आज भोलि नेपाली छापाहरूमा बिभिन्न देशमा भ्रमणका दौरान अध्यागमनमा नेपाली नेताहरू, अझ कतिपय सन्दर्भमा त मन्त्री र उप प्रधानमन्त्रीहरू समेत अपमानित हुनु परेका समचारहरू सम्प्रेषण भैरहेका छन ।हामी नेपाली ,जो, जहाँ, जसरी बसे पनि यस्ता खबरले दुखी त हुन्छौं नै । तर हाम्रा त्यी आक्रोश मिश्रीत दुःख ब्यक्त गर्ने शब्दले मात्रै यस्ता समस्याहरू निस्तेज हुने पनि होईनन । तै पनि नेपाली मन हो, हामी बोल्छौं, लेख्छौं । हामिले बुझ्नु पर्दछ कि हामी कमजोर हुनुको परिणती हो,यो । हामीलाई कमजोर बनाएको गरिबिले हो अनि गरिब हुनुको कारण चाहिं फेरी असंगत राजनीति नै हो ।
केही समय अगाडि भूतपूर्व प्रधान मन्त्री माधव कुमार नेपालसँगसँगै चिया पिउने अवसर मिलेको थियो। छोटो तर मिठो उक्त भेट्घाटका दौरान नेपाली राजनीतिको थुप्रै आरोह अवरोहका साक्षी पूर्व प्रधानमन्त्री नेपालले ब्यक्त गर्नु भएका थुप्रै कुराहरू महत्वपूर्ण थिए तथापी एउटा कुराले भने पछी सम्म मन छोईरह्यो ।
उहाँको कथन थियो- “आज सम्मका हाम्रा छलफल एवम् मिटिङहरू कहिल्यै विकास निर्माणका विषयमा केन्द्रीत भएनन् हाम्रो यावत ऊर्जा खाली राजनीतिक बहसमा मात्रै केन्द्रीत रहे । एउटा राजनीतिक बाटो तय गरी सकेपछि हाम्रा सर्वदलीय बैठक्, संसदका बहस् विकासका खातिर केन्द्रीत गर्न सक्नुपर्ने हो तर त्यसो हुन सकेको छैन। नसक्नुमा हामी नेतृत्वमा रहेका शीर्ष भनिएका नेताहरूको कमजोरी निसन्देह होला नै! यो सत्य स्वीकार्न मलाई कुनै आपत्ती छैन। ‘वास्तवमै भन्ने हो भने नेता नेपालको यो स्वीकारोक्तीले आम जनताको भावना बोकेको प्रतीत हुन्थ्यो, पनि।’
हो, सारांशमा भन्ने हो भने यही कारण हो नेपाली राहदानी बाहक उपर बिदेशी अध्यागमनमा अपमान ।
भनिन्छ की, नेपाललाई धनी बनाउन सकिने प्रचुर सम्भावना छ, साधन, श्रोत छ, प्राकृतीक सम्पदाका दृष्टीकोणले नेपाल धनी छ, जनताहरू मेहनती छन्। तर पनि सदियौंदेखी हाम्रो परिचय विश्वको दोश्रो गरिब मुलुकका नागरिकका रूपमा रही आएको छ ।
यो परिचय परिवर्तन गर्न नसक्नुका धेरै पक्ष होलान तर पनि देशको मूल निती तर्जुमा गर्ने राजनितीले स्वाभाविक रूपमा ज्यादा जिम्मेवारी लिंदै गर्दा राजनितीकर्मीहरूले देशमा भएको उन्नती उपर जस र अवगती उपर अपजसको भागीदार हुनु पनि नौलो कुरा भएन।
अपमानका यस्ता यस्ता दृष्टान्त देख्दा लाग्छ, हाम्रा राजनीतिज्ञहरूमा किन ईख नपलाएको होला? अझै पार्टी संगठन गर्न बिदेश हानिन्छन्। सायद जानकारीको कमी पो हो की त? होईन भने तानाशाही एवम् सैनिक शासन भएको देशमा लोकतन्त्र बहालीका उद्देश्यले बाहेक लोकतान्त्रिक देशका नेताहरू बिदेशमा पार्टी संगठन गर्दै दौडने बलियो उदाहरण सायद नेपाल नै होला।
चाहे जे भए पनि यथार्थ कुरा के भने हाम्रो राजनीतिक सोच भने परिवर्तन गर्नुपर्ने देखिन्छ । बिदेशमा भएका गैह्र आवासीय नेपालीलाई आबाधिक निर्वाचनमा मतदान गर्न दिईने कानूनी ब्यवस्था छैन अनि फेरि नेताहरू बिदेशमा पार्टी संगठन गर्न हानथाप गरी रहेका छन किन?
