‘म एमबिबिएस पढेर डाक्टर बन्ने हो यार। नेपालको दुर्गम क्षेत्रमा बसेर काम गर्ने हो।’
मेरो एकजना साथीले एसएलसी दिएपछि ब्रिजकोर्स पढ्दै गर्दा बागबजारको एउटा सानो चिया पसलमा बसेर सुनाएको एउटा भविष्यको सपना थियो।
करिब ८ वर्ष अगाडिको कुरा हो, म अनि मेरा साथीहरू महेश र सूर्य बागबजारको एउटा सानो चिया पसलमा चियाको चुस्की लगाउँदै कुरा गर्दै थियौँ। हामीहरू आफ्नो भविष्यको मिठो सपना चियाको स्वादसँगै सुनाउँदै थियौँ।
सुन्दर भविष्य कोर्न सूर्य तनहुँ, महेश सिन्धुपाल्चोक अनि म धादिङबाट काठमाडौं छिरेका थियौँ। हामी तीनै जनाले सरकारी विद्यालयबाट एसएलसी दिएका थियौँ र सबै विद्यालयको उत्कृष्ट विद्यार्थी थियौँ।
विज्ञान विषय पढेर आफ्नो लक्ष्यमा पुग्ने साझा सपना देखेका थियौँ। त्यहीँ भएर खाली समयमा पनि अध्ययनलाई जारी राख्न बागबजारको एउटा इन्स्टिच्युटमा भर्ना भएका थियौँ। अन्य साथीहरू एसएलसी दिएपछि घुम्ने तथा अरू कामको योजनामा थिए भने हामी पढेर केही गर्ने सपना देखी परीक्षा दिएको भोलिपल्ट नै काठमाडौं आएका थियौँ।
त्यहाँ ब्रिजकोर्स पढिसकेपछि हामी तीन जना विभिन्न कलेजमा नाम निकालेर पढ्न गयौँ। विस्तारै अध्ययन तिर लागियो, कुराकानी हुन नि पाएन। मेरो मोबाइल हराएकोले साथीहरूसँग सम्पर्क पनि हुन सकेन।
मैले आफ्नो जनस्वास्थ्यकोको अध्ययन गरिसकेपछि ‘टिच फर नेपाल’ मार्फत लमजुङको एउटा गाउँमा दुई वर्ष स्वयंसेवक शिक्षकको रूपमा काम पनि गरेँ।
यो दुई वर्षको अवधिमा मसँग स्नातक अध्ययन गर्ने साथीहरू मलाई प्रश्न गर्नुहुन्थ्यो- अब नेपाल बसेर काम छैन, के गाउँ गएको?
यस्ता प्रश्नहरू मलाई दैनिक जस्तो सामाजिक सञ्जालमा म्यासेज गर्नुहुन्थ्यो। उहाँहरूको विभिन्न ठाउँमा राम्रो जागिर गर्दै हुनुहुन्थ्यो। विदेश जाने साथीहरू समुद्रको किनारमा बसेर तस्वीरहरू सामाजिक सञ्जालमा राख्नुहुन्थ्यो।
लमजुङको त्यो गाउँमा सानो पानी र हावाहुरी चल्दा पनि २/४ दिन विद्युत अवरोध हुन्थ्यो। समय मिलेको बेलामा सामाजिक सञ्जाल चलाउँदा उनीहरूकै तस्वीरले सञ्जाल भरिएको हुन्थ्यो। तर पनि मलाई म विदेश किन नगएको भनेर दुःख लागेन।
आज समय बदलिएछ। मेरो दाइ काठमाडौंमा एउटा सानो व्यवसाय चलाउँदै आउनु भएको थियो। व्यवसायबाट महिनामा केही आम्दानीसमेत गर्नुहुन्थ्यो। तर पनि उहाँले नेपालमा राम्रो भविष्य देख्नु भएन र केही महिना अगाडि अस्ट्रेलिया जानुभयो। म अचम्ममा परेँ। उहाँजस्तो मान्छे पनि देशमा बस्न मन नलाग्ने कस्तो देश भएछ है हाम्रो नेपाल!
