नेपाली जनसम्पर्क समिति जापानको निमन्त्रणामा जापानका विभिन्न सहरमा आयोजना हुने प्रशिक्षण कार्यक्रमहरुलाई सम्बोधन गर्न पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र म संयुक्त जाने कार्यक्रम तय भई दुबै जनाको भिसा स्वीकृत भइसकेको थियो तर अन्तिम समयमा गगनकुमार थापाको कार्यव्यस्तताले जापान जाने कार्यक्रम रद्द भएसँगै आयोजकले अर्का सांसद धनराज गुरुङलाई निमन्त्रणा गरेको रहेछ।
जनसम्पर्क समितिको कार्यक्रम र प्रशिक्षणमा सहभागी हुन म त्यसतर्फ गएको हुँ। यसरी तय भएको कार्यक्रममा जाने क्रममा टोकियोस्थित हानेदा विमानस्थलमा पुगेपछि भएको घटनाका विषयमा केही सञ्चारमाध्यममा विभिन्न कोणबाट सम्प्रेषित अतिरन्जित स समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ।
म २०७४ भदौ ३० गते स्थानीय निर्वाचनको प्रचारको क्रममा प्रदेश नम्बर २ मा थिएँ। त्यसैले सप्तरीबाट विराटनगर र विराटनगरबाट काठमाडौं आएर सिधै जापान उडेको हुँ। हाम्रै नेता सांसद धनराज गुरुङसँगसमेत मेरो भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।
हङकङमा ट्रान्जिट थियो, त्यहीँ पत्रकार अनिल न्यौपानेसँग भेट भएको हो। न्यौपानेसँग मेरो पहिलो भेट नै त्यही हो। हामी हङकङ ट्रान्जिट हुँदै टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण ग¥यौं।
अध्यागमन क्लियर गर्ने क्रममा मलाई त्यहाँका कर्मचारीले प्रायोजकका विषयमा सोधे। मैले विमानभित्रै भरेको फर्ममा उल्लेख भएबमोजिम स्पोन्सरको नाम, ठेगाना र फोन नम्बर दिएँ। मैले दिएको नाम, ठेगाना र फोन नम्बरको आधारमा अध्यागमन कर्मचारले सम्पर्क गर्दा मलाई स्पोन्सर गर्ने ऋदेन्द्र गिरी आकस्मिक रुपमा नेपाल आएको पत्तो लाग्यो। स्पोन्सर गर्ने व्यक्ति नै नेपाल भएको अवस्थामा उनीहरुले मेरो भ्रमण, कार्यक्रम अवधिको बसाइबारे चासो राखे र अन्तिममा स्पोन्सर गर्ने व्यक्ति जापान नभएकाले प्रवेश दिन नसकिने बताए। जापानको नियम अनुसार नेपाली संस्था जापानमा दर्ता नहुने हुँदा कार्यक्रममा बोलाउँदा व्यक्ति नै स्पोन्सर बस्नु पर्दो रहेछ।
म एउटा सार्वजनिक मान्छे। अध्यागमनमा गरेको केरकारले केवल मेरो व्यक्तिगत जिन्दगीसँग जोडिएको विषयमात्रै नभई मुलुकको स्वाभिमान र पहिचानसँग पनि जोडिएको अनुभूति हुनासाथ त्यहीँबाट नेपाल फर्कने निर्णय गरें। जापानको हानेदा विमानस्थलको अध्यागमनमा सबै प्रक्रिया पूरा गर्दा साढे २ घन्टा लाग्यो। नेपाल फर्कने टिकटको व्यवस्था गर्न थप पाँच घन्टा जति लाग्यो।
त्यसपछि म नेपाल आएँ। नेपाल आउँदा हङकङमा १२ घन्टा ट्रान्जिट भएकाले ढिला भएको हो। यो वास्तविकतालाई तोडमोड गरेर केही सञ्चारमाध्यमले मेरो चरित्र हत्या गर्ने उद्देश्यसहित कपोकल्पित समाचार प्रकाशन गरे। मसँग पत्रकार न्यौपानेबाहेक अरु कोही पनि थिएनन्।
हरियो पासपोर्ट बोक्ने हजारौं नेपालले विश्वका कुनाकुनामा हरेक दिन यस्तो नियति भोग्नु परेको छ। नेपाली जनसम्पर्क समिति जापान र तिनका जिम्मेवार पदाधिकारीहरको कमजोरी त रह्यो नै भिसा दिनुअघि नै विचार गर्नुपर्नेमा जापानी पक्षबाट अध्यागमनमा पुगिसकेपछि केरकार गरिनु दुखद कुरा हो। यहाँ मेरो सार्वजनिक छबि भए पनि विश्वका अन्य मुलुकका लागि म हरियो राहदानीबाहक एक सामान्य नेपाली नागरिक हो। अध्यागमनमा भएको केरकारलाई मैले सिंगो नेपालीप्रतिको दुव्र्यवहारको रुपमा लिँदै स्वदेश फर्किएको हुँ।
प्रवेशाज्ञा दिने तर प्रवेश नदिएको सम्बन्धमा औपचारिक धारणा लिन असोज ३ गते काठमाडौंस्थित जापानी दूतावासमा जाँदैछु। भविष्यमा अन्य कुनै नेपालीले यो नियति भोग्नु नपरोस् भन्ने मेरो चाहना हो। नेपालीमाथि जापानमा कडा निगरानी छ। कतिपय अवस्थामा बदमासी पनि भएको होला तर त्यसैका आधारमा गम्भीर कुरालाई पनि त्यसरी नै व्यवहार गर्नु राम्रो होइन। यससम्बन्धमा दूतावासबाट प्राप्त हुने विवरणलाई पनि म सार्वजनिक गर्नेछु।