दृश्य १शरदको एक साँझ बाबा र म खटियामा बसेर चिया पिउँदैछौं। म बाबाको माया लाग्दो अनुहार हेर्छु, जसले जीवनभर हाड घोटेर कमाएको ३० लाख रुपैयाँ मलाई डाक्टर बनाउने सपनामा साँच्नु भएकोछ। वास्तवमा उहाँ यो पैसाले काठमाडौंमा घडेरी किन्न चाहनुहुन्थ्यो । मैले पोहोरै बाह्र कक्षा उत्तीर्ण गरेकी हुँ। साइन्स लिएर पढेकी मैले ७८ प्रतिशत ल्याएकी छ, बायोलोजीमा त झन् ८४ प्रतिशत अंक छ। दुई वर्षदेखि नियमित एमबिबिएसको प्रवेश परीक्षा दिइरहेकी छु। यसपटक केयूको प्रवेश परीक्षामा पनि ६५ प्रतिशत ल्याएकी छु। आइओएमको प्रवेश परीक्षा राम्रै गरेकी थिएँ। आशा थियो ७० भन्दा माथिकै स्कोर आउँछ। तर आइओएमको प्रवेश परीक्षामा चोरीको घटनाले म स्तब्ध छु। यस्तो नहुँदो हो त म पोहोर सालै भर्ना भएर पहिलो वर्षको परीक्षामा सामेल भइसकेकी हुने थिएँ।
मेरा आँखाबाट अनायास आँशु चुहिन्छन्। के म कहिल्यै डाक्टर बन्न सक्दिनँ? मनमनै प्रश्न गर्छु, आफूलाई होइन, डा. गोविन्द केसीलाई। छ, डाक्टरसाहेब तपाईसँग मेरो जवाफ? मेरो मौन अनुहार पढेर बाबा केही बोल्नुहुन्न। निकैबेरको मौनतालाइ चिरेर म यति मात्र भन्छु–बाबा मलाई माफ गर्नुस्, डाक्टर बन्ने सपना देख्नु सायद मेरो गल्ती थियो।
दृश्य २झन्डै दुई सय मिटरको दुरीमा डाक्टर गोविन्द केसी अक्सिजन माक्ससहित अनसनमा छन्। दुई सय मिटर वर भारतीय नम्बर प्लेटका बीसौं गाडी ओहोरदोहोर गरिरहेका छन्। वाकिटकी र मोबाइल फोनका घन्टी बजिरहेका छन्। यो शिक्षण अस्पताल अगाडिको नर्सिङ्ग क्याम्पसको परिसर बाहिर मेरा मित्रले देखेको दृश्य हो।
म भने नामी कलेजको एउटा कोठामा बसेर एमबिबिएसको प्रवेश परीक्षाको वस्तुगत प्रश्नको उत्तर दिने गोलो घेरामा कालो मसीले सही उत्तर पहिल्याउँदै छु। केही परीक्षार्थी दुई घन्टाको परीक्षा एकै घन्टामा सकेर बाहिर जान हतारिइसकेका छन्। म सोझीलाई के थाहा? म त दुई वर्षदेखि परीक्षाको तयारीमा भिडिरहेकी छु। लाखौं खर्चिनेहरु भने प्रश्नको उत्तर डिभाइसबाट सुनेरै उत्तरमा निशाना लगाउँदै थिए। शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चलेको एमबिबिएसको परीक्षा भित्र र बाहिरको भयानक ‘चिटिङ’ बारे गोविन्द केसी या त बेखबर थिए या त भित्रभित्रै पुलकित थिए,यसको जवाफ डाक्टरसाहेबलाई मात्र थाहा छ।
दृश्य ३मुन्ना भाइ एमबिबिएस चलचित्र धेरैले हेरेका छन्। मैले पनि हेरेकी छु। चलचित्र चलचित्रै हो, कसैको जीवनसँग मेल खाएमा यो संयोग मात्र हो भनिन्छ, हरेक चलचित्रमा। चलचित्रमा कल्पनाको प्रचुर प्रयोग हुन्छ तर त्यो दिनको परीक्षा भने चलचित्रको पनि बाजे निस्कियो। यो घटनापछि चिकित्सा शिक्षामा पहाडभन्दा ठूलो प्रश्नवाचक चिह्न तेस्र्याउन जोसुकै बाध्य हुन्छ।
एउटा विद्यार्थी बायोलोजी मेजर लिएर पढ्छ भने उसका बाबुआमाका कपाल अलि चाँडै फुल्छन्। अनुहारमा दुई चार धर्का अलिक अगाडि नै देखिन पनि सक्छन्। हो, गलत कर्मले अकुत सम्पत्ति जोड्नेका लागि यसो नहोला तर अधिकांश मध्यम वर्गीय नेपालीको नियति यही हो। अझ झन जब छोराछोरीले १२ को परीक्षा सकेर एमबिबिएस पढ्छु भन्छन्, बाबुआमाको मुटुको चाल बढ्न थाल्छ। ५ वर्षे एमबिबिएस पढाइका लागि आधा करोड रुपैयाँ खर्च गर्नु धेरैका लागि सहज कुरा हुँदै होइन। बाबुआमा कल्पना गर्न थाल्छन्– छोराछोरीले मेरिट लिस्टको अग्रपंक्तिमा नाम निकालून् ताकि पूर्ण वा आंशिक छात्रवृत्ति पाइयोस् र उनीहरुलाई राहत मिलोस्।
तर जब परीक्षामा इलेक्ट्रोनिक चिट चोराएर कमजोर विद्यार्थीलाई माथि पु¥याइन्छ। अनि पीडित वर्ग त तिनै हुन्छन् जो आफूले छोराछोरीलाई कर गर्नुभन्दा छोराछोरी आफैं नै एमबीबीएस पढ्न उत्प्रेरित हुन्छन् तर चिटिङका कारण अवसरबाट बञ्चित हुन्छन्। हो, मेरा बाआमा जसलाई मैले राम्ररी छामेकी छु, उहाँहरुले मलाई कहिल्यै न त साइन्स पढ भन्नुभयो न त डाक्टरी पढ्न दबाब दिनुभयो, यो त मैले आफैंले रोजेको बाटो थियो, मेरो उत्कट अभिलाषा थियो। सायद मेरो यो गलत रोजाइ पो हो कि?
