(क) आधारभुत चिकित्सा विज्ञानमा एम.एस्सी/पि.एच.डि शिक्षकहरुको स्थानःप्राथमिक स्वास्थ्य सेवाका सिद्दान्त अनुसार सबै नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुगोस् भन्ने हेतुले तत्कालिन नेपाल सरकारले आवश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्नको लागि सन् १९७२ मा चिकित्सा अध्ययन संस्थान, महाराजगंजको स्थापना गरेको हो। सुरुमा यस संस्थानले देशमा स्वास्थ्य सेवा कार्यकर्ताहरुको आवश्यकतालाई महशुस गर्दै अ.न.मी, सि.एम.ए र पि.सी.यल कोर्षहरुमा तालिम सुरू गर्यो। सन् १९७७ मा नर्सिङ्गमा स्नातक तहको अध्यापन पनि शुरु भयो। त्यसको एक बर्ष पछि सन् १९७८ देखि यस संस्थानले समुदाय उन्मुख एम.बि.बि.एस कोर्षको शुरुवात गरेर देशमै डाक्टर उत्पादनको प्रादुर्भाव गर्ने उत्कृष्ट कदम उठायो।
आज देशमा डाक्टर उत्पादन गर्न थालेको पनि ३९ वर्ष वितीसकेको छ। वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले १५ वर्ष पछि सन् १९९३ मा एम.बि.बि.एस कोर्षको शुरुवात ग¥यो। यसको एक वर्ष पछि देशमा अपुग डाक्टरहरु उत्पादन गर्ने हेतुले तत्कालिन प्रधानमन्त्री श्री गिरीजाप्रसाद कोइराला सरकारको पहलमा काठमाण्डौ विश्वविद्यालयवाट सम्बन्धनलिई देशमै पहिलो प्राइभेट मेडिकल कलेज मणिपाल मेडिकल कलेज, पोखराले सन् १९९४ मा एम.बि.बि.एस कोर्षमा अध्यापन सुरुग¥यो।
देशमा एम.बि.बि.एस कोर्षको शुरुवात देखिनै आधारभुत चिकित्सा विज्ञान तह तथा क्लिनीकल विज्ञान तह दुवैमा अध्ययन–अध्यापन गराउने जनशक्तिको अभाव थियो। एकातर्फ काठमाण्डौ र त्रिभुवन विश्वविद्यालयहरुले मेडिकल कलेजहरुको संम्बन्धन थप्दै गइरहेका थिए भने अर्कातिर आवश्यक शिक्षकको अभावमा मेडिकल शिक्षाको गुणस्तर न्युन थियो। शुरुका दिनहरुमा मित्रराष्ट्र भारतबाट शिक्षकहरु झिकाएर यस शिक्षालाई धानिएको थियो। यो अवस्था अझै विद्यमान छ। यस्तो अवस्थामा हाम्रा विश्वविद्यालयहरुले आधारभुत चिकित्सा विज्ञानमा शिक्षकहरुको संकट घटाउन विश्वव्यापीरुपमा मान्यता प्राप्त र उत्कृष्ट मानिएको एम.एस्सी (चिकित्सा विज्ञान) कोर्ष सुरु गर्नु अतिनै सह्रानिय र विकासमुखी सोच थियो र छ। यसमा एनाटोमी, वायोकेमेष्ट्री, माईक्रोवायोलोजी, फर्माकोलोजी र फिजीयोलोजी विषयहरु पर्दछन्। आधारभुत चिकित्सा विज्ञान अन्तर्गतको अर्को महत्वपूर्ण बिषय कम्यूनिटी मेडिसिन (सामुदायिक चिकित्सा) पढाउन एम.एस्सी. पि.एच/एम.पि.एच जनशक्तिहरुको उत्पादन चिकित्सा अध्ययन संस्थान, महाराजगंजमा सन् १९९१ बाट सुरु गरियो।
