यस वर्ष चैत ७ गते घोडेजात्रा परेकोले काठमाडौंमा सार्वजानिक बिदा थियो। बिदाको दिन बिहानदेखि नै पानी सिमसिम परेकोले अलिअलि चिसो महसुस भइरहेको थियो। त्यसैले सिरकमै बसेर चियाको सुर्कीसँगै अनलाइनमा समाचार हेर्दै थिएँ।
सरसर्ती समाचारहरू निहालिसकेपछि सधैँ झैँ आफूले हेर्ने भन्सार विभागको वेबसाइटलाई खोलेर हेरेँ। चालु आर्थिक वर्षको फागुन महिनाको वैदेशिक व्यापारको तथ्यांक हरेक महिनाको ७ गतेभित्रै सार्वजनिक गरिसक्नु पर्नेमा भए/नभएको बारेमा जानकारी लिने मन भयो। तर सो तथ्यांक देखिएन।
त्यसको सट्टा आगामी वर्ष २०८०/८१ को आय तथा व्ययको विवरण (बजेट) निर्माणका लागि अर्थ मन्त्रालय, राजस्व परामर्श समितिअन्तर्गत गठित भन्सार उपसमितिको सूचना देखेँ जहाँ सरोकारवाला सबैसँग राय सुझावको लागि आह्वान गरिएको थियो।
वेबसाइटकै कुरा गर्दा केही समयअगाडि नेपाल सरकारले सबै सरकारी निकायहरूको वेबसाइटको ढाँचामा एकरुपता कायम गर्न नमुना तयार गरी कार्यान्वयनमा लैजाने भनि गरेको निर्णय र त्यसको तयारीको सम्बन्धमा के भएछ भन्ने जानकारी लिने विचार पलायो।
उक्त समाचारको आधारमा सबैभन्दा पहिला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट खोलेर हेरेँ। त्यही ढाँचामा अन्य मन्त्रालयका वेबसाइट भए नभएको यकिन गर्न गृह मन्त्रालयको वेबसाइट हेरेँ। यी दुवैमा फरक देखेपछि वेबसाइटको नमुना कार्यान्वयनमा नआएको प्रष्ट भयो।
मन्त्रालयका वेबसाइटमा रहेका सूचना र तथ्यांकहरूमध्ये के हेरौँ त भन्ने सोच्दै गर्दा नेपाल सरकारका २२ वटा मन्त्रालयहरूको वेबसाइटमा रहेका सबै सचिवहरूको प्रोफाइल अध्ययन गर्ने सोच आयो।
नेपाल सरकारले एकै प्रकारका वेबसाइट तयार गरी लागु गर्ने भएकोले वेबसाइटमा मन्त्रालयका मन्त्री तथा सचिवहरूको संक्षिप्त परिचय र व्यक्तिगत विवरण राख्न मिल्ने गरी छुट्टै स्थानको व्यवस्था गरे राम्रो हुने थियो।
वर्तमान सन्दर्भमा मन्त्रालयको नामअनुसार वेवसाइटको अवस्था र त्यसमा हाल कार्यरत सचिवहरूको नाम तथा व्यक्तिगत विवरण अध्ययनको कामलाई निरन्तरता दिने निधो गरेँ।
सर्वप्रथम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमा रहेको मुख्य सचिव शंकरदास वैरागीको व्यक्तिगत विवरण हेर्दा अंग्रेजी भाषामा संक्षिप्त विवरण रहेको पाइयो।उक्त विवरणमा मुख्य सचिवको जिम्मेवारी पाएको सुरु मितिदेखि जन्मस्थान, शैक्षिक योग्यता, अनुभव र पारिवारिक विवरण समेत खुलाएको रहेछ।
यसरी व्यक्तिगत विवरण सार्वजनिक गर्ने प्रचलन विदेशमा हुने गरेको सुनेको हुँदा वहाँ मुख्य सचिव हुनुभन्दा पहिले परराष्ट्र सचिव रहनु भएकोले यस्तो विवरण राखेको हो कि भन्ने लागेर हालका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको प्रोफाइल खोलेर हेर्न मन लाग्यो।
सचिव पौड्यालको परिचय विवरण पनि अंग्रेजी भाषामा रहेछ। सन् २०२० अक्टोबर ९ देखि परराष्ट्र मन्त्रालयको सचिवमा कार्यरत वहाँको प्रोफाइलमा उल्लेखित विवरण झनै लोभलाग्दो गरी प्रस्तुत गरिएको रहेछ। जागिरको सुरुआत, शैक्षिक योग्यता, अनुभव तथा वैवाहिक जीवनपछि श्रीमती तोया आचार्यको कोखबाट जन्मेका पल्हवी र असुतोष पौड्याल समेतलाई चिनारीमा राखेको पाएँ।
वेवसाइटहरू निहाल्ने काम गर्दै जाँदा विस्तारै अल्छी लाग्दै आयो। जुन मन्त्रालयको वेबसाइट खोले पनि त्यहाँ मन्त्री वा सचिवहरूको खासै परिचय फेला पर्न छोड्यो। अनि मैले पहिलादेखि चिनजान गरेको र सरल स्वभावका वाणिज्य सचिव मधुकुमार मरासिनीको प्रोफाइल हेर्ने आफैमा अनुमति लिएँ।
