कुरो २०१६ मार्च महिनाको हो। दिल्लीको गङ्गाराम अस्पतालमा भर्ना भएको छोरो पराक्रम, र रमालाई उतै छोडेर म काठमाडौँ फर्किएँ। निर्धारित समयभन्दा ४ घण्टा ढिलो उडेको नेपाल वायुसेवा निगमको विमानले काठमाडौँ टेक्दा रातिको १२ बज्यो।
सिनामङ्गलबाट मेरो वासस्थान ठिमी पुग्दा, हातमुख धुँदा र सुत्ने तयारी गर्दा रातिको दुई बज्यो। भोलिपल्ट बिहानै त्रिवि सेवा आयोगको जाँच दिनुथियो– उपप्राध्यापकका लागि। मैले सोचेँ, जाँच ११ बजे हुन्छ, किताबलाई एकपल्ट बिहानै हेर्छु। असमय सुतेको मान्छे, सात बज्न लाग्दा बिउँझेछु। मित्र कुमारी लामालाई फोन गरेँ, र भनेँ, “कुमारी, दस बजेतिर भेटौँ है।”
उनले आत्तिँदै भनिन्, “कहाँ को तपाईं? हामी त परीक्षा हलभित्र पसिसक्यौँ। सात बजे सुरु हुन्छ जाँच।”
न ब्रस गरेँ, न त चियापान। जस्तो सुतेको उस्तै लुगामा कुदेँ, जुत्ता लगाएर। ठिमी चोकमा टेक्सी समातेँ, र केही प्रश्न नसोधी लागे पुलचोकतिर। परीक्षा सुरु भएको करीब आधा घण्टापछि प्रवेश गरेँ हलमा। त्यहाँ भएकाहरूले आश्चर्यका साथ हेरे मलाई। जीवनको प्रश्न छ, यो मान्छे कस्तो लावर्पाह भन्ने सोचे होलान् सायद।
आफ्नो सामुन्ने प्रश्नपत्र छ, जिन्दगीको। सम्झनामा छोरो छ सुदूर कुनै अस्पतालमा निर्दोष आँखाहरूले एउटा अपरिचित तर लाचार बाबुको माया खोजिरहेको। सम्झन्छु, जस्तै पहिरो जाँदा पनि आफूलाई भत्कन नदिने रमाको अनुहार। अनि पुनः हेर्छु प्रश्नपत्र, जहाँ मैले सधैँ खेलाउने गरेका अक्षरहरू आज इतिहासकै कुनै क्रूर प्रदर्शनमा छन्, र टुक्रा टुक्रा पारेर मलाई खान तल्लिन छन्। जिन्दगीमा पहिलोपल्ट मलाई परीक्षा बोझजस्तो लाग्यो।
मैले विश्वविद्यालयमा भन्ने गरेको छु, “मेरो विद्यार्थी गति गाउँदै परीक्षाहलमा जाने, र गीत गाउँदै निस्कने।” तर, परीक्षाभन्दा अग्ला पहाड मस्तिष्कमा पल्टिएपछि संसारका हजार तर्कहरू धानको भुसजस्ता लाग्दा रहेछन्– मूल्यहीन।
भोलिपल्ट विश्वविद्यालय गएँ। हाँसेर र हँसाएर ट्रेजडी नाटक पढाउने भनेर विद्यार्थी चर्चा गर्थे। ट्रेजडी अर्थात् दुखान्त नाटक पाढाइसकेपछि अन्त्यमा भन्थेँ, “नभुल्नू, हामीले पढेको ट्रेजडी हो।” विद्यार्थी हाँस्थे। तर आज, मलाई जीवनमा पहिलोपल्ट लाग्यो, हाँस्नका लागि पनि मौसम चाहिन्छ र बेमौसम हाँस्नु जति पीडादायी रुनु पनि नहुँदो रहेछ। मभित्र पनि एटा हल्लिरहने पृथ्वी रहेको पोल मेरा विद्यार्थीले थाहा पाए।
