‘ओइ एलिशा! के लागेको यो बेन्चमा?’
म बसेको ठाउँमा उसले रातो देखेछ। ११ वर्षकी थिएँ। आमाले भन्नुभएको याद आयो- ‘दाजुभाइले देख्नुहुन्न है यो कुरा।’
विडम्बना! मेरो त पहिलो पटक महिनावारी हुँदै मैलेभन्दा पहिला केटा साथीले रगत देख्यो।
ला! अब मलाई पाप पो लाग्ने हो कि? मनमा एक प्रकारको त्रास जाग्यो।
अबदेखि मेरो पनि आमाको जस्तै शौचालय जाँदा रगत जाने भयो। यो कुरा सोचेर म पनि रगत जस्तै रातो भएँ। छक्क परेँ, डराएँ।
मेरो मुत्रद्वारको बनोटमा अचानक परिवर्तन आएछ। म एक्लै तर्सिएँ। बिहानसम्म नभएको घाउ कसरी आयो अचानक? यो कुरा मैले आमालाई सुनाएँ।
‘अब मेरी छोरी नि तरुनी भई,’ आमा मुस्कुराउँदै आफ्नो थोत्रे लुङ्गीको थाङ्ना बनाउन थाल्नुभयो।
‘तरुनी भई’ को आशय भने मैले बुझिनँ। आमाको मुहार हेर्दा यस्तो लाग्यो कि सायद म भर्खर फक्रँदै गरेकी एउटा फूल हुँ र मेरो रजस्वला हुनु भनेको त्यो फूलमा रङ चढ्न थाल्नु हो।
सानै उमेरमा रजस्वला भयो। पहिलो पटक त कति बेला भयो त्यो नि थाहा पाइनँ। त्यो बेला सबैभन्दा धेरै डर त आफ्नै साथीहरूदेखि लाग्थ्यो। थाहा पाए भने मलाई कुन नजरले हेर्लान्?
साथीहरूले भन्थे- ‘यसको भैसकेको पो रे त, त्यसको भयो रे, उसको भएको रे पो त।’ मेरो पनि थाहा पाएपछि त्यस्तै भनेर कुरा काट्छन् होला। ‘छिःछिः दूर! दूर!’ भन्छन् होला भन्ने डर सधैँ मनमा रहिरहन्थ्यो।
समयको तल्लो डाँडा माथिल्लो डाँडा गर्दै जाँदा तल्लो पेट दुख्ने समस्या नि देखापर्न थाल्यो। बैँसको उकालो चढ्दै जाँदा रगत नि अधिक मात्रामा बग्न थाल्यो। मैले सम्हाल्न सकिनँ। अनि त्यो रगतको गन्ध पूरै कक्षामा फैलियो।
एउटा प्याडलाई वरिपरि थाङ्नाले बेरेर बिहान घरदेखि दिउँसोभर स्कुलमा च्यापिरहनु पर्थ्यो। धेरै समय भएपछि थाङ्नाले दुर्गन्ध फैलाउन थाल्थ्यो। अझ त्यतिमा नि नअडेर बेन्चमा समेत लतपतिन्थ्यो।
त्यसैले म आफू बसेको ठाउँबाट हल्लिनै मन गर्दिन थिएँ। तर शिक्षक कक्षाभित्र छिर्नु हुँदा र बाहिर निस्कनु हुँदा उठ्न करै पर्थ्यो। अरूबेला उठ्नु नि कसरी, दुवै हातले पेट दबाएर बस्नुपर्ने हुन्थ्यो।
बेलाबेला त सास नै तलमाथि नजोडिएको झैँ हुन्थ्यो। छटपटीले गर्दा झन् बेन्चमा रगत पोतिन्थ्यो। कहिले आधा रातमा उठेर पानी तताएर पेट सेक्नुपर्ने। पेटमा सल बाँधेर भए नि परीक्षा दिन जानुपर्ने।
कोही सुनिदिने भए नि त्यो पीडाको बारेमा सुनाउन पाए कति राहत मिल्थ्यो होला झैँ लाग्छ। कसैले ‘सन्चो छैन?’ भनी सोधिदिए नि कस्तो सास आए झैँ लाग्छ। कसैको न्यानोपनमा बेस्मरी रुमलिन मन लाग्छ कि त्यो दर्द नै छुमन्तर होओस्।
‘आमा, किन मैले नै यो पीडा भोग्नु पर्ने?’
