढे, आफ्नै मनसँग सोध्ने जमर्को गरिरहेँ। मेरा पाइला नारायण गोपाल चोकतिर सोझिँदा समेत म त्यता किन लागेँ त्यसको उत्तर मैसँग थिएन। मानौँ म दिशाहीन यात्री थिएँ।
नारायण गोपाल चोक पुगेपछि भने बालुवाटार हुँदै पुनः टंगाल फर्कने निश्चय गरेँ। मेरा भावी योजनाहरू गाडीका कर्कश आवाजमा ठोकिँदै विलीन हुँदै गइरहेका थिए। अन्तर्वार्ताको नतिजा पर्खाइमा मेरो मन समुद्रको छालजस्तै विभिन्न सम्भावनाबीच ग्राफजस्तै उचनिच भैरहेका थिए।
मेरा कोही सहयात्री थिए भने त्यो भोक र थकाइ मात्र थियो। मलाई तिनै भोक र थकाइले क्यान्टिनतिर पाइला बढाउन सल्लाह दिए होलान्। संयोगले त्यही क्यान्टिनको कुनातिर छरिएर रहेका पत्रपत्रिकामा मेरा आँखा पुगे। भोक र थकाइसँगै पत्रिकासँग पनि सहयात्रीको आत्मियता जोड्न पुगेँ। त्यही दिनमा नै गोरखापत्रमा अन्तर्वार्ताको नतिजा निस्केको रहेछ।
नतिजा पढ्ने जाँगर चलेन। पहिलोपटक अन्तर्वार्तामा असफल भएको मान्छे म। त्यसैले जति भरोसा लागे पनि नतिजाप्रति अगुल्टोले तर्सेको प्राणी जस्तै देखिएँ। नतिजा नहेरी फर्कँदा मेरो यात्रा पनि त अधुरो हुन्थ्यो नि।
असफलतालाई पनि व्यहोरेर सफलता नजिक पुग्छु भन्ने दह्रो मन बनाएँ। नामको सुरु अक्षरलाई हातले छोपी क्रमशः हेर्दे गएँ। बिहानी पखको सूर्यको किरण डाँडाबाट उक्लँदै गर्दा धर्तीलाई जसरी उज्यालोले न्यानोको मात्रा बढाउँदै जान्थ्यो, मेरा आशाका किरणहरू पनि उसैगरी मेरा चेहरामा प्रज्वलीत हुँदै गए।
म अन्तर्वार्तामा सफल भएछु। बिहानदेखिको भोक र चक्कर आकाशमा मडारिएको चैते बादल जस्तै एकैछिनमा हराएर गयो।
समय-समयमा जिल्ला र क्षेत्रीय स्तरमा हुने हाजिरी जवाफ, निबन्ध लेखनमा विद्यालयले सहभागिता जनाइरहन्थ्यो। यस्ता अतिरिक्त क्रियाकलापमा म पनि नियमित रुपमा सरिक भैरहन्थेँ। यसले दिने नतिजा पनि सन्तोषजनक नै हुन्थ्यो।
२०५० सालतिर चितवन महोत्सव हुने क्रममा चितवनको चिनारी स्वरुपको पुस्तक प्रकाशन हुँदा मैले त्यसलाई उपयोगी हुने सम्झेर सुरक्षित राखेको थिएँ। अन्तर्वार्ताकारले चितवनकै कुरा लिएर पहिलो प्रश्न तेर्स्याए। निर्धक्कसँग जवाफ दिन सकेकोमा निकै आशावादी थिएँ।
पहाडका उकाली र ओराली जस्तै जीवनरुपी आरोह र अवरोहपछि चुँडिँदै गरेको आशारुपी कोपिलमा जीवनरुपी फूल फुल्ने अवसर प्राप्त हुँदा तिनै संघर्षबाट निस्कने परिणाम सबैभन्दा सुखद् हुँदो रहेछ। 'काँडाबीच पनि फुल्ने रहेछ जीवन' भन्ने गीतको बोलमा मेरो जीवनको सार्थकता पनि जोडिएको रहेछ भन्ने आभाष हुन्छ, त्यो दिन सम्झँदा।