केही दिनअघि समाचारमा आएको जनगणनाको रिपोर्टमा धेरैथरी तथ्यांक सार्वजनिक भएका थिए। मलाई भने एउटै तथ्यांकले ध्यानाकृष्ट गर्यो। त्यो अजीव थियो र अप्राकृतिक पनि।
छोरी शिशु छोरा शिशुभन्दा उल्लेखनीय रुपमा कम भएको तथ्यांक साँच्चिकै अप्राकृतिक गणित हो। मलाई छोरा बढी भन्न मन लागेन किनकि छोरी कम हुन् अथवा बनाइएका हुन्। प्रकृतिको नियममा नभएको कुरा हो त्यो। म यस कुराको लामो समयदेखि साक्षी छु।
मलाई मेरो दोस्रो गर्भावस्थामा भिडिओ एक्सरे गर्न जाँदाको याद आयो। जहाँ धेरै गर्भवती महिलाहरू कौतूहल, अन्योल र तनावग्रस्त अनुहारमा यताउता गरिरहेका थिए। भित्रबाट निस्कनेलाई बाहिर हुनेले सोध्थ्यो ‘के भयो राम्रो या नराम्रो?’
कोही अनुहारको उज्यालो लुकाउने प्रयत्न गर्दै ‘खै छोरा छ रे’ भन्थे र विजेताको मुद्रामा अघि बढ्थे। कोही ‘फेरि त्यही रे’ भन्दै चिन्तित अनुहारका साथ निस्कन्थे। इसारा बुझिहाल्नु भयो होला, त्यहाँ त्यस्ता संवाद हुने अधिकांश महिलाको पहिलो बच्चा छोरी छ र ती भ्रुणहरू यस धर्तीमा पाइला राख्न पाउने छैनन्।
२०६३ सालदेखि स्वास्थ्यकर्मी भएर काम गरिरहँदा मेरा लागि त्यो दृश्य नयाँ थिएन। तर लक्ष्मीपूजाको आसपासमा त्यतिका धेरै लक्ष्मी आफ्नै कोखबाट हुने लक्ष्मी आगमन निषेधका लागि देखाएको त्यो दृढ मानसिकता मलाई अत्यासलाग्दो लाग्यो।
कति ढोंगी छ संसार, तिनै महिलाहरू कति पूजे होलान्, व्रत सांगे गर्न कन्या खोज्दै हिँडे होलान्, बच्चाहरूलाई वीरंगनाको गाथा पनि पढाए होलान्। तर तेस्रो सन्तान दोहोरिएर छोरी जन्मन दिने छैनन् तिनले। यस्तैयस्तै घटनाहरू स्मृतिमा आइरहे।
जनगणनाको यो नतिजा मेरो लागि अनपेक्षित थिएन। तर यसलाई बढावा दिने प्रवृत्तिहरू जसरी बढ्दै गइरहेका छन् त्यसले महिलाहरूको स्थिति के हो सोच्नै पर्ने बनाएको छ।
छ न त नेपालमा यस सम्बन्धी कानुन छ। तर यस्ता कर्म (कुकर्म) मा इसारा चल्छ। कानुनले इसारालाई समातेर केही गर्न सक्दैन। प्रमाण त्यहाँ बन्नै पाउँदैन। तर काम भइरहन्छ। कानुनले कसरी काम गरोस् जब ‘लेने देने दो राजी तब क्या करेगा काजी’ नियम तोड्न खोज्नेलाई छिद्र जति पनि भेटिन्छन्।
कानुन त छुवाछुतविरुद्धको पनि छ। मानव बेचबिखनविरुद्धको पनि छ। बहुविवाहको पनि छ। वैवाहिक बलात्कारविरुद्ध पनि छ। भ्रष्टाचारविरुद्धको पनि दह्रो कानुन छ। भन्न त विज्ञहरू असाध्यै महिलामैत्री कानुन छ भन्छन् नेपालमा। तर यीमध्ये कति व्यवहारमा लागु भइरहेका छन् हामी सबैलाई थाहा छ।
वास्तवमा कुनै पनि नियम कानुन संविधानभन्दा बलियो त्यहाँको सामाजिक, धार्मिक, साँस्कृतिक मूल्य मान्यता हुन्छन्। जब आममानिसको विचार र व्यवहारमा परिवर्तन आउँदैन तबसम्म नीति नियमहरू कागजमै सीमित हुन्छन्।
सानैदेखि छोराहरू सरह माया र अवसर प्राप्त गरेकाले मलाई छोरी भएर जन्मेकोमा कहिल्यै हीनताबोध भएन। तर दशकौँ बितिसकेपछि यस्ता समाचार पढ्दै गदा गम्भीर समीक्षा गर्नपर्ने आवश्यकता देखेको छु।
