आज काठमाडौंको कथा कथ्न खसखस लाग्यो।
मलाई कथा कस्तो हुनुपर्छ थाहा छैन। किनकि म कथाकार हैन। तर पनि जे हुन्छ अथवा जे बित्छ त्यो मेरो लागि कथा भइदिन्छ। मेरो कथाको परिभाषा त त्यतिमा नै सकिन्छ तर कथाहरू, तिनीहरू कहिले सकिँदैनन् र सकिनु पनि हुँदैन।
उम्, म त काठमाडौंकाे कथा कथनेवाला थिएँ है। अब सुरू गरें।
काठमाडौं कति विचित्र छ है। काठमाडौं छिरेपछि आफूले कल्पिएका दुनियाँ, त्यसका अनेकन संस्करण, त्यसका अनेकन फोटोकपी छद्म लाग्छन्। अनि काठमाडौं नामक अर्को छद्म हाम्रो अघि फेर्नै नमिल्ने सत्य भएर उभिदिन्छ।
हरेक मान्छेको आ-आफ्नो काठमाडौं हुन्छ या भनौं हुँदो रहेछ। मेरो काठमाडौं नेपाल नामको उपत्यका हो। यो उपत्यकाको संभ्रान्तहरूको लागि काठमाडौं देशको सीमानाभन्दा बाहिर छ होला।
तपाईं र म मिलेर एउटा काम गरौं न।
काठमाडौंलाई भूगोलको एउटा अंशमात्र नमानी एउटा क्यटालिस्टको रूपमा लिऔं।
हो, मेरो काठमाडौं अर्थात् क्यटालिस्ट यो नेपाल खाल्डो हो।
यो कसरी मेरो काठमाडौं हुन पुग्यो त! किनकि नेपाल खाल्डोमा पुगेर म पहिलो चोटी भासिएँ।
हुन त यो खाल्डोको चारैतिर अग्ला पहाडहरूले चारैतिरबाट चौकीदारी गरिरहेका छन् तर पनि यसले दुनियाँका नयाँ/ अपरिचित कुनाहरू देखाइदिन्छ। सीधा बाटोमा भागिरहेको जीवनलाई युटर्न मारेर पीडामा धस्रिन सिकाउँछ।
मायालु हात (मायालु हात भन्नाले त्यो प्रेमिकाकै हुनुपर्छ भन्ने छैन, आमाबुबाकै हुनुपर्छ भन्ने छैन। शायद तपाईंलाई थाहा छैन मान्छेलाई अजीव अजीव कुराहरूसँग माया प्रेम बस्छ। अर्को कुनै दिन यसबारे हामी निश्चय नै भलाकुसारी गर्ने छौं) को न्यानोपना र बन्धनबाट हामी आफ्नै काठमाडौंको चिसो अँगालोमा निर्बन्ध फ्याँकिन्छौं। अर्को नयाँ बन्धनमा बाँधिनका लागि अत्यावश्यक सत्य हो, निर्बन्ध हुनु/भइरहनु।
काठमाडौंहरूको बन्धनमा लाखौं बाँधिन बाध्य छन्। आफू हुन सम्झौता नगर्नेहरूको लागि त्यो बन्धन वा बाध्यता त छुट्याउन नै मिल्दैन। काठमाडौंहरूलाई त खत्रै मान्नुपर्छ महोदय! हजारौं किसिमका जिन्दगीको बोझ बोकेर युगौंदेखि बसिरहेका छन्। मान्छेहरूलाई काठमाडौंहरूले जति नजिकबाट कसैले चिन्दैन होला।
हो, म जान्दछु अनि हामी जान्दछौं कि काठमाडौंहरू कठोर हुन्छन्। मान्छेले रचेका रहरका बुट्टेदार बादललाई बतासको मायावी रूप लिएको हुण्डरीले टुक्राटुक्रा पारेर छरिदिन्छ। आवेग भरिएका गतिशील पाइलाहरूलाई समयका हत्कडीहरूले बाँधेर राखिदिन्छन्। तर पनि मान्छेहरू काठमाडौंहरू छोड्न हम्मेसी आँट गर्दैनन्। जति टुक्रिए, भत्किए , नासिए पनि तिनकै अवशेषबाट उठ्नलाई आँट र अवसर फेला पार्न सकिन्छ।
काठमाडौंहरू आफ्नो मायालाई रूवाइ बस्ने धोकेबाज मायालु हुन सक्छ तर पनि किन हो हाम्रो छोड्ने आँट नै आउँदैन। किनकि यस्ता धोकेबाज मायालुहरूले नै जीवनको कठोर यथार्थ देखादिन्छन्, स्वयंले स्वयंलाई कसरी जतन गरेर राख्ने कला सिकाइदिन्छन्। त्यसैले तिम्रो धोकाका बहुस्वरूपलाई, धोकाको अविच्छिन्नतालाई मेरो माया र संघर्षको चोखो सलाम।
मान्छेहरू काठमाडौंहरूभित्र छिरेपछि नै सिक्छ- धुलोमा खेल्नु र धुलोमा हिँड्नु कति फरक छ भनेर। अभिनय गरेर रूनु र साँच्चैकोमा रूनुमा कतिको पार्थक्य छ भनेर। रहरले भौंतारिनु र करले भौंतारिनुमा के फरक छ भनेर।
आफूले नसोचेको कुराहरूले एक्कासि घाँटी थिच्दा कति बिलखन्डमा परिन्छ। बल्लतल्ल जुरेको खुसी एकैछिनमा कसरी सकिँदो रहेछ, एकचोटि आएपछि भाग्नै नमान्ने दुःख कति अटेरी हुँदो रहेछ, यी पाठहरू घोकाउने जिम्मा काठमाडौंहरूको हो।