सोचेजस्तै खिन्न हुन परेन। वहाँको व्यक्तिगत विवरण फेला पारेँ। माथि उल्लिखित मुख्य सचिव र परराष्ट्र सचिवको विवरणसँग मिल्दोजुल्दो नै विवरण फेला पारिरहँदा मलाई जिज्ञासा पैदा भयो, व्यक्तिगत विवरणलाई अनिवार्य राख्नै पर्ने किन नगरिएको होला?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका दुई सचिवमध्ये एकजनाको मात्र व्यक्तिगत विवरण राखिनुमा के यस्तै व्यवस्था अनिवार्य नगरेको कारण त होला भन्ने लाग्नु स्वभाविक थियो।
त्यसपछि रक्षा मन्त्रालयको वेबसाइट खोलेर हेर्दा सचिव किरणराज शर्माको व्यक्तिगत विवरण भेटियो। देशकै भूमिको नापनक्सा प्रविधिमा राखी हरेक नागरिकको नाममा रहेको जग्गा जमिनको अभिलेख राख्ने जिम्मा लिएको मन्त्रालय भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको प्रोफाइल के होला भन्ने लागेर हेर्ने प्रयास गरेँ।
मन्त्रालयको वेवसाइटको नाम पनि पत्ता लगाउन केही समय लाग्यो तर खोजेको कुरा फेला पर्यो। नेपाली भाषामा लेखिएको व्यक्तिगत विवरण लामै थियो। यसबाट वहाँका अनुभव, अध्ययनको विषय, विद्यावारिधिको क्षेत्र लगायतका केही अन्य विषयहरू समेत उल्लेख थियो। अर्थात् सचिव रेग्मीको विस्तृत परिचय खुलेको सबैका सामु सार्वजनिक भएको थियो।
यसबाट मन्त्रालयको वेबसाइटमा सार्वजानिक पदाधिकारीहरूको परिचय राखिदिएमा उहाँहरूबारे जानकारी राख्न चाहने जोसुकैलाई पनि संक्षिप्त जानकारी प्राप्त गर्न सम्भव हुने देखियो।
माथि उल्लेख गरे झैँ २२ वटै मन्त्रालयको वेबसाइट हेर्ने काम भयो। मेरो स्मरणमा रहेका शाखा अधिकृत पदमा लोक सेवाबाट विसं २०५९ सालमा सफल हुनुभएका मित्र कृष्णहरि पुष्कर हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा कार्यरत हुनुहुन्छ। वहाँको मन्त्रालयको वेबसाइटमा व्यक्तिगत विवरण हेरेर के रहेछ यसमा समावेश गर्न मेरो मनले अह्रायो।
मेहनती, अध्ययनशील र क्रियाशील सचिव कृष्णहरि पुष्करको परिचय खुल्ने विवरण वेबसाइटमा देख्न पाउँदा खुसी लाग्यो। त्यति मात्र हो र, मलाई यति पनि थाहा भएको रहेनछ कि कृष्णहरि पुष्कर कर्ण अब त सचिव डा. कृष्णहरि पुष्कर भनेर परिचित भैसक्नु भएछ।
तर माथि उल्लेख गरिएको जस्तै तपसिलका सबै मन्त्रालयहरूको वेवसाइटमा प्रधानमन्त्री, मन्त्री तथा सचिवहरूको व्यक्तिगत परिचय खुल्ने विवरण राख्ने कार्यलाई अनिवार्य गरिएमा सबै सरोकारवालाहरू लाभान्वित हुने छन् भन्ने मात्र हो।
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
२. परराष्ट्र मन्त्रालय
३. अर्थ मन्त्रालय
४. गृह मन्त्रालय
५. रक्षा मन्त्रालय
६. युवा तथा खेलकुद मन्त्रालय
७. वन तथा वातावरण मन्त्रालय
८. सहरी विकास मन्त्रालय
९. खानेपानी मन्त्रालय
१०. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१२. उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
१३. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१४. सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय
१५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
१६. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
१७. महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
१८. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१९. कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
२०. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
२१. भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
२२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय