मौसम परिवर्तनसँगै हुने मौसमी फ्लु एक प्रकारको भाइरसको संक्रमणबाट हुने रुघाखोकी हो। प्रायःजसो इन्फ्लुएन्जा भाइरसको संक्रमबाट बिरामीहरूमा रुघाखोकीलगायत ज्वरो आउने, शरीर धेरै दुख्ने, आलस्य हुने, टाउको दुख्ने, आँखाको नानी दुख्ने, नाकबाट पानी बग्ने, हाच्छू आउने लक्षणहरू पनि देखिन्छन्।
यसरी मौसम परिवर्तनसँगै वातावरणीय तापमानको परिवर्तले मौसमी फ्लु लगाउने इन्फ्लुएन्जा भाइरस सक्रिय भई विभिन्न नयाँ प्रजातिको रुपमा प्रस्तुत हुने भएकोले मौसमी फ्लु यानिकी रुघाखोकीको समस्या धेरैमा देखिनु स्वाभाविक हो। किनकि यस्तो भाइरसका प्रजातिहरू एक मानिसबाट अर्को मानिसमा नजिक भएको अवस्थामा, भिडभाडमा अनि बिरामीसँगको बस्तुको सम्पर्कमा सहजै सर्नसक्छ।
यसरी मौसम परिवर्तनसँग हुने रुघाखोकीको समस्या आफै निको भएर जाने हुन्छ। सामान्यतया करिब ५–७ दिनमा नै यस्तो रुघाखोकीको लक्षणसहित हुने मौसमी फ्लु आफै निको भएर जान्छ।
हुन त एकपटक संक्रमण भएको भाइरसको विरुद्धमा शरीरले प्रतिरोधात्मक क्षमता त विकास गर्दछ तर भाइरसमा आनुवांशिक स्वरुप परिवर्तन गरी नयाँ रुपमा प्रस्तुत हुने क्षमता हुने भएकोले इन्फ्लुएन्जा भाइरस पनि हरेक मौसममा नयाँ रुपमा प्रस्तुत हुनसक्छ। फलस्वरुप बिरामीहरूमा हरेक पटक केही फरक लक्षण भने आउनसक्छ।
पछिल्लो समयमा देखापरेको मौसमी फ्लुका लक्षण पनि केही लामो समयसम्म बस्ने देखिएको छ भने अन्य पटकको मौसम परिवर्तमा हुने मौसमी फ्लुभन्दा कडा लक्षणहरू बिरामीहरूमा देखिएको छ।
सामन्य रुघाखोकीभन्दा पनि अहिलेको मौसमी फ्लु भएको बिरामीमा घाँटी क्याप्प पार्ने, घाँटी धेरै दिनसम्म दुख्ने, नाकबाट अत्यधिक पानी बग्ने, ज्वरो धेरै आउने, शरीरको तपाक्रम १०४ डिग्री फरेनहाइटसम्म पुग्ने, खोकी लामो समयसम्म लाग्ने, पछि खकार आउने, श्वास फेर्न समेत कठिनाइ भइरहेको जस्तो महसुस हुने समेत भइरहेको छ।
बच्चा तथा वृद्ध जसमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, उनीहरूमा मौसमी फ्लु भएमा ब्यक्टेरियाको थप संक्रमण हुनसक्ने भएकोले निमोनियाका लक्षण समेत बिरामीमा देखिन सक्छ। बिरामीहरूमा भाइरसकै संक्रमणको कारणबाट पनि रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ भने बिरामी भएको बेलामा झन् कम खाने बानीले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ।
इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट भएको मौसमी फ्लु सामान्य तया आराम गरेर, झोलिलो खानेकुरा खाएर, मानतातो पानी खाएर, सुप खाएर र ज्वरो कम गर्ने तथा शरीरको दुखाइ कम गर्ने औषधि सिटामोल खाएर निको हुनसक्छ। चिकित्सकको सल्लाहबमोजिम एलर्जीको लक्षण भए एन्टी हिस्टामिनको समेत प्रयोग गर्न सकिन्छ।
