पछिल्लोपटक विदेश जान २०७८ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिएँ। फ्लाइट राति ११ बजेको थियो।
साँझको आठ बजे विमानस्थल पुगेको, जाँच सबै सकेर भित्र पुग्दा १० बज्यो। ट्वाइलेट जान मन लागेर भित्र पसेको त सहनै नसकिने फोहोर!
भुइँभरि लथ्रक्कै भिजेका ट्वाइलेट पेपर छरिएका, पिसाबको रागले भित्र पस्नै नसकिने स्थिति थियो।
तत्कालै ट्विटरमा लेखेँ– त्यस्तो ठाउँको शौचालय त कम्तीमा सफा हुनुपर्छ।
प्रतिक्रियामा भरमार गाली खाएँ– देशबाट बाहिरिन लाग्दा पनि देशलाई गाली नगरी खाएको नपच्ने!
के के हो के के!
'राष्ट्रवादीहरू' का प्रतिक्रियाको जवाफ दिन मन लागेन। चुपचाप बसेँ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, २०७९ साल चैत १६ गते एउटा ट्विट गर्नुभयो– अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु। अब उत्तर बोलेर र लेखेर होइन, व्यवहारमा र परिणाममा खोजेको छु।
त्यसमा उहाँले विमानस्थलमा सरसफाइको कुरा र महिलाका लागि शौचालयमा स्यानिटरी प्याड राख्ने कुरा पनि उठाउनुभएको थियो।
२०७९ चैत २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयमा यात्रु तथा महिला कर्मचारीहरूको सुविधाका लागि स्वचालित मेसिनले स्यानिटरी प्याड निःशुल्क दिने सेवा सुरू गरिएको छ।
किराती मन्त्री बनेलगत्तै पनि विमानस्थल पुगेर शौचालय लगायत विभिन्न विभागहरूको निरीक्षण गर्नुभएको थियो। सफाइको कुरामा पनि निर्देशन दिनुभएको थियो।
आशा गरौं, अबदेखि त्यहाँको शौचालय फोहोर भयो भनेर कसैले पनि गुनासो गर्नुपर्ने छैन।
तर कुरा विमानस्थलको मात्र होइन।
शौचालयको कुरामा नेपालको सरकारी क्षेत्र दुई वर्गमा विभाजित छ।
सरकारी कार्यालय, अस्पताल, अर्धसरकारी कार्यालयहरूमा हाकिम र उच्च तहका कर्मचारीहरूका लागि र अन्य कर्मचारी तथा सर्वसाधारणका लागि छुट्टाछुट्टै शौचालय हुन्छन्। उच्च वर्गका लागि शौचालय सफा र चिटिक्क हुन्छ। अन्यका लागि यति फोहोर कि नाकमुख थुनेर पनि पार नलाग्ने, बान्ता नै आउने जस्तो।
अस्पतालका शौचालय त कति फोहोर भने एउटा रोगको उपचार गर्न गएको व्यक्ति अर्को रोग बोकेर आउने सम्भावना हुन्छ।
शौचालय प्रयोगमा पुरुषको तुलनामा महिलाले बढी सास्ती बेहोर्नुपर्छ। अपांगता भएकाहरूको सास्ती झन् बढी हुन्छ। अधिकांश शौचालय महिला र अपांगता भएका व्यक्तिका लागि अनुकूल हुँदैनन्।
अस्पतालकै शौचालयमा यथेष्ठ पानी नहुनु, ढोकाहरू राम्ररी नलाग्ने हुनु, भुइँभरि फोहोर हुनु त मामुली कुरा मानिने गरेको छ। अपांगता भएका व्यक्तिका लागि अलग्गै शौचालय हुनु नगन्य मात्रै हुन्छ। भएको शौचालयमा ह्विलचेयर नपस्ने हुन सक्छ। बस्न र उठ्न कमोडको छेउमा समाउने आडको व्यवस्था हुँदैन।
सार्वजनिक स्थानका कतिपय शौचालय त सुरक्षाको दृष्टिले पनि महिलाका लागि अनुपयुक्त हुन्छन्।
शौचालयको वर्ग विभाजनकै कुरा गरौं।
शौचालयमा वर्ग विभाजन अहिलेको मात्रै कुरा होइन। घरबाहिर शौचालयमा वर्गीय विभेदको मेरो पहिलो अनुभव जागिरे भएर २०४१ सालमा नेपाल राष्ट्र बैंक, बालुवाटारमा पुग्दाको हो। मैले काम गर्ने कोठा पुरानो र भव्य भवनपछाडिको एउटा टहरामा थियो। त्यो टहरामा कुनै बेला घोडाको तबेला थियो रे!
