दुर्गमका मान्छेहरू रूकुम पश्चिमको सदरमुकाम खलंगादेखि करिब ४५ कि.मी.को दूरीमा रहेको आठबिसकोट नगरपालिका-२ अन्तर्गत स्याला भौगिलिक हिसाबले मात्र नभएर सामाजिक, आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट पनि निकै दूर रहेको महसुस भयो।
त्यहाँ पुग्नको लागि गाडीको मद्दतले यात्रा तय गर्ने हो भने खलंगादेखि राउखेत-गिल्बाङ, छिनखेत र बसेरा जङ्गलको ओरालो बाटो हुँदै निकै कठिन सफरपश्चात् स्याला स्वास्थ्य चौकी पुगिने रहेछ।
आठबिसकोट नगरपालिकाको आयोजनामा शान्ति नेपाल र नगरपालिकाको संयुक्त लागतसँगै साझेदारीमा एक कार्यक्रम आयोजना गरिएको थियो।
आठबिसकोट नगरपालिकाका १,२ र ३ नम्बरका वडाका महिलाहरूका निम्ति प्रजनन रूग्णता नि:शुल्क स्वास्थ्य शिविर फागुन २८ र २९ गते नगरपालिका मातहतमा कार्यरत मेडिकल अधिकृत डा.संयमचन्द्र घिमिरे लगायत स्वास्थ्यकर्मीसँगै जिल्लास्थित जिल्ला अस्पतालमा कार्यरत महिला तथा स्त्रीरोग विशेषज्ञ डा.केहल विक्रम लगायतको उपस्थितिमा शिविर आयोजना गरिएको थियो।
उक्त शिविरका लागि जिल्ला अस्पतालको टिममध्ये केही बोलेरो गाडी, मोटरसाइकलमा गरी ४ जना जाने भयौं।
मोटरसाइकलको लागि बाटो केही छोटो पर्ने भएकाले हामीले फागुन २७ गते नै साढे बाह्र बजे दिउँसो गाराघाट झोलुङ्गेपुल हुँदै बाफीकोट गाउँपालिकामा पर्ने छिनखेत निस्कने बाटो पछ्यायौं।
गाडीमा सवार जिल्ला अस्पतालको नर्सिङ टिम अनि आठबिसकोट नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले हामीभन्दा अघि यात्रा सुरू गरेका थिए।
हामी ४ जनालाई उहाँहरूले नदुवामा कुरेर बसिराख्नुभएको थियो। हामी उहाँहरूभन्दा आधा घन्टापछि पुग्यौं।
नदुवाको डाँडादेखि झारमारेको लेकसम्म पुग्ने बाटो निकै कठिन रहेछ। बाटोको डिलतिर लटरम्म फुलेका फरक फरक रङका लालीगुँरास र भिमकाय पहाडबीचका सुन्दर जङ्गलले भने थकानकाबीच पनि सफरमा मिठास थपिरहेको थियो।
दिउँसोको साढे तीन बजेतिर नदुवाबाट हिँडेका जसोतसो हामी झारमारेको लेक पुग्दा पौने छ भइसकेको थियो।
झारमारेको लेक पुग्दा देखिने सिस्ने हिमालको निकटतम दृश्य अनि अन्य हिमशृङ्खला अग्ला अग्ला पहाडबीच स-साना बस्ती, चिसो सिरेटोले अघि सफरमा भोगेका अप्ठ्याराहरूलाई थोरबहुत बिर्साउँदै थियो।
केहीबेरको विश्रामपछि हामीले झारमारेदेखि स्यालासम्मको गन्तव्य अघि बढायौं। त्यसपछि बाटो अलि सहज होला कि भनेर के सोचेको आधा घन्टा नबित्दै गाडी बसेराको जङ्गलमा फस्यो। बाइक भने जसोतसो गयो।
