यो फोटो आजभन्दा १० वर्षअगाडि दशरथ रंगशालामा म पहिलो पटक नेपाली फुटबल प्रत्यक्ष हेर्न गएको बेलाको हो।
शनिबारको दिन दिउँसो भएको सो खेल बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेल थियो। दिउँसोको खेल अनि त्यो बेला टिकट अनलाइन काट्ने व्यवस्था थिएन, त्यसैले त्यो खेल हेर्न बिहानै ६ बजे म र मेरो अरू दुई जना साथीहरू धुलिखेलबाट निस्केका थियौं। करिब २/३ घण्टा लाइनमा बसेपछि टिकट हात परेको थियो।
त्यो बेला न त दिउँसोको घाम छेक्ने छत थियो न त मज्जाले बस्न मिल्ने सिट। त्यही पनि, अहिलेभन्दा १० वर्ष अगाडि त्यही रंगशालामा साधारण टिकटको रु.५०० तिरेर खेल हेर्न गएको थियौं।
त्यो बेला क्रेज पनि छुट्टै थियो, जुमनु राई, अनिल गुरूङ, सागर थापा, सन्दीप राई, विकास मल्ल लगायतका स्टारहरू।
अहिले अपसोच, विगत १० वर्षमा न त टिकटको मूल्य बढ्यो न त नेपाली फुटबलको स्तर नै। अहिले काठमाडौंमा जारी थ्री नेसन्स कप अन्तर्गत नेपालको खेलमा दर्शकको कमी हुनुको कारण के हो? टिकटको मूल्य बढी भएर? कदापी हैन।
१० वर्ष अगाडि त्यही ५०० तिरेर नेपालको मैत्रीपूर्ण खेल हेर्न भरीभराउ हुनेगर्थ्यो, दशरथ रंगशाला। अझ टिकट 'ब्ल्याक' मा बेच्नेहरू पनि हुनेगर्थे। ५०० को टिकटलाई २००० सम्म लिने गर्थ्यो।
यही ताल रहिरहने हो र अझै पनि सम्बन्धित निकाय र सरकारले वास्ता नगर्ने हो भने अर्को १० बर्षमा २०० तिरेर पनि खेल हेर्ने दर्शक आउन मुस्किल हुनेछ।
सीमित सुविधाको बाबजुत पनि खेलाडीहरूले चाहे सफलता हासिल गर्न सक्ने उदाहरण हेर्न अरू कतै जानै पर्दैन, नेपाली क्रिकेट टिमलाई हेरे पुग्छ। अहिलेभन्दा १५/१६ वर्ष अगाडि फुटबलको तुलनामा क्रिकेटमा लगानी धेरै थिएन। त्यो बेला फुटबलमा ए डिभिजन लिग विजेतालाई १ करोड सम्मको नगद पुरस्कार थियो तर क्रिकेटमा ५ लाख पुरस्कार पनि हुन मुस्किल थियो।
खेलाडीहरूले एउटै ब्याटले हरेक प्रतियोगिता धान्न पर्ने हुन्थ्यो। एस्पोजरको कुरा त कहाँ हो कहाँ। वर्षमा घरेलु र अन्तर्राष्ट्रिय गरेर १० देखि १५ खेल खेल्न पनि मुस्किल थियो।
पछिल्लो २ दशकको नेपाली क्रिकेट टोलीमा रहेका खेलाडीले दिएको योगदान सोच्ने हो भने अहिले पनि मेरो शरीरमा काँडा उम्रिन्छ।
फुटबलको तुलनामा हेर्ने हो भने नेपाली क्रिकेटको पूर्वाधार पहिलेदेखि नै न्यून छ।
अहिले विस्तारै केही प्रगति हुँदैछ पूर्वाधारमा, जसको श्रेय जान्छ खेलाडीहरूलाई नै अनि यो टिमलाई 'लिड' गर्ने कप्तान पारस खड्कालाई।
१०/१२ वर्ष अगाडि नेपाल टेलिभिजनको च्यानलको कुनामा सानो अक्षरमा स्कोर हेर्ने अवस्थाबाट अहिले अन्तर्राष्ट्रिय टिभी च्यानलमा हेर्न पाउने अवस्था सृजना भइसकेको छ।
यो सबै खेलाडीको योगदान र त्यागकै कारण सम्भव भएको हो र यस्तै त्याग र योगदानको आवश्यकता नेपाली फुटबल खेलाडीमा पनि आवश्यक छ।
विगत २ दशकदेखि अब अर्को खेलमा राम्रो गर्ला, अर्को प्रतियोगितामा राम्रो गर्ला भन्दाभन्दै यत्रो वर्ष बितिसक्यो तर फुटबलको स्तरको नै उन्नति त भएन भएन, झन् ओरालो लाग्दै गयो।
मजस्तै विगत दशकौंदेखिको नेपाली फुटबलप्रतिको माया पनि घट्दै गएको छ।
एकातिर हामी फुटबल प्रेमीको नेपाली फुटबलप्रति आस्था घट्दै छ र अर्कोतिर नेपाली फुटबल टोलीमा खेलाडी घट्दै छ। दिनदिनै राष्ट्रिय फुटबल खेलाडीहरू विदेशिँदै छन्।
पछिल्लो केही महिनादेखि विदेशिने क्रम बढे पनि न त एन्फाको ध्यानाकर्षण भएको छ, न त फुटबल खेलाडीले नै आफ्नो भविष्य सुनिश्चित भएको आभास गरेका छन्।