साँच्चै हामी नारीहरू जसरी देवी मानेर पुजियौं, त्यस्तै पूजाकोठाको चार दिवारभित्र सीमित मूर्ति झैं हामी पनि त्यत्ति घेराभित्र सीमित पो भयौं कि? मैले इश्वरको अस्तित्वमा बहस गर्न खोजेको होइन। हाम्रो बढ्न नसकेको दायरा र ‘हाम्रो’ लागि हाम्रो प्रयोजन कति सार्थक बनायौं? त्यसबारे खरो प्रश्न गर्न खोजेको छु।
केही दशकयता महिला साक्षरता र शिक्षित हुने दर गतिलैसँग बढेको छ। ३३ प्रतिशत आरक्षण छ। साथै राजनीतिक रुपमा पनि राष्ट्रपति, सभामुखसम्म पनि भएका छन्। शिक्षा, स्वास्थ्य, सञ्चार, न्यायालाय हरेक क्षेत्रमा केही न केही महिलाहरू राम्रो उपस्थिति देखाउन सफल पनि भएका छन्।
तर आम जनजीवनमा मध्यम र निम्न मध्यम वर्गीय परिवारमा धेरै छोरीहरूको शिक्षा परिवारको निम्ति छोराको जति उपयोगी बन्न सकेको छैन। माथिल्लो तह बढ्दै जाँदा छात्राहरूको संख्या घट्दै जान्छ। जागिर खानेको संख्या घट्दै जान्छ। जागिर खानेको संख्या अझ घट्दै जान्छ।
विवाह गरेपछि पढाइ र जागिर छोड्नेहरूको संख्या हेर्ने हो भने क्याम्पस विश्वविद्यालयहरू विवाह नहुन्जेलको प्रतीक्षालय जस्तो देखिन्छन्। आर्थिक रुपमा मजबुत हुनु स्वतन्त्रताको पहिलो आधार हो। धेरै महिलाहरू परिवारका लागि आफ्नो ‘करियर’सँग सम्झौता गर्नु अनिवार्य जस्तै ठान्छन्।
परिवारले त्यो संस्कार बुझ्ने भएदेखि सिकाएर हुन्छ। बेलैमा आफूभन्दा बढी योग्य केटासँग विवाह गर्नु, घर सम्हाल्नु, दुइटा बच्चा जन्माउनु, श्रीमान र परिवारको चित्त बुझाउनु ‘एउटा पर्फेक्ट लाइफ’ को चित्र मस्तिष्कमा बसाइसकेका हुन्छ। त्यो चित्रमा दाग लाग्न नदिने असल ‘छोरी’ त्योभन्दा दायाँबायाँ हिँड्ने परिवारको चिन्ता। संघर्ष गर्नुभन्दा सम्झौता गर्न सजिलो हुन्छ। घुँडा धसेर लोक सेवा पास गर्नुभन्दा पाउडर धसेर राम्रो कमाउनेसँग विवाह गरेर सेटल हुन सजिलो हुन्छ।
पढेर विद्वान बन्न, जागिरमा क्षमता प्रदर्शन गरेर उच्च पदमा पुग्न, व्यवसाय गरेर पैसा कमाउन, राजनीति गररेर शक्तिशाली नेता बन्न चुनौतीको पहाड फोर्नुपर्छ। त्यसैले धेरैजना सम्झौतापरस्त भइदिन्छन्। मलाई भूपि शेरचनको कविता याद आँउछ-
यो विशाल विश्वको कुनामा एउटा चार दिवारी
त्यो चार दिवारीमा एउटा सानो आलमारी
त्यो आलमारीमा दुई/चार गहना र सारी
बस् त्यही हो तिम्रो जुगजुगदेखिको कमाइ नारी
साँच्चै हामीले आफ्नै सन्तानलाई किन कमजोर बनाउँदै लगेको? छोरालाई साइकल उपहार, छोरीलाई पिंक फ्रक। बैंक जाने छोरा, तरकारी बजार जाने छोरी। बिजुलीको फ्युज गए छोरा, पाहुनाको सत्कार गर्ने छोरी। छोराले पिताको व्यवसाय बुझ्दै गर्दा छोरीले आमाको भान्सा। छोराहरू सेयर मार्केट बुझ्दै गर्दा छोरीले लुगा र स्यान्डिलको बहस गरिरहेका हुन्छन्।
हाम्रा शैक्षिक प्रमाणपत्रहरू बेकार हुन्छन्। हाम्रो दिमाग भुत्ते हुनजान्छ। धेरै पढेका छोरी पनि कतिपय ‘भलाद्मी परिवारहरू’ लाई सेतो हात्ती जस्तै बन्न पुग्छन्। झन् धेरै योग्यताको केटाको खोज्नु र उसको मान राख्न गर्नुपर्ने विवाह लगायतको यावत् खर्चहरू अझ परिवारको बोझ बढाउने हुन जान्छ। हामी उत्पादनशील हुन सकेनौं। सन्तान उत्पादन मात्रै हो सबैले गर्न सक्ने।