एम.एस्सी (चिकित्सा विज्ञान) कोर्ष सुरुवात सवैभन्दा पहिला सन् १९९९ मा वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले ग¥यो। काठमाण्डौ विश्वविद्यालयले यसको शुरुवात सन् २००२ बाट ग¥यो। यस कोर्षमा भर्नाको लागि सुरुमा प्रयोगशाला विज्ञान र जीवविज्ञानमा स्नातक गरेकाहरुलाई योग्य ठानियो। पछि आएर काठमाण्डौ विश्वविद्यालयले मानव जिवविज्ञानमा स्नातक गरेकाहरुलाई यस कोर्षमा भर्ना लिइराखेको छ। चिकित्सा शिक्षामा नेपालकै अग्रणी स्थानमा रहेको चिकित्सा अध्ययन संस्थान, महाराजगंजले एम.एस्सी (चिकित्सा विज्ञान) कोर्र्षको महत्व वुझेर सन् २००७ वाट यस कोर्र्ष पढाउन सुरु ग¥यो। यी सम्पुर्ण कदमहरु देशको चिकित्सा शिक्षामा वृद्धि विकासको लागि महत्वपुर्ण ठहरिएका छन्। एम.एस्सी (चिकित्सा विज्ञान) कोर्षको मूलभूत उद्देश्य आधारभुत चिकित्सा विज्ञानका विषयहरुमा देशमै दक्ष जनशक्ति उत्पादन गर्नु हो। यसकोर्र्षको शुरुवात गरेदेखि आधारभुत चिकित्सा विज्ञान पढाउन अभाव रहेको राष्ट्रिय जनशक्ति क्रमिकरुपमा पुर्ती हुदै आयो। यसले आधारभुत चिकित्सा विज्ञानको गुणस्तरोन्नतीमा ठूलो टेवा पु¥याइराखेको छ।
एम.एस्सी (चिकित्सा विज्ञान) कोर्ष पश्चात् चिकित्सा विज्ञानमा पि.एच.डि गर्न पाउने अवसर सृजना भयो। दुखत विषयत आफ्नो देशका विश्वविद्यालयहरुले यस कोर्ष सुरु गरेको दशौ वर्ष वितीसक्दा पनि पि.एच.डी कोर्षको सुरुवात गर्न नसक्नु छ। यसको लागि विश्वविद्यालयहरु र राज्यका निकायहरुको उचित ध्यान जाओस्। यस अवस्थामा यहाका युवा वैज्ञानिकहरु छिमेकी राष्ट्रहरु भारत, चिन, दक्षिण कोरिया, जापान साथै यूरोपीयन मुलुकहरु र अमेरिका जस्ता समृद्ध शिक्षाको विगुल फुकीरहेका देशहरुमा गई अनुसन्धानमुखि शिक्षा हासिल गरी यही माटोमा सेवा गर्न फर्किरहेका छन्। उनीहरुले जीनविज्ञान, आणविक जीवविज्ञान, कोषविज्ञान जस्ता अति गहन र शुक्ष्म विज्ञानमा विद्या र अनुसन्धानका सीप आर्जेका छन्। यसले राष्ट्रको आधारभुत चिकित्सा शिक्षामा शिक्षण र अनुसन्धानलाई हाम्रै राष्ट्रभित्रबाट मार्गनिर्देश गर्न सक्ने एउटा उच्च जनशक्ति तयार गराइराखेको छ। यिनीहरुलाई देशभित्रै उचित स्थान र अवसर दिन सके नयाँ नेपालको सृजनामा अवश्य ठूलो टेवा पुग्नेछ।
(ख) आधारभूत चिकित्सा विज्ञानमा एम.एस्सी/पि.एच.डी शिक्षकहरुको योगदानःनेपाल अधिराज्यभरका मेडिकल र डेन्टल कलेजहरुमा आधारभूत चिकित्सा विज्ञानका मूलत एनाटोमी, वायोकेमेष्ट्री, माइक्रोवायोलोजी, फर्माकोलोजी र फिजीयोलोजी विषयहरु पढाउने एम.एस्सी/पि.एच.डी र एम.डी/एम.एस शिक्षकहरुको अनुपात लगभग ५०–५०% छ। कम्यूनिटी मेडिसिन (सामुदायिक चिकित्सा) पढाउने शिक्षकहरुमा पनि एम.पि.एच/पि.एच.डी र एम.डी/एम.एस गर्नेहरुको अनुपात ५०–५०% कै हारहारीमा छ। यस तथ्याङ्कले नेपालमा चिकित्सा शिक्षाको प्रादुर्भावदेखिनै आधारभुत चिकित्सा विज्ञानको अध्ययन–अध्यापनमा एम.एस्सी/एम.पि.एच /पि.एच.डी समुदायका शिक्षकहरुको अहं भुमिका रहेको तथ्य प्रष्ट पार्दछ।
