तपाईं पत्याउनुहुन्छ? फेसबुकले वा अरु त्यस्तै सामाजिक संजालले आफ्नो स्वार्थका लागि जासुसी गर्छ।
सूचना-प्रविधिको जमानामा जासुसीका लागि कुनै देशले कोही व्यक्तिलाई पठाइराख्न जरुरी छैन। हामीले प्रयोग गर्दै आएका सामाजिक सन्जाल नै काफी छन्। जसमध्ये हाम्रा धेरैभन्दा धेरै सूचना संकलन गर्ने एक मुख्य सामाजिक संजाल हो, फेसबुक।
यसले कसरी जासुसी गर्छ त ?
हामीले एकाउन्ट खोल्दा फेसबुकले हाम्रा व्यक्तिगत विवरण माग्छ। ती विवरण आम फेसबुक प्रयोगकर्तालाई देखाउने/नदेखाउने त्यो हाम्रो निर्णयको कुरा भयो। तर,फेसबुकसँग ती सबै विवरण सुरिक्षत हुन्छन्। यो त एउटा सामान्य तरिका मात्र भयो।
अर्को तरिका भने निकै फरक छ। त्यो हो, निगरानी गर्ने।
उसले हाम्रा सम्पूर्ण गतिविधि निगरानी गर्नका लागि आफ्नो सिस्टममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) राखेको हुन्छ। जसलाई छोटकरीमा एआई भनिन्छ। फेसबुकले जासुसीका लागि हाम्रा व्यक्तिगत विवरणभन्दा बढी एआईको प्रयोग गर्छ।
यो एआईको काम भनेको हाम्रो रुची बुझ्ने हो। त्यो रुची बुझेर उसले हामीलाई समाचारका लिंक या अन्य जानकारी र विज्ञापन दिने गर्छ। फेसबुकको दाबीअनुसार एआईको काम यत्ति नै हो, तर यसको दीर्घकालीन असरबारे हामीले नजरअन्दाज गर्न मिल्दैन।
चीनले आफ्नो देशमा फेसबुक र यो जस्ता सामाजिक संजाल निषेध गर्नुको मुख्य कारण यही नै हुन सक्छ।
एआई यस्तो प्रविधि हो, जसले मानिसझैं आफ्नो ज्ञानको आधारमा बौद्धिकता निर्माण गर्छ। जसरी हामी कोही मानिसको बौद्धिकताको मापन उसको अध्ययनबाट गर्छौं, फेसबुकले पनि हामी कस्तो मानिस हौं सरसर्ती भनिदिन सक्छ।
तपाईं फेसबुकमा स्टाटस राख्नुहुन्छ, फेसबुकले झन्डैझन्डै मानिसको बराबरीमै ती स्टाटसको अर्थ बुझ्न सक्छ। यसको प्रयोग म्यासेन्जरमा अझ बढी छ। जस्तो तपाईंलाई कुनै अर्को प्रयोगकर्ताले पठाएको म्यासेज फेसबुकले यसरी बुझ्छ कि फलानोलाई यो रिप्लाई गर भनेर सिफारिससमेत गर्छ।
तपाईंले याद गर्नुभएको होला, कोही साथीसँग खिचेको फोटो फेसबुकमा अपलोड गर्दा जब तपाईं फोटोका विभिन्न अनुहारतिर माउस दौडाउनुहुन्छ, फेसबुकले यो-यो मान्छे भनेर ठ्याकठ्याक भनिदिनसक्छ। यदि ती व्यक्ति तपाईंको फेसबुक फ्रेन्ड सूचीमा छन् भने ट्याग गर्न लाग्दा नाम सर्च गरिरहनु पर्दैन। अझ फेसबुक आफैंले यो मान्छेलाई ट्याग गर समेत भन्छ। यो कसरी भयो? बरु हामी आज भेटेको मान्छे भोलि बिर्सन्छौं होला, तर फेसबुकले कहिल्यै बिर्संदैन।
यसले तपाईं को मान्छेसँग हिड्नुहुन्छ, उसको रुची के हो र तपाईं कस्तो समूहमा बस्न रुचाउनु हुन्छ? भन्ने समेत उसले सजिलै पत्ता लगाउँछ।
हामी अचेल फेसबुकबाटै धेरै लिंक क्लिक गर्छौं। यसलाई उदाहरणसहित बुझौं। यतिबेला तपाईं सेतोपाटीमा जुन लेख पढिरहनुभएको छ, यदि तपाईं फेसबुकमार्फत् यहाँसम्म आइपुग्नुभएको हो भने उसले तपाईंको रुची बुझिसकेको छ। यही एउटाको आधारमा मात्र नभई तपाईं कस्ता लिंक बढी खोल्नुहुन्छ, कस्ता लिंक कम खोल्नुहुन्छ, त्यसको आधारमा उसले तपाईंको रुची बुझ्छ। यसरी नै उसले सूचना संकलन गरिरहेको हुन्छ। इन्जिनियरहरुको दाबीअनुसार हामीले क्लिक गर्ने लिंक या वेबसाइट फेसबुकसँग सुरक्षित रहन्छ।
यसले नराम्रो नै गर्छ भन्ने छैन। एआईका कारण हामीलाई धेरै सजिलो पनि भएको छ। यही सूचनाका आधारमा फेसबुकले हाम्रो टाइमलाइनमा समाचार, विज्ञापन तथा अन्य पोस्टहरु दिन्छ। हाम्रो रुचीअनुसारको सामग्री पाइने भएपछि हामी पनि मख्ख!
