समय कस्तो आयो भने सम्झँदा अनौठो लाग्छ। आजकल सहर-बजार होस् वा ग्रामीण क्षेत्रमा बस्ने धनाढ्यका घरमा जौ, गहुँ, कोदो, फापरका परिकार बनाएर खाइन्छ। रहरले होइन, बाध्यताले। हरेक परिवारमा नसर्ने रोगको चाप बढ्दो छ। प्रेसर, सुगर, थाइराइड, कोलेष्ट्रोल नहुने विरलै भेटिन्छ।
भूमिसुधार मन्त्रालयमा काम गर्ने मेरो एकजना भाइ दैनिक मासुबिना भात खाँदैनथे। लोक सेवा पास गरेर जागिरको सिलसिलामा काठमाडौं छोडे। दश वर्षपछि फर्केर आउँदा साधुजस्ता भएछन्। बुझ्दा, सब चिजले बोर्डर क्रस गरिसकेछ।
मैले यो प्रसंग किन जोडेँ भने चालिसको दशकमा हाम्रो ठूलो र गरिब परिवार साबिक इलामको मंगलबारेमा दुःखजिलो गरेर बस्थ्यो। चरम गरिबीले खान लाउन धौँ-धौँ पर्ने। खेती र पशुपालनबाट छ महिना चल्थ्यो। बाँकी बेसाहा गर्न हिँड्नुपर्ने।
धानका चामलको भात हिउँदका तीन/चार महिना र चाडबाडमा खान पाइन्थ्यो। अरुबेला आलु, कोदो, फापर, मकै, गहुँको परिकार बनाएर खान्थ्यौँ। हाम्रो घर गाउँको माझमा पर्ने हुनाले सबैले माझघरे भन्थे। त्यसैले मान्छे धेरै आइरहन्थे। हाम्रो घरमा भात-भान्सा कस्तो पाक्छ, ओढ्ने ओछ्याउने कस्ता छन् प्रायः मान्छेलाई थाहा हुन्थ्यो।
एकदिन सपरिवार बसेर कोदोको भात खाँदै थियौँ। एकजना छिमेकीले देखे। गाउँभरि हल्लाखल्ला भयो फलानो बाहुनको घरमा कोदोको भात खाए भनेर। मेलापात, जमघट, बिहे-बटुलोमा खिसिट्युरी गर्थे जसले गर्दा आत्मसम्मानमा चोट परेको भान हुन्थ्यो।
कुनै मान्छे मर्नुभन्दा छ महिना अगाडि कोदोको परिकार खाएमा अगति परिन्छ भनिन्थ्यो। त्यसमा पनि बाहुनले कोदो खानुहुँदैन भन्ने मान्यता थियो। गाउँमा मेलापात जाँदा प्रसंगवश कोदो फापरको विषय उठ्यो भने आफैलाई नै भनेजस्तो लाग्थ्यो र फेरि अर्को दिन तिनीहरूकहाँ मेलापात जान मन लाग्दैनथ्यो।
गाउँमा कसले खाजा भात बढी खान दिन्छ त्यहाँ जान हाम्रो प्रतिस्पर्धा हुन्थ्यो। हाम्रो परिवारमा नौ जना छोरा र दुई छोरी थियौँ। ठूलो परिवारमा जीविका चलाउन साह्रै गाह्रो। प्रशस्त जग्गा-जमिन थिएन। पशुपालनका लागि घाँस-स्याउला र चरनको समस्या थियो। गाईवस्तुलाई पौष्टिक आहाराको अभावले लिनुपर्ने जति फाइदा लिन सकिन्नथ्यो।
चालिसको दशकमा विकराल आर्थिक समस्या भोगे पनि छोराछोरीलाई पढाएर बाटो देखाउने कामको अगुवाइ हाम्रा बा-आमाले गरिरहनुभयो। विद्यालय जाने बाटो कुनै छोराछोरीलाई बन्द भएन। खाइनखाई सबैले उच्च शिक्षा लिने अवसर पायौँ। परिवारमा पहिलो एसएलसी पास २०३६ सालमा माल्दाइले गर्नुभयो। त्यसपछि सबैले पालैपालो एसएलसी पास गर्दै उच्चशिक्षा लिने अवसर चुकाइएन।
गरिबीको कारण खान लाउनको दुःख भए पनि शैक्षिक उन्नयनका लागि हाम्रो परिवार पश्चिम इलाममै चिनिएको स्थितिमा छ। परिवारभित्र अमेरिकाबाट विद्यावारिधी गर्नेदेखि एसएलसी पाससम्मको न्यूनतम शैक्षिक योग्यता भएकाहरू छौँ।
कोदो-फापर खाएर यो अवस्थामा आइपुग्दा बल्ल मात्रै यसको महत्व, खेतबारीमा गरिने श्रम, पशुपालनबाट पाइने आनन्द बुझ्न सकेकामा लज्जाबोध भइरहेको छ। आज मसँग धनदौलत अलिअलि नभएको होइन तर यो आनन्द दिन प्रर्याप्त होइन रहेछ। भौतिक सम्पन्नताले अनेक दुःख रोगब्याधी बेचैनी दिन्छ भन्ने भोगाइबाट पनि थाहा पाइयो।
त्यसैले बेलैमा जीवनस्तर बदलौँ। ग्रामीण परिवेश, कृषिकर्म, पशुपालनको प्रश्रय गरौँ। सादा, नम्र, मिजासिलो बनौँ। भित्री सुख यसैमा छ। आखिर बिनोद चौधरीलाई पनि सुगर, प्रेसर, कोलेष्ट्रोल भयो भने भातको सट्टा कोदो फापरले नै राम्रो गर्छ।
ठूल्ठूला ओहोदामा बस्नेलाई भन्दा कर्म गर्नेलाई सम्मान गरौँ। मान्छेको सोच आफै परिवर्तन हुनथाल्छ। कोदो, फापर, गहुँ, जौ, मकै उत्पादन गरेर रोगी र निरास मानिसका घरमा पुर्याउने यी नै श्रमजीवी कृषक होइनन्? स्वच्छ दही, दूध, घिउ खाने सहरियाको चाहना सम्बोधन गरिदिने यी नै पशुपालक होइनन्?
किसानले उत्पादन गरेका तरकारी र फलफूल नहुने हो भने उपभोक्ताको घरमा यी चिज आकाशबाट वर्षन्छ? खसी डोर्याएर हिँड्नेभन्दा सडकमा कुकुरलाई लिएर हिँड्नेको इज्जत माथि रहेसम्म मान्छेको सोचाइ कहिल्यै परिवर्तन हुँदैन।
रोगी जनजीवनमा सुधार ल्याउन राम्रो पौष्टिकजन्य अन्नपात, फलफूल, तरकारीको उत्पादन बढाउनुपर्छ। जसका लागि खेतबारी बाँझो राख्ने, घरजग्गाका लागि कित्ताकाट गर्नेमाथि निर्मम कारबाही गर्नैपर्छ। स्वदेशी उत्पादन नबढेसम्म देश गेल भैस पानीमे भनेझैं हुन्छ।