एम.एस्सी/पि.एच.डी समुदायका शिक्षकहरुले सुरुका दिनहरुदेखिनै सबै तहमा रहेर आधारभुत चिकित्सा विज्ञानका पाठ्यक्रमको विकास र प्रयोगशालाहरुको उन्नतीमा सक्रिय भुमिका देखाइसकेका र देखाइरहेका छन्। यसका संम्पूर्ण अभिलेखहरु हाम्रा विश्वविद्यालयहरु र शिक्षणसंस्थानहरुमा सुरक्षित छन्। वायोकेमेष्ट्री, माइक्रोवायोलोजी र कम्यूनिटी मेडिसिन विषयहरुमा हिजो र आज पनि कयौँ विभागीय प्रमुखहरु एम.एस्सी/एम.पि.एच/पि.एच.डी समुदायबाट छन्। यसका जीवन्त उदाहरुणहरु प्राध्यापक भरत झा, प्रा.डा. भरतमणि पोखरेल, प्रा.डा. माधव गौतम, प्रा.डा. माधव लम्साल र अन्य कयौँ प्राध्यापकहरु हुन्।
विश्वको परिप्रेक्षमा अधिकांस मूलुकहरुमा आधारभूत चिकित्सा विज्ञान अध्ययन–अध्यापनको लागि एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरु मान्य र उत्कृष्ट मानिन्छन्। संसारमा सवैभन्दा उत्कृष्ट चिकित्सा शिक्षा दिने अमेरिकन विश्वविद्यालयहरुमा आधारभूत चिकित्सा विज्ञानमा एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरुको संख्या ५०% भन्दा बढी छ। यो फ्लेक्सनर रिपोर्ट सन् १९१० बमोजीम स्वीकृत छ। हाम्रो नजीकको छिमेकी राष्ट्र भारतमा पनि आधारभुत चिकित्सा विज्ञान विभिन्न विश्वविद्यालयहरु र चिकित्सा अध्ययन संस्थानमा रही लगभग ३५००–४००० को संख्यामा एम.एस्सी/पि.एच.डी डिग्री प्राप्त प्राध्यापकहरुले प्राध्यापन गराइरहनुभएको छ। यो शिक्षालाई उचीत मान्यता, महत्व र प्रोत्साहन दिँदै बर्षेनी भारत सरकारको विज्ञान तथा प्रविधी मन्त्रालयले आफ्नो राष्ट्रका वैज्ञानिकहरुलाई मात्र नभै सार्क देशहरु अफगानिस्तान, वंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, नेपाल र श्रीलंकाका एम.एस्सी/पि.एच.डी गरेका युवा वैज्ञानिहरुलाई भारी अनुदान दिएर अनुसन्धानका लागि आमन्त्रण गरिरहेको छ। यसो भनिरहदा एम.डी/एम.एस समुदायलाई नजरअन्दाज गर्न पटक्कै खोजिएको होइन। यतीमात्र भन्न खोजिएको हो की आधारभुत चिकित्सा विज्ञान शिक्षण गर्न एम.एस्सी/पि.एच.डी गरेकाहरु एम.डी/एम.एस जत्तीकै योग्य छन्। अनुसन्धानमा एम.एस्सी/पि.एच.डी गरेकाहरु एम.डी/एम.एस भन्दा अझै अग्रस्थानमा छन्।
कसै कसैलाई एम.एस्सी/पि.एच.डी गरेकाहरुसंग राम्रो क्लिनिकल ज्ञान हुदैन त्यसैले एम.बि.बि.एस पढाउन योग्य हुदैनन भन्ने लाग्दो हो। तर कुरा त्यसो होइन। एम.एस्सी (चिकित्सा विज्ञान) का कोर्षहरुमा उक्त बिषय अन्तर्गत आबश्यक सम्पूर्ण क्लिनिकल ज्ञानहरु पढाईएको हुन्छ। आधारभूत चिकित्सा विज्ञान पढाउनका लागि उक्त ज्ञान भरपूर्ण छ। हामी एम.एस्सी/पि.एच.डी गरेका शिक्षकहरुले अस्पताल क्षेत्रका क्लिनिकल बिज्ञान अन्तर्गतका बिषयहरु पढाउने भनिरहेका छैनौ। क्लिनिकल बिज्ञानका लागि एम.बि.बि.एस, एम.डी/एम.एस गरेका चिकित्सक शिक्षकहरुकोे विकल्प छैन।
(ग) एम.एस्सी/पि.एच.डी शिक्षक, झेल्नुपरेका समस्याहरु र हाम्रा सुझावहरुःहाम्रा समुदायका शिक्षकहरुले झेल्नुपरेका समस्याहरु र सुझावहरुलाई वुँदागतरुपमा प्रस्तुत गरिएको छः
