पचास सालतिर हुनुपर्छ, ठ्याक्कै साल बिर्सिएँ। त्यो तिहार मैले सम्झिरहने तिहार बन्यो। कारण, त्यससँग थुप्रै हरकत जोडिएका थिए।
त्यतिबेला हामी देउसी खेल्थ्यौं, रमाइलोका लागि होइन, पैसा कमाउन। उद्देश्य पूरा गर्न हामी अनेक रणनीति अपनाउँथ्यौं।
त्यो समय तुलनात्मक रुपमा दसैंभन्दा तिहार रमाइलो लाग्थ्यो। किनकि, तिहारमा आफैं पैसा कमाउन पाइन्थ्यो। दसैंमा ठूला–बडाबाट थोर–बहुत पैसा त पाइन्थ्यो तर तिहारमा आफैं पैसा कमाउन सकेँ भन्ने गर्व महसुस हुन्थ्यो। हरेक तिहारमा हाम्रो सल्लाह नै हुन्थ्यो, पोहोर सालभन्दा धेरै कमाउनुपर्छ। तर, जति नै प्रयास गरे पनि पचास रुपैयाँ माथि कहिल्यै उक्लन सकिएन।
हाम्रो रणनीति भनेको देउसी खेलेर सकेसम्म धेरै पैसा झार्ने, नदिनेहरूसँग उटपट्याङ गर्नेमा केन्द्रित हुन्थ्यो। कति घरवेटीले त हामीलाई खेदेका छन्। तर, त्यसको पूर्वतयारी पनि खास नै हुन्थ्यो। भाग्न सजिलो होस् भनेर हामी सबै जना जुत्ता लगाउँथ्यौं। टमक्क तुना कस्थ्यौं।
हाम्रो मुख्य ध्याउन्न भनेकै सकेसम्म छिटो पैसा खसाल्नु हुन्थ्यो। त्यसका लागि सुरमा गाएर काम थिएन। घरवेटीलाई सुरुदेखि नै वाक्क बनाउन कर्कश स्वरमा चिच्याउने गथ्र्यौं। न स्वर मिठो हुन्थ्यो, न भट्याइएका शब्द नै! मोटो स्वर भएकाले भट्याउन अघि सर्ने र सारिनेमा म पर्थें। म यसरी चिच्याउँथेँ, सुन्नेको कान नै बिझाउँथ्यो सायद! खास हाम्रो उद्देश्य नै यही त थियो।
चिच्याए पनि, स्वर कर्कश नै भए पनि, शब्दक्रम नमिले पनि हामी सुरुमा घरवेटीलाई फकाउने प्रपञ्च रच्थ्यौं। उसको घर, परिवारको बयान गथ्र्यौं। झुपडी नै होस्, दरबार भनिदिन्थ्यौं। जतिसुकै गरिब होस्, महाजन भनिदिन्थ्यौं। उद्देश्य एउटै थियो, पैसा झार्ने।
‘छानामाथि कालोकोट
देउसुरे
निकाल्न लाग्यो पचासको नोट
देउसुरे
ए यो घर कत्रो
देउसुरे
ए दरबार जत्रो
देउसुरे’
यो इटहरी बजारको कथा हो। हाम्रो देउसी–भैलो यही बजारको आइतबारे सडक वरिपरी केन्द्रित हुन्थ्यो। देउसी खेल्ने हाम्रो समूहमा थियौं, मनी लिम्बू, कर्ण लिम्बू र राजेश राई र म। हरेक सालको तिहारमा हामीचाहिँ सँगै हुन्थ्यौं। अरु फेरबदल भइरहन्थे।
देउसी खेल्ने दिन नजिकिँदै जाँदा हामी अरु बेलाभन्दा बढ्तै भेटघाट गर्थ्यौं। देउसी योजना बुन्थ्यौं। एउटा सल्लाह कहिल्यै छुट्दैनथ्यो, पोहोर सालभन्दा धेरै कमाउनुपर्छ।
देउसी खेल्न निस्कनुअघि हामी चिनेजानेका, आफन्तको घरलाई प्राथमिकतामा राख्थ्यौं। दोस्रो प्राथमिकतामा पथ्र्यो, बाटो–वरिपरिका होटल वा पसलहरु। हाम्रो अन्तिम प्राथमिकतामा झकिझकाउ घरहरु पर्थे। घर चाहार्ने काम मध्यान्हबाट सुरु हुन्थ्यो। हाम्रो सोच र स्वभावअनुसार देउसीको लागि साँझपखको समयलाई उपयुक्त मान्थ्यौं। साँझ रोज्नुको पनि आफ्नै कारण छ, त्यो समयमा देउसी खेल्दा जसले पैसा दिन आनाकानी गथ्र्याे, उसको नाममा हामी चार आनादेखि एक रुपैयाँसम्म खर्च गथ्र्याैं। तर उसको हातमा दिएर हैन, पटाका पड्काएर।
पटाका पड्काएपछि त्यहीँ बसिरहन’भो र! कुलेलम ठोक्नुको पनि आफ्नै मजा थियो।
देउसी–भैलो हाम्रो सँस्कृति हो। तर हामीलाई न संस्कृति जोगाउनुसँग मतलब थियो, न मनोरञ्जन दिनुमा। हामीलाई मतलब थियो त सिर्फ पैसा!