मित्रता के हो, त्यो काठमाडौंहरूलाई गएर सोध। पसिनाको स्वाद कस्तो हुन्छ, काठमाडौंमा गएर चाख। माया कति मायावी हुन्छ, काठमाडौंहरूमा गएर भोग। सेकेण्ड, सेकेण्ड समयलाई कसरी देख्ने, त्यो काठमाडौंहरूमा गएर सिक।
तर म काठमाडौंहरूलाई धेरै स्नेह गर्छु। अतिरिक्त स्नेह। कतिसम्म भने मैले काठमाडौंहरूलाई गाली गर्ने हिम्मत काठमाडौं आएर नै बटुलेको हुँ। काठमाडौंहरू आफूलाई आँखा तर्ने तर जीवन झुकाउने मान्छे तयार गर्न खुब खप्पिस मानिन्छन्।
हरेक मान्छेलाई काठमाडौं चाहिन्छ। हैन भने जीवन निरस हुन्छ। जीवन एक रूपतामा हिँडिरहन्छ। हिजो, आज र भोलिमा भन्न लायक त्यस्तो केही फरक हुँदैन।
जीवनमा आफू भेटाउने प्रयत्न गर्नका लागि एकरूपता विषालु बाधक हो।
हो, काठमाडौंले आफू जे छु त्यो हुनलाई र त्यसको तह बढाउनका लागि पर्याप्त अवसर दिन्छ।
पहाड, तराई, हिमालका गाउँहरूको बतासको स्वाद चाख्ने बानी परेको हामीलाई काठमाडौंहरूको प्रदूषित हावाको स्वाद मन नपर्न सक्छ।
तर प्रत्येक सहर मौन आवाजमा गुन्गुनाइरहेकाे हुन्छ:
केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ।
स्वाद पनि चोट न हो, बानी हुन धेरै समय लाग्दैन। काठमाडौं जीउमा चढेपछि उत्रिन मान्दैन, त्यसका लागि हामी पनि विस्तारै स्वीकृति दिन्छौं।
मानिसहरूको संसार टाढा भाग्ने महत्वाकांक्षा काठमाडौंले ढढाइदियो। त्यही दिनदेखि म मान्छेहरूका लागि बाँच्न बानी परिसके। अनि थाहा पनि हुन्छ कि मान्छेको लागि बाँच्नू आफ्नै लागि बाँच्नुसरह हो।
काठमाडौंहरूमा के मात्र हुँदैन र। सारा संसार काठमाडौंमा खप्टिएको हुन्छ। युगौं युगदेखि दुनियाँको गतिशीलता र स्थाणुपना विवेचना गरिरहेका सभ्यतादेखि लिएर विश्वका चोटा चोटा आफ्नो पराग छोड्दै हिँडेका आधुनिक भनिएका सभ्यता र संस्कृतिको अजीव र सुन्दर सम्मिलन ( र द्वन्द्व पनि) काठमाडौं आफ्नो छातीमा बोकिरहेको छ। तपाईं के छान्ने के छोड्ने विचार मात्र गर्नु होस्, काठमाडौंहरूले सबथोक दिन्छ।
जिन्दगीमा आफू हुन पाउनुको मोज र बोझ छ, त्यो काठमाडौंले दिने सबभन्दा सुन्दर उपहार हो।
तर म बसेको काठमाडौंसँग गुनासो छ। त्यो के भने यसले काठमाडौंं हुने सम्भावना बोकेका अनेकन ठाउँहरूलाई आफ्नो दास बनाएर राखेको छ। यो धेरै शक्ति समेटेर बसेको काठमाडौं अरू हुन नसकेका काठमाडौं उपर हुकुमी चलाउँछ।
यदि म बसेको ठाउँ पनि काठमाडौं भइदिएको भए मजस्ता धेरै जनाले आफूलाई निखार्ने मौका पाउँथे होलान्।
काठमाडौं, किन एक्लै अघि बढ्न खोजेको, किन एक्लै/एक्लै शक्तिशाली हुन मन गरेकाे?
हाम्रो ठाउँहरू पनि काठमाडौं हुन सकेनन् भने तिमी अघि बढेर पनि कहीँ पुग्दैनौं, हामी तिमी सँगै नहिँडिन्जेल तिम्राे यात्राले गति लिन पाउँदैन।
अर्कै माटोमा खेलिरहेको पात्रलाई आफ्नो छातीमा जबर्जस्ती तानेर 'म सन्ततीहरूको धनी हुँ' भनेर धक्कु लडाउने काठमाडौंलाई केही भन्नै पर्नेछ। प्रिय काठमाडौं, जति पनि पात्रहरू तिम्रो छातीमा खेलिरहेका छन्, उनीहरूको वास्तविक ठाउँ त्यो हैन।
तिम्रो वक्षमा जुत्ता घिसारिरहेका ती अधिक चम्किला चेहरा र चेहराविहीन पात्रहरू आफ्नो ठाउँलाई एक्लै छाडेर, माया मारेर यहाँ आएका छन्। काठमाडौं! मेरो विचारमा अधिकांशले आफूले पाउनु पर्ने जति पाइसकेका छन्, अब तिनीहरूलाई यति बेचैनी देऊ कि तिनका सबै उपलब्धि उनीहरूको ' जरा ठाउँ ' लगेर खन्याइदिऊन्।