सत्तारूढ गठबन्धन दलहरूबीच चुनावी भागबण्डाको छलफल चल्दै गर्दा कर्णाली प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले सबै जिल्लामा आफ्नो उपस्थिति खोजेको थियो। उसले प्रदेशका सबै जिल्लामा प्रतिनिधि वा प्रदेश सभा निर्वाचन क्षेत्र भाग लगाएर जिल्लाबाट संसदमा आफ्नो उपस्थिति गराउनुपर्ने अडान लिएको थियो।
भागबण्डाको अन्तिम समयमा भने समाजवादीले कर्णालीमा राखेको माग पूरा भएन। कर्णालीका १२ प्रतिनिधि सभामध्ये उसले तीन वटा क्षेत्रमा भाग पायो। सल्यान, डोल्पा र दैलेख–१ प्रतिनिधि सभा क्षेत्र समाजवादीले पाएको छ।
प्रदेश सभाका २४ वटा निर्वाचन क्षेत्रमध्ये नेकपा (एस) ले दुई वटा मात्र क्षेत्र पायो। मुगु (क) र जुम्ला (ख) उसले पाएको हो।
भागबण्डा अघि सबै जिल्लाबाट संसदमा आफ्नो उपस्थिति खोजे पनि समाजवादीले प्रतिनिधि र प्रदेश सभामा पाएको भागअनुसार कालीकोट, हुम्ला, जाजरकोट, रुकुम पश्चिम र सुर्खेतबाट शून्य नै भयो।
कर्णालीमा आफ्नो माग पूरा नभएपछि र पार्टीको जनमत देखेको क्षेत्रमा भाग नपाएपछि नेकपा (एस) ले असन्तुष्टी जनाउँदै गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छ। जसले गर्दा प्रदेशका केही प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवार छन्। हुम्लाको (क) मा माओवादी र (ख) मा कांग्रेसले पाउनेगरी गठबन्धनमा सहमति भएको थियो।
प्रदेश (क) मा माओवादी केन्द्रका रन सिंह परियार गठबन्धनले उठाएका उम्मेदवार छन् भने समाजवादीका हस्तबहादुर शाहीले पनि गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन्।
नेकपा (एस) का केन्द्रीय सदस्यसमेत रहेका शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि प्रहार भएपछि मित्रवत प्रतिस्पर्धा गर्नुपरेको बताउँछन्। ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बिजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ उनले भने, ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो।’
कांग्रेसले पाएको हुम्ला (ख) मा भने जीवन शाही मात्र गठबन्धनबाट उम्मेदवार छन्।
गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा (एस) का उम्मेदवार छन्।
सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर २ (क) र (ख) मा नेकपा (एस) का नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावमा होमिएका हुन्।
सिट बाँडफाँड गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार २ (क) मा नेपाली काँग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रले पाएका थिए। (क) मा काँग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट गठबन्धनबाट उम्मेदवार छन्।
नेकपा (एस) बाट (क) माशिव प्रसाद उपाध्याय र (ख) मा मोहनसिंह बडुवाल गठबन्धनविरुद्ध उम्मेदवार छन्।
सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको नेकपा (एस) सुर्खेका अध्यक्ष मोहनसिंह बडुवालले बताए। ‘गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ,’ उनले भने, ‘हामीले पार्टीलाई निर्णय गरी पठाएपछि उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं।’
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोटका प्रदेश सभा क्षेत्र (क) मा नेकपा माओवादी र (ख) मा नेपाली कांग्रेसले भाग पाएका थिए। सोही अनुसार (क) मा माओवादीका दुर्गबहादुर रावत गठबन्धनबाट उम्मेदवार छन्।
प्रदेश सभा (ख) मा काँग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनबाट उम्मेदवार छन्। यो निर्वाचन क्षेत्रमा नेकपा (एस) बाट विश्वराज बमले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन्।