दुश्य ४युकेको युनिभर्सिटी अफ नर्थाम्पटनको पार्टनरसिपमा सञ्चालित भनिएको नामी कलेजकी अध्यक्ष हुन् प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणा। त्यहाँबाट परीक्षा दिएर मुस्कुराउँदै फर्केका राजीवकुमार सिंह प्रविधिको दुरुपयोग गरेर चिट चोर्दै परीक्षा दिएकोमा पक्राउ परे।
अलिक पर अरुणिमा मावि पनि चिट चोर्ने/चोराउने काममा अछुतो रहेन, त्यहाँबाट राहुल, शिखा र सनमराज थपिए। लहरो तान्दा पहरो गर्जिँदै गयो। परीक्षार्थी मात्र होइन, चिट चोर्ने, होटलमा बसेर उत्तर टिपाउने र शैक्षिक परामर्शदाता भनिएकाहरु जो विद्यार्थीसँग ५ देखि १५ लाख लिएर मेरिटमा नाम निकाल्न उद्यत थिए सबै गरी २२ जनाभन्दा बढी पक्राउ परे। यीमध्ये एक जना त अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका एमबिबिएस तेस्रो वर्षका विद्यार्थी समेत थिए।
यसरी चोरेर प्रवेश परीक्षा पास गरेर मेरिटको अग्रपंक्तिमा नाम निकालेका विद्यार्थी भोलि कस्ता डाक्टर भएर निस्कन्छन्, यो सबैलाई जगजाहेर छ। यी तिनै डाक्टर हुन् जो एपेन्डिसाइटिसिको अप्रेसन गर्दा कलेजोमा कैँची चलाउने गर्छन्, माइग्रेसनका बिरामीलाई सुगरको औषधी खुवाउँछन् र स्पाइनल कर्ड भाँचिएकाको अप्रेशन घुँडातिर गर्छन्।
यसरी चोरी हुने परीक्षामा मेरिट लिस्टमा क्षमता कम भएकाले पकड जमाएपछि निरीह तर प्रतिभा भएका हजारौं नेपाली विद्यार्थी बंगलादेश, युक्रेन, फिलिपिन्स र चीन जान बाध्य छन्। देशको अर्बांै रकम विदेशिएको छ।
हरेक दिन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय मेडिकल कलेज धाउँछु । जसले तेस्रो मेरिट लिएर निकाले पनि यस अन्तर्गत मेडिकल कलेजहरुमा १०० भन्दा बढी सिट खाली छन्, जसले चौथो मेरिट लिस्टको तयारी गरिरहँदा डिनको कार्यालयमा तालाबन्दी गरिएको छ। केयूका मेडिकल कलेजमा परीक्षा पनि चोरी भएन भन्ने कुरामा कसरी विश्वस्त हुने? बरु आइओएमले कुनै क्याल्कुलेटर लगायतका कुनै उपकरण परीक्षा हलमा लान दिएको थिएन। तर केयूले अन्तिम समयमा क्याल्कुलेटर जस्ता डिभाइस खुलेआम परीक्षा हलमा प्रयोग गर्ने अनुमति दियो।
बाबा, म यस्तो देशमा जन्मिएँ, जहाँ न्याय पाइन्न। चोरी डकैती बैंकमा मात्र होइन, मेडिकल कलेजमा पनि हुन थालेपछि मभित्र निराशा छाएको छ। हो बाबा, म केयूले भारतीय प्रवेश परीक्षा निटमा ५० स्कोर ल्याएकी विद्यार्थी होइन, जसलाई केयूका हरेक कलेजमा सहजै भर्ना मिल्यो। म एमबीबीएस पढ्ने तीव्र चाहाना भएकी र केयूको प्रवेश परीक्षामा ६५ स्कोर ल्याएकी अनि आइओएममा ७५ भन्दा बढी स्कोरको अपेक्षा राखेकी छोरी हूँ। तपाईंको आग्रहबिना मैले स्वेच्छाले डाक्टर बन्न खोज्नु मेरो ठूलो भूल भयो। बाबा, मलाई माफ गर्नुस्।