धेरै सिट पाइने आशासहित अन्तिम समयमा सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालेमलका लागि तयार भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः गृहजिल्ला मोरङमै असहज अवस्थामा पुगेका छन्।
एमाले-जसपाबीचको सहमतिअनुसार मोरङको प्रतिनिधि सभाको एउटा क्षेत्र र प्रदेश सभाको तीन वटा क्षेत्र जसपाले लिने तय थियो। तर, प्रतिनिधि सभाअन्तर्गत मोरङ-५ मा बागी उम्मेदवारी दिएका एमालेका योगेन्द्र मण्डलसहित प्रदेश सभाका अन्य दुई जनाको उम्मेदवारी कायमै रहेको छ। मोरङ-५ मा जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवको उम्मेदवारी परेको छ भने उनीविरूद्ध एमालेका मण्डलले बागी दिएका हुन्।
मण्डल यो क्षेत्रमा एमालेबाट दाबेदार थिए। लामो समयदेखि उनी चुनावी तयारीमा होमिएका थिए। जसपा नेताहरूले मण्डललाई एमालेकै योजनामा उठाइएको बताएका छन्। मण्डलबारे एमाले नेताहरू अहिलेसम्म केही बोलेका छैनन्। यो क्षेत्रबाट सत्ता गठबन्धनले माओवादीका शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ।
सिट बाँडफाँटका क्रममा ती क्षेत्र पाएको जसपाको उम्मेदवारी पनि कायमै छ। यसरी एउटै गठबन्धनबाट दुई वटै दलको उम्मेदवारी कायम रहेपछि मोरङमा एमाले-जसपाबीचको गठबन्धन नै धरापमा पर्ने देखिएको छ।
मोरङका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ तथा प्रदेश सभाको ४ ‘ख’ ५ ‘ख’ र ६ ‘ख’ जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति ती दुई पार्टीबीच भएको थियो। तर, मोरङको क्षेत्र नं ४ ‘ख’ मा एमालेका जीवन घिमिरे र ६ ‘ख’ मा पर्शुराम बस्नेत उम्मेदवार कायमै छन्।
पूर्वसहमति अनुसार एमाले-जसपा गठबन्धनबाट ४ ‘ख’ मा सञ्जय सिंह र ६ ‘ख’ बाट राजेन्द्र गुप्ता उम्मेदवार बनेका छन्। उनीहरूको पनि उम्मेदवारी कायमै छ।
एमाले उम्मेदवार जीवन घिमिरेले फिर्ता लिने गरी आफूले उम्मेदवारी नदिएको बताइसकेका छन्। यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँगको संवाद कायमै रहेको उल्लेख गर्दै सहमतिको आशा जिवितै रहेको बताएका छन्।
‘एमाले र हाम्रो गठबन्धन भएको होइन, चुनावी तालमेल मात्रै भएको हो,’ यादवले सेतोपाटीसँग भने, ‘मतदानअघि सम्म पनि सहमतिको प्रयास जारी रहनेछ। कुराकानी भइरहेको छ।’
यादवले यसो भने पनि जिल्लाका नेता/कार्यकर्ता भने एमालेले गम्भीर धोका दिएको बताइरहेका छन्। उपेन्द्र यादवले अहिले प्रतिक्रिया नदिन निर्देशन दिएको कार्यकर्ता बताउँछन्।
‘अध्यक्षजीले हतारमा नबोल्नु भन्नुभएको छ’, जसपाका एक नेताले भने, ‘यो पाराले कसरी तालमेल जोगिन्छ?’
भागबन्डाका क्रममा आफूले पाएको क्षेत्रमै एमालेले उम्मेदवारी दिएपछि बुधबार उम्मेदवारी फिर्ता गर्ने समय छउन्जेल जसपा एमाले नेताहरूसँग छलफलमै थियो। तर, एमालेले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि मोरङका प्रदेश सभाका दुईटा क्षेत्रमा जसपा र एमाले उम्मेदवार कायम भएका छन्।
एमाले नेतृत्वको विपक्षी गठबन्धनभित्र मोरङमा उम्मेदवारी फिर्ता नभएर विवाद भइरहेका बेला सत्ता गठबन्धनका उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मोरङ-४ को प्रदेश सभा निर्वाचन क्षेत्र ख मा गठबन्धनबाट कांग्रेसका भीम पराजुलीले टिकट पाएपछि आफूले पनि उम्मेदवारी दिएका एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङ-६ को क्षेत्र ख बाट पनि एकीकृत समाजवादीका वसिम आलमले उम्मेदवारी फिर्ता लिएका छन्। यो क्षेत्रमा सत्ता गठबन्धनबाट प्रदेशका मन्त्री केदार कार्की उम्मेदवार छन् भने एमालेका पर्शुराम बस्नेत उम्मेदवार छन्।
त्यसो त अध्यक्ष यादव आफैं उम्मेदवार भएको मधेस प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा पनि सकसमै देखिएका छन्। स्थानीय चुनावको नतिजा अनुसार सो क्षेत्रमा जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि परेको अवस्थामा छ। यादव उम्मेदवार बनेको क्षेत्रमा त्रिपक्षीय भिडन्त हुँदैछ। जहाँ सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मैदानमा छन्।