'यो आमा भन्ने जिनिस कस्तो होला है?'
म मेरी आमालाई यस्तो प्रश्न सोधिरहन्छु।
हरेक पटक मेरो प्रश्न एउटै भएजस्तै आमाको जवाफ पनि एउटै हुन्छ- 'पछि आफैं आमा हुन्छेस् अनि थाहा पाउँछेस्।'
गएको ३ महिना डिपार्टमेन्ट अफ अब्स एण्ड गाइनिमा बिताइयो। यहाँभन्दा अगाडि प्रसव वेदना नदेखेको हैन। तर यसपालि भने अलिक भिन्न थियो। मेडिकल विद्यार्थी नभई डाक्टरको रुपमा पहिलोपटक डेलिभरी लिँदै थिए।
लेबर रुममा ती महिलाले बच्चा पाउँदाको पीडा देख्दा मैले त्यहाँ फगत त्यो बिरामी मात्र देखिनँ, आफ्नी आमा देखेँ। लाग्यो आमा धर्ती हो। नभए त्यत्रो वेदनापछि आफ्नो सन्तानलाई देख्दा मुस्कुराउने आँट कसरी आउँछ?
त्यो कोलाहाल, आमाको पीडा र रोदन अनि छरपस्ट रगत- सबै देखेर भाउन्न पनि छुट्यो। अनि मनमनै सोचेँ- 'अबदेखि आमासँग कहिल्यै झगडा गर्नेछैन।'
आमा शब्द नै कति प्यारो हुन्छ, सायदै कसैलाई भनिराख्न पर्ला। तर आजकल आफ्नी आमालाई हेर्दा एउटा कुरोले बडा सताउँछ। उनको सम्पूर्ण जिन्दगी म र मेरी दिदीको वरिपरि मात्र घुमेको देख्दा कहिलेकाहीँ बडो ग्लानी हुन्छ।
सोच्छु- हाम्रो पछि लाग्दालाग्दै आमाले आफ्नो जीवन जीउन भुलिन्। त्यसैले आजकल हामी दुवै दिदी-बहिनी आमालाई भन्नेगर्छौँ- 'आफ्नो तरिकाले जीवन जिऊ, जे मन लाग्छ गर। घुम, फिर, नाच, गाऊ, झुम।'
तर चुच्चे ढुङ्गो उही टुङ्गो भनेझैँ अब उनका जीवनका हरेक सुख केवल हामीसँग मात्रै जोडिएका छन। हामीलाई खुसी हेर्ने, हाम्रा कामलाई नजिकबाट नियाल्ने, हामीलाई मिठो-मिठो पकाएर खुवाउने अनि हामीसँगै समय बिताउने। सायदै यहाँभन्दा बढी उनका अरु कुनै इच्छा होलान्।
मलाई थाहा छ कि यो कथा केवल मेरो घरको मात्र होइन। प्रायः हरघरका हरेक आमाहरूको कथा यही हो, परिचय यही हो। पहिला अभाव र बाध्यतामा जेलिएर आफ्नो खुसी खोज्न नसकेका र नभ्याएका हाम्रा आमाहरूले अहिले आफ्नो खुसी खोज्नै बिर्सिसके।
यो सब सोच्दा मलाई औडाह हुन्छ र म आमालाई सोध्ने गर्छु- 'तिमीले हाम्रो लागि गरेको जतिको सबै भारा हामीले कसरी तिर्ने?'