अथक प्रयासपश्चात् करिब ४५ मिनेटपछि गाडीलाई अप्ठ्यारो बाटोबाट पार लगाउन सफल भयौं। त्यसपछि सहज गरी हामी बेलुकीको करिब आठ बजेतिर स्याला स्वास्थ्य चौकी पुग्यौं।
स्यालामा हाम्रो पर्खाइमा रहेका त्यहाँका जनप्रतिनिधि, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, शान्ति नेपालमा आबद्ध कर्मचारीहरू थिए। त्यहाँका जनताहरूले हामीलाई सुन्तला र धूपीका पातबाट निर्मित सुन्दर मालाले मीठो स्वागत गर्नुभयो।
केही समयको भलाकुसारीपश्चात फ्रेस भई खाना खायौं। थाकेका हुनाले त्यसदिन सबेरै सुत्यौं।
भोलिपल्ट बिहानैदेखि स्वास्थ्य चौकीका सर म्यामहरू शिविरको व्यवस्थापनमा खटिनुभयो। हामीले पनि सहजीकरण गर्यौं। त्यहाँका जनप्रतिनिधिहरूले हामीलाई त्यहाँको जनताको स्वास्थ्य अवस्था,आधारभूत आवश्यकताका लागि गर्नुभएको संघर्ष,भौगोलिक विकटता, गरिबी, जनचेतनाको अवस्थाबारे हामीलाई ब्रिफिङ गर्नुभयो। त्यस ठाउँमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर यसैपालि पहिलोपटक सञ्चालन भएको रहेछ।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा प्रजनन उमेर समूहका महिलामा हुन सक्ने स्वास्थ्य समस्याहरूको पहिचान, निदानका लागि भिडिओ एक्सरे, भिआइए पद्धतिद्वारा पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ, आङ खसेका महिलाको ग्रेड पहिचान गरेर रिङ पेशरी सेवा एवम् जटिल केशहरूको लागि आवश्यक परामर्श सेवा दिइएको थियो।
यस्तै फिस्टुलाको पहिचानसँगै आवश्यक उपचार,परामर्श सेवा,प्रजनन अङ्गहरूमा हुने संक्रमणको पहिचान र नि:शुल्क औषधी वितरण सेवासँगै महिलाहरूमा हुन सक्ने अन्य स्वास्थ्यसम्बन्धी समस्याहरूको पहिचान,उपलब्ध उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराइएको थियो।
हामीले बिरामीहरू टाढाबाट आएकाले नगरपालिकाका जनप्रतिनिधि,साझेदारी संस्थासँगको समन्वयन गरी २८ गते बिहानै औपचारिक उद्घाटन गरी शिविर सुरू गर्ने सल्लाह गर्यौं।
टाढाबाट पाल्नुभएका बुढी हजुरआमा,आमा, दिदी-बहिनीहरूको समस्याको खोजसँगै उपलब्ध औषधी उपचार र आवश्यक परामर्श दिँदा दिन बितेको पत्तै भएन।
बेलुका हामीले देखेका समस्याहरू साटासाट गर्थ्यौं। त्यसका कारण के हुन् र हामीले गर्न सक्ने उपचारबारे छलफल गर्यौं। थकाइ भुलाउन रुकुमेली टप्पा, सिँगारू, झ्याउरे भाकामा केहीबेर रमायौं पनि।
अन्तिम दिन २९ गते बिहान ८ बजे शिविर सञ्चालन गर्ने गरी अघिल्लो दिन नै चाँजोपाँजो मिलाएका थियौं। जसका कारण धेरै सहज भयो। बिहानको नास्ता खाएर हाम्रो टिम स्वास्थ्य चौकीतर्फ लाग्यो र आ-आफ्नो जिम्मेवारी बहनमा तल्लीन रह्यो।