१. सबैभन्दा गंभीर समस्या नेपाल मेडिकल काउन्सिलको एम.वि.वि.एस गुणस्तर निर्धारण संहिता २०१७ का अनुसार कुनै पनि आधारभूत चिकित्सा विज्ञानका विभागहरुमा बढीमा एक जना मात्र एम.एस्सी/पि.एच.डी शिक्षक रहने भनिएकोमा हो। यो अवैज्ञानिक र विभेदकारी छ। यसलाई तुरुन्त कम्तीमा ५०% एम.एस्सी/पि.एच.डी शिक्षक रहने गरी सुधारियोस्।
२. एम.एस्सी/पि.एच.डी शिक्षकहरुलाई नियुक्तिपत्र दिनेबेलामा र मापदण्ड पुरा गर्दासमेत पदोन्नती गर्नेबेलामा अनावश्यक दुख दिने र टालमटोल गर्ने विभेदकारी प्रथा हाम्रा विश्वविद्यालयहरुमा छ। शिक्षा र विवेकको पहरेदार ठानिएका विश्वविद्यालयका पदाधिकारीहरुले यस्तो आचरण गर्दछन् भनेर लेखिरहँदा र बोलीरहँदा पनी सर्मजनक लाग्छ। यो समस्या विशेष गरी काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा छ। अब आइन्दा यसो नगरीओस्। मापदण्ड पूरा गरेका एम.एस्सी/पि.एच.डी र एम.डि/एम.एस सबै शिक्षकहरुलाई समान व्यवहार गरियोस्।
३. काठमाण्डौ विश्वविद्यालयको र हाल आएर नेपाल मेडिकल काउन्सिलको मापदण्ड अनुसार सह–प्राध्यापक र प्राध्यापक हुनको लागि एम.एस्सी गरेकाहरुलाई पि.एच.डी गरीनुपर्ने नियम छ। यो नराम्रो होइन। आधारभुत चिकित्सा विज्ञानका सबै विषयमा नेपालमा पि.एच.डी कोर्ष नभएको अवस्थामा पि.एच.डी पढ्न देशै छोड्नु पर्ने अवस्था छ। यो नियम देशको परिस्थिती सुहाँउदो भएन। यो मामलामा त्रिभुवन विश्वविद्यालय उदार देखिन्छ। यसमा सबैबाट पुर्नविचार गरियोस्।
४. पढाउने कक्षाकोठा एउटै, उही विद्यार्थीहरु र एउटै पाठ्यक्रम तर एम.एस्सी/पि.एच.डी र एम.डी/एम.एस शिक्षकहरु विच फरक–फरक व्यवहार छ। यसले एम.एस्सी/पि.एच.डी शिक्षकहरुको मनोविज्ञानलाई गिराइराखेको अवस्था छ। यसमा जिम्मेवार निकायबाट उचित ध्यान पु¥याइयोस्।
५. आधारभूत चिकित्सा विज्ञानका स्नातकोत्तर तहका एम.डि/एम.एस विद्यार्थीहरुलाई उक्त विषयमा एम.एस्सी/पि.एच.डी गरेका अनुभवी प्राध्यापकहरुले गाईड गर्न नपाउने गरी आएको नियम अवैज्ञानिक छ। किन र कुन आधारमा पि.एच.डि गरेका अनुभवी शिक्षकहरुलाई यसबाट रोक लगाइयो ? यो विभेदकारी नियम तुरुन्त सच्चाइनु पर्दछ।
६. देशका दुई ठुला विश्वविद्यालयहरु त्रिभुवन र काठमाण्डौ विश्वविद्यालयका पदाधिकारीहरु विचको पंठेजोरीको मारमा कहिलेकाही विद्यार्थी एवं शिक्षकहरु परेको देखिन्छ। शिक्षा, रोजगार र प्रगति भनेका सबैका साझा वृत हुन भन्ने अहं मान्यतालाई उच्च विन्दुमा राखी हेरिनु पर्दछ।
७. विश्वविद्यालय अनुदान आयोगले विभिन्न अनुसन्धानहरुको लागि गरीरहेको सहयोग सह्रानीय छ। यसको दायरा र रकम अझ बढाए आधारभूत चिकित्सा विज्ञानजस्ता विषयहरुमा अनुसन्धान गर्दा लाग्ने महंगो खर्चलाई थेग्न अनुसन्धानकर्तालाई सजिलो हुने थियो। यसले अनुसन्धानलाई थप बलियो र अनुसन्धानकर्तालाई थप प्रोत्साहन मिल्ने थियो।