पचास सालतिरको तिहारमा जाऊँ, त्यो दिन साँझको साढे सात बजेको हुनुपर्छ। देउसी टोलीका हामी सबैले खाना खाइवरी आइतबारे बजार छिर्ने बाटोमा भेट्ने योजना बनायौं। भेटेपछि दक्षिणी भेगतिर पहिले खेलीसिध्याउने सल्लाह भयो। विरेन्द्र चोकनजिकै पुग्दै थियौैं, बाटोको मुखैमा एउटा घुम्ती पसल थियो। त्यहाँ अन्दाजी १६, १७ वर्षकी युवती बसिरहेको देख्यौं। एकछिन उभियौं र सल्लाह ग¥यौं, यहीँबाट देउसी सुरु गरौं।
‘झिलीझिली’ मैले ठूलो स्वरमा भने।
‘देउसुरे’ साथीहरुले मलाई साथ दिए।
हामी ठूल्ठूलो स्वरमा देउसिरे भट्याउँदै थियौं। कोही साथी चिच्याएका मात्र थिएनन्, उफ्रिँदै पनि थिए। ती युवतीले अप्ठ्यारो मानेकी जस्तो लाग्यो। तर भित्री कारण बुझेनौं। हामी त झन् खुसी हुँदै चिच्याउन थाल्यौं, किनकि त्यहाँ हाम्रो रणनीतिले काम गर्दै थियो। हामीले सोच्यौं, यो केटी वाक्क भई, अब यसले पैसा दिन्छे।
भट्याउँदै गएँ। तर, ती युवती त बाहिर निस्कँदै निस्किइनन्। भट्याउँदा–भट्याउँदै मसँग भएका शब्द सकिए। दोहोरिए, तेहेरिए। अहँ, युवती निस्किइनन्। मैले पाँचौं, छैठौंपालि हुनुपर्छ, चिच्याउँदै थिएँ, हे झिलिमिली झिलिमिली।
‘केको झिलिमिली।’
साथीहरु ‘देउसुरे’ भन्थे त, किन अर्कै भने? म एकछिन त चकित भएँ।
अरु साथीहरु पनि चनाखो भए। ठूलो आवाज आएसँगै सन्नाटा छाएको थियो। हामी सबैले वरिपरि हेर्न थाल्यौं। एकैछिनमा एउटी अधवैंशे महिला अगाडि आइपुगिन्।
हामी ‘फुच्चे’हरुसँग ती मोटी महिलाले आक्रोश पोखिन्, ‘देउसी काँ खेल्ने काँ नखेल्ने पनि था छैन?’