करिब ७ वर्षपछि सामाजिक संजालमार्फत सूर्य र महेशसँग कुराकानी भयो र भेट्ने योजना बनायौँ। भेट भयो त्यहीँ बागबजारको एउटा सानो पसलमा केही दिन अगाडि। चिया पिउँदै कुरा गर्यौं।
हामी तीन जनाले नै स्नातक तह अध्ययन गरिसकेका छौँ। महेश इन्जिनियर, सूर्य बिएससी र म जनस्वस्थ्यमा। कुराकानी गर्दै जाँदा उनीहरूमा एकदम निराशापन पाएँ।
दुवै जनाले भन्दै थिए- किन नेपालमा बसेको होला?
‘आफूसँग पढेको साथी कोही जापान पुगे, कोही कोरिया। उनीहरूको खासै पढाइ राम्रो नि थिएन। तर समयमा विदेश पुगे, काठमाडौंमा घर जग्गा जोडिसके, बिहे समेत गरिसके। आफू नेपाल बसेर कोठाभाडा समेत घरबाट मागेर तिर्दैछु,’ कुरैकुरामा सूर्य बोल्यो।
‘यार जागिर छैन, सुको गोजीमा छैन, बिहे गर्ने उमेर जान लाग्यो, यस्तो ताल भयो भने त बिहे हुन नि गाह्रो छ,’ महेशले पनि मनको तितो पोख्यो।
साथीहरू मात्र होइन, म पनि निराश थिएँ। देशमा बसेर केही गर्न सकिन्छ कि भनेर सोचेको तर राजनीतिक तथा आर्थिक अवस्था र विभिन्न कारणले गर्दा म मात्र होइन, मेरा साथीहरू पनि त्यस्तै अवस्थामा रहेको पाएँ।
‘घरमा लोक सेवा पढ् न बरु भन्नुहुन्थ्यो। तर सरकारी सुक्खा तलबले आफ्नो खर्च चलाउन पुग्दैन यस्तो महंगी छ,’ मैले आफ्नो बह पोखेँ।
मैले लोक सेवामा नाम निकालेको एकजना साथीको पीडा पनि सुनेको थिएँ। उसले फेसबुकमा मेसेज गरेर भनेको थियो- ‘एउटा आइइएलटिएस गरेर बसेको कोही छैन? डिपेन्डेन्टमा अस्ट्रेलिया जान हुन्थ्यो नि, बरु पूरै खर्च म बेहोर्छु।’
त्यो साथीको कुरा सुनेर लोक सेवामा गर्ने मेहनत त आइइएलटिएस, पिटिई गरे विदेश पुगिन्छ भन्ने सोचाइमा पुगेँ।
हामीले चिया पिउँदै गर्दा ४/५ जना केटाहरूको एउटा समूह हाम्रो नजिकैको अर्को टेबलमा थिए। उनीहरू आफ्नै गफमा व्यस्त थिए। उनीहरू नि भन्दै थिए- जतिसक्दो चाँडो देश छोड्न पर्छ। यो पिटिईमा राम्रो गर्न पाए फर्केर आउने थिइनँ नेपाल।
अर्को केटो चुरोट तानेर लामो धुवाँ फाल्दै बोल्यो- ‘यस्ता देशमा बसेर हुन्छ? जो आए पनि यस्तै र छ। नेताहरू आफू र आफ्नो परिवार अनि आफ्नो अघिपछि लाग्ने झोलेभन्दा अरुको बारेमा मतलब छैन। सत्तामा पुग्न पाए भयो।’ ऊ अलि आक्रोशित सुनिन्थ्यो।
उनीहरू नजिकैको इन्स्टिच्युटबाट पिटिई पढेर आएका रहेछन्। साँझ पर्न लागिसकेको थियो, साथीसँग छुट्टिएँ र त्यहीँ बागबजारबाट रत्नपार्क तिर हानिएँ।
केही वर्ष अगाडिसम्म भविष्य खोज्न ब्रिजकोर्स पढ्न त्यहीँ सडकमा हिँडेका युवायुवती अहिले देश छोड्न हतार-हतार गरिरहेका, आफ्नो भविष्य अन्योल देखेर हातमा डकुमेन्ट अनि आइइएलटिएस, पिटिईको किताब र नम्बर बोकेको देख्दै थिएँ।
हामीले देशमा परिवर्तन खोजेको यही त हो भन्दै आफ्नो डेरातिर लागेँ।
यदि नेपाल यस्तो छ भने किन यस्तो छ? के कारणले यस्तो भएको हो? हाम्रा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले कहिले सोचेनन्।
हामीजस्ता देशमा केही गरौँ भन्ने सोच भएका युवाहरू दैनिक रुपमा विदेश पलायन हुने हो भने यो देशको भविष्य के होला?