फेसबुकले हाम्रो रुची बुझेर हाम्रो टाइमलाइनमा देखाउँछ। यसको उदाहरण यदि तपाईं कविता लेख्नुहुन्छ, फेसबुकमा अरुले लेखेका कवितामा पनि बढी चासो देखाउनुहुन् भने अब तपाईं फेसबुक खोल्नुस् र टाइमलाइन रिफ्रेस गर्नुस्। टाइमलाइनको सबैभन्दा अगाडि तपाईंले अत्यधिक पढ्ने कवि देख्न सक्नुहुन्छ। ती कविले भन्दा अगाडि नै पोस्ट गरेका सामग्री भने झन् पछाडि हुन सक्छन्।
रुची बुझेर समाचार दिने मात्र होइन, फेसबुकले आफ्नो बौद्धिकता प्रयोग गरेर झुठा तथा अफवाहमाथि नियन्त्रणसमेत गर्छ। जस्तो, अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदा १० लाखभन्दा बढी झुठा समाचार फैल्याइएका थिए। झुठा भन्ने थाहा पाएपछि फेसबुकले पछि गएर ती सबै समाचारलाई आफ्नो सिस्टमबाट हटायो।
यसको बेफाइदाचाहिँ के त?
फेसबुकले एउटै कुरा बारम्बार पठाएर हैरान गर्छ। जुन हाम्रा लागि अनावश्यक सूचना पनि हुन सक्छन्। मानौं, मैले आज एउटा सपिङ साइटमा एउटा समान हेरें। मन परेन। त्यसको थुप्रै दिनसम्म पनि त्यही सामानको विज्ञापन पठाइरहँदा झर्को लागिहाल्छ।
अर्को कुरा, तपाईंको घरभित्र को छ, के छजस्ता नितान्त व्यक्तिगत कुरा तेस्रो पक्षसँग हुनु सुरक्षाका दृष्टिकोणले राम्रो होइन। भोलि भुलवश या नियतवश अथवा चोरीमार्फत् यस्ता सूचना बाहिर निस्कँदा देश-देश या संस्था-संस्थाबीचको सम्बन्धमै दरार आउनसक्छ। जस्तो सूचना पाउनेले अर्को पक्षको कमजोरी पत्ता लगाएर आफ्नो स्वार्थ पुरा गर्न पनि सक्छ। बेला-बेला फेसबुकबाटै चुहिएका सूचनाका आधारमा आतंकवादी हमलासमेत हुने गरेको शंका गरिन्छ।
तपाईं यदि साँच्चै आफ्नो जीवनबारे सचेत हुनुहुन्छ भने फेसबुक चलाउँदा ध्यानचाहिँ दिनै पर्छ।
त्यसको लागि उपाय के त?
आफ्नो एकदमै निजी कुरा फेसबुकमार्फत् सेयर गर्दै नगर्ने। फेसबुकलाई चाहिनेजति विवरण दिने। त्यसबाहेक अरु कुनै विवरण पनि फेसबुकमा नराख्ने। आफ्ना आफन्तका नाम, घरको ठेगाना फेसबुकमा राख्दै नराख्नुस्। तपाईंको सूचना अरु कसैलाई स्वार्थ पूरा गर्ने माध्यम बन्नसक्छ।
फेसबुक चाहार्दै गर्दा लिंक देख्नुभयो, खोलौंजुस्तो लाग्यो? होसियार! त्यो कति सत्य हो, त्यो समाचारप्रदायक वेवसाइट कति विश्वसनीय छ, त्यो बुझेर मात्र क्लिक गर्नुहोस्। तपाईंलाई विज्ञापन आएको मन पर्दैन भने फेसबुकको एड म्यानेजरमा गएर आफूलाई मन पर्ने विषय छानेर मन नपर्ने विषय हटाउन पनि सक्नुहुन्छ। यसो गर्दा विज्ञापन नआउने नै भन्ने त हुँदैन, कम्तीमा दिक्कै लगाउने गरिचाहिँ आउँदैन।
तपाईं यात्रामा हुनुहुन्छ, तारन्तार यहाँ जाँदैछु, यहाँ पुगेर यसो खाएँ, यस्तो मान्छे भेटेँजस्ता सूचना दिनु पनि घातक हुनसक्छ। यसको फाइदा त होला, तर जोखिम पनि उत्तिकै हुनसक्छ। लौ, यात्राको कुरा लेख्नै मन लाग्यो, कोही तपाईंको सूचनाबाट रमाउन पनि त सक्छ नि। तर आफ्नो काम के हो त्यसलाई सकभर नखुलाउनुस्।
यो कुरा यात्रामा मात्र नभई अरु ठाउँमा पनि लागू हुन सक्छ। तपाईं फेसबुकमा छिनछिनमा सेल्फी राख्नुहुन्छ, यहाँ-उहाँ, यसो-उसो लेखिरहनुहुन्छ, त्यसले आफ्ना फेसबुक साथीहरूलाई कति दिक्क बनाउला? कुरा यो मात्र छैन, तपाईंका सूचना संकलन पनि भइरहेका हुन्छन्।
अन्त्यमा, फेसबुकबाट नतर्सौं! विज्ञानले हामीलाई दिएको अत्यन्त सुन्दर उपहार हो यो। यो अत्यन्तै आवश्यक छ। यसको प्रयोगले हामीले संसारभरि आत्मियता र ममताको अनुभूति गर्न पाइरहेका छौं। तर, प्रयोग गर्न जानेन भने फेसबुकले हामीलाई नै प्रयोग गरिदिन्छ। फेसबुक आगो जस्तो हो, खाना पनि पकाउँछ, घर जलाउन पनि सक्छ!