‘मेरो तीन जना दिदीहरू हुनुहुन्छ।’
मेरो यस उत्तरमा सबैको प्रतिप्रश्न हुन्छ- ‘दाजुभाइ छैनन्?’
रहर त मेरो आमाबुवालाई नि नभएको होइन होला छोरा पाउने, त्यसैले त हामी चार जना दिदीबहिनी छौँ। तर छोराको रहरमा जन्मिएका हामी चार छोरीहरूलाई हाम्रो आमाबुवाले कुनै कुरामा कमी गरेको मैले महसुस गरेकी छैन।
जब म सम्झिने, मान्छे चिन्ने उमेरको भएँ तबदेखि नै बुबा विदेश जानुभएको थियो। हरेक वर्ष १ महिनाको छुट्टीमा आउनुहुन्थ्यो। त्यसैले पनि होला बुबाको बिछट्टै माया लाग्थ्यो।
बुबाले १० वर्ष विदेशमा हाम्रो लागि पसिना बगौँदा, यता मेरी आमाले बुबाको यादमा कति आँसु बगाइन् त मोल नै गरिएन। अनि मभन्दा उमेरले १० वर्ष जेठी मेरी ठूली दिदी त बुबाको गैर हाजिरीमा हाम्रो लागि बुबाको भूमिकामा सदा तैनाथ हुनुहुन्थ्यो।
सानो उमेरमा दिदीसँग चित्त दुखाइ पनि रह्यो होला, कति कडा व्यवहार गर्नु भएको भनेर। तर मेरी दिदीले १६ वर्षको उमेरमा बहिनीहरूको लागि बुबाले निर्वाह गर्नुपर्ने दायित्व आफ्नो काँधमा थेग्नुभयो। उहाँ हाम्रो लागि सधैँ उदाहरणीय बन्नुभयो।
हजुरबुवा हजुरआमाको जेठो छोरा मेरो बुबा भएकोले मेरी दिदी नै सबैभन्दा जेठी नातिनी हुनुहुन्थ्यो। उहाँ कार्की परिवारमा नर्सिङ पढेर मेडिकल फिल्डमा पाइला चाल्ने अगुवा हुनुभयो। बानी व्यवहारले ठ्याक्कै बुबाको फोटोकपी मेरी दिदीले उदाहरणीय छोरी मात्र नभई हामी तीन बहिनीको लागि त आमासमान भूमिका निर्वाह गरेकी छिन्।
ठूली दिदीले भनेको सबै कुरा मान्थ्यौँ, प्रायः डर र करले। तर अहिले आएर महसुस हुन्छ, दिदीको हरेक शब्दले नै जीवनको हर मोडमा हिम्मत प्रदान गरेको रहेछ। अहिले त दिदीको गाली नखाएको नि धेरै भयो तर दिदीको त्यो गालीमा मिसिएको माया अहिले बल्ल महसुस हुन्छ।
मेरो जीवनको प्रेरणाको स्रोत हुन् मेरी दिदी, म उहाँको प्रशंसाको गान सदैव गाइरहन सक्छु। ठूलीदिदीलाई कहिल्यै व्यक्त गरेको छैन, तर दिदी आज जे छु त्यसमा हजुरको महत्त्वपूर्ण योगदान छ, हामी तीनजना बहिनीहरू हजुरप्रति धेरै आभारी छौँ।
ठूलीदिदीले एसएलसी दिने बेला विदेश जानुभएको बुबा मैले एसइई दिएको वर्ष अब नजाने गरी फर्किनु भयो। बुबा विदेशमा हुँदा मेरा अरु दुइटी दिदीहरूले नि ब्याचलर पढ्न थालिसक्नु भएको थियो। माइली दिदी परिवारको पहिलो डाक्टर हुनुभयो। साइली दिदी चाहिँ बिएससी नर्सिङ पढ्नुभयो। बुबालाई कहिल्यै निराश बनाउनु भएन मेरो दिदीहरूले।
ठूलोदिदीको बिहे म कक्षा ७ मा हुँदा भएको थियो र यो लेख्दै गर्दा दिदीभिनाजु अस्ट्रेलिया जानुभएको नि ५ वर्ष पूरा भएछ। यसै सालमा मेरी माइली र साइली दिदीको नि विवाह भयो। आफ्नै बहिनीको बिहे भिडिओ कलमा हेर्दा दिदीको मन कति रोयो होला, म त कल्पना नि गर्न सक्दिनँ।
अहिले माइली दिदी र भिनाजु लण्डन र साइली दिदी र भिनाजु अस्ट्रेलिया हुनुहुन्छ।
दिदीहरूलाई मेडिकल फिल्डमा देखेर होला मलाई पनि यसै विषयतिर रहर जागेको थियो। म घरकी कान्छी छोरी, अहिले काठमाडौंस्थित आर्मी मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्यनरत छु।