त्यो टहरामा यस्तै १७–१८ जना कर्मचारी काम गर्थ्यौं। दुई जना महिला हाकिम थिए। मसहित दुई महिला अलिक तल्लो तहका कर्मचारी थियौं। त्यो टहरामा शौचालय थिएन। विभागीय प्रमुख थिए रूवी जोशी जो गायक पनि थिए। उनको कोठा टहरासँगै जोडिएको थियो। त्यहाँ एउटा शौचालय थियो।
अरू हाकिमहरूका पनि कोठाकोठामा शौचालय थिए। टहराको छेउमा सुरक्षा गार्ड सैनिकका लागि बनाएको कामचलाउ शौचालय थियो। त्यसमा जान हामीलाई सहज लाग्दैन थियो।
अनि हामी दुई जना एकसाथ निस्किन्थ्यौं र त्यही टहरोको एक छेउमा एउटीले गार्डलाई छेल्ने र अर्की टुक्रुक्क बसेर पिसाब फेर्थ्यौं।
यो कुरा पढिरहँदा तपाईंलाई बेकारको भन्ने लाग्ला।
यथार्थ यही थियो। अब्बल तलबभत्ता आउने, घर बनाउन सापटी पाइने, औषधोपचार खर्च पाइने यस्तो अर्धसरकारी कार्यालयमा साधारण कर्मचारीका लागि शौचालय थिएन।
शौचालयको सन्दर्भमा हामी कस्तो परिवेशमा हुर्किँदै आयौं भन्ने कुराले पनि प्रभाव पारेको हुन्छ होला!
हामी हुर्किँदा शौचालयको सरसफाइलाई त्यति महत्व दिएनौं। धनी र उच्चवर्गीय परिवारको कुरा थाहा भएन तर भुइँमान्छेका परिवारमा बारीको एक छेउमा एउटा शौचालय बनाइएको हुन्थ्यो। तीनतिर इँटाको गाह्रो लगाइन्थ्यो। बोराको पर्दा हालेर ढोकाको रूपमा काम चलाइन्थ्यो। त्यहाँबाट निस्कने फोहोर बारीतिर खुलै हुन्थ्यो।
मैले बाल्यावस्थामा काठमाडौंमा चारैतिर घरले घेरिएको चोकमा कोपरा फ्याँक्ने र बच्चाहरू त्यहीँ नै दिसापिसाब गरेको देखेकी हुँ। त्यही चोक बिहे, ब्रतबन्ध र चाडवाडका अवसरमा चुनले सफा परेर प्रयोग हुन्थ्यो। सहरको घरको माथिल्लो झ्यालबाट कोपरा फालेको देखेकी हुँ। त्यो समय कोठामा पित्तलको कोपरा राख्ने चलन थियो। अहिले सम्झँदा ओहो, त्यो अवस्था कति अस्वस्थकर थियो होला जस्तो लाग्छ।
घरभित्रै शौचालय बन्ने चलन आयो तर शौचालय बनाउन झ्याल नभएको अँध्यारो ठाउँ वा भर्याङमुनिको साँघुरो कोप्चो रोजियो। अझै पनि कति मानिसले घरको शौचालय राम्ररी हावा खेल्ने र उज्यालो ठाउँमा बनाउनुपर्छ भनेर विचार पुर्याउँछौं, थाहा छैन।
२०७६ असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा नेपाललाई 'खुला दिशामुक्त राष्ट्र' घोषणा गर्दै भन्नुभएको थियो– सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू! नेपालको ७५३ स्थानीय तह एवं ७७ वटै जिल्ला खुला दिशामुक्त घोषणा भइसकेकाले आजबाट नेपाललाई पूर्ण खुला दिसामुक्त राष्ट्र घोषणा गर्दछु।
त्यो खुला दिसामुक्त क्षेत्र कताकता छ, त्यसको तथ्यांक सार्वजनिक हुनुपर्ने हो।
काठमाडौंका अकासे पुलहरू अझै पनि मानव मलमूत्रले दुर्गन्धित हुन्छन्। जात्रा–पर्वहरूको समयमा त बाटामा जताततै दिसापिसाब छरपस्ट हुन्छ। यस्तो समयमा पशुपतिनाथपारिको कैलाश श्लेषमान्तक वन नै हेरिनसक्नुको भएको हुन्छ।
गत कात्तिकमा परिवारका केही सदस्यहरू इलामको कन्याम पुगेका थिए। टोलीमा विदेशबाट आएका व्यक्तिहरू पनि थिए। चियाबारी डुल्दै गर्दा विदेशबाट आएका मध्ये एक जनाको खुट्टो गुहुको थुप्रोमा परिहालेछ। कन्यामको मनमोहक चियाबारीमा फोटा खिचेर रमाइरहेका उनीहरू यसै जिल्ल परे। त्यतिले नै कन्याम घुमघाम खल्लो बनाइदियो।
वर्षमा यति लाख, उति लाख पर्यटक भित्र्याउने, पर्यटन वर्ष मनाउने अनेक नारा बेलाबेलामा सुनिन्छन्। पर्यटक जम्मा हुने ठाउँमा न गतिलो शौचालय हुन्छ, न पानी।
नेपालले सन् २०१३ देखि प्रत्येक वर्ष नोभेम्बर १९ मा 'विश्व शौचालय दिवस' मनाउँदै आएको छ। यसपछि हालसम्म शौचालय प्रबन्ध गर्न के कति काम भयो त?