आयुर्वेद विज्ञका अनुसार अदुवा, ल्वाङ अनि तुलसीको पातबाट पनि फाइदा पुग्नसक्छ। तर पछिल्लो समय बिरामीहरूमा फैलिएको मौसमी फ्लु केही कडा खालको भएको र बिरामीलाई शरीरको दुखाइ, घाँटी अत्यधिक दुख्ने, ज्वरो धरै आउने र लामो समयसम्म बस्ने, खोकी दुई हप्तासम्म भइराख्ने, खकार समेत आउने, श्वास फेर्न गाह्रो भएजस्तो हुने भएको र एकै पटक परिवारका भेरै सदस्यालाई यस्तो समस्या देखिएकोले बिरामीहरू आत्तिनु भएको हुनसक्छ।
यस्तो अवस्थामा बिरामीहरू त्रसित नभई सचेत रहनु जरुरी छ। बरु कुन अवस्थामा घरमै उपचार गर्ने र कुन अवस्थामा अस्पताल लगेर चिकित्सकको परामर्श लिने भनि बुझ्नु जरुरी छ।
भाइरसको संक्रमणमा एन्टिबायोटिकको प्रयोग वैज्ञानिक तवरमा अनुचित मानिन्छ। तर हाम्रो समाजमा चिकित्सकसँग परामर्श लिनुको साटो औषधि पसलमा गएर औषधि किन्ने सिस्टम स्थापित भएकोले अनावश्यक एन्टिबायोटिकको प्रयोग बढी पाइन्छ। औषधि पसलबाट, सहायक चिकित्सकहरूबाट जान अन्जानमा सामान्य भाइरसबाट हुने रुघाखोकीमा समेत एन्टिबायोटिको प्रयोग गर्नु गलत हो।
त्यसो त केही चिकित्सक आफूले छिटो जस पाउने होडमा एन्टिबायोटिक्सको गलत रुपमा प्रयोग गर्ने समेत भेटिन्छ। त्यसैले यस्तो सामान्य रुघाखोकी भएमा औषधि पसलमा गएर आफैले अनावश्यक औषधि खरिद गर्नुभन्दा सोही पैसाले चिकित्सकको परामर्श लिन वा सरकारी अस्पतालहरूमा न्यूनतम शुल्क वा निःशुल्क चिकित्सकीय परामर्श लिनुहुन सुझाउन चाहन्छु।
मौसमी फ्लु भएमा कस्तो अवस्थामा अस्पताल जाने त?
सामान्य तया घरायसी स्यहारबाट नै मौसमी फ्लु निको हुन्छ। कसै-कसैमा ब्याक्टेरियाको संक्रमण थपिएर निमोनिया समेत हुने गरेकोले अस्पताल जानुपर्ने हुनसक्छ भने फ्लुकै कारण बिरामीमा असहजता बढी हुनसक्छ। त्यसैले कस्तो अवस्थामा अस्पतालमा जाने भनेर बुझ्नु जरुरी छ।
बिरामीलाई ज्वरो तीन दिनभन्दा पनि बढी समय रहिरहेमा, घाँटी दुखेर खान निल्न समेत गाह्रो भएमा, श्वास फेर्न गाह्रो भएर छिटो-छिटो श्वास फेरेमा, शरीरमा अक्सिजनको मात्रा कम भएको पल्स अक्सिमिटरमा देखिएमा, खोकी लामो समयसम्म भएर खकारको रङ समेत परिवर्तन भएमा, खकारमा रगत देखिएमा बिरामीले अस्पताल गएर चिकित्सकको परामर्श लिई उपचार गर्नु राम्रो हुनेछ।
अन्त्यमा, मौसमी फ्लु एक प्रकारको भाइरसको संक्रमण भएकोले घरमै गरिने स्यहारबाट निको हुनसक्छ र बिरामीले धेरैजसो समय आराम गर्नुपर्छ भने शरीरमा पानीको मात्र कम हुन नदिन प्रशस्त मात्रामा पानी पिउने तथा झोलिलो खानेकुरा खान जोड दिनुपर्छ।
बिरामी भएको अवस्थामा कम खान मन लाग्नु स्वाभाविक हो तर शरीरमा चहिने आवश्यक तत्त्व कम हुन नदिन सामान्यरुपमा खानेकुराको निरन्तरता समेत हुनुपर्दछ। साथै यो अरुबाट सर्ने भएकोले मास्कको प्रयोग गर्ने, भिडभाडमा अनावश्यक नजाने, बिरामी भएको अवस्थामा आराम गर्ने विषयमा पनि हरेक व्यक्तिले सोच्न जरुरी छ।
(लेखक जिल्ला अस्पताल, सुनसरीका विशेषज्ञ चिकित्सक हुन्।)