आमाबुबा घरमा हुनुहुन्छ, उतै चितवनमा। सायद सबैबाट टाढा भएर होला, असाध्यै याद आउँछ। हाम्रो परिवार ठूलो भएको कारण पनि होला अहिले घर र परिवारबाट टाढा होस्टलमा बस्दा धेरै सम्झना आँउछ।
दिदीहरूको यादमा त कति रात सिरानी भिजाएको छु मलाई मात्र थाहा छ। उहाँहरूको बिहे भएर जादा जति दुःख लागेको थियो, त्योभन्दा बढी आँसु त मैले विमानस्थलमा झारेको छु। ठूली दिदी विदेश जाँदा त म मात्र कक्षा ९ मा थिएँ। अहिले ५ वर्ष भइसक्यो दिदीलाई प्रत्यक्ष नदेखेको, धेरै याद आउँछ मेरी प्यारी दिदी।
माइली दिदीको लागि त यही वर्ष बिहे र एयरपोर्टमा कति आँसु झर्यो, हिसाब त कहाँ राखेकी छु र! बिहेअघि कुकुरबिरालो जसरी झगडा गर्ने हामी भित्र लुकेको अपरम्पार मायाको मूल त टाढा भएपछि पो फुट्ने रहेछ। यो कुरा त सायद हामीसँग मात्र नभएर हरेक दिदीबहिनीसँग मेल खान्छ होला।
माइली दिदी विदेश गए नि साइली दिदी भएकोले कहिल्यै एक्लो महसुस भएन। दिदीको बिहे चितवनमै भएको हुँदा दिदी पनि घर आइराख्नु हुन्थ्यो। तर जुन दिन दिदीको भिसा लाग्यो, अनायसै आँखाबाट आँसु बग्न थाल्यो। दिदीको लागि त धेरै खुसी थिएँ तर आफ्नो चाहिँ माया लाग्दै थियो।
दिदीलाई बिदाइ गरेपछि आँसु झार्दै होस्टल फर्केको दृश्य त प्रष्ट याद छ मलाई। कति क्षणहरूमा ‘दिदी यहाँ भएकी भए’ भन्ने भावना आइरहन्छ।
कहिल्यै कतै एक्लै नहिँडेकी म कसरी जिउने होला जस्तो लाग्थ्यो। तर जिन्दगी सहज र सरल बनाउन यस्तै चुनौती त आउने रहेछ भनेर जस्तोसुकै परिस्थितिलाई पनि सहर्ष स्वीकार गर्ने प्रवृत्तिको विकास भएको छ।
हाम्रो लागि कति रहरहरू मार्नुभयो आमाबुबाले, त्यसकारण आज हजुरहरूको सबै रहर पूरा गर्ने सामर्थ्य राख्छौँ। अनि तिमीहरू टाढा छौ, हामी स्वस्थ हुनुपर्यो नि भनेर स्वसचेत भई सँगै व्यायम गर्नुभएको देख्दा मेरो मन नै प्रफुल्लित हुन्छ।
सायद तीन वटी दिदीलाई आँखाअगाडि अन्मिँदै गर्दा आमाको आँसु र बुबाको वेदना देखेको भएर होला अत्यन्तै प्रगाढ माया लाग्छ मेरो प्यारो मामुड्याडीको।
ड्याडी जहिले भन्ने गर्नुहुन्छ- ‘तिमीहरू नै हो हाम्रो छोरा भने नि वा छोरी भने नि। तिमीहरू चार जना सधैँ मिल्नू, एकअर्काको हिम्मत र साथ बन्नू।’
तर ड्याडी, म कसरी हजुरलाई व्यक्त गरूँ कि मेरो लागि मेरो दिदीहरू मेरो मुटुको टुक्रा हुन्। परिवारको माया लाग्नु स्वाभाविक हो तर जुन हिसाबले म घरकी कान्छी भएर सबैको मायामा हुर्किएँ, अहिले सबै जनाबाट टाढा बस्दा उही माया र ममता झनै याद आउँदो रहेछ।
६ जनाको हाम्रो परिवारमा ३ वटा मेरो भिनाजुको आगमनले ९ जनाको परिवार भएको छ। कहिले होला हामी सबै जना भेट्ने भनेर दिन गन्दै बस्छु। चाँडै नहोला तर एकदिन अवश्य हुन्छ!
दाजुभाइ छैनन् भनेर प्रश्न गर्ने सबैलाई मेरो उत्तर- ‘एउटा होइन, दुइटा होइन, ३ वटा दादा पाएको छु। भिनाजुको रूपमा दाइ पाएको छु। घरमा ममीड्याडीले ज्वाइँको रूपमा छोराहरू पाउनुभएको छ।’
छोराछोरीको प्रगतिले सन्तुष्ट एवम् खुसी मेरो मामुड्याडीको मुहारमा सदा हाँसोको बास होस्।