प्रत्येक दुइवर्षमा हामी विदेशमा बस्ने नेपालीहरुको एउटा विश्वसम्मेलन गर्ने गर्दछौं । यो क्रम सन् २००३ बाट सुरु भएको हो । त्यो सम्मेलनको उदेश्य नयाँ नेतृत्व चयन गर्ने भन्नेभएपनि खासगरी विदेशमा बस्ने नेपालीको दशैं जस्तै लाग्ने गर्दछ । किनकी हामी दशैंतिहारमा जहाँभएपनि आफ्ना परिवारसँग टिका लगाउने आर्शिवाद लिने भेटभाट गर्ने जुन परम्परा छ । त्यही परम्पराजस्तैको निरन्तरता हो ग्लोबल सम्मेलन । बिदेशमा दुःख गरेर बसेका नेपालीहरुको दुइवर्षमा भेटघाट हुनपाउँनु सबैको लागि खुशीको कुरा हो । आफ्ना बाल्यकालका साथीहरु, नातागोता र सामाजिक सन्जालबाट परिचित भएका साथीहरुलाई भौतीकरुपमा एउटै थलोमो उभ्याएर भावनात्मक सम्बन्ध गाँस्ने अवसरका रुपमा पनि मैले यो सम्मेलनलाई लिएकी छु ।
सबैलाई थाहा भएकै बिषय हो प्रत्येक सफलताको पछाडि कोही न कोहीको हात हुन्छ । हामी स्वयं आफ्ना निर्णयमा स्वतन्त्र छौं । मान्छे आफैंमा स्वतन्त्र प्राणी हो । स्वतन्त्र एउटा सीमा र दायराभित्र रहन्छ र रहनुपर्दछ । हामी यत्रो विकसित देशमा बसेर त्यो देशको प्रणाली अन्र्तगत चलिरहेका हुन्छौं र समाजसँग समाहित छौं । प्रत्येक नारी पुरुष आफ्ना निर्णयमा स्वतन्त्र रहन्छौं जुन कसैप्रति पुर्वाग्रह र दुराग्रह हुँदैन भने ।
प्रसङ्गग के भने गैरआवासीय नेपाली संघको आठौं महाधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा चल्नेछ । त्यो सम्मेलनमा मैले अन्तिममा आएर आफ्नो अध्यक्ष पदका लागि घोषणा गरेको कुरा सर्बविदितै छ ।
प्रश्न यहाँ मेरो उम्मेदवारीको मात्र होइन, विदेशीइएका हामी सम्पूर्ण गैरआवासीय नेपालीको साखसँग जोडिएको र संस्थालाई संस्थागत गर्ने विषयको हो । हामीप्रति ५० लाख विदेशिइएका नेपालीहरुको खबरदारी छ । जसले भोलीका दिनमा संस्थाको साख र मर्यादालाई उच्च राख्न सक्छ कि सक्दैंन भन्ने विषय हो । मलाई पदसँग लिनुदिनु केही छैन । तर मसँग भूकम्प पीडितको भावना गाँसिएको छ । त्यसो त हामी गैरआवासीय नेपालीसंघका सम्पूर्ण साथीहरुसँग गाँसिएको होला । तर त्यो भावना र मूल्यको हो । ती कति मूल्यवान छन् भन्ने सवालको हो । हामीले भूकम्पपीडितका आँशुको मूल्यलाई बुझ्नु पर्दछ । उनीहरुको भावनालाई बुझ्नु पर्दछ । उनीहरुका आङ्गमा कपडा नपरेर जाँडोमा त्यो गोरखाको चिसोमा कट्याँग्रिएका शरीरको स्पर्शलाई बुझ्नु पर्दछ । बुझ्ने कुराहरु धेरै छन् त्यसैले मनको कुरा मात्र होइन धनको कुरा पनि आउँछ । सबैले आफ्नो हृदय छामेर बढनुपर्दछ । हामी हाम्रो मुटुलाई ढाट्न सक्दैनौं । मैले जिम्मेवारी यसरी लिइदिनुस भनेकै हो हामीले भनेकै हो । तर त्यो छाँटकाँट देखिएन र बाध्य भइयो उम्मेद्वारी दिन । केवल भोलीका एनआरएनका पुस्ताका लागि र लाप्राकका ती भुकम्पपीडितका लागि ।