त्यसको औचित्य कसरी पुष्टी हुन्छ? यो प्रश्न सर्वदा अनुत्तरित छ । तीतो लाग्न सक्ला कतीपयलाई तर हामीले राजनीति बाहेक अरू केहि देख्दै देखेनौं। पार्टीगत आलोचना बिरोध वा स्तूति हामीहरूको पहिचाहन जस्तै भैसक्यो। यस अर्थमा हामी नेपाली राजनीतिको ब्यवस्थापनमा निक्कै कमजोर ठहरियौं । त्यसैको परिणती हो, नेपाली पासपोर्ट प्रतिको अपहेलना ।
राजनीतिका कटु यथार्थहरूलाई एक छिन बिर्सिएर बाँकी नेपाल र नेपालीलाई मात्रै सम्झने हो भने त परदेशी भूमीमा पनि गर्वले छाती फुलेर आउँछ। बरदान कै रूपमा पाएको जस्तो लाग्ने हिमाल पहाड र तराईमा बाँढिएको हाम्रो भूगोल एवम् पूर्खाहरूको विरतापूर्ण गौरवशाली ईतीहास। अझै भन्ने हो भने संसारलाई नै लोभ्याउने हाम्रो संस्कृती! चाहे देश भित्र हौं या बाहिर हरेक नेपालीले शानका साथ शिर ठड्याउन सामर्थ्य दिने शक्ति यिनै हुन्।
उज्यालो पाटोराजनीतिले गिजलेको मनलाई एकछिन अन्यत्र मोड्ने हो भने नेपाल र नेपालित्वप्रति खुशी हुने ठाऊँ अनगिन्ती छन्। यतिबेला नेपालमा चाँडबाडको मौसम शुरू भएको छ। जस्तोसुकै मानवीय एवम् प्राकृतिक बिप्लब झेल्नु परे पनि आफ्नो रिती रिवाज्, परम्परा एवम् चाडपर्व मनाउन छोड्दैनन, नेपालीहरू।
उनीहरू चाहे देश भित्र हुन या देश बाहिर, आफ्नो संस्कृती र पहिचाहनप्रति उत्तीकै सजग छन्। अझ बिदेशी भूमीमा चाड्पर्वको महत्व ज्यादा मुखरित भएको पाईन्छ।
महात्मा गान्धीले कतै भन्नु भएको थियो, ‘कुनै पनि राष्ट्रको नागरिकको सबैभन्दा ठूलो पहिचाहन भनेको उसको संस्कृति हो, जुननागरीकको मन र मुटुमा बास गरेको हुन्छ। त्यसैले नागरिक जहाँ जहाँ जान्छ संस्कृति पनि स्वभाविक रूपमा ऊसंगै गएको हुन्छ,’ हामी नेपाली त्यसको बिकल्प बन्ने कुरै भएन ।
अझ हामी यो भन्न सक्छौं कि कुनै पनि राष्ट्रको नागरिक बिदेशिए पनि उसको परम्परा, रितीरिवाज एवम् संस्कृति भने बिदेसिन नसक्ने रहेछ, आर्थात ऊसँगै रहने रहेछ। अझै निचोडमा भन्ने हो भने मान्छेको पहिचान वा परिचय कुनै अमुक भुगोलको चौघेराले मात्र निर्धारण गर्न सक्ने कुरा होईन रहेछ। त्यही भएर हो कि त नेपालका हरेक पर्व, भेष-भुषा एवम् रीति रिवाजले विदेशमा बस्ने गैरआवासीय नेपाली मनहरूलाई झनै आकर्षित गरिरहेका हुन्छन्।
प्रदेशको भूमि, सात समुन्द्रपारी बसिरहेका नेपालीहरू विदेशिनुका विभिन्न कारणहरू होलान तर उनीहरूको एउटा साझा विषय वस्तु र अस्तित्व भनेकै नेपाल र नेपालीत्व हो। उनीहरू पनि देश र जनताको असाध्यै याद गर्छन्, आफ्नो पहिचानको संरक्षणका लागि मरीमेट्छन् सायद नेपालमा नै बस्दा बरू यती गम्भिर हुँदैनथे की!
आखिर हाम्रो परिचय हाम्रै संस्कृतिसँगै जोडिएको हुने रहेछ। त्यसैले त सायद विदेशी भूमिमा पसिना बगाउँदै गर्दा आफ्ना सांस्कृतिक धरोहर जगेर्नाका लागि बिभिन्न समुदायका नेपाली चाडपर्वहरू धुम धामका साथ मनाईंदै आएका छन्। प्रवासिएका नेपालीहरुप्रति जति नै सहानुभूति देखाए पनि पीडाको मर्म मापन गर्न कसैले सक्दैन। तथापी जो नेपाली जहाँ जसरी रहे पनि देशको सांस्कृतिक दूतको रुपमा पुर्याएको योगदानको कदर गर्न भने मातृ देश पनि चुक्नु हुंदैन ।
अन्य मानिस जस्तै हामी नेपाली पनि स्वप्नशील हुनु कुनै नौलो बिषय होईन नै। त्यसैले, स्वदेशमा रहँदा हामी “सम्पन्न” बिदेशीजीवनको सपना देख्छौं ,परदेश बस्ने नेपाली भाग्यमानी भएको ठान्दथ्यौं । तर बिदेशमा आएपछी हामीलाई आफ्नै संस्कृति, भाषा, बन्धु बान्धवहरूको विछोड एबं जन्मभूमीको माटोको प्यारले बढी नै सताउने रहेछ। त्यसैको परिणाम हुनु पर्दछ, नेपाल र नेपालित्वप्रती बिदेसिएका नेपालीहरूको मनमा स्वदेशमा रहँदाभन्दा झन् बढी गौरवबोध अनूभूत हुने रहेछ ।
जब नेपालमा मौसम र पर्वको सौन्दर्यले नेपाली मन आकाशमा उड्ने चङ्गाजस्तै हलुका हुन थाल्छन यता बिदेशी भुमीमा रहेकानेपाली मनमा छट्पटी शुरू हुन थाल्छ। उनीहरूलाई लाग्दो हो, मन जस्तै, शरीर पनि तरगिंत भएर उड्न सक्ने भए निमेष भरमै।