त्यसदिन दिउँसो साढे तीन बजेसम्म हामीले शिविरमा आउनुभएका बिरामीहरूको स्वास्थ्य चेकजाँच गरेर सक्यौं।
अन्तिम दिनमा आइपुग्दा ४३० जनाको प्रजनन उमेर समूहका महिलाको स्वास्थ्य चेकजाँच गरेका थियौं। त्यसमध्ये २१० जनाको भिआइए परीक्षण, १६९ जनाको भिडिओ एक्सरे, ७ जनाको रिङ पेसरी सेवा, शंकास्पद पाठेघरको मुखको क्यान्सर १० जनामा, चौथो डिग्री अर्थात प्रोसिडेन्सिया आङ खस्ने समस्या भएका ३ जनामा देखियो। यस्तै मुलेरियन एजेनेसिस भएको १ जना, रेक्टोभजिनल फिस्टुलाको साथ इम्परफोरेट गुदा भएको १ जना र अधिकांश महिलाहरूमा प्रजनन अङ्गको संक्रमण(पेल्विक इन्फ्लेमेटरी रोग) भएको पाइयो।
कम उमेरमै हुने विवाह,अशिक्षा ,गरिबी,जनचेतनाको कमी, महिनावारी र अन्य समयमा सरसफाइको कमी, आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित हुनुपर्ने कारणले पनि त्यहाँ प्रजनन उमेर समुहका अधिकांश महिलाहरूमा पेल्विक इन्फ्लेमेटरी रोगको समस्या विकराल भएको पाइयो।
एक बिरामीको अनौठो अनुभव
शिविरमा प्राप्त अभिलेख अनुसार आठबिसकोट नगरपलिका वडा नम्बर २ की २४ वर्षीया एक महिला शिविरमा करिब मध्याह्न बाह्र बजे आइन्।
टिकट लिई डाक्टरलाइ देखाउन उनी भिडभाड भएको कारण लाइनमा बसिन्। मध्याह्न पौने एक बजे डाक्टरलाई देखाउन उनको पालो आयो।
स्त्रीरोग विशेषज्ञ डाक्टर केहल विक्रम जिसीलाई उनले समस्या सुनाइन्।
उनले तल्लो पेट दुखेको र सेतो पानी बग्ने समस्या भएको बताइन्।
पुन: डाक्टरले सोध्दा भावुक हुँदै गर्भ नरहने समस्या भएको बताइन्। त्यसपछि उनलाई युएसजी गर्न सल्लाह दिएर शिविरमा खटेका मेडिकल अधिकृत डा.राजकुमार भसजेलले उनको युएसजी गरे।
त्यसपछि थाहा पाइयो उनको लामो समयसम्म हुने गरी परिवार नियोजनको साधन कप्पर-टी राखिएको रहेछ।
त्यो कुरा थाहा पाएपछि उनी रून थालिन्। त्यसपछि नर्सिङ स्टाफले उनको कप्पर-टी निकाल्दिन्। डस्टबिनमा फाल्न खोजेको कप्पर-टी उनले टिपेर खल्तीमा राखिन्।
उनले किन त्यसो गरिन् भनेर त्यहाँका स्वास्थ्यकर्मी छक्क परे। सबैको मनमा प्रश्न उब्जियो।
त्यसपछि उनले आफ्नो ब्यथा हाम्रो शिविरको टिमलाई सुनाइन्।
उनको विवाह करिब ५ वर्ष पहिले भएको रहेछ। श्रीमान- श्रीमती दुवै कामको शिलशिलामा भारतको हिमांचल प्रदेश पुगेका रहेछन्। त्यहाँ उनी सुत्केरी भएकी रहिछन्। त्यसपछि अस्पतालले उनमा कप्पर-टी राखिदिएको रहेछ।
उनलाई कप्पर-टी राखिदिएको कुरा थाहा रहेनछ। श्रीमानले बच्चा पाए लगत्तै उनलाई छोडी दिएछन्। श्रीमानले सुत्केरी हुँदा पाठेघर उल्ट्याइएको कारण अब बच्चा पाउन नसक्ने बताएछन्।
