परदेशिने बाध्यता भनौँ या रहर, दुई छाक खान नपुगेको पनि हैन। मनमा उत्पन्न हुने हजारौँ चाहना अनि सपनाले आज लखेटिएको शरणार्थी जस्तै सुखका दिनको खोजीमा भौतारिँदै विदेशी भूमिमा दिनहरू बिताइरहेको छु।
मध्यम वर्गीय परिवारमा जन्म लिनु पनि एक अभिशाप जस्तै लाग्छ कहिलेकाहीँ मलाई त। कुवाको भ्यागुतो सधैं कुवाभित्रै, जति उफ्रिए पनि आखिर उसको संसार त्यही कुवा नै हो। न त देशमा बसेर नै आफ्नो स्तर उकास्न सकिन्छ।
परिस्थिति अनि उस्तै छ, पन्ध्र/बिस हजारको जागिर खान पनि दुनियाँलाई भनसुन गर्नपर्ने, हुनेखानेहरूको झोले बनेर हिँड्न पर्ने चाहे आफू सक्षम र अब्बल नै किन नहोस्।
देशको घिनलाग्दो राजनीति अनि अहिलेको परिवेशलाई हेर्यो भने त नेपाल फर्किन्न जस्तै लाग्छ। तर ती बाल्यकाल अनि त्यो समयमा बिताएका समयहरूले सपनीमा चिच्याइ-चिच्याइ पराई बन्नै दिँदैन।
आफ्नो देशलाई छाडेर खुसीको खोजीमा जापानको यात्रा तय गरेको पनि चार वर्ष बितिसकेछ। परिस्थिति उस्तै छन्, भोगाइ उस्तै छन, दैनिकीहरू उस्तै अनि नैराश्यपन उति। सोचाइ र भोगाइ बीचको फरक आकाश-जमिनको हुँदोरहेछ।
गाह्रो हुने भनेको त गएको एक/दुई वर्ष न हो, संघर्ष गर्छु जति, नै गार्हो भए पनि डटेर सामना गर्छु सोचेको थिएँ। तर अहँ! एक/दुई वर्ष त के एक/दुई शताब्दी बिताए पनि दैनिकी उस्तै हुने रहेछ। हामी बिलासी जीवन नै नबिताए पनि आरामले दुई छाक खाएर आफ्नो तवरले जीवनयापन गरेका मान्छे यो भागदौड अनि भीडभाडलाई कहिल्यै नियाल्नै सकिनँ।
काममा जाँदा यसो आँखा डुलाएर स्टेशनतिर हेर्छु। त्यो दृश्यलाई आहाराको खोजीमा भौतारिरहेको कमिलाको भिडसँग तुलना गर्न पुग्छु। ठेस लागेर कोही लडिहाल्यो भने पनि तँ ठिक छस् नि भनेर सोध्नु त परै जाओस्, मरोस् कि बाँचोस् उसको छेउ नि पर्दैनन् मान्छे यहाँ।
मायाले सुमसुम्याउँदै मेरो छोरो कति राम्रो, मेरो भाइ कति राम्रो, मेरो भान्जो कति राम्रो आदि इत्यादि आफूलाई माया गर्ने मान्छेबाट सुनेका ती शब्दहरू त्यतिबेला अभिशाप जस्तै लाग्छ, जब आफू बसेको छेउको मान्छे आँखा तर्दै उठेर हिँडिदिन्छ। कयौँ भेदभाव, अमानवीय व्यवहार भित्रका भोगाइहरूले नेपालको मायालाई अझ प्रगाढ बनाएर चाडै आफ्नो भूमिमा फर्किन प्रेरित गराउँछ।
तुलनात्मक रुपले हेरिने दृष्टिहरूले पनि जिन्दगीमा धेरै पीडाको बोध गराउने रहेछ। ‘म खाडीमा छु, तँ त जापानमा छस् कमाइ त धेरै राम्रो होला है?’ यस्ता प्रश्नहरूले त झन् आफैलाई उत्तरविहीन र मौन बनाइदिन्छ।
मान्छेहरू मासिक आम्दानीलाई मात्रै हेरेर हातका औँला भाँचिरहेका हुन्छन्। यो सोच्दैनन् कि कलिलो उमेरमा १५/२० लाख ऋणको भार, कलेज फी अनि आफ्ना मान्छेहरूको माग। बोझको बोध जब महसुस हुन्छ तब आफ्नो अगाडि दुःखका बाटाबाहेक केही देखिँदैन।
जीवनको कालखण्डमा पीडादायी भोगाइहरू, जीवनमा थप जोडिँदै जाने अनि छोडिँदै जाने सम्बन्धहरू, लाखौं कोसिस गर्दा पनि आफ्नोपन दिलाउन नसकेका भावहरू, अधुरा कहानी, अपूरा चाहना अनि केही मधुरा यादहरूले नै जीवनको वास्तविक अर्थ बताइदिँदो रहेछ।
मैले मेरो जवानी परदेशमा बेचिरहेको छु, प्रियसीको साथ अनि आमाको न्यानो काख सम्झिएर। बाँकी जीवन तिमीसँगै बिताउँछु भनेर अग्नीलाई साक्षी राखी ल्याएकी मेरी उनीसँग वर्षौंसम्म टाढिएर बस्न बाध्य छु।
दोष न अरुलाई दिन्छु न त आफैलाई नै। दोषी त परिस्थिति थियो, समय थियो अनि देशको अवस्था। उस्तै छन् मजस्ता लाखौँ युवाहरूको पीडा। खुसीको खोजीमा केही कमाउने सपना बोकेर घर छोडेर हिँडेका हामी युवा घर फर्किने सपना साँचेर बाँचिरहेका छौँ।
तिम्रा हरेक सपनाहरू साकार पार्न सकुँ, सारा खुसीहरू तिम्रो पोल्टोमा राखिदिन सकुँ। चाँडै फर्किएर तिम्रो आँखाको वरिपरि एउटा खुसी अनि सुखी संसार बिताउने संकल्प गर्दछु आमा।