८. नेपाल सरकारको मातहतको नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान देशकै साझा अनुसन्धानकारी निकाय हो। यती उत्कृष्ट निकायले के को अभावमा कुन्नी त्यती राम्रो सँग अनुसन्धानलाई दिशानिर्देशन गर्न सकेको छैन। वर्षमा २–४ वटा प्रमाणपत्रहरु बाड्दैमा अनुसन्धानको गुणस्तर बृद्धि हुँदैन। यसले खाली त्रिभुवन विश्वविद्यालयलाई मात्र नभै देशका सबै विश्वविद्यालयका विद्यार्थीहरुको अनुसन्धानलाई सहयोग गर्नु पर्दछ। यसले आफ्नो दायरा बढाओस्।
(घ) संकीर्ण नेपाल मेडिकल काउन्सिल र डा.गोविन्द के.सीको मर्मनेपाल मेडिकल काउन्सिलको गठन उच्च उद्देश्यका साथ भएको थियो। अव यसमा खिया लागिसकेको देखिन्छ। यसको प्रमुख उद्देश्य नेपाली जनताको स्वास्थ्यलाई सुरक्षित राख्नका लागि हुनु पर्ने हो। आफ्नो मर्यादिय कार्यदिशाबाट टेडिएर यो ठूलो मात्रामा रकम लेनदेन हुने मेडिकल कलेजहरुको देखावटी अनुगमनमा मात्र अव्यस्त भएको देखिन्छ। यसलाई अख्तियार अनुसन्धान आयोगले केही मात्रामा अनुगमन गर्न खोजे पनि मेडिकल माफीयाहरुबाट पुर्ण मुक्ति दिन सकेको छैन। नेपाल मेडिकल काउन्सिलको अहिलेको मुख्य कार्यसुची भनेको कुन मेडिकल कलेजका पुर्वाधारहरु कति कमजोर छन् र त्यस कलेजसँग एम.बि.बि.एस विद्यार्थी भर्ना संख्यामा वार्गेन गरेपछि कति रकम असुल्न सकिन्छ भन्ने नै हो। यो प्रस्टयाउने थुप्रै प्रमाणहरु छन्। एक त अख्तियार अनुसन्धान आयोगले यस विरुद्ध गर्दै आएका धरपकड हुन् भने अर्को यसको सक्रियता केवल मेडिकल कलेजहरुको अनुगमनमा मात्र सिमित हुनु हो। यस निकायको जनताका स्वास्थ्य प्रतिको उपस्थिती प्राय शुन्य छ। यसको अर्को सक्रिय उपस्थिती काउन्सिलका पदाधिकारीहरुको निर्वाचनमा पनि हुने गर्दछ। निर्वाचन अगाडि रात–दिन भोज–भतेर चलाइएका प्रसस्त उदाहरणहरु देखिएको छ। भोटरहरु रिझाएर आफु पावरमा रहिरहनको लागि राष्ट्रकै चिकित्सा शिक्षामा र जनताको स्वास्थ्यमा महत्वराख्ने विषयहरुलाई आफु अनुकुल तोडमोड गरिन्छ। यसको प्रत्यक्ष उदाहरण भनेको मेडिकल काउन्सिलको भोटर लिस्टमा नरहेका र आफ्नो एकमात्र पनि प्रतिनिधित्व नभएका एम.एस्सी/पि.एच.डी शिक्षकहरुको संख्या कटौती गर्न खोजीनु हो। यो काउन्सिलले गरिरहेको दुश्नियत पावर, पैसा र पदका लागि हो। यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन। मेडिकल काउन्सिलले यो तुरुन्त सच्चाओस्। मेडिकल काउन्सिलका पदाधिकारीहरुको अलिकती पनि सुद्धि छ भने एम.एस्सी/पि.एच.डी शिक्षकहरुलाई उचित मार्गनिर्देश गरी धेरै भन्दा धेरै प्रयोग गरेर मेडिसिनलाई अझबढी परिस्कृत र जनताप्रति उत्तरदायी बनाउनु पर्ने हो। यसको सट्टा यसले उल्टो दिशा लिन खोजेको देखिन्छ।