पलपल तड्पिरहेको मन लिएर कक्षाबाहिर आएँ र हत्तपत्त मोबाइलको डाटा अन गरैँ। दिल्लीबाट सूचना आउनु थियो, आएछ। पराक्रमको डायग्नोसिस रिपोर्टले हाम्रो जिन्दगीमा कहिल्यै निको नहुने चोट दिएको समाचार थियो त्यो। आधाबाटैमा छुट्ने रे उसको जिन्दगी, र हामी आँसुका अंशियार हुनू रे, जीवनभर।
सूचना पढेँ, भाइ दिनेशले पठाएको। त्यसपछि, आजसम्म मभित्र घाम लागेकै छैन। जति हाँसेको वा बोलेको छु, त्यो एउटा असत्य अभिनय हो। रमालाई त सोध्ने आँट पनि गर्दिनँ।
मित्र गणेशप्रसाद जोशीको जन्मदिन थियो त्यसदिन। उहाँले साँझ पाँच बजे प्रणवानन्द आश्रम जाने भन्नुभएको थियो। हुन्छ भनेको थिएँ। दिल्लीको म्योसेजले मुटु टुक्रिएपछि संसारको सम्पूर्ण रमाइलो निरर्थक लाग्यो। तर म जानसक्ने अरु कुनै ठाउँ पनि थिएन। विश्वविद्यालय परिसरमा “ह्वाँ” गरेर रुन सक्ने वातावरण पनि थिएन।
मेरो भनेर दस वर्ष पसिना बगाएको विश्वविद्यालयभित्र मलाई माया गर्ने धेरै छन्, तर यो पनि सत्य हो, मैले पाएको अलि अलि माया, र मैले बडो दुःखले बटुलेको अलि अलि उपलब्धिमाथि पनि ईश्र्या गर्ने र मभित्र पीडाको सुइरा रोपेर रमाउने पनि त एकाध छन्। म बलियो बन्नुको बिकल्प थिएन । बल पनि कस्तो पीडादायी हुँदोरहेछ, त्यसै दिन थाह पाएँ।
गएँ, गणेश सरलाई भेट्न, र उहाँसँग रोएँ। प्रणवानन्द आश्रम जाने मेरो स्थिति थिएन। घरमा पनि त कोही थिएन। त्यसैले नचाहँदा नचाहँदै पनि गएँ। केही बोल्नू भनियो। म सार्वजनिक स्थानहरूमा बोल्ने मान्छे हुँ, तर त्यसदिन के बोलेँ, मलाई थाह छैन।
म त नेपालमै थिएँ। आफन्त सबै यहीँ। रमा कोसँग रोइन् होला दिल्लीमा। त्यो क्रूर निर्णय सुनिरहँदा के गरिन् होला? कुन भित्तो समातिन होला। भाइ थियो एक्लै। के गर्यो होला? कुन शब्दले सम्झायो होला? संसारभरिका शब्दकोशका शब्दले मल्हमपट्टी गर्न नसक्ने एउटा प्रहार बज्रिएको थियो उनको छातीमा। र सबैबाट टाढा थिइन् उनी, र काखमा थियो, मिति पाएको हृदयको टुक्रो – पराक्रम।
त्यसपछि के भयो, म भन्न सक्दिनँ। त्यसपछिका तीन वर्ष तीन हजार वर्षजरी बितायौँ हामीले। चाहेर होस् वा नचाहेर, म त बाहिर जान्थे, मान्छे भेट्थे, बोल्थेँ, लेख्थेँ। रमा घरमा हुन्थिन्, र पराक्रम पनि। कसरी बित्थ्यो समय, म कल्पना गर्न पनि सक्दिनँ। सम्झन्छु केही “आफ्नै हुँ” भन्नेहरू, जसले हरेक वार्तालाप र भेटमा केवल उनीहरूले मामाथि बलात् लादेका काम, काम, काम, काम, र कामका कुरा। कहिल्यै सोचेनन्, म जुन परिस्थितिमा थिएँ, त्यस परिस्थितिमा सिर्जनात्मक काम सम्भव छैन। हजार निवेदन गरेँ, सुनेनन्। बुझेनन्।