पछिल्लो वर्षदेखि नेपाली फुटबल टिमको मुख्य खेलाडी रहेर खेलेका खेलाडी नै विदेशिएको देख्दा साह्रै नराम्रो लाग्ने रहेछ।
उनीहरू विदेशिएका कारण अलिकति माथि छाडेको नेपाली फुटबल फेरि तलदेखि सुरू गर्नुपर्ने भएको छ।
यदि त्यो बेला नेपाली क्रिकेट धानेका पारस खड्का, ज्ञानेन्द्र मल्ल, बिनोद दास, शक्ति गौचन, बसन्त रेग्मी लगायतका टिमले अहिले फुटबल खेलाडी जसरी विदेश पसेका भए अहिले नेपाली क्रिकेट कुन हालतमा हुने थियो, त्यो कल्पना पनि गर्न सकिन्न।
राष्ट्रको लागि योगदान दिन नेपाली फुटबल टिमले क्रिकेट टोलीसँग सिक्न जरूरी छ। हैन भने दशरथ रंगशालाको दर्शकहरू विस्तारै टियु क्रिकेट ग्राउन्डतिर लाग्न थालइसके। खेलाडीले मात्र हैन एन्फाले पनि अब क्यानसँग पनि केही सिक्न पर्ने देखिएको छ।
कुनै समय आइसिसीबाट निलम्बनमा परेको क्यान (क्रिकेट एसोसियसन अफ नेपाल) ले अहिले खेलाडीको भविष्य सुनिश्चितसँगै निरन्तर क्रिकेट लिग र अन्तर्राष्ट्रिय सिरिज गरिरहेको छ।
शुक्रबारमात्रै सम्पन्न भएको प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ आयोजना गर्नुमा एन्फाको मनसाय छर्लंग थियो। बस् एक आधिकारिकताको लागि मात्र गराइएको यस मैत्रीपूर्ण सिरिजमा यतिसम्म लापरबाही देखियो कि, फाइनलजस्तो खेलले फिफा अन्तर्राष्ट्रियको मान्यता पनि पाएन।
मार्च २० देखि २८ सम्ममा फिफाले सार्वजनिक गरेको (अन्तरराष्ट्रिय विन्डो) को बेवास्ता गरी एन्फाले फाइनल खेल नै विन्डो बाहिर राख्यो।
फिफा वरीयतामा नेपालभन्दा निकै तल रहेका दुई राष्ट्रलाई सम्मिलित गरेर एन्फाले सिरिज राख्यो र तिनै कमजोर मानिएको टिमविरूद्ध पनि नेपालले संघर्ष गरेको देखियो।
नेपाली टोलीको प्रदर्शन सन्तोषजनक नै थियो, तर १५ वर्ष अगाडि सोचको प्रदर्शन यो हैन नेपाली फुटबलको। योभन्दा स्तरीय टोलीसँग योभन्दा स्तरीय प्रदर्शनको आशा थियो हामी सबैलाई।
नेपाली टोलीले यस थ्री नेसन्स कप त जित्यो, तर पनि कता कता चित्त बुझेकै छैन। न त दशरथ रंगशालामा उल्लेखनीय दर्शकको उपस्थिति नै थियो।
आधिकारिक रूपमा १८ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा आज फाइनल खेल हेर्ने दर्शकको संख्या करिब ९,००० रहेको आधिकारिक जानकारी कमेन्टेटरले जनाएका थिए।
तर बिदा नहुँदा पनि केही दिन अगाडि क्रिकेटमा नेपालविरूद्ध युएईको खेल हेर्ने दर्शकको घुइँचो बयान गरी साध्य छैन। अनौपचारिक रूपमा करिब १५ हजार दर्शक क्षमता रहेको टियु मैदानमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्ममा खेल हेर्ने दर्शकको संख्या ३० हजारको आसपास थियो।
रूखमा चढेर खेल हेर्नेको संख्या नै करिब एक सय थिए होला। आखिर दिनभरिको चर्को घाममा, त्यही पनि चिसो माटोको भुइँमा बसेर हेर्न टियु दर्शक आउँछन् भने २ घण्टामात्र समय दिएर फुटबल टिमलाई सुविधा सम्पन्न दशरथ रंगशालामा किन आउन छाडे त? यसको उत्तर सायद हामी धेरैलाई थाहा नै होला र एन्फा र सम्बन्धित निकायलाई पनि थाहा होला।
यदि अब पनि एन्फाले खेलाडीको भविष्य र वर्तमानको सुनिश्चितताको जिम्मा नलिने र खेलाडीहरूले पनि आफू जिम्मेवार हुन खोजेनन् भने नेपाली फुटबलको ओरालो लाग्ने क्रमले अर्को गियर समात्नेछ।
एन्फा र खेलाडीको गैरजिम्मेवारीको सिकार भनेको नेपाली फुटबलले छिट्टै नै निकास पाओस् र नेपाली फुटबलको क्रेज पुन: फर्कियोस् भन्ने आशा गरेको छु।