जवाफमा आमा फर्काउँछिन्, 'पछि आफैं राम्रो आमा बनेर।'
तर उनको उत्तरले मेरो मन कत्ति पनि शान्त हुँदैन। लाग्छ आमाले जहिले उँधै माया सिकाउँछिन्।
सानो हुँदा पैसा खासै हुन्थेन। आमाले काजु खुब मनपराउँथिन्। तीज-तिहार पारेर घरमा ल्याइएका काजु बडो चाखले खान्थिन्।
हामी उनलाई भन्ने गर्थ्यौँ- 'आज काजु किनेर खाऊ न।'
आमा मान्दिन थिइन्।
'यसले टिफिन पुर्याउनुपर्छ। अहिले काजु महंगो छ क्या। पछि धनी भएपछि जहिले किनेर खाने ल।'
अहिले दुई-चार पैसाले खाँचो पर्दैन, आमाका प्रायः सबै इच्छा पूरा गर्न सक्ने सामर्थ्य राखिन्छ। तर गएका केही वर्षदेखि आमालाई 'नट एलर्जी' छ। यस्ता काजु र तीनका प्रजातिका नट्स खाए हायलकायल हुन्छिन्; अस्पताल पुग्ने गरी।
दुःख लाग्छ त्यतिबेला आमाले आफ्नो इच्छा मारेको सम्झिँदा। त्यहाँदेखि मलाई पनि काजु खासै खान मन लाग्दैन। त्यसपछि काजु किनेर मैले पनि कहिल्यै खाइनँ।
फेरि यति लेख्दै गर्दा बाउको त्याग नदेख्ने भन्ने पनि हुनुहुन्छ होला तर बुबाको जात परिस्थितिले बाँधिएको हुन्छ। त्यसैले परिस्थितिअनुसार नै व्यवहार गर्छन्।
तर आमाको जात कस्तो निश्चल क्या! जगतका लागि सन्तान सफल होस् या असफल, उसकी आमाको लागि जहिले उस्तै हुन्छ। अरुका लागि मान्छे कुबेर वा सुदामा भए पनि, उसकी आमाको दुनियाँको मालिक फेरि ऊ नै हो।
त्यो केजिएफ भन्ने फिल्ममा यत्तिकै भनेको हैन नि 'इस दुनियाँ मे सबसे बडा योद्धा माँ होती है’ भनेर! त्यो दृश्यमा पनि आमाको भूमिका र आफ्ना बच्चाप्रतिको माया हेर्दा लाग्छ- आमाको अनेकौ सघंर्ष भित्रको एक मुस्कान हो उसको सन्तान। आमाका दु:खका अनेक पहाड भित्रको एक मुहान हो उसको सन्तान। आमाको सन्तप्त जीवन भित्रको एक छहारी हो उसको सन्तान।
अहिले बच्चा विभागमा छु। बिरामी बच्चाहरूका चिन्तित र विक्षिप्त आमाहरू हेर्छु। मेरी मात्र हैन, सबैका आमाहरू यसरी नै सन्तानले निम्ति निछावर छन् भन्ने सोच्छु।
आमामा त्यो सघंर्ष, त्यो त्याग, त्यो धैर्यता, त्यो अदम्य हिम्मत र साहस कहाँबाट आउने होला? कसरी आउने होला? सन्तान जेसुकै होस् राम्रो-नराम्रो, जान्ने-नजान्ने, सशक्त-अशक्त, या अष्टाबक्र नै किन नहोस्- आमाको माया ओइरिरहने। किन होला, कसरी होला?
त्यसैले आमालाई हेर्दा मलाई लाग्छ- मेरी आमाले आफ्नो यत्रो तपस्याको बाबजुद केही त पाउनै पर्छ! उनको परिचय हामी सन्तानमा मात्र सीमित नभई आफ्ना क्षितिजहरूसम्म फैलिनुपर्छ। जे अभाव उनले कसैको छोरी, बुहारी वा श्रीमती हुँदा भोगिन्, त्यो उनले हाम्री आमा हुँदा भोग्नु नपरोस्!
आमा सधैँ खुसी हुन्।
सधैँ राम्री हुन्।
सधैँ स्वस्थ हुन्।
मेरी मात्र हैन, सबैकी आमा यस्तै हुन्।
आज ज्वरो आएको तीन दिन भयो। ड्युटीबाट बिदा लिई घरमा बसेको छु। हुन त आफैं डाक्टर, थाहा नभएका उपचार विधि र औषधि छैनन् तर सन्चो नभएपछि ज्यानलाई आमा नै चाहिने।
उनकै छेउमा बसेर यो लेख लेख्दैछु। उनले थाहा पाएकी छैनन्।
जब यो लेख छापिन्छ तब पढेर सुनाउनेछु।
आमाले आँखाभरि आँसु बनाउँदै मलाई निधारमा माया गर्नेछिन्। अरुभन्दा पनि आमा खुसीले गद्गद् हुनेछिन्।
कम्तीमा यति त गर्न सक्छु नि!
(लेखक श्री विरेन्द्र अस्पताल, छाउनीमा कार्यरत छिन्।)