अर्कोतर्फ मलाई प्रचारप्रसार गर्ने जिम्मेवारी नलिने हिसावले सोचेको भए सायद मैले घोषणा गर्दिनथिएँ भने अर्कोतर्फ पहिल्यै घोषणा गरेर प्रचारप्रसार गर्नेथिएँ दुवै काम मैले गरिन । किनकी मलाई गैरआवासीय नेपाली संघको गतिविधिमा आउने रहर थिएन । तर जबजब लाप्राकका साना नानीहरुलाई सम्झन्छु तब मैले देख्छु उनीहरुको निर्दोष अनुहार जसले केही कुरा भन्न खोजिरहेको छ । सकेको छैन जसले केही खान खोजिरहेको छ पाएको छैन । जसले केही न्यानो स्पर्श खोजेको छ ओढाउन सकिएको छैन । आजका दिनमा यो परियोजनाको जिम्मेवारी लिने र उनीहरुलाई मध्यमस्तरको न्यूनतम गाँस, बास र कपासको व्यवस्था गर्नसक्ने एउटा भिजन भएको ती नेतृत्वको आवश्यकता हो । भूकम्पपीडितका भावनाको प्रतिनिधित्व मात्र नभएर उनीहरुको भावनालाई आत्मसाथ गर्नसक्ने कोही भैदिए म यो नेतृत्वको दौडमा आउने थिइन ।
सिरियश्ली म भन्दैछु । म महिला भएकोले ती संवेदनाहरुलाई बुझ्छु । त्यसैले मैले छोड्दैगर्दा ती अनुहारहरु खेलिरह्यो मस्तिष्कमा । मलाई तिनीहरुको आँशु पुछ्दा आउने अपार आनन्द आमा हुँदा पनि नआउन सक्ला । प्रश्न यहाँ भावनाको पनि होइन नेतृत्व र योगदान पनि हो । त्यो प्रोजेक्टलाई मभन्दा अगाडि नेतृत्व आउन चाहनेहरुले सम्बोधन गरिदिएको भए, वा सबै तरिकाको सुविधा उपलब्ध हुने खालका नमुनाबस्ती बनाइने सम्बोधन गरिदिएको भए मेरो उम्मेदवारीको कुनै अर्थ हुदैंनथ्यो । म कसैप्रति आक्षेप दिन चाहन्न । अरुहरुले लाप्राकबस्ती बसाउने योजनामा साथ नदिएर उम्मेद्वारी आएको हो भन्ने प्रश्न पनि छ । प्रश्न के हो भने मूल्यांकन हाम्रा विदेशबस्ने दाजुभाई दिदीवहिनीहरुले गर्ने हो । कसले कति योगदान र सहयोग गरेको छ त्यहाँ स्पष्ट छ त्यसैका आधारमा मुल्यांकन गरिदिनुस् भन्ने हो ।