जिन्दगीको विशाल गाडा तान्दै गयौँ रमा र म, भासै भासको बाटो। परिवारजनका आँसु र सहानुभूतिको इन्धन्, सम्झन्छु। उनीहरूले काँधै हाले, टेक्नेसमाउने ठाउँ दिए। अनुभव र घामपानीको ग्रन्थजस्ता भएका बाआमाले दिएको हिम्मत आजपर्यन्त हाम्रा लागि जीवन जिउने सूत्र भएको छ।
मेरो दुःखको घडीमा मसँगै उभिए मेरा विद्यार्थी, जो आज पनि मेरो दुःखका सहयात्री हुन्।
र एकदिन, भर्खरै, जे नहुनु थियो, त्यही भयो। हामी अँध्यारोका स्थायी बासिन्दा भयौँ। फेरि पनि मैले, मेरा विद्यार्थीकै काखमा टाउको राखेँ, र आफैँलाई सम्हालेँ।
समयको मल्हमले स्मृतिका घाउ केही निको पारेपछि मैले एक दिन “नर्सरी” शीर्षकको कथा लेखेँ। वास्तवमा कुनै गुरु योजना थिएन मसँग – कितापको। मैले यस कथालाई फगत मभित्रको अभिघातको विरेचनको माध्यममात्रै बनाउन खोजेको थिएँ। अर्थात्, यो मेरो एउटा “स्क्रिप्टोथेरापी” थियो – लेखेर पीडाको विरेचन गर्ने काम। लेखिसकेर रुँदै पढेँ र रमालाई सुनाएँ। रातको कालिमालाई पनि भिजाएर हामी फेरि पानी भयौँ, र एकछिन पछि हल्का पनि भयौँ।
कथा सेतोपाटीमा छापियो। छापिएपछि आएका प्रतिक्रियाहरू पढ्ँ, सुनेँ। नजिकका मित्रहरूले सल्लाह दिए – अरु पनि कथा छन् भने सङ्ग्रह निकाल्नोस्।
यो कुरा रमालाई भनिनँ। तर, मैले लेखेर राखेका कथाहरू एकपछि एक पढेर सुनाउन थालेँ उनलाई। उनी कथा सुन्दै गइन्। त्यसैबीच केही नयाँ कथा पनि लेखेँ। ती पनि सुनाएँ। यो कथा लेख्ने, सुन्ने र सुनाउने सिलसिलले हाम्रो दिनचर्या केही फरक बन्यो। यथार्थको कालिमामा भन्दा हामी कथाका पात्रको जीवनमा बाँच्न थाल्यौँ।
उनीहरूका सुखदुखमा समाहित हुन थाल्यौँ। मेरो मनमा अरु पनि कुरा थिए। कवि दाजु विप्लव ढकालले कविता निकाल्नुस् भन्नुभएको थियो। मङ्सिरमा निकाल्छु पनि भनेको थिएँ। उता मित्र कार्तिकेयले बालसाहित्यको सिद्धान्त पक्षमा केही लेख्नुस् भन्नुभएको थियो। दशैँपछि भनेको थिएँ। धेरैतिर धेरै आश्वासन दिएको थिएँ। तर केहीले पनि हाम्रो जीवनमा खासै प्रभाव पारिरहेको थिएन। तर कथा एक्कासि हाम्रो जीवनमा सन्तानको क्षतिपूर्तिको रूपमा देख परे। रमा र म कथाभित्रै बाँच्न थाल्यौँ।