आमा भन्नुहुन्थ्यो- ‘पछि थाहा पाउँछस्।’
गाउँमा बसेपछि कामले त कहिले छोड्दैन्थ्यो। पेट दुख्ने बिराम नि अब त अनिवार्य हुनथाल्यो। आमाले त आराम गर् भन्नुहुन्थ्यो तर बुढी बोजु डोको बोकिरहेको देखी-देखी म आँखा चिम्लेर सुत्न सक्दिनथेँ। दिनरात थाके नभनी काम गर्ने आमाले एक्लै भैँसी, सुँगुरको खोले अँगेनाबाट उतार्दै गरेको देखी-देखी म पेट समाई बस्न सक्दिन थिएँ।
लाठे दिदी भई-भई बहिनीको त्यो कलिलो हातले डाडु-पन्यू समाएको देखी-देखी कहाँ आराम लिन सक्थेँ र म! दिनभर छोराछोरीको स्कुलको फी जुटाएर घर आएको मेरो बुवाको थकित शरीरले ‘खाना पाक्यो जेठी छोरी?’ भन्दा ‘आज पकाउन सक्दिनँ कसरी भन्न सक्थेँ र? (मेरो परिवारमा रजस्वलाको बेला भान्सा गर्नमा रोकटोक थिएन।)
हरेक महिना आराम लिएर साद्य नि त हुँदैन। मैले सोचेँ र अब यदि यो पीडा मैले भोग्नै पर्ने हो भने अब यहीँ पीडा सँगसँगै आफ्नो कहानी कोर्छु भनी आत्मबल बढाएँ। अहिले थाहा पाउँदैछु कि त्यो पीडा त महिला आफूले आफैप्रति गर्व गर्ने गर्भको कथा कोर्ने मसी पो रहेछ। त्यो पीडा त हरेक महिलाको ठूलो सपना पूरा गर्ने तन्त्र पो रहेछ।
थाहा पाउँदैछु कि किन मेरी आमाले त्यो रगतबाट जस्तै दुर्गन्ध आए नि कहिल्यै छ्या! छिः थु! भनेको सुनिनँ किनकि त्यो रगतलाई हेला गर्नु आफ्नो सन्तानलाई हेला गर्नु सरह रहेछ। त्यो रगतको दुर्गन्धभित्र आमाको बास्ना पनि लुकेको हुँदोरहेछ।
मातृत्वको बिरुवा त छोरी आमाको गर्भमा हुँदै उनमा रोपिएको हुन्छ तर त्यो बिरुवा छोरीको पहिलो रजस्वलादेखि फस्टाउन थाल्दो रहेछ। जस्तै ठूलो पीडा भए पनि औषधि प्रयोग गर्न नमान्ने नारी यहाँ धेरै छन्। उनीहरू आजको यो पीडाले भोलिको पीडा सहन सक्ने शक्ति बटुल्दा रहेछन्!
एउटा सत्य कुरा भनौँ? उनलाई महिनावारीको पीडादेखि त्यति डर लाग्दैन जति आफ्नो महिनावारी हराउँदा लाग्छ। अचम्मकै कुरा हो नि है! जुन पेट हामीलाई सामान्य घ्याम्पो मात्र लाग्छ भोलि त्यही घ्याम्पो कसैको ९ महिनाको ठूलो संसार हुनेछ।
सायद यही कुराले होला महिनावारीको पीडा उनलाई पीडा नभई भोलिको संसारलाई जित्ने आमाको सर्वश्व खुसी लाग्छ र उनी त्यो पीडा खुसीको साथ सहन्छिन्।
रजस्वलाको पीडा, पीडा मात्र नभई हरेक छोरीको तपस्या हो। रजस्वला हरेक महिलाको शिरको श्रीपेच हो जुन भारी होला तर बोझ हुँदैन। मलाई गर्व लाग्छ कि म योनिद्वारबाट रगत बग्ने जातको मानिस भई जन्मिएँ।