हाम्रो देश अविकसित देश हो। हाम्रो परिवेशमा हामीले पेनिसिलीन, इन्सुलीन जस्ता नयाँ प्रभावकारी औषधिहरु आविष्कार गर्न नसकिएला। नयाँ मानव जीनहरु पत्ता लगाउन नसकिएला। विकसित राष्ट्रहरुले परिक्षण गरिरहेका एच.आइ.भी, क्यान्सर जस्ता रोगहरुको औषधिहरु आविष्कार गर्न नसकिएला। नयाँ नयाँ जटील ईवोला जस्ता रोगहरुका खोपहरु आविष्कार गर्न नसकिएला। भु्रणविज्ञान र स्नायुविज्ञानका अनुसन्धाहरु गर्ने प्रयोगशालाहरु तुरुन्त निर्माण गर्न नसकिएला। यसो भन्दैमा भविष्यमा यी सवै सभ्मव तुल्याउने शिक्षा र अनुसन्धाका आधार स्तम्भको विउनै मासिने गरि नियम आउनु हुँदैन। यसो गर्न खोज्नु भनेको यहाँको चिकित्सा शिक्षालाई लङ्गडो तुल्याउन खोज्नु हो। यसो हुनबाट जोगाउन नेपाल मेडिकलन काउन्सिलले हाल ल्याउन खोजेको विभेदकारी नियम, आधारभूत चिकित्सा विज्ञानमा एम.एस्सी/पि.एच.डी शिक्षक संख्या सदाको लागि ५०% नघट्ने गरी, तुरुन्त सच्चाउनु पर्दछ।
डा. गोविन्द के.सीको आन्दोलन र अनसन मेडिकल शिक्षामा आमुल सुधारको लागि शुरु गरियो। उनकै मागअनुरुप मेडिकल कलेजहरुमा एम.बि.बि.एस विद्यार्थी संख्या घटाउदै आइयो। अर्कोतिर मेडिकल माफीया को पिछालग्गु भएर मेडिकल काउन्सिलले शिक्षक संख्यामा कटौती गरी रहेको छ। सन् २०१२ भन्दा अगाडि १५० जना विद्यार्थीको लागि १० जना शिक्षक संख्या रहेका विभागमा सन् २०१३ मा आएर ७ जना र सन् २०१७ मा ५ जनामा झारिदैछ। डा. गोविन्द के.सीको गुणस्तर शिक्षाको मर्मलाई के शिक्षक कटौतीले पुरा गर्ला ? कुनैपनि हालतमा गर्दैन। यसबाट गुणस्तर बृद्धिमा हातालाग्यो शुन्य प्राय निश्चित छ। यसमा सबै सरोकारवालाहरुको ध्यान जाओस्।
(ङ) उपसंहारःनेपालमा चिकित्सा शिक्षाप्रती हामी सबै चिन्तित छौ। यो शिक्षाले अन्तरराष्ट्रिय मापदण्डमा रहेर फड्को मार्नु पर्दछ। यसो हुन आधारभूत चिकित्सा विज्ञानकै बृद्धि विकास र स्तरोन्नतीबाट मात्र संभव छ। राज्यका सरोकार निकाय, विश्वद्यिालयहरु र शिक्षण संस्थानहरुको सहयोग र सयुंक्त संलग्नताबाट मात्र यो संभव छ। मेडिकल काउन्सिल जस्ता चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर निर्धारण गर्न गठिन निकायका पदाधिकारीहरु व्यक्तिगत स्वार्थ, संकुचित आक्रोस र पावर गेम तथा मनी गेम त्याग गरि निस्वार्थ जनसेवामा सर्मपीत हुन सके हाम्रो देशको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा गुणस्तरयुक्त हुनेछ।
नेपाल मेडिकलन काउन्सिलले यो जीम्मेवारी वहन गर्न नसके डा.गोविन्द के.सीको मर्म अनुरुपको चिकित्सा शिक्षा ऐन संसदवाट पारित गरिएपछि नेपाल मेडिकल काउन्सिलको दायरा घटाई चिकित्सा शिक्षा तथा अन्य सम्पूर्ण स्वास्थ्य शिक्षाको अनुगमन गर्ने गरी अर्को नियमकारी निकाय व्यवस्था गर्नु पर्ने देखिन्छ। जसले नयाँ नेपाल, गणतन्त्र नेपाल र समाजबादी नेपालको मर्र्म अनुरुप एक–एक जनताप्रती उत्तरदायिको भूमिका खेलोस्।
(लेखक काठमाडौं विश्वविद्यालय अन्र्तगत मणिपाल मेडिकल कलेज, पोखरामा एनाटोमी विभागका उप–प्राध्यापक हुनुहुन्छ।)