रूकुम पश्चिममा नेपाली कांग्रेसका 'बागी' नेताहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) लाई चुनावमा झनै सजिलो भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसबाट उम्मेदवारी दिएका सबैले नेताले बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।
प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार तथा केन्द्रीय सदस्य मानबहादुर नेपाली र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री शर्मालाई निर्वाचन जित्न झनै सजिलो भएको राजनीतिक वृत्तमा चर्चा सुरू भएको छ।
अब अर्थमन्त्री शर्माका प्रतिस्पर्धी भनेका स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमाले उम्मेदवार नन्दराम देवकोटा मात्र हुन्।
जिल्लाको प्रदेश सभातर्फ क्षेत्र (क) मा कांग्रेसका कृष्णबहादुर रोकायाले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। यहाँ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व जनमुक्ति सेनाका कमान्डर भिमदत्त खड्काले पनि गठबन्धनकै उम्मेदवारलाई सहयोग गर्न आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यो क्षेत्रमा कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति प्रेमप्रकाश वली बैंकिङ कसुरमा दोषी ठहरिएकाले मंगलबार नै उनको उम्मेदवारी खारेज भएको थियो।
गठबन्धनको भागबन्डाका आधारमा रूकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादीको भागमा परेको थियो। त्यस्तै निर्वाचन क्षेत्र (ख) मा कांग्रेस र माओवादी दुवैको नाम समावेश थियो। त्यही भएर कांग्रेसका नेताहरू रूष्ट बन्दै सबै क्षेत्रमा उम्मेदवारी दिएका थिए। अन्त्यमा रूकुम पश्चिममा माओवादीको मात्र वर्चस्व कायम हुने भएको हो।
यो जिल्लामा गत वैशाखको स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो। त्यस्तै चौरजहारी नगरपालिका, आठबीसकोट, त्रिवेणी र सानोभेरी गाउँपालिकामा कांग्रेसले झिनो मतान्तरले मात्रै पराजय भोगेको थियो। त्यसैले कांग्रेस नेताहरूले आफ्नो अस्तित्व जोगाउन भन्दै गठबन्धनको भावना विपरीत उम्मेदवारी दिएका थिए।
तर पार्टीले भागबन्डा विपरीत उम्मेदवारी दिने पार्टीका उम्मेदवारलाई पाँच वर्षसम्मका लागि कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपरेको एक नेताले बताए।
'मुलुकका अन्त सबै ठाउँमा लोकतन्त्र छ। तर रूकुममा मात्रै त्यसको आभास हामीले अझै गर्न पाएका छैनौं,' कांग्रेसका ती जिल्ला नेताले भने, 'जिल्लामा हाम्रो पार्टीको आफ्नै अस्तित्व एक ठाउँमा पनि नरहने गरी सहमति गर्ने नेतृत्वप्रति हामी निकै दुखी छौं।'
माओवादी द्वन्द्वकालमा पनि सबभन्दा दुःख, पीडा र यातना कांग्रेसले खेप्नुपरेको भन्दै उनले अहिले कांग्रेस नेतृत्वको सरकार हुँदा पनि रूकुम पश्चिममा 'लोकतन्त्रको अनुभूति' गर्न नपाएको बताए।
'जिल्लामा आएर तपाईं निर्वाचनको समयमा बढी होइन, दुई साता मात्रै बस्नुहोस्,' उनले भने, 'यहाँ लोकतन्त्र छ कि साम्यवाद, तपाईं आफैं स्पष्ट हुनु हुनेछ। जनार्दन शर्माले केन्द्रमा अर्थमन्त्री भएर लोकतान्त्रिक गणतन्त्रको कुरा गरे पनि जिल्लामा उनीहरूका विरूद्धमा बोल्ने, लोकतन्त्रको वकालत गर्नेहरू अझै पनि अप्ठ्यारो पर्छन्। मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको कुरा सुन्दा हामी अझै सोच्न बाध्य हुनुपर्ने अवस्था छ।'
