‘बाबु, सकेको जति सहयोग गर्नुस् न, केही त दिनुस्’ बाट सुरू हुन्छ मेरो दिन। सधैं झैँ बाटोमा बस्ने ती बुवा-आमा, दिदी, सानी बहिनीहरूलाई यस्तो अवस्थामा देख्दा मनमा चिसो भने हरेक क्षण पसिरहेको हुन्छ।
मनमा सधैं झैँ विभिन्न प्रश्नहरू ओइरिन थाल्छन् जसको उत्तर भने अझैसम्म मैले पाएको छैन। उत्तर खोज्न प्रयास नगरेको पनि होइन तर म विवश छु। सानैदेखि अरूलाई सहयोग गर्नुपर्छ भन्ने मानसिकतामा हुर्केको म, उनीहरूलाई सहयोग गर्न नपाउँदा आफैंलाई अनेक प्रश्न गर्न थाल्छु।
सहयोग गर्न पनि त उमेर चाहिन्छ होला नि? के नै छ र मेरो आयश्रोत अरूलाई सहयोग गर्न? आफू पनि घरभन्दा टाढा बसिन्छ, आफूले पनि त्यही सीमित रकमबाट व्यवहार चलाउनु पर्छ। यस्तै-यस्तै अनेकन कुराहरू मस्तिष्कमा खेल्न थाल्छन्।
अनि आफैंलाई भन्न थाल्छु- आखिर म पनि त स्वार्थी रहेछु, एकदिन आफ्नो खाजा कटौती गरेर पनि त सहयोग गर्न त सकिन्छ! मेरो एकदिनको एउटा सानो सहयोगले उनीहरूको भोको पेट एकैक्षण भए पनि त भरिन्छ नि।
अनि फेरि सोच्न थाल्छु, एकदिन गरौँला, दोश्रो दिन गरौँला तर सधैं त एउटा विद्यार्थीले यस्तो गर्न सक्दैन नि! अहिले मेरो सहयोग गर्ने उमेर पो होइन कि? जब आफ्नो आयश्रोत हुन्छ, आफ्नो केही आम्दानी हुन्छ तब पो होला नि, होइन र?
सडकमा बस्ने सबै गरिब दुखीहरूलाई सहयोग गर्न त पहिला आफू पनि त त्यसका लागि हरेक पक्षबाट सक्षम हुनुपर्यो नि। अनि आफ्नै मनमा सपना सजाउँदै बस्छु र सोच्न थाल्छु- जब म स्वयमसँग आफ्नो केही जागिर हुन्छ तब म पनि ती बालबालिकाको जीवन खुसी बनाउनको लागि सधैं लागिपर्नेछु।
तर अनायासै फेरि डर लाग्न थाल्छ। अहिले पो मलाई अरूलाई सहयोग गर्नुपर्छ भन्ने भाव छ। बढ्दो उमेरसँगै म पनि स्वार्थी पो हुने हुँ कि? जब हातमा पैसा आउँछ, आफ्नो व्यक्तिगत इच्छा आकांक्षाहरू बढ्न थाल्छन् अनि सहयोगतिर ध्यान नजाने पो हो कि? त्यसपछि त्यहाँ आफ्नो कुरा मात्र आउँदैन, उमेरसँगै आफूमा थप जिम्मेवारी बढ्दै जान्छ।
म एक्लै त होइन नि, मसँग मेरो परिवार छ, उहाँप्रतिको दायित्व पनि त छ। उमेरसँगै बिहे पनि हुन्छ। त्यसपछि श्रीमतीको आफ्नै चाहना हुन्छ। त्यसलाई पनि त पूरा गर्नु पर्छ नि, होइन र?
भविष्यमा आफ्नै छोराछोरी हुन्छन्, त्यसपछि त सबै आफ्नो खर्च- त्यही छोराछोरीहरूको निमित्त होला। उनीहरूको पालनपोषणदेखि लिएर उनीहरूको उच्च शिक्षालगायत सबै आफ्नै काँधमा आउँछ। म आफैंलाई आफ्नो घरको व्यवहार चलाउन महाभारत हुन्छ होला। अनि मेरो ध्यान कसरी ती गरिब-दुखीहरू तिर जान्छ होला?
मेरो मनमा पनि त अरूजस्तै आफैंलाई कसले सहयोग गर्ला भनिरहेको बेला अरूलाई कसरी गर्नु जस्ता प्रश्न आउनथाल्छ होला। एक हिसाबले भन्ने हो भने त बढ्दो उमेरसँगै जिम्मेवारी पनि थप हुने अनि आफू पनि स्वार्थी हुने अवस्था देखियो।
आफू बूढो भएपछि पो ठिक उमेर हुने हो कि अरुलाई सहयोग गर्न? आफ्नो छोराछोरीको उच्च शिक्षा पनि सकिने अनि छोराछोरीले कसो बुवालाई त्यस्तो सुकार्यको लागि सहयोग नगर्लान् नि भनेर सोच्दै गर्दा फेरि आफ्नै युवा अवस्थाको याद आउन थाल्छ।
त्यो समयमा मैले बचत गरेको रकम पनि आफ्नै स्वास्थ्यको लागि अपरझट चाहिनसक्छ भनेर पो राख्न सक्छु कि? त्यति बेला पनि त पैसाको खाँचो हुनसक्छ नि होइन र? यसो हेर्ने हो भने त बुढेसकालमा पनि त विभिन्न चुनौतीहरू देखापर्दा रहेछन् नि त।
त्यत्तिकैमा एउटा भनाइको याद आउँछ- ‘अरुलाई सहयोग गर्ने भाव छ भने उमेरको कुनै महत्त्व हुदैन।’
जीवन हो, मानिसको हरेक पलमा जिम्मेवारी हुन्छ, दुःख हुन्छ, संघर्ष हुन्छ। त्यसैले त यो जीवन रोचक छ। जस्तोसुकै कठिन परिस्थिति आएता पनि अरुको लागि आवाज उठाउने, अरुलाई सहयोग गर्न सक्ने पो महान् हो। एकपटक पाएको यो जिन्दगीमा आफ्नो लागि भन्दा अरुको लागि बाँचेर हेरौँ न, पक्कै पनि केही फरक अवश्य पनि पाउने नै छौँ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरिबलाई आफ्नै कोट निकालेर दिएको कुरा हामीले सुन्दै आएका हौँ। डाक्टर सन्दुक रुइतले ती गरिबहरूको निशुल्क आँखा अप्रेसन गरेर ज्योति प्रदान गरेको कुरा पनि हामीलाई थाहा नै छ।
यसो हेर्ने हो भने, यदि साँच्चिकै हामीमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भाव छ भने अरुलाई सहयोग गर्न सक्दो रहेछौँ। उनीहरूको जीवनमा सानोभन्दा सानो परिवर्तन ल्याउन सक्दो रहेछौँ।
रिया रिचार्डले पनि त भनेकी छन्- यदि तपाईंसँग क्षमता, सामर्थ्य र प्रवृत्ति छ भने अरूलाई मद्दत गर्नुहोस्।
आफूसँग भएको केही दिएर कोही गरिब हुँदैन भनेर फ्रान्कले पनि त भनेका छन्। यदि हामी सबैले आफूले सकेको जति ती गरिब-दुखीहरूलाइ सहयोग गर्न सके उनीहरूको पेट भोको पो हुँदैन थियो कि?
सरकारले सोच्न पर्ने कुरा तैँले पो किन सोच्दैछस् भन्नुहुन्छ भने, यदि साँच्चिकै सरकार थियो भने त म यो सोच्न बाध्य पनि हुँदैन थिएँ।