एनआरएनले भवन बनाउने योजना अघि सारेको सन् २००७ तीर हो । पुर्वअध्यक्ष जीवा लामिछानेले एउटा सफल काम गर्नुभयो संस्था दर्ता । त्यसपछि उहाँपछिको नेतृत्वले एनआरएन भवन बनाउने अभियान अघि सारेको हो । त्यही भवन बनाउने अभियानमा हामी जुटिसकेपछि बिचमा हात झिक्नु कहाँसम्मको न्यायसंगत होला । यो विदेशीइएको हामी ५० लाख साथीहरुको प्रतिष्ठाको विषय होइन र ? बुझ्नुपर्ने कुरा हो । मेरो नेतृत्वमा अबका ६ महिनाभित्र यो ‘कम्पिलिट गर्नेछ’ । तर लाप्राकलाई मेरै नेतृत्वमा पुर्णगर्न नसकेपनि एउटा उचाईमा पुर्याउनेछु । किनभने मौसमको कारण काम छिटोछिटो हुनसक्दैन । भवनको विषयमा पनि मुद्धाको कुरा आएको छ । सर्वोच्चले पूर्ण फैसला दिइसक्यो अब काम सुचारुरुपले हुन्छ । महानगरपालिकाले पनि पत्र दिइसक्यो काम नरोक्नु भनेर ।
प्रश्न अनुभवको पनि आउन सक्ला । म कामको लागि अनुभवी छु । प्रत्येक राष्ट्रिय समन्वय परिषदका साथीहरुसँग मेरो सहकार्य पनि छ । उहाँहरुको साथ पनि हुनेछ । राष्ट्र बनाउने अभियान हो । राष्ट्र एकल बन्दैन । म आफैं अष्ट्रेलियाको व्यापारिक सफल महिला पनि हुँ । हरेक पुरुष कसैका श्रीमान र हरेक स्वास्नीमान्छे कसैका श्रीमती हुन्छन् यो स्वाभाविक हो । यसो भन्दैगर्दा अन्र्तराष्ट्रिय समन्वय परिषदमा ४ वर्षकार्य गरेको अनुभव छ । त्यो मेरो गहिरो ‘अट्याच्च’ भएको हो । अरुकसैको १० वर्ष अनुभव भन्दा कम छैन । त्यसैले सबैले बुझ्नु पर्दछ ।
नेतृत्वमा शेष घलेको श्रीमती भएर होइन । उहाँको व्यपारिक साझेदार भएर आउन लागेको हो । हाम्रा प्रत्येक कम्पनीहरु व्यापारिक साझेदार छन् । सम्बन्धमा मात्रै हामी श्रीमान श्रीमती हौं । उहाँसँग काम गर्दा मैले उहाँको भावनालाई बुझेको छु । छामेको छु । त्यो स्पीरिट छ उहाँमा । फेरि एनआरएनमा महिला आउनै नहुने पनि होइन । म महिला भएको कारणले एनआरएनमा आउन हुन्न भनेर भन्नु पनि एक किसिमको फरक सोच होला । प्रत्येक मानिसका सोचका सम्मान गर्छु । सोच्ने बोल्ने छुट सबैलाई छ तर मलाई काम गर्ने जोश, जाँगर चाहना छ । अरुले सोच्दै र भन्दै जाउन म काम गर्दै जाने हो ।
राष्ट्रिय समन्वय परिषद, अन्र्तराष्ट्रिय समन्वय परिषद साथै सल्लाहकारलाई सृजनशील बनाउनका लागि वियोण्ड २०२० ल्याइएको हो । त्यो एउटा भिजन हो । मिसन होइन । त्यहाँ धेरैकुराहरु स्पष्ट छ । जन्मदा मान्छे सबै गुण लिएर जन्मदैंन भन्ने सारतत्वलाई बुझेदेखि भिजन २०२० बुझ्न सकिन्छ । त्यसैले अब धेरैकुरा भनिरहनु नपर्ला । हामी संकिर्णसोचबाट मुक्त हुनुपर्दछ । मेरो उम्मेदवारीले कसरी परिवारबाद हुन्छ ? म आफैं अष्ट्रेलियामा सफल महिला हुँ भन्नेकुरा बुझुन सबैले र महिलाको नेतृत्व पाउने यो सुनौलो मौका हामी गैरआवासीय नेपालीले नगुमाओस भन्ने चाहान्छु ।
(गुरुङ गैरआवासीय नेपालीसंघकी अध्यक्ष उम्मेदवारी हुन्) ।