ती नेताले पार्टीको कारबाही गर्ने चेतावनीकै कारण बाध्य भएर उम्मेदवारी फिर्ता लिनुपरेको बताए।
'हाम्रा लागि हारजीत ठूलो कुरा थिएन,' उनले भने, 'कांग्रेसका लागि एक स्थान पनि जिल्लामा नराखेर गरिएको निर्वाचनले गठबन्धनको औचित्य र लोकतान्त्रिक विधिमाथि नै प्रश्न खडा भएको छ।'
कांग्रेसका सबै 'बागी' उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अब गठबन्धनका माओवादीका उम्मेदवार शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटा हुन्। तर माओवादीको दबदबा रहेको यो क्षेत्रमा देवकोटाको उपस्थिति कमजोर रहने जानकारहरू बताउँछन्।
'पूरै कांग्रेसीले बिद्रोह गरे देवकोटाको उम्मेदवारीले अर्थ राख्छ,' त्यहाँका स्थानीय एक पत्रकारले भने, 'अन्यथा देवकोटाको उम्मेदवारी केबल औपचारिकतामा मात्रै सीमित हुने निश्चित छ।'
प्रतिनिधि सभाका अर्का उम्मेदवार, स्वतन्त्रतर्फका तारक केसी पनि कांग्रेसका हुन्। उनी कुनै बेला पत्रकारितामा पनि आवद्ध थिए। उनले पनि पार्टीको तर्फबाट टिकट नलिएकाले कांग्रेस नेता तथा कार्यकर्ता निराश रहेको अर्का एक नेताले बताए।
'पार्टीको ह्विप एकातिर होला तर कांग्रेस जत्तिको पार्टीको एउटा पनि उम्मेदवार नहुँदा कसरी निर्वाचनको सार्थकता जोगिन्छ भन्ने प्रश्न सबैले गर्न थालेका छन्,' ती नेताले भने।
शर्मासँग भिड्न यहाँ स्वतन्त्रबाट राजन पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार मल्ल र मंगोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुन पनि छन्। तर उनीहरूको उम्मेदवारी कांग्रेसका उम्मेदवारबिना फिक्का सावित हुने एमालेका एक नेताले बताए।
'रूकुममा हामीले जित्ने अवस्था छँदै छैन,' एमालेका ती नेताले भने, 'तर हामी हिम्मतका साथ लोकतन्त्रको अभ्यासका लागि मैदानमा उत्रिएका हौं। कांग्रेस यहाँनेर नदेखिँदा दुःख लागेको छ। जबसम्म रूकुम पश्चिममा माओवादीको एकाधिकार रहन्छ, तबसम्म मुलुकमा लोकतन्त्र छ भन्ने अवस्था रहँदैन।'
रूकुम पश्चिममा प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी उम्मेदवार छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार शाह हुन्। तर उनीहरूको उपस्थिति पनि कांग्रेसबिना फितलो सावित हुने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
त्यस्तै प्रदेश सभा (ख) मा माओवादीका उम्मेदवार राजकुमार शर्मासँग नेकपा एमालेका कर्णबहादुर घर्ती मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीको प्रतिस्पर्धा हुँदैछ। उनीहरूको उपस्थिति पनि केवल औपचारिकतामा सीमित हुने माओवादी केन्द्रका नेताहरू दाबी गर्न थालेका छन्।
'यो हाम्रो आधार इलाका हो। अझै केही वर्ष यहाँ अरूको जीत कल्पना गर्नु पनि दिउँसै सपना देख्नु हो,' माओवादी केन्द्रका एक नेताले दाबी गर्दै भने, 'माओवादी र जनादर्न शर्माबिना अहिलेको जस्तो विकसित रूकुमको कल्पना थिएन। जसले काम गर्छ, त्यसले फल पाउँछ, होइन र?'
गठबन्धन सरकारले रूकुम पश्चिममा माओवादीको वर्चस्व अझै केही वर्ष कसैले तोड्न सक्ने सम्भावना नरहेको ठहर गरेरै सबै क्षेत्रमा माओवादीकै उम्मेदवार उठाउने निर्णय गरेको ती नेताले बताए।