स्थानीय चुनावमा निर्वाचित भएपछि काठमाडौं महानगरपालिकाका वर्तमान मेयर बालेन शाहले सहरका रेस्टुरेन्टका शौचालय सर्वसाधारणले प्रयोग पाउने कुराको चर्चा चलाउनुभयो। त्यो चर्चा व्यवहारमा कार्यान्वयन भएजस्तो लाग्दैन।
हुन त २०७६ सालतिरै काठमाडौं महानगरपालिकाले निजी संस्थासँगको सहकार्यमा स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरेको भन्ने खबर पनि आएको हो। यो काम कहाँ पुग्यो होला!
आजकाल राजमार्गका केही होटलहरूमा र कतैकतै सडक छेउमा फाटफुट रूपमा शौचालय देखिन थालेका छन्। ती पनि पर्याप्त छैनन्। तिनमा पानी हुँदैन, फोहोर हुन्छन्।
शौचालयले पर्यटकहरूमा कस्तो प्रभाव पार्न सक्छ भन्ने आफ्नै एउटा अनुभव यहाँ बाँड्न चाहन्छु।
केही वर्षअघि बेलायतको सेन्ट्रल लन्डनस्थित सेन्ट प्यांक्रयाज इन्टरनेसनल ट्रेन स्टेसनबाट ट्रेन चढेर फ्रान्स पुगेँ। किशोरावस्थामा हेरेको हिन्दी सिनेमामा देखाइने आइफल टावर र त्यसको वर्णनले फ्रान्सप्रतिको मोह सगरमाथाको उचाइमै पुर्याएको थियो।
ट्रेन स्टेसनबाट बाहिर निस्किँदा त पिसाबको रागले खपिनसक्नुभयो। त्यहाँ पनि बाटोमै तुर्क्याएर हिँड्ने पुरुषहरूको संख्या कम रहेनछ।
एउटा कुरा अचम्म लाग्छ, भित्तातिर फर्किएर बाटाकै छेउमा पिसाब फेर्दै हिँड्दा पुरुषहरूलाई अप्ठ्यारो नलाग्ने! त्यो देखेर हामी महिलाले मुन्टो लुकाउँदै हिँड्नुपर्ने स्थिति धेरै ठाउँमा बेहोर्नुपरेको छ।
त्यहाँ पनि महिलाहरूले शौचालय प्रयोगमा दुःख बेहोर्नुपरेको देखेँ। सार्वजनिक शौचालय पनि साह्रै थोरै, पैसा तिरेर लामो लाइन लाग्नुपर्ने अवस्था। रेस्टुरेन्टहरूले आफ्ना ग्राहकबाहेक अरूलाई शौचालय प्रयोग गर्न दिँदैनन्। अहिले सुधार भएको भए थाहा भएन।
युरोपेली सहर ब्रसेल्समा 'म्यानाकेन पी' नामक ६१ सेन्टिमिटर अग्लो ब्रोन्ज मूर्ति छ जसले पिसाब फेरिरहेको छ। यो मूर्ति सहरको ल्यान्डमार्कको रूपमा विश्वप्रसिद्ध छ, भलै त्यो सहरमा पनि ट्रेन स्टेसनको छेउदेखि बजारको बियर बारसम्म पिसाबको दुर्गन्ध फैलिएको भेटियोस्। रेस्टुरेन्ट र बारहरूले भने हरेक बिहान आफ्नो ढोकाबाहिर साबुन पानीले पखाल्ने रहेछन्।
त्यहाँ त सन् २०२१ को अक्टोबरमा ब्रसेल्स पार्लियामेन्टका मेजोरिटी पार्टीहरूले सहरमा निःशुल्क र सफा शौचालय माग गर्दै प्रस्ताव नै ड्राफ्ट गरेका थिए। उक्त ड्राफ्टमा गर्दा भनिएअनुसार सार्वजनिक स्थलहरू पुरूषका लागि मात्रै डिजाइन गरिएका छन्, महिलालाई होइन। ब्रसेल्स पुग्ने जोकोहीले देख्न सक्छ, सडकका छेउमा पुरूषका लागि जताततै युरिनल। महिलाका लागि भने खोज्दै हिँड्नुपर्ने।
यी उदाहरणहरूले मानव स्वभाव धेरथोर फरक होला तर जता गए पनि उस्तै उस्तै रहेछ भन्ने देखाउँछन्।
केही व्यक्ति, समाज र राष्ट्र आफूलाई सभ्य देखाउन अलिकति प्रयास गर्छन्। यता नेपालमा सत्तामा पुग्नेबाहेक अन्यत्र कुनै ध्यान छैन। अन्त्यमा यति मात्रै भन्नु छ, सरकार! कमसेकम अस्पताल, सार्वजनिक चोक, चौराहा, सरकारी कार्यालयहरूमा पानीसहितको शौचालय बनाइदेऊ र सफा राखिदेऊ। शौचालयमा वर्गविभेद नगर!
जसरी माथिल्लो वर्गका हौं भन्ने व्यक्तिहरूलाई आफ्नो कार्यालयमा सफा शौचालय आवश्यक हुन्छ, त्यसरी नै सर्वसाधारणलाई पनि आवश्यक हुन्छ।
शौचालय सुविधा होइन, जीवनको अत्यावश्यक आवश्यकता हो।