हामीले एक–अर्काको मुखमा हे¥यौं। तर, केही बोल्न सकेनौं। हामीले कतिका घरमा देउसी भट्यायौं, बरु सुने–नसुनेझैं गर्थे तर यसरी हप्काउनेचाहिँ कोही थिएनन्।
‘यहाँ के को झिलिमिली छ?’ ती महिलाको प्रश्न थियो।
हामी कोही केही बोलेनौ। झिलिमिली भए पो देखाउनु त! वास्तवमा त्यहाँ सधैं एउटा सानो चिम मात्र बलेको देखिन्थ्यो। तिहारका दिनमा समेत त्यही चिम मात्र बलिरहेको थियो।
‘दियोबत्ती नबालेको ठाउँमा देउसी खेल्नु हुँदैन भन्ने था छैन?’ आक्रोशको ब्यारोमिटर झरेको थिएन, ‘जाओ, अर्काे घरमा गएर खेल।’
हामी लुरुलुरु त्यहाँबाट हिँड्यौँ। अलि पर पुगेपछि हाम्रो पनि पारो छुट्यो। उनीहरुको परिवारमा सायद जुठो परेको थियो वा अरु कुनै दुःखद घटना घटेको थियो होला। त्यही कारण उनीहरुले दियोबत्ती बालेका थिएनन्। तर हामीले उनीहरुको परिस्थितिभन्दा हाम्रो अपमान भएको महसुस गर्यौँ।
हाम्रा बोलीचालीका आफ्नै भाषा थिए। ‘त्यो सुड्डीले त लास्टै खोकी यार।’ अघिसम्म चुइँक्क नबोलेको म कड्किएँ।
‘पटाका फोड्दिउँ त?’ कर्णले भन्यो।
‘फोड्दिउँ, फोड्दिउँ’, हामी सबैले एक मत भएर भन्यौँ।
दुई साथी पटाका बोकेर घुम्तीनजिकै गए। छलिएर गएका उनीहरुले पटाका सल्काएर घुम्तीतिर फालिदिए। पटाका पड्किएसँगै घुम्तीमा भएका दुवै जना आत्तिए। हामीलाई सराप्न थाले। पटाका फाल्ने साथीहरु कुद्दै आए, उनीहरुसँगै मिसिएर हामी पनि कुलेलाम ठोक्यौं। त्यतिबेला हामी कुदेको ठाउँ अहिलेको संगीतचोक हो।
सुनसान संगीतचोक त्यतिबेला नामबिहीन थियो। हामी त्यतै उभियौं। रिसको झोंकमा पटाका त फालियो। केहीबेरपछि ढुकढुकी बढ्न थाल्यो, साँच्ची घरचाहिँ कसरी जाने? किनकि, घर घुम्ती पसलकै बाटो भएर जानु पथ्र्याे। अब कहाँ खेल्ने होला भन्ने अर्को चिन्ता उत्तिकै थियो। हामी जुन बाटो भागेका थियौं, त्यो बाटोतिर एक दुई घर मात्र थिए।
सल्लाह गर्दैगर्दा उत्तरपूर्वतिरको एउटा घरमा हाम्रो आँखा प¥यो। घरको अगाडि आँगन थियोे तर पर्खाल थिएन। हामी सिधै आँगनमा गयौं। त्यो आरसिटी घरको बीचमा प्यासेज थियो। प्यासेजको दायाँ बायाँ कोठा थिए। ढोकैमा एक पुरुष हातले ढोका समाउँदै टाउकोचाहिँ कोठाभित्र पारेर गफिँदै थियो। उसको शरीर मात्र बाहिरतिर देखिन्थ्यो। शरीर हेर्दा, त्यो मान्छे २५ देखि ३० वर्षको थियो होला। मान्छे देखिएपछि देउसी खेल्ने सोच बन्यो। अर्को, दुई तले पक्की घर भएको मान्छे धनी नै होला भन्ने हाम्रो अनुमान थियो। अपेक्षा थियो, दक्षिणा राम्रै झर्ला। दस मिनेटसम्म चिच्यायौं, अहँ कोही आउँदनै त। हामीलाई जो कोहीले पनि दुई मिनेटमै विदा दिनुपर्छ भनेर सोच्थ्यौं। अघि प्यासेजमा देखिएको मान्छे अझै त्यही अवस्थामा थियो। न त त्यो पुरै शरीर कोठाभित्र गयो, न त्यसको टाउको बाहिर आयो। हामीलाई लाग्यो, त्यो मान्छेले हामीलाई नसुने झै गरिरहेको छ।
यो घरकाले दक्षिणा दिदैनन् भन्ने निर्णयमा पुग्यौं। हामीले देउसिरे भट्याउन छोड्यौं तर, त्यहीँ उभिइरह्यौं। त्यो मान्छेले हामी गए भन्ने ठानेछ क्यारे। पुरै शरीर बाहिर निकाल्यो र प्यासेजमा हिँड्न थाल्यौ। त्यही बेला हामीले आफूसँग बाँकी पटाका एक साथ सल्काएर प्यासेजतिर फ्याक्यौं। त्यहाँ १६ वटा पटाका एक साथ जोलठ्ठिएका थिए। १६ वटा पटाकाको आवाज सानो थिएन, त्यो मान्छे अत्तालिँदै प्यासेजमा कराउँदै थियो। अरु मान्छे पनि कराएको आवाज सुनियो। सायद कोठामा बस्ने अरु पनि अत्तालिए। हामी भने नसुने झैं अभिनय गर्नेलाई ठीक लगाउन पाएकोमा खुसी भयौं। र, जताबाट आएको हो उतैतिर सुइँकुच्चा ठोक्यौं।
थुप्रै भयो देउसी नखेलेको। आजकल केटाकेटी खेलेको देख्दा लाग्छ, उनीहरुको उद्देश्य पनि हाम्रो जस्तै हो– दुईचार रुपैयाँ बटुल्ने।