कथा लेख्ने, पढ्ने र वाचन गर्ने काम एउटा उपचारजस्तो हुने रहेछ। सुन्दा वा पढ्दामात्रै पनि जीवनको गतिमा परिवर्तन आउँदोरहेछ। हामीजस्तै, काठमाडौँको धुलो धुवाँ र निर्मम समाजमा आफूलाई खोज्दै, हराउँदै र पुनः भेटाउँदै संघर्षरत भाइ महेश क्षितिज मेरो कथाको भँगालोमा श्रोता र पाठकको हैसियतले मिसिए। सबै कथा पढिसकेपछि उनले भने, “दाइ, कथा निकालौँ।”
यसबीच मैले बेलाबेलामा लेखेर राखेका, कताकति पत्रपत्रिकामा छापिएका र यसअघि नै किताबमा छापिएका कथा भेला पारेँ, र छान्न उनलाई नै दिएँ। उनले बीसवटा निकाले। सबै कथामा विक्षप्त, अर्धविक्षिप्त, बालबालिका, बूढाबूढी, भाग्यले ठगेका, राज्यले नदेखेका, नियतिको पर्दाले छेकेका पात्रहरू। उनलाई उदेक लागेछ, एक दिन त मुखै फोरेर सोधे। मैले छोटो उत्तर दिएँ, “ती पनि छन्, समाजमा।” प्रतिप्रश्न गरेनन्।
यसैबीच एकदुई कथा अरु अनलाइनमा छापिए। मलाई चिन्नेहरूले सोधे, हामीले समालोचक भनेर चिनेको मान्छेले कसरी कथा लेखेको? मसँग रेडिमेड उत्तर थियो, “समालोचनामा अरुका कुरा। कथामा मेरा कुरा।”
सायद कथा लेख्नु मेरो प्रारब्ध हो। मलाई हात हेर्नेले “हवाइजहाजको ड्राइभर हुन्छस्” भनेको थियो। यो कुरा सुन्दा म आठ वर्षको थिएँ। सुनेपछि मेरो मस्तिष्कमा हावाजहाजको एउटा विम्बजस्तो झल्यास्स केही आयो, र एकैछिनमा बिलायो। त्यो विम्ब फेरि फर्केर कहिल्यै आएन।
पढाइ ठिकै थियो। धेरैले निजामति सेवामा जानू र सचिव हुनू भने। सङ्ख्वासभामा कतिवटा मन्दिर छन् भन्ने कुरो कहिल्यै कण्ठ भएन। प्रयास गर्न मन पनि लागेन। विज्ञानको विद्यार्थी, भारतमा पढेको। मिहिनेत गर्ने बानी थियो। डाक्टर बन्नू भन्थे सबै। मन लागेन। इन्जिनियरिङ्का लागि भारतमै नाम निकालेँ, तर भर्ना भइनँ। स्नातकस्तरमा साहित्यतिर लागँे, र आजपर्यन्त त्यही गोरेटोमा छु। गरिबीलाई गीत बनाएर गाइरहेको छु।
मान्छे र नियति दुवैका अन्र्तघात खेपेको छु, र कविता बनाएको छु। दोबाटोमा बसेर जात र बादको आधारमा कुरा काट्नेलाई दोबाटोमै छोडेर अगाडि बढेको छु, सङ्घर्षको बाटो। आफ्नै र अरुका घाउको सङ्ग्राहालय छ मनभित्र, जसलाई कथामा उतारेको छु।
आख्यान मेरा हत्केलाका रोखाहरूमै लेखिएर आएको हो सायद। राम्रो नराम्रो तपसिलको कुरो। चल्नु नचल्नु पनि तपसिलकै कुरो। तर मैले सधैँ कथा खोजँे, कथा भेट्टाएँ। कथा सुनेरै चन्द्र किरण गुरुङ्ले कक्षा कोठामा भने, “सर, अबदेखि म कहिल्यै मृग मार्दिनँ।” मैले भनेको कथा सुनेर रोएको सुनिल दहालले, त्यही कथा फेरि भनेर मलाई रुवायो, सिरिन भ्याली स्कुलमा। मेरो पहिलो कथा निस्कियो आख्यानको। साहित्यमा पहिलोपटक पुरस्कार जितेँ, कथाका लागि। सबैभन्दा बढी किताब आए आख्यानका। समालोचना मैले लाउने गरेको लुगा हो। कथा मेरो जीउज्यान हो।