हाम्रो वैचारिक परिवर्तन नभए नियम कानुनको मात्र केही अर्थ हुँदैन। सक्षमता र सबलताबिनाको स्वतन्त्रता पखेँटा काटेर पिँजडाबाट छाडेको सुगाजस्तै हुन्छ। छोरीहरूलाई पखेँटा फिँजाउन अड्काउने हाम्रो सोचाइ हो। आधुनिकतासँगै रुप मात्रै फेरेको दास मानसिकता हो।
छोरीको कमाइ खानु लाचारी सम्झिने र छोराबिना वंश बढ्दैन भनी सोच्नु रुढीवाद हो। चुनौतीपूर्ण भूमिकामा महिलालाई नपत्याउने, एकल जीवन बिताउनेलाई असहज मान्ने संकीर्ण सोचाइका केही उदाहरणमात्र हुन्। हाम्रो दैनिक जीवनको सानातिना कामदेखि ठूलो निर्णय लिने पनि हामी आफैंले हो।
धेरै सिद्धान्त र वादहरू पढ्नै पर्दैन। थोरै सोच र व्यवहार बदले पुग्छ। इन्जिनियरिङका छात्राहरूले अटोमोबाइल पनि रोज्न थालून्। डाक्टर छात्राहरू अर्थोपेडिक्स पनि रोज्न थालून्। कराँते क्लासबाट फर्किएकी बहिनीलाई दाइले ब्रेकफास्ट खुवाओस्। श्रीमती अफिस जाँदा श्रीमानले बच्चालाई आमाको कमी हुन नदियोस्।
डेटिङ जानेलाई बिल तिर्ने जिम्मा ब्वाइफ्रेन्डको मात्र हो भन्ने नहोस्। साँझ अबेर घर फर्कँदा इज्जत फर्किँदैन कि भनेर हिच्किचाउन नपरोस्। सर्फको विज्ञापनमा पुरुष मोडल पनि देखियोस्। गाडीको विज्ञापनमा गाडी चलाउने महिला देखिऊन्। अफिसको रिसेप्सनमा मात्र होइन प्रमुखको पदमा पनि महिला देखिऊन्।
पुरुषमाथि निर्भर हुने सोच स्वयं पुरुषकै निम्ति पनि हानिकारक हो। महिला र पुरुष साथीकै हैसियतमा भए मात्र जिन्दगी सहज हुन्छ। सृष्टिका दुई सिर्जना परनिर्भर र परपीडक बने अनन्त द्वन्द्वमा अल्मलिरहला।
हामी ‘देवीहरू’ साँचो अर्थमा कुनै पनि देवी बन्ने सकेनौँ। न लक्ष्मी बन्यौं परिवारको आर्थिक बोझ उठाउने, न सरस्वती बन्यौं ज्ञान र बुद्धिको क्षेत्रमा चम्कने, न असत्य र खराबीलाई परास्त गर्ने दुर्गाजस्तो पराक्रमी। धनधान्य भरिपूर्ण बनाउने नसके पनि कम्तीमा हामी ‘सेतो हात्ती’ नबनेको भए हाम्रो शैक्षिक प्रमाणपत्रलाई राम्रो केटा पाउने मापदण्ड मात्रै नमानेको भए, आफूलाई गलत नजरले हेर्नेमाथि दुर्गा चण्डी भएर जाइलागेको भए सायद हाम्रो आफ्नै वर्ग हामीसित यति निराश हुँदैनथे होलान्। एक थोपा आशा नराखी छोरी भन्ने थाहा पाएपछि गर्भमै सिध्याइदिने अवस्था आउँदैनथ्यो होला।
बुद्धत्व प्राप्त गर्न सिद्धार्थको पाइला पछ्याउनुपर्छ नत्र हामी सधैँ राहुलको ममतामा गुमनाम यशोधरा मात्र बन्छौँ। आफ्नो आँखाको ज्योति गुम्ने गरी साधना गरेर म्याडम क्युरी चिनिएकी हुन्, कसैकी छोरी, बुहारी, आमा भएर होइन।
मातृत्व प्रकृतिप्रदत्त थप क्षमता हो। यसले महिलाहरूलाई अथाह शक्तिशाली बनाउँछ। यो हाम्रो प्रगतिको बाधक बन्न हुँदैन। सायद समयले अझै हाम्रो त्याग संघर्ष मागेको छ होला। हाम्रो कथाको सिन्ड्रेलाहरू आफैं घोडसवार गरेर सपनाको देशको यात्रा गरून्।