त्यसपछि उनी दुईबीच सम्बन्ध रहेनछ। उनले छोरीको स्याहारसुसार गरेर २ वर्षसम्म बसिन्।
त्यसपछि उनलाई विवाहको प्रस्ताव आयो। उनले दोस्रो विवाह गरिन्। २ वर्षसम्म श्रीमानसँगै बस्दा बच्चा नभएपछि धेरै अपहेलित भइछन्। जसका कारण सम्बन्धबिच्छेदको कुरा समेत चलेको रहेछ। सोही दिन श्रीमान घर छोडेर भारत समेत हिँडेका रहेछन्।
उपचारपश्चात उनको अनुहारमा व्याख्या गर्न नसकिने खुसी थियो। अब बच्चा हुने कुरामा उनी विश्वस्त थिइन्। डाक्टरले पनि सोही अनुसारको परामर्श दिए। त्यसपछि शिविरमा सेवा लिन आएका आफन्त र अन्य साथीहरूसँग खुसी साट्दै घरतिर लागिन्।
शिविर सकिएपछि त्यस दिनै हाम्रो टोली पनि सदरमुकाम फर्किने तयारी गर्यो। निस्कने बेला सिमसिमे पानी परिरहेको थियो। शिविरको लागि जाँदा गाडी फसेको ठाउँ बसेरा जंगलमा एक जनाको बाइक फस्यो। गाडी पनि त्यहाँबाट अघि बढ्न सकेन। त्यसपछि हामीले आठबिसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेम रोकाया र वडा नम्बर २ का वडाअध्यक्ष देवबहादुर यरीलाई हाम्रो समस्या सुनायौं।
उहाँहरूले हाम्रो समस्या समाधानका लागि ट्र्याक्टरको व्यवस्था गरिदिनुभयो।
झारमारे लेक पुग्दा झमक्कै साँझ परेको थियो। ठाउँ-ठाउँमा बाइक धकेल्दा पैदल हिँड्दा शरीर शिथिल भइसकेको थियो। तथापि सदरमुकामसम्मको गन्तव्य पछ्याउनु नै थियो। स्यालबाट झारमारे पुग्दा र त्यहाँबाट नदुवासम्म पुग्दा जंगलको बाटोमात्रै भएको, मानव बस्ती नभएकोले हामीले बोकेको चिउरा चाउचाउको भरमा अबको गन्तव्य पछ्याउने भयौं।
झारमारेबाट नदुवासम्म पुग्ने ओरालो बाटो फेरि कहाँ सजिलो थियो र!
बाटैभरी ढुंगै-ढुंगा, घोडा खच्चडलाई समेत हिँड्न कठिन पर्ने बाटो सम्झिँदै कहालीलाग्दो!
निकै कठिन यात्रापछि ८ बजेतिर नदुवा पुगेपछि लामो श्वास फेर्यौं। यत्तिकैमा हाम्रो टोलीका स्त्री रोग विशेषज्ञ डा.केहल विक्रम जि.सी.ज्युले भन्नुभयो- कसरी निर्वाह गरिरहेका छन् यार त्यस ठाउँका मान्छेहरू?
हामी त धन्न सकुशल आइयो यार!
टोलीका सबैले आ-आफ्नो पीडा सुनाए।
त्यहाँबाट सवा आठ बजेतिर निस्किएका हामी राति पौने १२ बजेतिर सदरमुकाम खलंगा पुगेका थियौं।
यो दुई दिनमा हामीले के कति सेवा दिन सक्यौं थाहा छैन तर भूगोलले ठगिएका हर क्षेत्रका न्यूनतम सेवा सुविधाबाट बन्चित भइरहेका अभावै अभावमा जीविकोपार्जन गरिरहेका स-साना उपलब्धिमै एक आपसमा खुसी साटिरहेका जनमानसका दैनिकीले भने भावविह्वल बनाइरह्यो।