जिन्दगीले हानेको लातले मलाई धेरै भीरपाखाहरूमा पु¥याएको छ। भारत र नेपालका छायापक्ष मैले धेरै हेरेको छु। भिडले तान्दैन, भिडबाट अलि पर अलमल अलमल एक्ला पात्रहरूले तान्छन्। कि बालकले छुन्छ, कि बृद्धले छुन्छ। कि समाजको किनारमा, आफूले बोल्ने गरेको आवाज पनि गुमाएका उदास पात्रहरूको संवेदनाले छुन्छ। मलाई मेरो कथाहरू भन्छन्, “कठोर र बौद्धिक बिधा तेरो लेखा होइन। तँ कमलो छस्। खोलेर फ्याँकिदे कथित बौद्धिकताको खाल। तँभित्रको कमलो मान्छेलाई निस्कन दे।”
नेपालमा परिवर्तन र क्रान्तिको पक्षमा बोल्ने लेख्ने धेरै, धेरै, धेरै छन्। आन्तोन चेखभका कथा र नाटकमा क्रान्ति ल्याउने र क्रािन्त रोक्न चाहनेहरूका आआफ्ना दम्भका जाँतोमा पसिएका, र दुवै थरिले वेवास्ता गरेका पात्रहरू मैले धेरै देखेको छु। म पनि त्यस्तै पात्रतिर लागेँ। आखिर, साहित्यमा “क्रान्ति” र “विचार” लेख्ने साथीहरूको सङ्ख्या यति ठूलो छ नेपालमा, परिवर्तन त अवश्यै आउँछ। त्यो परिवर्तित समयमा, परिवर्तनका सम्बाहकले देखून् भनेर मैले अदृश्यजस्ता लाग्ने पात्रहरूसँग मुटु गाँसेको हुँ। आखिर, यो पनि त समाज हो। यस्ता मान्छेको पनि त हकहित हुन्छ!
मभित्र कथा मसँगै हुर्केबढेको हो। भारत पढ्दा पुङ्गिनजस्ता पात्र भेटेँ। भाग्दै, लुक्दै हिँड्ने पुङ्गिनको भित्री जीवन हेरेँ। हुन त म त्यो बेला सानो बालक थिएँ, तर युद्धसँग गाँसिएको त्यो क्रूरता, र त्यसैबीच किचिएको संवेदनाले कसरी छोएछ, उसै पुङ्गिनलाई पात्रबिम्ब बनाएर “त्यसपछि फुलेन गोदावरी” लेखेँ। सम्झना छ ५ सेप्टेम्बर १९९३ को मध्यरातको, जब गोली र बमबारीले एउटा इलाकामै कम्पित भएको थियो।
बिहान उठ्दा थाह भयो, म पढ्ने स्कुल राति नै सखाप पारिएछ। मेरो कक्षा सात त्यत्तिकै सिद्धियो। क्षतिपूर्तिमा जन्मियो “गोदावरी”। भारतका तिनै नेपाली बहुल पहाडमा नेपाली भाषाको संरक्षण र सम्बद्र्धनभन्दै हिँडेँ ठाँडाकाँडाँ झोला बोकेर। त्यतै टिपेँ “क्रौब्रु” र “काकी” जस्ता कथा। असम गएँ, बराल्लिएँ र भेटेँ रिश्मजस्ता पात्र, जसको जीवनमा अहम प्रश्न आफ्नै परिवारले बुझेन।
नेपालभित्रै कर्णाली पुगेँ र अप्सरालाई भेटेँ, तराई झरेँ र गुलाबचन्दलाई भेटेँ, पूर्व लागेँ र “निदाल”, “हुलाकी” र “भुवन” जस्ता कथा टिपेँ। इतिहास पढेँ, हेरेँ। अनि लेखेँ “उनी योगमाया भइन्,” र “क्रान्तिवीर”। मास्टर भएँ, ट्युसन पढाएँ, विश्वविद्यालय पुगेँ। जागिरकै क्रममा भेटेँ “लामबद्ध प्रतिघात” र “ताल्चा” जस्ता कथाका पात्रहरू। सुदूर विगतमा गएँ कल्पनाका लहरमा हेलिँदै, र बनाएँ “अदालतबाहिर” जस्ता कथा। “निदाल” का पात्र त नेपाली पहाड र सहरका हरेक घरमा दिनहुँ भेटिरहेछु।
मेरो स्क्रिप्टोथेरापी हुनुका अतिरिक्त मेरो सम्झनाका दस्ताबेज पनि हुन् मेरा कथा। बजारमा तिनी दरो उभिन्छन् वा उभिँदैनन्, तयो हेर्न बाँकी छ। तर मभित्र यी कथाका पात्रले एउटा दरो घर बनाएका छन्, कारण कहीँ न कहीँ ती पात्र मजस्तै छन् ः भावुक, सम्वेदनशील, र सधेँ भीडमा भएर पनि हृदयतः एक्ला।
जीवनले सधैँ कठोर र जिम्मेवार बन्ने बाध्यतामै उध्याइरह्यो मलाई। बालक हुँदा अलमल। तरुण हुँदा समाजिक कार्यक्रर्ता। २७ वर्षमा विश्वविद्यालयको प्राध्यापक। उमेरले दिएको रुमानी बसन्त छुन नपाउँदै पारिवारिक र प्राज्ञिक जिम्मेवारीमा हेलिएको। मैले उभिन, रोकिन र स्पर्श गर्न बाँकी जीवनका कतिपय मृदु क्षणहरू मभित्र छन्, जसलाई म उद्घाटित गर्न चाहन्छु। मभित्र एउटा सधैँ छोइने, अतिशय भावुक मान्छे छ, म त्यसलाई मुक्त गर्न चाहन्छु।
मभित्र बालबालिका आँखामा बस्ने रहर र सपना चिन्ने एउटा मान्छे छ, जो जसका बालबच्चा देखे पनि छोरा वा छोरी भनेर बोलाउन सक्छ, बोलाउँछ। यो कुरा लेखिरहँदा म रोक्किएको छु। यो देशमा, आजको मितिमा मलाई “बाबा” भनेर बोलाउने आठदस जना छोराछोरी छन्, जसलाई “तिमी कसको सन्तान?” भनेर कहिल्यै सोधिनँ पनि। मेरो कथाभरि ती छोराछोरीका रहर पोखिएका छन्। मैले देखेका एक्ला बूढाबूढी र विक्षिप्त पात्र त धेरैले देखेका, तर हालखबर सोध्न नभ्याएका, यसै समाजका पात्र हुन्।
मान्छे, भित्र एउटा हुनु, र बाहिर अर्कै देखिनुको बाध्यतामा किचिएको हुन्छ। म पनि त्यस्तै चेपुवामा परेको एउटा पात्र हुँ। मैले सधैँ सधैँ एउटा मौका खोजिरहेँ– आफैँलाई उत्घाटित गर्ने, आफू कृत्रिमताको खोलबाट बाहिर आउने, र यी म जे हुँ, यही हुँ भनेर भन्ने। गुन्गुनाउन मन लाग्छ, “छोरेप ढाकेँ यो कालो मुटुलाई, म जन्मेकै भेषमा तिमी आज हेर।”
“त्यसपछि फुलेन गोदावरी” लाई माध्यम बनाएर म निर्वस्त्र निस्किएको छु। मसँग एक्ला पात्रहरूको एउटा जुलुस् छ। खै, हामी देखिन्छौँ कि देखिँदैनौँ यो भीडभाडमा, सुनिन्छौँ कि सुनिन्नौँ यो कोलाहलमा!